काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले जनताले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्धमा मतदान गरेको बताएका छन् ।
लोकसभा निर्वाचन २०२४ को प्रारम्भिक मतगणनाले भारतीय जनता पार्टी (भाजपा)ले बहुमत नल्याउने देखाएपछि मंगलबार बेलुकी भारतीय राष्ट्रिय कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
पत्रकार सम्मेलनमा अध्यक्ष खड्गेका साथमा राहुल गान्धी पनि उपस्थित भएका थिए । सम्मेलनमा उनले लोकसभा निर्वाचनमा कांग्रेसले नेतृत्व गरेको इन्डिया गठबन्धनको प्रदर्शनबारे धारणा राखेका थिए ।
“देशमा निर्वाचनको परिणाम आइरहेको छ । हामीले पहिले नै भनेका थियौँ– यो लडाईं मोदी भर्सेज जनता बीचको हो । १८औँ लोकसभा निर्वाचनको जनमत हामी विनम्रतापूर्वक स्वीकार गर्छौँ । यसपटक जनताले कुनै एक पार्टीलाई पूर्ण बहुमत दिएनन् । यो नतिजा मोदीविरुद्ध गएको छ,” अध्यक्ष खड्गेले भने ।