काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको चलचित्र ‘भूठान’मा हलिउड स्टार ब्रुस डर्नले अभिनय गर्ने भएका छन् । ब्रुस ‘भूठान’मा अनुबन्ध भइसकेका छन् ।
८७ वर्षका ब्रुस चलचित्रको मुख्य भूमिकामा रहेको निर्देशक विनोद पौडेलले जानकारी दिए । “ब्रुस अहिले पनि हलिउड फिल्म इन्डस्ट्रीका व्यस्त कलाकार हुन्,” उनले भने, “उनलाई हामीले हाम्रो सिनेमामा मुख्य भूमिकामा अनुबन्ध गरेका छौँ ।”
नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा कलाकार हरिवंश आचार्य, दयाहाङ राईलगायत कलाकार छन् । अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन तथा विमल सुवेदी पनि अनुवन्धित भइसकेका छन् ।
चलचित्रले भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवन यात्राको कथा समेट्नेछ ।
सम्पूर्ण छायांकन अमेरिकाको ओहायो राज्यमा चलचित्र नेपाली एवं अंग्रेजी भाषामा निर्माण हुनेछ । चलचित्रको छायांकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आउनेछ ।
बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्नेछ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन् ।