काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक गरेको छ । गीत र भिडियोमा आफूले बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास गरिएको छ ।
ब्यान्डको गीतको मुखडाले भन्छ–
‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि
गाह्रै भो इमानको मान्छे भेटिनँ’
सामाजिक विसंगतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छन्’ भनेर आशा पनि देखाएको छ ।
गीतको प्रसंग झन्डै छ वर्षअघि सुरु भएको नेपथ्यका मुख्य गायक अमृत गुरुङ सुनाउँछन् । “म पचास वर्ष पुगेको बेला तनहुँका अनील अधिकारीले मलाई एउटा गीत सुनाए । त्यसमा भएका शब्दमध्ये दुई लाइन रमाइलो लाग्यो,” उनले भने, “त्यो परिकल्पनालाई विस्तार गर्दै मैले अन्यत्र सुनेका टुक्का, आफैँले लेखेका केही हरफ मिसाउँदै अगाडि बढाएँ ।”
नयाँ–नयाँ प्रयोग रुचाउने अमृतले यो गीतको बीचमा मन्त्रपाठको भावना पनि समेटेका छन् ।
गीतलाई नवीन जोशीले म्युजिक भिडियोका रूपमा ढालेका हुन् । नेपथ्यको सर्वाधिक चर्चितमध्ये एक ‘रेशम’ गीतको म्युजिक भिडियो दुई दशकअघि बनाएका नवीनले ब्यान्डका लागि तयार पारेको यो दोस्रो म्युजिक भिडियो हो ।
‘पचासै वर्षमा’को म्युजिक भिडियोमा अखबारका कटिङहरूमार्फत नेपथ्य ब्यान्डको यात्रालाई पनि देखाइएको छ ।
नेपथ्यको एघारौँ एल्बमका लागि तयारी चलिरहेको बेला ब्यान्डले यो नयाँ गीत सार्वजनिक गरेको हो ।