काठमाडौं । बागलुङस्थित इमेज सहकारीको रकम अपचलनपछि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् ।
उनलाई दिल्ली प्रहरीले इन्दिरागान्धी विमानस्थलमा होल्ड गरेको छ । दिल्ली प्रहरीले होल्ड गरेको सूचना नेपाल प्रहरीलाई खबर गरेको छ । उनलाई पक्राउ गरेर नेपाल ल्याउने तयारी रहेको प्रहरीले बताएको छ ।
नेपाल प्रहरीका निमित्त प्रमुख एआईजी टेकप्रसाद राईले नेपालीलाई दिल्ली प्रहरीले होल्ड गरेको पुष्टि गरे । उनले भने, “देव नेपाली लन्डन पुगेका रहेछन् । त्यहाँबाट भारत आउन दिल्ली विमानस्थल पुगेपछि दिल्ली प्रहरीले होल्ड गरेको छ । हामी नेपाल ल्याउने प्रसाय गर्दैछौँ ।”
सहकारीको रकम अपचलन पछि उनी फरार थिए । उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भएको थियो । उनीमाथि सहकारीको करिब दुई अर्ब रकम अपचलन गरेको खुलेको थियो ।