site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनावका रोचक भिडन्त– कतै अपराजित, कतै हारको ह्याट्रिक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । आगामी मंसिर १० र २१ गते १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभाका लागि देशभर निर्वाचन हुँदैछ । र, शरदको प्रारम्भदेखि नै मुलुकमा चुनावी गर्मी सुरू भएको छ ।

गाउँ–सहरका फाँटहरूमा धान थन्क्याउने चटारो चुलिँदा नेता–कार्यकर्ताहरू भने आफ्नो राजनीतिक बाली भित्र्याउने चटारोमा छन् ।

मुलुकका सबै निर्वाचन क्षेत्रमा चुनावी चर्चा–परिचर्चा चलिरहेको छ । तर, यहाँ चर्चा गर्न खोजिएका यस्ता निर्वाचन क्षेत्र हुन्, जसको चर्चा देशैभर छ । 

KFC Island Ad
NIC Asia

वा यसो पनि भन्न सकिन्छ– यहाँको चुनावी परिणामबारे देशकै चासो र चिन्ता छ ।

झापा–१ मा दुई प्रखर बौद्धिक
 

गत संविधानसभाको निर्वाचनमा ६८९ मतले पछि परेका कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यसपटक जित्ने आकांक्षाका साथ झापा–१ बाट प्रतिनिधिसभातर्फ चुनावमा उठेका छन् । अघिल्लो पटक एमालेका रविन कोइरालाले पछि पारेका शर्मालाई यसपटक वाम गठबन्धनका नेता एवम् माक्र्सवादी विश्लेषकका छवि बनाएका सुरेन्द्र कार्कीले टक्कर दिँदैछन् । यसअघि सो क्षेत्रमा कोइरालाले १७ हजार २२९ मत पाउँदा शर्माको १६ हजार ५४० मत आएको थियो । माओवादी केन्दले भने  ६ हजार ८५८ मत पाएको थियो । दुई वौद्धिक नेताको रस्साकस्सीले झापा–१ को चुनावी भिडन्त थप रोचक बनेको छ यसपटक ।

 

झापा–३ मा सिटौलाविरुद्ध लिङ्देन

माओवादी आन्दोलनलाई शान्ति प्रक्रियामा अवतरण गराउने सूत्रधारमध्येका एक हुन् कांग्रेसका कृष्ण सिटौला । तर, तिनै सिटौला वाम गठबन्धनको घेरामा पर्ने भएका छन् यो पटक । ०४८ सालमा वाम किल्ला बन्यो झापा । ६ क्षेत्रमध्ये ६ वटामा सूर्य झन्डा फहरायो एमालेले । तर, ०५१ मा चक्रप्रसाद बास्तोलाले बाजी मारे झापा–४ बाट । यता ०५६ मा झापा–१ बाट सिटौलाले चुनाव जिते भने बास्तोलाले पनि साविककै निर्वाचन क्षेत्रबाट जित हात पारेर वामपन्थी किल्लालाई चुनौती दिए । 

०६४ को संविधानसभाको निर्वाचनमा माओवादीका पूर्णप्रसाद राजवंशीसँग २५ सय बढी मतान्तरले हार बेहोरेका सिटौलाले ०७० सालको निर्वाचनमा भने ५ हजार बढी मतान्तरले चुनाव जिते  । त्यसपटक उनका निकटतम प्रतिस्पर्धी बनेका थिए– राप्रपा नेपालका राजेन्द्रप्रसाद लिङ्देन ।

यसपटक तिनै लिङ्देन सिटौलाका सामु चुनौतीको पहाड बनेका छन् । एमालेले आफ्नो उद्गम थलो र माओवादी केन्द्रले क्रान्तिभूमि मान्ने झापामा दुवै दलले पञ्चायती पृष्ठभूमि बोकेका लिङ्देनलाई साझा उमेदवार मान्न तयार हुँदा त्यहाँको चुनावी भिडन्त थप रोचक बनेको हो ।

 

कांग्रेस किल्लामा लालबाबुको फायर
 

देशको राजधानी काठमाडौँ थियो भने राष्ट्रिय राजनीतिको राजधानीचाहिँ विराटनगर बनेको थियो, कुनैबेला । कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला विराटनगर पुग्नेबित्तिकै मुलुकको राजनीति तरंगित हुन्थ्यो । 

