काठमाडौं । राजन कठेत र सुनील पाण्डेको ‘नो विन्टर होलिडेज’ले उत्कृष्ट फिचर डकुमेन्ट्री अवार्ड जितेको छ । मंगलबार काठमाडौंमा सम्पन्न ११औं संस्करणको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘नो विन्टर होलिडेज’ले उक्त अवार्ड जितेको हो ।
सर्ट फिल्मतर्फ आकांक्षा कार्कीको ‘सनाई’ले ‘बेष्ट न्यारेटिभ’ अवार्ड पाएको छ । उत्कृष्ट सर्ट डकुमेन्ट्रीतर्फको अवार्ड नेपालका एलएसएम र सहयोगराज अधिकारीको ‘यात्रा’ले पाएको छ ।
उत्कृष्ट सर्ट डकुमेन्ट्री इन्टरनेशनलतर्फको अवार्ड भने स्पेनका जुलेन जुबिटको ‘अ माउण्टेन अफ मेमोरिज’ले हात पारेको छ । त्यस्तै महोत्सवमा उत्कृष्ट नेपाली महिला निर्देशकको अवार्ड ‘एज अफ लर्निङ’बाट शुभांगी खड्काले पाएकी छन् ।
उत्कृष्ट छोटो कथानक अन्तर्राष्ट्रियतर्फको अवार्ड जर्मनका जवाहिन जेनिटारको ‘अन माई फादर ग्रेभ’ले पाएको छ । उत्कृष्ट कथानकका लागि बेलायतको एल्हम एहसासको सर्ट फिल्म ‘येल्लो’लाई र फिचर डकुमेन्ट्रितर्फ सौरभ कान्ति दत्तको ‘फतिमा’लाई जुरी मेन्सन अवार्ड प्रदान गरिएको आयोजकले प्रेस नोटमार्फत जानकारी दिएको छ ।
महोत्सवमा विश्वभरबाट खुला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायत नेपालसहित २७ देशका ५४ वटा चलचित्र देखाइएको थियो ।
महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई थिए ।