पेरिस । फ्रान्सले न्यू क्यालेडोनियामा संकटकाल घोषणा गरेको छ । फ्रेन्च प्यासिफिक सो क्षेत्रमा दंगा उत्पन्न भएपछि फ्रान्सले संकटकाल घोषणा गरेको हो ।
फ्रान्सले त्यहाँ व्यापक रूपमा सुरक्षा निकायलाई परिचालन गरेको छ । सो क्षेत्रमा भएको दंगामा केही दिनकै बीचमा चारजनाको मृत्यु भइसकेको छ ।
फ्रेन्च प्रधानमन्त्री ग्याब्रियल अटलले टिकटक बन्द गर्नुका साथै कफ्र्यु लागु गरेर शान्ति बहाली गर्ने जनाएका छन् । यसअघि राष्ट्रपति इम्यानुएल म्याक्रोनले संकटकाल घोषणा गर्दै हिंसालाई कडाइका साथ जवाफ दिइने जनाएका छन् ।
पेरिसमा सांसदहरूले न्यू क्यालेडोनियामा १० वर्षदेखि बस्दै आएका फ्रान्सेली नागरिकलाई पनि मतदानको अधिकार दिने प्रस्ताव पेस गरेपछि यो विवाद उत्पन्न भएको हो । सोसम्बन्धी परिवर्तन फ्रेन्च संसद्ले बुधबार पास गरेको थियो । त्यसको विरोधमा पसल र सार्वजनिक भवनमा लुटपाटका साथै आगजनी गरिएको हो । झडपमा प्रहरी र जेन्डरमेरी समेत गरी करिब १०० जना घाइते भएका छन् । बीबीसी