काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले काठमाडौंस्थित इजरायल र कतारको दूतावास अगाडि प्रदर्शन गरेको छ । आतंकवाद र युद्धविरुद्ध अभियानका क्रममा बिहीबार मध्याह्न एकसाथ इजरायली र कतारी दूतावासअगाडि आधा घण्टा प्रदर्शन गरिएको शान्ति समाजले जनाएको छ ।
प्रदर्शनमा युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न इजरायललाई आग्रह गरिएको छ । ‘युद्धविरामका लागि विश्वव्यापी आह्वानलाई स्वीकार गर्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र मानवताविरुद्धको अपराधलाई रोक्न’ आह्वान गर्दै इजरायली दूतावासअगाडि प्रदर्शन गरिएको शान्ति समाजले बताएको छ ।
शान्ति समाजका तर्फबाट इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई लेखिएको पत्र नेपालस्थित इजरायली दूतावासले बुझ्न नमानेको हुँदा इमेलबाट पठाइएको शान्ति समाजले जनाएको छ । पत्रमा शिघ्र युद्धविरामका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वव्यापी आह्वानलाई स्वीकार गर्न इजरायललाई आग्रह गरिएको छ ।
इजरायलले आफ्नो आत्मरक्षा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानुन र अन्तर्राष्ट्रिय रुपमा स्थापित मान्यताको सदैव पालना गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै मानवताविरुद्ध अपराध ठहरिने कार्य बन्द गर्न समेत पत्रमा ध्यानाकर्षण गराइएको छ ।
आतंकवादविरुद्ध बलियोसँग उभिन कतारलाई आह्वान गर्दै प्रदर्शनमा सन् २०२३ को अक्टोबर ७ का दिन हमासद्वारा इजरायलमा भएको आतंकी हमलाका दौरान हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीलगायत सबै बन्धकहरुको बिनाशर्त शिघ्र रिहाइका लागि जोड दिइएको थियो ।
कतारी दूतावासअगाडि चुनिखेल ललितपुरमा भएको प्रदर्शनपश्चात् शान्ति समाजका तर्फबाट कतारका प्रधानमन्त्री शेख मोहम्मत विन अब्दुलरहमान विन जसिम अल थानीलाई लेखिएको ज्ञापनपत्र कतारी दूतावासमा बुझाइएको थियो ।
ज्ञापनपत्रमा आतंकवादलाई परास्त गर्न समग्र अन्तर्राष्ट्रिय समुदायकेन्द्रित हुनुपर्ने धारणा मानवअधिकार तथा शान्ति समाजको रहेको अवगत गराउँदै कतारलाई आतंकवादविरुद्ध बलियोसँग उभिन आग्रह गरिएको छ । हमासद्वारा बन्धक बनाइएका विपीन जोशीलगायत सबै बन्धकहरुको बिनाशर्त शिघ्र रिहाइका लागि सार्थक पहल गर्न पत्रमा आग्रह गरिएको छ ।
काठमाडौं चण्डोलस्थित इजरायली दूतावासअगाडि भएको प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति राजेन्द्र पौडेल, महासचिव रेनुका पौडेल, सचिवत्रय रामप्रसाद जोशी, लक्ष्मीनारायण मिश्र र प्रकाश शाही, केन्द्रीय सदस्यहरु उपस्थित रहेका थिए ।