टोक्यो । जापानमा कम प्रजनन दरमा ‘रेकर्ड ब्रेक’ भएको छ । प्रजनन दर बढाउन सरकारले प्रयास गरे पनि रेकर्ड ब्रेक भएको हो । जापानमा प्रजनन दर कम भइरहेका बेला पछिल्लोपटक रेकर्ड ब्रेक नै हुने गरी तल झरेको हो ।
सरकारले विवाह गरेर पारिवारिक जीवन बिताउनका लागि कम उमेरदेखि नै प्रस्ताव गर्नुका साथै डेटिङ एप नै चलाएर प्रोत्साहन गरिरहेको छ ।
देशमा रहेका १२३ दशमलब ९ मिलियन मानिसमध्ये गत वर्ष सात लाख २७ हजार २७२ मात्रै जन्मिएका छन् । शुक्रबार स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले जारी गरेको तथ्यांकमा सो कुरा उल्लेख छ ।
प्रजनन दर एकजना महिलाले आफ्नो जीवनकालमा दिएकाे जन्मको संख्याका आधारमा तय गरिन्छ । यो क्रम १ दशमलब २६ बाट १ दशमलब २० मा पुगेको छ ।
सन् २०२३ मा सात लाख २७ हजार २७७ बच्चा जन्मेका छन्, यो संख्या अघिल्लो वर्षको भन्दा ५ दशमलब ६ प्रतिशत कम हो । जापानले आफ्नो तथ्यांकलाई सन १८९९ देखि राख्दै आएकोमा पछिल्लो तथ्यांकमा प्रजनन दर सबैभन्दा कम देखिएको हो ।
मन्त्रिपरिषदका मुख्य सचिव योशीमासा हायाशीले जनाएअनुसार यो निकै नै ‘क्रिटिकल’ अवस्था हो । प्रजनन दर बढाउन आफूहरूलाई ६ वर्ष अर्थात् २०३० सम्मको समय मात्र रहेको उनले बताएका छन् ।
उनले आर्थिक अस्थिरता, काममा सन्तुलन गराउन कठिनाइ, बालबालिकाको हेरचाह र अन्य कतिपय जटिल तत्वका कारण युवाहरू विवाह गर्न र बच्चा जन्माउन इच्छुक नदेखिएको जनाएका छन् ।
सरकारले सोसम्बन्धी कानुन संशोधन गरेर विवाह र बच्चा जन्माउनका लागि सहज वातावरण बनाउने कानुन ल्याउन लागेको जनाइएको छ । सीएनएन