बीबीसी । २०२४ को लोकसभा चुनाव पछि, राष्ट्रिय लोकतान्त्रिक गठबन्धन अर्थात् एनडीएको कुनै महत्व थिएन । यो गठबन्धन प्रतीक मात्र थियो । २०१४ देखि २०२० को बीचमा एनडीएका केही महत्वपूर्ण मित्रहरु अलग भएका छन्, जसमा २०२० मा शिरोमणि अकाली दल र २०१९ मा अविभाजित शिवसेना पर्छन् ।
तर नरेन्द्र मोदीको तेस्रो कार्यकालमा एनडीए अचानक सान्दर्भिक बनेको छ । यो सान्दर्भिकता भाजपाको आवश्यकताले बनाएको हो । यसको मतलब एनडीए अब भाजपालाई आवश्यक छ, यसमा संलग्न अन्य दलहरूलाई होइन । तर २०२४ को लोकसभा चुनावअघि स्थिति ठिक उल्टो थियो ।
जनता दल युनाइटेडका प्रमुख तथा बिहारका मुख्यमन्त्री नीतीश कुमार र तेलुगु देशम पार्टीका प्रमुख चन्द्रबाबु नायडू बिना मोदी तेस्रोपटक प्रधानमन्त्री बन्न सक्दैनन् । तर उनीहरु विगतमा धेरै पटक एनडीए छोड्नेमा पर्छन् ।
यसैकारण पछिल्ला दिनमा प्रश्न उठ्न थालेको छ– यस्तो बेलामा के नायडू र नीतीश कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन तर्फ जालान् त ?
सरकार बनाउन २७२ सिट चाहिन्छ तर भाजपाले २४० सिट मात्रै ल्याएको छ । यसकारण भाजपाका लागि नायडू र नीतीश महत्त्वपूर्ण छन् ।
नायडूको तेलुगु देशम (टीडीपी)ले १६ र नीतीशको जनता दल युनाइटेड (जेडीयू)ले १२ सिट पाएका छन् । उनीहरूले नयाँ सरकारमा २९ सिटको योगदान दिन सक्छन् । नीतीश कुमार र नायडूको पार्टीले खुला रूपमा आफू एनडीएसँग रहेको बताएका छन् ।
तर यो पनि भनिएको छ कि दुबै राम्रो सम्झौताका लागि सर्तसहित एनडीएमा रहनेछन् । एनडीएले उनीहरुको शर्त स्वीकारेन भने स्वागत गर्न तयार छ इन्डिया गठबन्धन । इन्डिया गठबन्धनले नीतीश र नायडूका लागि ढोका बन्द गरेको छैन ।
भारतीय राष्ट्रीय कांग्रेसका वरिष्ठ नेता जयराम रमेशले लोकसभा चुनावको नतिजालाई प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धको जनादेश रुपमा बुझेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मोदी अब कार्यवाहक प्रधानमन्त्री बनेका छन् । देशले उनको विरुद्धमा प्रचण्ड जनादेश दिएको छ, तर उनी ‘डेमोक्रेसी’लाइै ‘डेमो–कुर्सी’ बनाउन चाहन्छन् ।”
कांग्रेसको इशारा
निर्वाचनको नतिजा सार्वजनिक भएपछि बुधबार कांग्रेस सभापति मल्लिकार्जुन खड्गेको निवासमा इन्डिया गठबन्धनका नेताहरुको महत्वपूर्ण बैठक बसेको थियो । बैठकपछि खड्गेले दुई घण्टा लामो बैठकमा धेरै सुझाव आएको बताए । उनले सही समय आएमा इन्डिया गठबन्धनले सरकार उल्ट्याउन नहिचकिचाउने संकेत पनि गरे ।
“हामी भाजपा सरकारको विपरीत जनादेशलाई साकार पार्न उपयुक्त समयमा उपयुक्त कदम चाल्नेछौं,” उनले भने ।
बैठकमा गठबन्धनका २१ दलका ३३ नेता सहभागी थिए । बैठकमा ती नेताहरूले चन्द्रबाबु नायडू र नीतीश कुमारका लागि ढोका खुला राख्नुपर्ने र गठबन्धनले सही समय र सही अवसरको लागि पर्खनुपर्ने बताएका थिए ।
अङ्ग्रेजी अखबार द हिन्दूले लेखेको छ कि इन्डिया गठबन्धनका नेताहरूबीच भाजपा सरकारविरुद्ध संसदमा विश्वासको प्रस्ताव ल्याउने विषयमा सतर्क रहनुपर्ने समझदारी बनेको छ । किनभने यसले उनीहरूका लागि नयाँ ढोका खोल्न सक्छ ।
