इजिप्ट । ब्युटी प्रोडक्ट बनाउने दुई ठूला कम्पनीले कच्चा माल उपलब्ध गराउनका लागि बालबालिकालाई पनि काममा लगाइएको पाइएको छ । पछिल्लो वर्ष गर्मीका समयमा बीबीसीले पर्फ्युम आपूर्ति चेनको जाँचका क्रममा सो तथ्य फेला परेको हो ।
अध्ययनका क्रममा लांकोम र एरेन ब्युटी दुई ठूला कम्पनी जो चमेलीको प्रयोग गर्छन् त्यसका लागि फूल जम्मा गर्न बालबालिकाहरूको नै प्रयोग भइरहेको छ । यद्यपि, सबैजसो लग्जरी पर्फ्युम ब्रान्डले आफूहरू बाल मजदुरीप्रति शून्य सहनशीलतामा चलेको दाबी गर्दै आएका छन् । उनीहरूले बालबालिकालाई काम लगाउने कुरा सह्य नहुने बताउँदै आएका छन् ।
लांकोमको मालिक कम्पनी लारियलले आफू मानवअधिकारको सम्मान गर्नका लागि प्रतिबद्ध रहेको जनाएको छ । एरेन ब्युटीका मालिक एस्टे लान्डरले आफूले आफ्ना आपूर्तिकर्तालाई यसबारेमा सोधेको बताएका छन् ।
लांकोमको आइडल ला इन्टेस र एरेन ब्युटीको इकत जस्मिन र लिमोन डी सिसिलिया पर्फ्युम बनाउनको लागि चमेली प्रयोग गर्ने गरिएको छ । त्यो इजिप्टबाट आउने गरेको छ । विश्वको आधा चमेली फूलको उत्पादन इजिप्टमा हुने गर्छ । यो पर्फ्युम बनाउनका लागि प्रयोग हुने महत्त्वपूर्ण तत्व हो ।
पर्फ्युम उद्योगको जानकारी राख्नेहरूको भनाइ छ कि लग्जरी ब्रान्ड बनाउने धेरै पर्फयुम कम्पनीले आफ्नो बजेटमा कटौती गरिरहेका छन् । यसका कारण कच्चा माल जुटाउनेलाई निकै कम तलब मिल्ने गरेको छ ।
दास प्रथाको जस्तो तरिका अपनाइएको प्रसंगमा बीबीसीले संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि टोमोया ओबोकाटालाई प्रमाण देखाउँदा उनी पनि विचलित भएका थिए । प्रमाणमा पछिल्लो वर्ष इजिप्टमा चमेलीको फूल टिपेको रेकर्ड थियो । ओबोकाटाले भने, “कागजमा त पर्फ्युम उद्योगवालाहरू बहुत राम्रो बाचा गर्छन् । त्यसमा आपूर्ति चेनमा पारिदर्शिता र बाल मजदुरीविरुद्ध लडाइँलगायत । तर, यो फुटेज देख्दा यी बाचा पूरा गर्न उनीहरूले केही गरेको जस्तो लाग्दैन ।”
हिबा इजिप्टको चमेलीको खेती गरिने इलाकाको घरबिया जिल्लामा बस्छिन् । उनी आफ्नो परिवारसहित बिहान ३ बजे चमेलीको फूल टिप्न जान्छिन् । नत्र गर्मीले फूल खराब हुन्छ । उनका अनुसार फूल टिप्नको लागि उनलाई चार बालबालिकाको मदत लिनुपर्दछ । जसको उमेर पाँचदेखि १५ वर्ष बीचको रहेको छ । बालबालिकाले जति धेरै फूल टिप्छन् उनीहरूलाई उति नै बढी आम्दानी पनि हुन्छ ।