काठमाडौं । नेपालको ट्रेड (होलसेल तथा रिटेल–थोक तथा खुद्रा) क्षेत्रका करिब ३२ प्रतिशत व्यवसाय बिनादर्ता सञ्चालनमा छन् । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार ३१.७७ प्रतिशत थोक तथा खुद्रा व्यवसाय बिनादर्ता सञ्चालनमा छन् ।
सञ्चालनमा रहेकामध्ये ६८.२३ प्रतिशत यस्ता व्यवसायमात्रै दर्ता रहेको तथ्यांक कार्यालयको ‘नेपाल वितरण व्यापार सर्वेक्षण, २०२२’मा उल्लेख छ । सबैभन्दा बढी खुद्रा व्यापार ६६.६२ प्रतिशत दर्ता र ३३.३८ प्रतिशत दर्ता नभएरै सञ्चालनमा छन् ।
९३.५८ प्रतिशत थोक व्यापार दर्ता भएर र ६.४२ प्रतिशत दर्ता नभरै सञ्चालनमा छन् । मोटर व्यापार र मर्मततर्फ ७७.४६ प्रतिशत व्यवसाय दर्ता र २२.५४ प्रतिशत दर्ता नभएरै सञ्चालनमा छन् ।
कुन प्रदेशमा कति ?
सबैभन्दा बढी मधेसमा थोक तथा खुद्रा क्षेत्रको ५१.७७ प्रतिशत दर्ता भएर र ४८.२३ प्रतिशत व्यापार दर्ता नभएरै र सञ्चालनमा छ । कोसीमा ६१.५१ प्रतिशत दर्ता र ३८.४९ प्रतिशत व्यापार दर्ता नभएरै सञ्चालनमा छ ।
कर्णालीमा ६६.१८ प्रतिशत दर्ता भएर र ३३.८२ प्रतिशत थोक तथा खुद्रा व्यवसाय दर्ता नभएरै चलिरहेको छ । सुदूरपश्चिममा दर्ता भएर सञ्चालनमा रहेको वितरण व्यापार ७१.१६ प्रतिशत छ भने दर्ता नभएको २८.८४ प्रतिशत छ ।
लुम्बिनीमा ७१.१४ प्रतिशत दर्ता र २६.८६ प्रतिशत वितरण व्यापार दर्ता नभएरै चलिरहेका छन् । गण्डकीमा दर्ता हुने ७४.९० प्रतिशत छन् भने दर्ता नभएका २५.१० प्रतिशत व्यापार छन् ।
दर्ता हुने दर सबैभन्दा बढी वाग्मतीमा छ । वाग्मती प्रदेशमा ७५.३० व्यापार दर्ता भएर चलिरहेका छन् भने २४.७० प्रतिशत बिनादर्ता नभएरै सञ्चालनमा छन् ।