स्रोतलाई उद्धृत गर्दै द हिन्दु अखबारले यो पनि लेखेको छ कि समाजवादी पार्टीका प्रमुख अखिलेश यादवले इन्डिया गठबन्धन ‘ब्रान्ड मोदी’लाई समाप्त गर्न सफल भएको बताएका छन् ।
यी सबैमध्ये तृणमूल कांग्रेस राष्ट्रिय महासचिव अभिषेक बनर्जी एकमात्र नेता थिए जसले चुनाव जितेका धेरै भाजपा नेताहरू पार्टीको सम्पर्कमा रहेको दाबी गरेका थिए ।
भाजपाको एकता प्रदर्शन
बुधबार दिल्लीस्थित प्रधानमन्त्री निवासमा एनडीएको महत्वपूर्ण बैठक बसेको थियो । चुनावी नतिजा आएपछि एनडीएको यो पहिलो बैठक थियो । बैठकमा १६ दलका २१ नेता सहभागी थिए । भाजपाको तर्फबाट नरेन्द्र मोदी, जेपी नड्डा, राजनाथ सिंह र अमित शाह सहभागी थिए ।
टीडीपीका चन्द्रबाबु नायडू, जेडीयूका नीतीश कुमार, शिवसेना गुटका एकनाथ शिन्दे, जनता दल सेक्युलरका एचडी कुमारस्वामी, लोक जनशक्ति पार्टीका चिराग पासवान रामविलास, एचएएमका जीतनराम मांझी, आरएलडीका जयन्त चौधरी, एनसीपीका प्रफुल्ल पटेल र असम गण परिषद्का प्रमोद बोरो सहभागी थिए ।
कांग्रेसको ‘ढोका खुला’
जयराम रमेशले जातीय सर्वेक्षण र बिहारलाई विशेष दर्जा जस्ता मुद्दाहरूमा प्रधानमन्त्री मोदी र बिहारका मुख्यमन्त्री नीतीश कुमारबीचको मतभेदबारे टिप्पणी गरेका छन् । एनडीटीवीको एक ट्वीट रिपोस्ट गर्दै उनले लेखेका छन्, “के नरेन्द्र मोदी जाति जनगणना जातको नाममा देशलाई विभाजन गर्ने राजनीति हो भन्ने भनाइमा अडिग रहनेछन् ?”
चुनावी नतिजा आएपछि किङ्गमेकरको हैसियतमा पुगेका नीतीशले देशमा जातीय जनगणना गर्न र बिहारलाई विशेष राज्यको दर्जा दिन माग गरेका छन् । एक टेलिभिजन च्यानलसँग कुरा गर्दै जेडीयू नेता केसी त्यागीले भने, “हामी अब बन्ने सरकारले बिहारलाई विशेष दर्जा दिन र देशमा जातीय जनगणना गरोस् भन्ने चाहन्छौं ।”
जयराम रमेश यतिमै रोकिएनन् । उनले फेब्रुअरी २०१९ को मोदीको एक भिडियो सेयर समेत गरेका छन्, जसमा मोदीले चन्द्रबाबु नायडूलाई आफ्नो राजनीतिक कार्यक्रममा सरकारी पैसाको दुरुपयोग गरेको आरोप लगाएका थिए ।
भिडियोमा मोदीले भनेका थिए, “मेरो सरकारले उनीहरूसँग हिसाब माग्छ । पहिला दिल्लीमा उनीहरुले हिसाब देखाउनु पर्दैनथ्यो, अब मोदी उनीहरुलाई भन्छन्– आन्ध्र प्रदेशको विकासका लागि दिएको रकम करदाताको पैसा हो, जुन तपाईंहरुलाई दिइएको थियो । यसको हिसाब दिनुहोस् ।”
जयराम रमेशले व्यंग्यात्मक रूपमा भने, “जनताले अस्वीकार गरेपछि, गद्दीमा बसिरहन भाजपाले नायडूसँग भिख मागिरहेको छ ।”
एक टिभी च्यानलसँग कुरा गर्दै कांग्रेस नेता कार्ती चिदम्बरमले भने, “नीतीश कुमार र चन्द्रबाबु नायडू हाम्रा लागि अपरिचित छैनन्, उनीहरू हाम्रा साथी हुन् । चन्द्रबाबु नायडू मेरा साथी हुन् । म उनलाई सन् १९९६ देखि चिन्छु र पक्कै पनि हामी साथीहरूसँगको सम्पर्कमा छौं ।”
नीतीश, भाजपा र कांग्रेस