यतिबेला तिनै कोइराला वंशका उत्तराधिकारी डा. शेखर कोइराला विराटनगरको पुरानो विरासत कायम राख्ने यत्नमा जुटेका छन् भने उनी विरुद्ध फायर खोल्दैछन् एमाले पोलिटव्युरो सदस्य लालबाबु पण्डित ।

सामान्य प्रशासनमन्त्री हुँदा डीभी र पीआरधारी कर्मचारीको सात्तो खाएका पण्डित ‘सादगी नेता’ का रूपमा परिचित छन् । सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा, बूढीगंगा गाउँपालिका र विराटनगर महानगरको ४ देखि ७ तथा ९, ११ र १२ समेटेर बनेको यस क्षेत्रमा ०७० सालको निर्वाचनमा कोइरालाले फोरम लोकतान्त्रिकका विजय गच्छदारलाई पराजित गरेका थिए । गच्छदार अहिले कांग्रेसमै छन् भने पण्डित नयाँ अनुहारका हुन् ।

 

गच्छदारको अपराजित यात्रामा भगवतीको चुनौती
 

पछिल्लो तीन निर्वाचनमा तीन फरक–फरक पार्टीबाट चुनाव लडे विजय गच्छदार । कांग्रेस परित्याग गरी मधेसी जनअधिकार फोरमतिर लागेका गच्छदार ०६४ को निर्वाचनमा सोही पार्टीबाट चुनाव लडे भने बीचमा फोरम चोइट्याएर फोरम लोकतान्त्रिक निर्माण गरे र ०७० मा त्यही पार्टीबाट चुनाव लडे ।

दश वर्षपछि पुरानै घर फर्किएका गच्छदार अहिले कांग्रेसबाट चुनाव लड्दैछन्– एउटै निर्वाचन क्षेत्रबाट । संयोग कस्तो छ भने गच्छदार ५ पटक अपराजित छन् । र, यो उनको छैटौँ शृंखला हो ।

०४८ देखि ०५६ सम्म सुनसरी–२ बाट चुनाव लडेका गच्छदार ०६४ र ०७० को निर्वाचन सुनसरी–३ बाट चुनाव लडे । यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् । र, यसपटक उनलाई टक्कर दिँदैछिन् एमालेकी भगवती चौधरीले ।

चौधरी ०७० को निर्वाचनमा गच्छदारसँग झिनो मतान्तर (३६२) ले पराजित भएकी हुन् । गच्छदारले १७ हजार ५२४ मत ल्याउँदा चौधरीले १७ हजार १६२ मत ल्याइन् । सो क्षेत्रमा कांग्रेसका उमेदवारले ७ हजार ८६५ मत ल्याएका थिए ।


प्रदीप गिरीलाई गंगा यादवको भय

प्रदीप गिरीलाई ‘थिङ्क ट्याङ्क’ मान्निछ । उनलाई कांग्रेसभित्रका वाम विश्लेषक भनेर चिनियो भने पनि अत्युक्ति हुँदैन । 

सिरहा–१ गत ०७० को संविधानसभाको निर्वाचनमा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित भएको क्षेत्र हो । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि वामपन्थीहरूकै पल्लाभारी भएको ठाउँ हो त्यो । गिरीलाई टक्कर दिँदैछन्– गंगाराम यादवले ।

धनुषा–३ मा दुई ‘हेभिवेट’

मिथिला क्षेत्रको वैशिष्ट्य भूमि धार्मिक हिसाबले जति महत्त्वपूर्ण छ, त्यो भन्दा कम छैन राजनीतिक हिसाबले । कांग्रेस बहुल क्षेत्र मिथिलामा मधेस आन्दोलनपश्चात फेरबदल आएको छ । भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टी, नेपालले विजय हात पारेको हो त्यहाँ ।

२०४८ सालमा महेन्द्रनारायण निधिले जित हात पारेको धनुषा तत्पश्चात उनको विरासत विमलेन्द्र निधिले धान्दै आएका छन् । ०५१ मा धनुषा–४ मा विमलेन्द्र निधिले चुनाव जिते भने ०५६ मा राप्रपाले विजयको झन्डा फहरायो, कृष्णप्रताप मल्ल सांसद बने । त्यसयताका दुई निर्वाचन निधिका लागि फलिफाप भएको छ । 

यसपटक उनलाई चुनौती दिँदैछन् राजपाका अध्यक्ष मण्डलका राजेन्द्र महतो । मधेस आन्दोलनका सूत्रधार महतो साविकको निर्वाचन क्षेत्र सर्लाही–४ छाडेर त्यहाँ पुगेका हुन् । 

