काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले अन्तर्वार्तामा आधारित श्रब्यदृश्य कार्यक्रम ‘मनका कुरा विथ बसन्त चौधरी’ सञ्चालन गर्ने भएका छन् । सीजी इन्टरटेनमेन्ट युट्युब च्यानलमा हरेक शुक्रबार राति ८ बजे उक्त कार्यक्रम प्रशारण हुनेछ ।
उनले यस कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई ल्याएर उनीहरूको संघर्ष तथा जीवन यात्राका आरोह–अवरोहबारे कुरा गर्नेछन् ।
जसका लागि उनले मनिषा कोइराला, सुरक्षा पन्त, दीपक बज्राचार्य, उद्यमी विदुशी राणा, नीर शाह, मान्सी अग्रवाल, गायिका आनी छोइङ डोल्मा, रुबी राणालगायतको अन्तर्वार्ता हरेक शुक्रबार प्रशारण गरिनेछ ।
२२ डिसेम्बरमा कार्यक्रममा पहिलो अतिथिका रूपमा मनिषा कोइराला रहनेछिन् ।
“जीवन एउटा यात्रा हो । जीवन यात्राका क्रममा धेरै उतारचडाव हुन्छन् । तथापि आफूले चाहेको गन्तव्यमा पुग्न अनवरत प्रयत्न गरिरहनुपर्छ,” उनले भनेका छन्, “यही अनवरत प्रयत्नले गर्दा मैले पनि व्यापार व्यवसायबाहेक मेरो मनले रोजेको सिर्जना यात्रामा केही पाइला हिँड्न सकेँ ।”
उनले आफ्ना कुराबाहेक जीवन र जगतबाट सिकेका र अनुभूत गरेका कुराहरू आफ्ना सिर्जनाहरूमा उतार्ने गरेको बताएका छन् । उनले भनेका छन्,“मलाई तपाईंका मनका कुरा सुन्न मन लाग्यो । तपाईँका मनका कुरा अरूलाई पनि सुनाउन मन लाग्यो ।”