काठमाडौं । डेब्यु अभिनेता सन्तोष अधिकारीको चलचित्र ‘चित्रा’ले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएको छ । चलचित्रकर्मीहरूले सिनेमाको कथाबस्तु मन परेको बताएका छन् ।
डेब्यु अभिनेता सन्तोषले राम्रो प्रयास गरेको र अभिनेत्री सिम्रन खड्काको अभिनयले आफू प्रभावित भएको चलचित्रकर्मीहरूले प्रतिक्रिया दिएका छन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले डेब्यु अभिनेता सन्तोषको काम नयाँ कलाकारको जस्तो नभएको बताएका छन् । काम गरिरहेको कलाकारको जस्तै अभिनय सन्तोषको रहेको भुवनले प्रतिक्रिया दिए । उनले अभिनेता प्रमोद अग्रहरीको पनि तारिफ गरे ।
अभिनेत्री गौरी मल्लले छोरीको भूमिकामा काम गरेकी सिम्रन खड्काको अभिनयबाट आफू प्रभावित भएको बताइन् । आफूलाई फिल्मको कथा मनपरेको उनको प्रतिक्रिया थियो ।
निर्मात्री, निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले डेब्यु अभिनेता सन्तोषलाई बधाई दिँदै सिम्रनको अभिनयको तारिफ गरिन् ।
निर्देशक नरेश पौड्यालले पनि प्रमोद र सिम्रनको अभिनय राम्रो लागेको बताए । पुस २७ गते प्रदर्शनमा आउने चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।
पारिवारिक कथा समेटेको चलचित्रमा सन्तोष, प्रमोद र सिम्रनसँगै अर्पण थापा, मेनुका प्रधान, शुभेक्षा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ ।
चित्राका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्माता हुन् ।