काठमाडौं । रेफ्रीमाथि मुक्का प्रहार गर्ने टर्कीस फुटबल लिगको क्लब एमकेइ अन्कारागुकुका अध्यक्ष फारुक कोकालाई आजीवन प्रतिबन्ध लगाइएको छ ।
सोमबार टर्किस लिगअन्तर्गत रिजेसपोरविरुद्धको खेल बराबरीमा टुंगिएपछि अन्कारागुकुका अध्यक्ष कोकाले मैदानमै प्रवेश गरेर रेफ्रीमाथि मुक्का प्रहार गरेका थिए ।
खेलको ९७औँ मिनेटमा रिजेसपोरले बराबरी गोल फर्काएसँगै फिफा रेफ्री हालि उमल मेलेरले अन्तिम ह्विसिल बजाएका थिए । त्यसपछि मैदानमा प्रवेश गरेर कोकाले मुक्का प्रहार गर्दा रेफ्री हालि उमल मेलेर मैदानमै लडेका थिए ।
अध्यक्ष कोकालाई २० लाख लिरा (५४ हजार पाउन्ड) जरिबाना समेत गरिएको छ । यस्तै, अन्कारागुकुले अबका पाँच खेल घरेलु मैदानमा समर्थकबिना नै खेल्नुपर्नेछ । रेफ्रीमाथिको आक्रमणपछि टर्कीस लिगका सबै खेलहरू सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । तर, शुक्रबार टर्कीको फुटबल संघले लिग आगामी मंगलबारदेखि सुरु हुने भएको छ ।
कोकाको प्रहारबाट मैदानमा लडेका मेलेरलाई अन्य केही समर्थकले समेत प्रहार गरेका थिए । ३७ वर्षीय मेलेर टर्कीका शीर्ष रेफ्रीमध्येका एक हुन् र उनीसँग फिफा रेफ्री ब्याच छ । उनी यूईएफए इलाइट रेफ्रीको सूचीमा समेत छन् ।