कास्की । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम प्रदान गरेका हुन् ।
महानगरले ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, नौ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु २६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरेको हो ।
पोखरा महानगरपालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका किसानलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसान विस्थापित हुँदै गएकाले त्यसलाई रोक्न महानगरले ३५ कृषि उपजको समर्थन मूल्य तोकेको उल्लेख गरे ।
यदि, किसानले आफ्ना उत्पादन समर्थन मूल्यभन्दा कममा बेच्नुपरेमा महानगरले बाँकी रकम किसानलाई दिन्छ । न्यूनतम समर्थन मूल्य तोकिएका बालीको दाबी गर्नका लागि किसानले आफूले लगाएको बालीको नाम, जात र क्षेत्रफल अग्रिमरूपमा दर्ता गर्नुपर्छ ।
कृषि व्यवसायमा लागेका किसान हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको महानगरले जनाएको छ । समर्थन मूल्य प्राप्त गरेपछि किसानले कृषि व्यवसायका क्रममा आफूले व्यहोर्नुपरेको नोक्सानीमा मल्हम लगाउन महानगरपालिका सारथी बनेको र यसले आफूहरूलाई प्रोत्साहन मिलेको किसानहरूको भनाइ छ । रासस