उक्त निर्वाचन क्षेत्र अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्रराय यादवको भागमा परेपछि उनी निधिका प्रतिस्पर्धी बनेका हुन् । अघिल्लो पटक महतो तिनै यादवसँग झन्डै तीन हजार ७४४ मतान्तरले पछि परेका थिए ।


चितवन–३ मा प्रचण्ड भर्सेस विक्रम पाण्डे

नेपालको मध्य क्षेत्र । देशको ‘७८ औं जिल्ला’ मानिने चितवन–३ यसपटक भने राजनीतिको केन्द्रमै रह्यो । तीन चरणमा गरी ७६६ तहमा निर्वाचन भए । तर, चर्चा रह्यो– भरतपुर महानगरपालिकाको ।

माओवादी केन्द्रका अध्यक्ष । वाम गठबन्धन नेतृत्व तहको नेतामध्ये एक, पुष्पकमल दाहालपुत्री रेणु दाहाल उठेको भएरमात्र उक्त क्षेत्र चर्चामा रहेको होइन । पहिलो चरणमै निर्वाचन भएको भरतपुरमा मतगणना अन्तिम चरणमा पुग्दा मतपत्र च्यातियो । गणनामा बसेका माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि आयोगले झन्डै दुई महिना लगाएर पुनः मतदानको आदेश दियो । र, त्यसपछि भएको निर्वाचनमा जितेकी हुन् रेणु दाहालले ।

सोही महानगरको अधिकांश भाग पर्ने चितवन–३ मा अध्यक्ष दाहाल प्रतिष्पर्धामा छन् । र, उनलाई पसिना छुटाउँदैछन्, राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले ।

यसअघि प्रचण्ड नेतृत्वकै सरकारमा भूमिसुधार तथा व्यवस्था मन्त्री बनेका पाण्डे अहिले पनि मन्त्री छन् । देउवा नेतृत्वको सरकारमा उनी वनमन्त्री छन् ।

साविकको ४ र ५ नम्बर क्षेत्र गाभेर बनेको हो चितवन–३ । ४ नम्बर निर्वाचन क्षेत्र ०७० को निर्वाचनमा कांग्रेसले जितेको हो भने ५ नम्बर क्षेत्र पाण्डेले जितेका हुन् ।

रेणु कांग्रेसकै सहयोगमा भरतपुर महानगरकी मेयर बनेकी हुन् भने अहिले त्यो मत पाण्डेको पोल्टामा जाने भएको छ ।

त्यस्तै रेणुसँग झिनो मतान्तरले मेयर पद गुमाएको एमालेले प्रचण्डलाई सघाउने अवस्था निर्माण भएकाले चितवन पुनः चर्चाको मध्यभागमै परेको हो ।

 

प्रकाशमानको अजेय किल्लामा मिश्रको उमेदवारी

काठमाडौँ–१ को चुनावी गर्मीले देशको चुनावी मौसम तरंगित तुल्याएको छ । उच्च सहरी क्षेत्र र ‘हाइ प्रोफाइल मतदाता’ रहेका काठमाडौँ–१ मा कसको पल्ला भारी हुने भन्ने चासो सर्वत्र छ ।

काठमाडौँ–१ मा कांग्रेसका तर्फबाट प्रकाशमान सिंह मैदानमा छन् भने वाम गठबन्धनले केही समयअघि अखिल क्रान्तिकारीबाट विदा लिएका अनिल शर्मालाई उठाएको छ । कांग्रेस–कम्युनिस्ट गठबन्धनको चुनावी भिडन्तमा मिसिन आइपुगेका छन्– विवेकशील साझाका रवीन्द्र मिश्र ।

०६४ को निर्वाचनमा दोब्बर मतले प्रतिस्पर्धीलाई पछारेका थिए प्रकाशमानले । सिंहको १४ हजार ३१८ मत आउँदा एमालेका प्रदीप नेपालले ६ हजार ७८९ मत ल्याएका थिए । मुलुकभर पहिलो भएको माओवादी त्यहाँ तेस्रो भएको थियो । र, उसको मत ४ हजार ८३६ मत आएको थियो ।

दोस्रो संविधानसभामा भने प्रकाशमान सिंह तेब्बर मतका साथ निर्वाचित भए । सिंहको १५ हजार ३१८ मत आउँदा माओवादीकी उमेदवार रेणु दाहालको ४ हजार ६४ मत आएको थियो । तेस्रो राप्रपा नेपाल भएको थियो भने एमाले चौथो भएको हो त्यहाँ ।

