काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारीका ऋणी र मिटरब्याजपीडितले न्याय पाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सरकार परिवर्तन भएकामा व्यंग्य गरे ।
“हराएको प्रधानमन्त्री भेट्ने अवसर प्राप्त गर्नुभयो । हराएको प्रधानमन्त्री भेट्नुभएकोमा सबैलाई बधाई र धन्यवाद । सरकारलाई जनताले पनि भेटोस् । सहकारीपीडितले न्याय पाऊन् । सहरकारी ठगहरूले कारबाही पाऊन्,” उनले भने ।
उनले ‘उपप्रधानमन्त्रीको लस्कर’ भन्दै व्यंग्य गरे । अहिले सरकारमा तीन उपप्रधानमन्त्री छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँध नफेरेर खुट्टा फेर्न तयार भए पनि फेरिरहनु भन्दै कटाक्ष गरे ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोडेर अहिले एमालेसँग गठबन्धन गरेका छन् । “काँध फेर्ने कुरा आयो, काँध नफेरेर प्रधानमन्त्री खुट्टा फेर्न तयार हुनुहुन्छ भने फेरिरहनुस्, यसमा पनि शुभकामना,” उनले भने ।