
काठमाडौं । फुटबल क्लब खुमलटारमाथि २–० को जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजनको सातौँ स्थानमा उक्लिएको छ ।
शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार पुलिसलाई जित दिलाउन भरत शाह र मोहमद आसिकले समान एक गोल गरे ।
खेलको ७६औँ भरतको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । भरतले रविशंकर पासवानको कर्नमा जो आइडुले हेड गर्दा प्राप्त बललाई हेडमार्फत नै पोस्टको दिशा दिएका थिए ।
८८औँ मिनेटमा आसिकले गोल गर्दै पुलिसलाई २–० को जित दिलाए । योसँगै पुलिसले खुमलटारविरुद्ध लिड डबल (दुवै भेटमा पराजित) गरेको छ ।

यसअघि पहिलो भेटमा पुलिस ३–१ ले विजयी भएको थियो । जितसँगै २१ खेलमा २८ अंक जोडेको पुलिस सातौँ स्थानमा उक्लिएको छ । समान खेल खेलेको खुमलटार २१ अंकका साथ पुछारमा छ ।
लिगमा आजै भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले थ्री स्टार क्लबलाई १–० ले पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पालाई जित दिलाउन निशान लिम्बुले एन्जुरी समयमा निर्णायक गोल गरे ।
जितसँगै २१ खेलबाट २९ अंक जोडेको हिमालयन शेर्पा तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २६ अंक जोडेको थ्री स्टार तालिकाको नवौँ स्थानमा छ ।