
काठमाडौं । इटाली एआई च्याटबोट च्याट जीपीटीमाथि प्रतिबन्ध लगाउने पहिलो पश्चिमी देश बनेको छ ।
इटालियन तथ्यांक–संरक्षण प्राधिकरणले यस मोडेलमा तथ्यांकसँग जोडिएको चिन्ता रहेको बताएको बीबीसी हिन्दीले लेखेको छ ।
च्याट जीपीटी अमेरिकाको ओपन एआई स्टार्टअपले बनाएको हो । यसमा माइक्रोसफ्टले लगानी गरेको छ ।
नियामकले ओपन एआईलाई “तत्काल प्रभावका साथ“ प्रतिबन्ध लगाएको बताएको छ । च्याट जीपीटीमाथि आफ्नोतर्फबाट छानबिन गर्ने जनाएको छ ।

च्याटबोट च्याट जीपीटीले आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले मानिसले जसरी प्रश्नहरूको जवाफ दिन्छ । यसले मानिसको लेखनशैलीको नक्कलसमेत गर्छ ।
माइक्रोसफ्टले यसका लागि अर्बौँ डलर खर्च गरेको छ । यसलाई गत महिना आफ्नो सर्च इन्जिन बिंगमा थपेको छ ।
कम्पनीले यसलाई वर्ड, एक्सेल, पावरपोइन्ट र आउटलुकलगायतका अफिस एपहरूमा इम्बेड गर्ने जनाएको छ ।