काठमाडौं । भौतिक रूपमा विकसित मानिएको काठमाडौंमा महिनावारीसम्बन्धी विभेद अन्य जिल्लामाभन्दा बढी हुने गरेको पाइएको छ । दक्षिण गोलार्दीय मर्यादित महिनावारी सञ्जाल (साउथ एसिया कोलेसन) र राधा पौडेल फाउन्डेशनले जुम्ला, सर्लाही र काठमाडौंमा गरेको अध्ययनले यस्तो तथ्यांक देखाएको हो ।
तीन जिल्लाका ४७१ महिलामा गरिएको ‘यौन तथा प्रजनन् स्वास्थ्यका लागि मर्यादित महिनावारी’ नामक अध्ययन प्रतिवेदनमा सहभागी सबैले कुनै न कुनै किसिमको महिनावारी विभेद भोगेको उल्लेख छ । अध्ययन १५ देखि २५ वर्षमा युवा महिलामा गरिएको थियो । अध्ययनले ती जिल्लामा ३१ देखि ६६ प्रकारका महिनावारी विभेदजन्य अभ्यासहरू रहेको देखाएको छ ।
जसअनुसार काठमाडौं महानगरभित्रकै महिलाहरूले ६६ प्रकारका विभेदहरू भोगिरहेको अध्ययनले देखाएको छ । यस्तै, सर्लाहीमा ४६ र जुम्लामा ३१ प्रकारका महिनावारी विभेदका अभ्यासहरू देखिएका छन् ।
तीनवटै जिल्लाका अध्ययनले ८७ प्रतिशत युवा उमेरका महिलाहरूले विभेद भोगिरहेको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ७० प्रतिशतले महिनावारी भएका बेला कुनै न कुनै ठाउँमा हिँडडुल गर्न नपाएको र ३६ प्रतिशतले खानामा विभेद भोगेको बताएका थिए ।
९० प्रतिशतले महिनावारीलाई अशुद्ध मान्ने गरेको र धर्म तथा सांस्कृतिक मूल्य मान्यताका रूपमा स्वीकार गरेको पनि अध्ययनले देखाएको छ । महिनावारी अवस्थामा हुने विभेदले महिलाको प्रजनन् स्वास्थ्य अधिकार प्रयोगमा नै बाधा पुर्याएको प्रतिवेदनको निष्कर्ष छ ।
मर्यादित महिनावारीकी अभियन्ता डा. राधा पौडेल प्रजनन् स्वास्थ्य अधिकारसँग महिनावारीलाई अझै जोड्न नसकिएको बताउँछिन् । विश्वका आधा दर्जन देशले महिनावारी विभेद अन्त्य नगरी यौन तथा प्रजनन् स्वास्थ्य अधिकार प्राप्त नहुने स्वीकार गरिसके पनि नेपालले अझै आत्मसाथ गर्न नसक्नु दुःखद भएको उनको धारणा छ ।