
काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणमा कोसी करिडोर २२० प्रसारणलाइन उद्घाटन गर्न भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मंगलबार नेपाल आउने भएका छन् । भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको केभी प्रसारण लाइन तथा सबस्टेसन उद्घाटनका लागि नेपाल आउने भएका हुन् ।
मंगलबार खट्टर र खड्काले संयुक्तरूपमा इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारणलाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेसन, २२०/३३ केभी बानेश्वर सवस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सवस्टेसनको उद्घाटनको कार्यक्रम छ ।
गत माघ ३० गते भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । उनले सोहीदिन भारतले निर्माण गरेको अरूण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्नेछन् ।
सोहीदिन दुई देशले संयुक्तरूपमा निर्माण गर्न लागेको प्रसारणलाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षरको कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, वैशाख १० गते भारतका विद्युत्मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
सोहीदिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । विद्युत्मन्त्री खट्टरले सोहीदिन साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम छ ।