नेपाली कांग्रेसको १४ औं महाअधिवेशन यता कांग्रेसभित्रको इतर समूहले पार्टीमा पुस्तान्तरण र रूपान्तरण को बहस चलाइ रहेका छन् । शेखर कोइराला समूहले यस विचारको नेतृत्व गरेको छ । कांग्रेसमा अहिले देखिएको विचलन र पार्टीको छवि स्खलन भएकै कारण यो धारणा बलियो भएको देखिन्छ । पार्टी नीति, विधि र विधानमा नचलेको, नेतृत्वको तजबिजी प्रभुत्व देखिएको कारणबाट पनि संस्थापन इतर समूहले पुस्तान्तरण र रूपान्तरण नारा दिएको हो । यही क्रममा पार्टीका केही नेताले पुस्तान्तरण र रूपान्तरणका लागि प्रदेश स्तरीय अभियान चलाउँदै छन् ।
अहिलेको प्रतिनिधि सभाको बनोट र सरकार निर्माण गरिने प्रक्रियाले लोकतन्त्र र सुशासनमै प्रतिकूल असर पारेको छ । सरकार बनाउन र टिकाउन गरिने गठबन्धनका नाममा जे पनि गर्न तयार हुने अवस्था देखिएको छ। संविधान संशोधन गर्ने, मिच्ने वा न्याय र कानुनविपरीत हुने काम गर्न पनि नहिचकिचाउने प्रवृत्ति बढेको छ ।
सरकारमा नेपाली कांग्रेसको सबैभन्दा ठूलो पार्टीका रूपमा उपस्थित रहेको छ । नेकपा (एमाले) र माओवादी केन्द्रको गठबन्धन सरकार हुँदा पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेस एमाले सरकारबाट बाहिएपछि सरकारमा प्रवेश गरेको हो । यसैले अहिलेको सबै बेथिति अनियमिततामा पनि राजनीतिक नैतिकताको आधारमा कांग्रेस मुक्त हुनसक्तैन ।
नेपाली कांग्रेसको जग बीपीको विचार हो । बीपीको विचार जीवन्त राख्न सकेमात्र कांग्रेस जीवित रहन्छ । विचार र संस्कारमा विचलन आउन थालेपछि राजनीतिक दल जनताबाट टाढिन्छ । त्यस्तो दलको जनाधारमा ह्रास हुन्छ । अहिले कांग्रेसमा त्यही अवस्था छ । कांग्रेसको जनाधार बिस्तारै खस्किँदै गएको देखेरै डा. शेखर कोइरालाले " पार्टी जनताबाट टाढा रहेको " सन्दर्भ उठाएका हुनुपर्छ।
जनाधार कमजोर भएका अवस्थामा संस्थापन इतर समूहले उठाएको पुस्तान्तरण र रूपान्तरण झन् आवश्यक देखिएको छ । पार्टीमा पुनः विचार र संस्कार स्थापित गराएर विधिसम्मतरूपमा सञ्चाफन गराएर नै कांग्रेसको शुध्दीकरण हुन्छ ।
पुस्तान्तरण र रूपान्तरण
कोइराला समूहबाट उठाइएको पुस्तान्तरण र रूपान्तरणको विषयमा व्यापक बहस हुनु जरुरी छ । अहिले प्रदेशस्तरीय बहस सुरु भएको छ । 'पुस्तान्तरण' आफैँमा ऊर्जावान् ध्वनित हुन्छ । नेतृत्वको पुस्तान्तरण परिवारदेखि संस्थासम्म पनि हुँदै आएको छ । तर यो स्वाभाविक र प्राकृतिकरूपमा हुने गरेको छ भने यदाकदा संघर्षबाट पनि पुस्तान्तरण भएको इतिहास छ ।
अहिले कांग्रेसभित्र उठेको पुस्तान्तरणको माग भने स्वाभाविक प्रक्रियाअन्तर्गतको होइन । पार्टी सभापति लक्षित यो अभियान युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्न दिइएको दबाब हो । पार्टी सभापतिको राजीनामा मागिनु यसैको उदाहरण हो । द्वन्द्व र संघर्षभन्दा सहजरूपमा पुस्तान्तरण भए स्वच्छ र स्वीकार्य हु्न्छ । नत्र, पार्टीमा सधैँ विभाजन र तनाव रहिरहन्छ ।
पुस्तान्तरणको अभियान चलाउने युवा नेता पनि कुनै न कुनै शीर्ष नेताकै छत्रछायामा देखिन्छन् । छायामा रहेर राजनीति गर्नेहरू बिस्तारै 'बोनसायी' बन्दै जान्छन् । छायामा रहनेको क्षमता र प्रतिभाको विकास स्वस्थ र स्वच्छ हुँदैन । तैपनि, कांग्रेसभित्र धेरै पार्टीको छवि उज्यालो र ऊर्जावान् बनाउन सक्ने धेरै तरुण छन् । सम्भवतः नेपाली तिनै तरुणलाई पर्खेर बसेको छ ।
रूपान्तरण
अहिले कांग्रेसका लागि सबैभन्दा जटिल यही देखिन्छ । पुस्तान्तरण त जरुरी भइसकेको छ तर रूपान्तरण ?
रूपान्तरण भनेको के हो ? यस विषयको व्याख्या र अर्थ स्पष्ट पार्न जरुरी छ । रूपान्तरण भनेको 'रूप' परिवर्तन हो ? अहिले कांग्रेसको रूप भनेको चारतारा, रुख, राष्ट्रियता, लोकतन्त्र र समाजवाद बुझिन्छ । यही परिवर्तन गर्न खोजिएको हो ? त्यस्तो हो भने त त्यो प्रत्युत्पादक हुनसक्छ ।
पुस्तान्तरणमा लय मिलाउनलाई नै रूपान्तरण भनिएको हो भने ठीकै छ । नत्र यो कम्युनस्टहरूले लगाउने नारा जस्तो रूपान्तरण कांग्रेसका लागि सान्दर्भिक देखिँदैन । अहिले कम्युनिस्टहरू रूपान्तरणमा लागेका छन् । कहीले कम्युनिस्ट एकीकरण भन्छन् । अहिले समाजवादी मोर्चा भन्दै छन् । जनाधार नभएपछि पार्टीको नाम फेरेर नया रूपमा प्रस्तुत हुने खेलो त कम्युनिस्ट गर्दै आएकै छन् । जनतासमक्ष पार्टीको नाम र चिह्न गर्वसाथ प्रस्तुत गर्ने नसक्नेले पो रूप फेर्ने हो । कांग्रेसमा त त्यो अवस्था छैन नि । यो रूपान्तरण विवादास्पद देखिन्छ ।
कांग्रेसमा शुद्धीकरण जरुरी छ । विधिविधानअनुसार सञ्चालन हुनु जरुरी छ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद नै लक्ष्य ठान्नुपर्छ । रूपान्तरण जरुरी छैन । पुस्तान्तरण भएमा यो स्वतः चरितार्थ हुनेछ ।