नीतीश कुमारले सन् २०१९ को लोकसभा चुनाव भाजपासँग मिलेर लडेका थिए । त्यसपछि २०२० बिहार विधानसभा चुनावमा नीतीश र भाजपा सँगै थिए । २०२२ मा बीजेपीबाट अलग भएपछि, नीतीशले आरजेडी (जो कांग्रेससँग गठबन्धनमा थियो) सँग हात मिलाए ।
एक वर्षपछि उनले इन्डिया गठबन्धनसँगको सम्बन्ध तोडेर फेरि भाजपाको नेतृत्वमा रहेको गठबन्धनमा सामेल भएका थिए । इण्डिया गठबन्धनको पहिलो बैठक गत वर्ष जुनमा पटनामा भएको थियो । यसका लागि पहल नीतीश कुमारले गरेका थिए र यो बैठक पटनास्थित उनको निवासमा भएको थियो ।
त्यतिबेला उनी इण्डिया गठबन्धनमा सहभागी थिए र उनले भनेका थिए, “केन्द्रको वर्तमान शासनविरुद्ध एकजुट भएर लड्न सबै नेता सहमत भएका छौं ।”
तर ६ महिनापछि नीतीश कुमारले गठबन्धन छोडेर भाजपाको सहयोगमा राज्यमा सरकार बनाएका थिए । कांग्रेसले पार्टी परिर्वतनको मुद्दालाई अगाडि ल्याइरहेको छ र सायद त्यसमा उनको आशा छ । नतिजा सार्वजनिक भएपछि बिहारमा नीतीशको पार्टीले राखेको पोस्टरमा ‘नीतीश सबैको हो’ लेखिएको थियो । यसलाई पनि संकेतको रुपमा हेरिएको छ ।
नायडू र भाजपा
टीडीपी पहिलो पटक १९९६ मा एनडीएमा समोल भएको थियो र त्यसबेला चन्द्रबाबु नायडूको परिचय आईटी प्रशासकको रुपमा थियो । सन् २९१८ मा एनडीएबाट अलग भएपछि टीडीपीले चुनावमा ठूलो हार बेहोरेको थियो ।
२०१८ मा टीडीपी तेलंगाना विधानसभामा मात्र दुई विधायकका साथ खुम्चिएको थियो । २०१० मा यसले आन्ध्र प्रदेश विधानसभा चुनावमा २३ सिट जितेको थियो । टीडीपी यस वर्ष फ्रेब्रुअरीमा एनडीएमा सामेल भयो र आन्ध्र प्रदेश विधानसभा चुनावमा १७५ सिटहरू मध्ये १३५ मा जित निकालेको थियो । टीडीपीले १६ लोकसभा सिट पनि जितेको छ ।
यो उत्कृष्ट प्रदर्शनपछि मात्र चन्द्रबाबु नायडू किङ्गमेकरको रूपमा देखा परेका हुन् । चन्द्रबाबु नायडूले फेरि एकपटक आन्ध्र प्रदेशलाई विशेष दर्जा दिन माग गरेका छन् । यसबाहेक, आन्ध्र प्रदेशको नयाँ राजधानी अमरावती पनि उनको एजेन्डामा छ, जहाँ छिट्टै निर्माण कार्य पूरा गर्न उनी चाहन्छन् ।
टीडीपीमा निर्भरताका कारण भाजपाले आफ्ना धेरै एजेन्डाहरू रोक्नु पर्ने अवस्था आएको छ । उदाहरणका लागि, सीमांकन र हिन्दी भाषाको बारेमा भाजपा ब्याकफुटमा आउन सक्छ । अनेक अड्कबाजी चलिरहँदा चन्द्रबाबु नायडूले बुधबार आफू एनडीएमा रहने बताएका छन् ।
बुधबार बसेको एनडीए बैठकमा दुवै नेता सहभागी भएका थिए । एनडीए बैठकमा नीतीश कुमारले खुलेर कुनै माग गरेका छैनन् तर उनले रेल मन्त्रालय माग्ने सम्भावना रहेको छ । नीतीश कुमार वाजपेयी सरकारमा रेलमन्त्री थिए । जब सत्तामा रहन भाजपालाई एनडीएको आवश्यकता पर्छ तब नीतीश कुमारले आक्रामक हिन्दुत्वको नीतिलाई अगाडि बढ्न दिएका छैनन् ।
राममन्दिर, धारा ३७० र समान नागरिक संहिताका विषयमा एनडीएमा संलग्न दलहरूका कारण वाजपेयी पछि हट्नुपरेको थियो । नीतीश कुमार हिन्दुत्व राजनीतिसँग कहिल्यै सहमत छैनन् । नीतीशको राजनीति कांग्रेससँग मिल्दोजुल्दो छ । यस्तो अवस्थामा कांग्रेसले ढोका खुला राखेको हो भने नीतीशलाई पनि वैचारिक तहमा कुनै अप्ठ्यारो पर्दैन ।
(बीबीसी हिन्दीबाट भावानुवाद)