यसपटक लामो समय पत्रकारिता गरेर राजनीतिमा होमिएका मिश्र दुवै गठबन्धनका लागि ‘फलामको च्युरा’ बन्न सक्ने आँकलन गरिएको छ । त्यसो त सोही क्षेत्रबाट भर्खरै नेपाली कांग्रेस (बीपी) गठन गरेका हरिबोल भट्टराई पनि उमेदवार बनेका छन्, उनले थुत्ने मत पनि कांग्रेसकै हो ।

 

काठमाडौं–४ मा दुई युवाको टकराव

पछिल्लो समय काठमाडौँ–४ पनि विशेष चर्चामा छ । गत संविधानसभाको निर्वाचनमा दोब्बर भन्दा बढी मतान्तरले प्रतिस्पर्धी पछारेका कांग्रेसका गगन थापालाई यसपटक वाम गठबन्धनका राजन भट्टराईले चुनौती दिएका छन् । परराष्ट्र मामिलाका जानकार भट्टराई पहिलो पटक चुनावी मैदानमा छन् । सिन्धुपाल्चोकबाट बसाइँ सरेर आएकाहरूको बहुल क्षेत्र हो त्यो । र, भट्टराई पनि सिन्धुपाल्चोक, सिन्धुकोटकै रैथाने हुन् । 

अघिल्लो निर्वाचनमा थापाको २२ हजार २३६ मत आउँदा निकटतम प्रतिस्पर्धीको ९ हजार १३५ मात्रै मत आएका थियो । दोस्रोमा एमालेका निर्मल कुइँकेल थिए, प्रतिस्पर्धामा । यसपटक उनी प्रदेश (क) मा ओर्लिएका छन् ।

त्यस्तै सोही क्षेत्रमा विवकेशील साझाबाट सुवुना बस्नेत प्रतिस्पर्धामा छिन् । २५ वर्षीषा बस्नेतको चर्चा सामाजिक सञ्जालदेखि चिया पसलसम्म छ अहिले ।

काठमाडौँ–५ मा हार ह्याट्रिकको भयमा पोखरेल

०५६ सालदेखि चुनाव लड्दै आएका एमाले महासचिव पोखरेल चौथो पटक प्रतिस्पर्धामा छन् । सुरूमा काठमाडौँ–३ र पछि काठमाडौँ–५ निर्वाचन क्षेत्र भएको ठाउँमा पोखरेलको नाममा एकपटक जित दर्ता छ । ०६४ र ०७० को निर्वाचनमा कांग्रेसका नरहरि आचार्यसँग हार बेहोरेका पोखरेललाई यसपटक कांग्रेसका प्रकाशशरण महतले टक्कर दिँदैछन् ।

नरहरि आचार्य अस्वस्थ भएपछि प्रतिस्पर्धामा आएका महतसँगै पोखरेलको मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

 

दमननाथको कमव्याकलाई महेश बस्नेतको तगारो

०४३ सालमा जनपक्षीय उमेदवारका रूपमा र ०५६ सम्म लगातार सांसदमा चुनाव जितेका पूर्वसभामुख दमननाथ ढुंगाना कांग्रेसबाट पुनः उमेदवार बनेर मैदानमा खडा भएका छन् ।  ०४८–०५१ सम्म सभामुख बनेका ढुंगानालाई वाम गठबन्धनका युवा उमेदवार महेश बस्नेत तगारो बनेका छन् ।

युवा संघको अध्यक्षसमेत भइसकेका बस्नेत अघिल्लो निर्वाचनमा भक्तपुुर–२ मा तेस्रो भएका थिए । र, ढुंगानाको कमव्याकलाई रोक्ने भीमकाय प्रत्नमा छन् उनी अहिले ।
भक्तपुर–२ मा कांग्रेसका रामेश्वर ढुंगेलले २१ हजार १२१ मत ल्याएर विजयी भएका थिए भने दोस्रोमा नेमकिपाका सुनील प्रजापतिले १७ हजार ४११ मत ल्याएका थिए ।

तेस्रो भएका महेश बस्नेतको १६ हजार २९ मत आएको थियो । नेमकिपाले यसपटक भने अनुराधा थापामगरलाई उठाएको छ यो क्षेत्रमा । उनी पनि दुवै गठबन्धनका लागि बलियो चुनौती हुन् ।


राणाविरुद्ध सिलवाल

प्रहरी सेवाबाट सिधै राजनीतिमा हामफालेका पूर्वडीआईजी नवराज सिलवाल वाम गठबन्धनबाट उमेदवार बन्दा ललितपुर–१ को विशेष चर्चा छ । ०१५–०६४ सम्म वामपन्थी प्रभाव क्षेत्र मानिएको ललितपुरका तीनै क्षेत्रमा पछिल्लो पटक कांग्रेस भारी मतान्तरले विजयी भएको थियो ।

०७० को निर्वाचनमा ललितपुर–३ बाट कांग्रेसका उदयशमशेर राणा १८ हजार ५६० मत ल्याएर विजयी हुँदा एमालेका मधुसुदन पौडेलले १० हजार ६८२ मत ल्याएका थिए । माओवादीका हरि दाहालले ६ हजार १९६ मत प्राप्त गरेका थिए ।


भुसाल हराउन बोहोराको उमेदवारी

एमालेका ‘थिङ् ट्याङ्क’ मानिन्छन् घनश्याम भुसाल । राजनीतिक वृत्तमा बौद्धिक नेताको छवी छ उनको । तर, तिनै भुसाल अघिल्लो पटक कांग्रेसका बालकृष्ण खाँणसँग जम्मा ८६ मतान्तरले विजयी हुन वञ्चित बने । यसपटक उनलाई चुनौती दिन राप्रपा (प्रजातान्त्रिक)का दीपक बोहोरा खडा हुँदा रुपन्देही–३ चर्चाको केन्द्रमा छ । 
बोहोरा कांग्रेस गठबन्धनका साझा उमेदवार हुन् । बोहोरा अहिलेको सरकारमा स्वास्थ्यमन्त्री छन् । अघिल्लोपटक रुपन्देही–२ बाट ८ हजार १५२ मतका साथ जित हात पारेका हुन् बोहोराले यसपल्ट निर्वाचन क्षेत्र समायोजन हुँदा सो क्षेत्र रुपन्देही–३ मा पर्यो ।

यी क्षेत्रका अतिरिक्त कपिलवस्तु–१ पनि विशेष चर्चामा छ । दुई पटक भारतका लागि राजदूत भएका दीपकुमार उपाध्याय कांग्रेस गठबन्धनबाट उमेदवार बनेका छन् भने उनलाई चुनौती दिँदैछन्– वाम गवठबन्धनका तर्फबाट पूर्व कमाण्डर चन्द्रप्रकाश शर्मा (बलदेव) ।

युद्धकालमा प्रचण्डपछिका चार प्रमुख कमाण्डरमध्येका एक थिए उनी ।

त्यस्तै गुल्मी–१, प्युठान–१, कैलाली–२, कैलाली–५ पनि यसपटक विशेष चर्चामा छन् ।

गुल्मी–१ मा चीरपरिचित प्रतिद्वन्द्वी प्रतिस्पर्धामा छन् । कांग्रेसका चन्द्र भण्डारी र वाम गठबन्धनका प्रदीप ज्ञवालीबीचको तीव्र प्रतिस्पर्धाले गुल्मीलाईमात्रै होइन, देशलाई नै तताएको छ ।

प्युठान–१ मा दुई पटक पुनर्निर्माण प्राधिकरणका सीईओ बनेका डा. गोविन्दराज पोखरेल कांग्रेसका तर्फबाट प्रतिस्पर्धामा छन् भने वाम गठबन्धनका तर्फबाट दुर्गा पौडेल उमेदवार बनेकी छन् । उनी राष्ट्रिय जनमोर्चाकी उमेदवार हुन् भने अर्धभूमिगत नेता मोहनविक्रम सिंहकी धर्मपत्नीसमेत हुन् । यसअघि सोही क्षेत्रबाट एमाले उपाध्यक्ष वामदेव गौतमले चुनाव जितेका थिए ।

कैलाली–२ मा भर्खरै एमाले परित्याग गरी कांग्रेसका तर्फबाट उमेदवार बनेका मोहनसिंह राठौर र वाम गठबन्धनबाट झपट रावल आमनेसामने हुँदा त्यहाँको चुनावी भिडन्त थप रोचक बनेको छ ।

कैलाली–५ मा प्रधानमन्त्री तथा कांग्रेस सभापति पत्नी आरजु राणा देउवा चुनावी प्रतिस्पर्धामा छिन् भने उनलाई चुनौती दिँदैछन्– वाम गठबन्धनका नारदमुनी रानाले ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०७४  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro