
काठमाडौं । तराईका विभिन्न जिल्लाबाट काठमाडौंसम्म हिँडेर आएका मिटरब्याज पीडितहरू बिरामी पर्न थालेका छन् ।
काठमाडौंको चिसो सडकमा रात बिताउने र दिउसोको आन्दोलनका कारण उनीहरु बिरामी पर्न थालेका हुन् ।
दुःखको पोको लिएर काठमाडौं आइपुगेका उनीहरुमध्ये कसैले ऋण लिएको साँवाको चार गुणासम्म तिरेको कहानी छ त कसैले ऋण नै नलिइ जग्गा सित्तैमा दिएर मुद्दा खेप्नु परेको छ ।
काठमाडौंको नयाँ वानेश्वरमा भएको मिटरब्याज पीडितको आन्दोलनमा भेटिएकी लक्ष्मी परियारको भने छुट्टै कहानी छ ।
उनले मिटरब्याजीबाट ऋण लिएर तिर्दा पनि जग्गाको विषयमा मुद्दा खेप्नु परेको थियो ।
“मैले ऋण लिएर पनि तिरिसकेकी छु । मिटर ब्याजीले मेरो जमिनमा मुद्दा हालेर त्यो मुद्दा पनि मैले जितिसकेको छु,” उनले भनिन् ।
तर, उनी आफ्नी आमा दुर्गा परियारको न्यायका लागि काठमाडौंसम्म पैदल यात्रा गरेर आएको बताउँछिन् । उनले तीन वर्षकी छोरीलाई पनि साथमा लिएर आएकी छन् ।
उनका अनुसार आफ्नी आमाले गाउँको साहु गणेश जैसवालसँग पैसा लिने तमसुक गरेकी भए पनि अहिलेसम्म पैसा दिएको छैन ।
एक लाख रुपैयाँ ऋण उपलब्ध गराउने भन्दै जैसवालले तमसुक गराएको र आमाको नाममा रहेको जग्गा पनि पास गराएका थिए ।
अहिले जैसवालले उनकी आमाको नाममा झुटा मुद्दा लगाएको परियार बताउँछिन् ।
“मेरी ममीले गणेश जैसवालसँग पैसा नै लिएकी छैनन् । तर, एक लाखको तमसुक बनाइएको छ भने जग्गा पनि पास गरिएको छ,” उनले भनिन्, “ममिको जग्गामा मुद्दा हालिएको छ ।”
त्यस्तै, सप्तरीकी नमता रायको दुई लाख ऋण लिएर २५ लाख रुपैयाँ तिर्दा पनि जग्गा फिर्ता नदिएको कहानी छ । उनको यो समस्या प्रहरीले पनि नबुझेको राय बताउँछिन् ।
आन्दोलनमा सहभागीहरू न्याय नपाएसम्म काठमाडौंको खुला सडकमै बस्ने बताउँदै आएका छन् । चैत १३ गते काठमाडौं महानगरपालिकाले खुलामञ्च नदिँदा वीर अस्पतालको अगाडि सडकमै रात बिताएका थिए ।
आन्दोलनमा तराईका विभिन्न जिल्लाबाट ७५ जना भन्दाबढी सहभागी छ ।
सरकारले पनि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । त्यस्तै सरकारले मिटरब्याज धन्दालाई अपराधको दर्जामा राखेर कानुन संशोधन गर्ने पनि निर्णय गरेको छ ।
नमता राय, सप्तरी
दुई लाख लिएर ३५ लाख रुपैयाँ तिरेको
मैले सुजाता साहबाट दुई लाख रुपैयाँ ऋण लिएको हुँ । तर, ३५ लाख रुपैयाँ तिर्दा पनि मेरो जग्गा फिर्ता दिएको छैन । उल्टै मलाई धम्क्याउने, छोराछोरीलाई गुण्डा लगाइदिने गरेकी छन् । प्रहरी चौकी नजिकै उसको पसल छ ।
उसको कारणले मेरी छोरी स्कुल जान छोडेकी छे । मेरो जग्गा अरूको नाममा बेचेको छ । मैले दुईवटा जग्गा राखेको थिए ।
उसले एउटा बेचेकी छ । अर्काे जग्गा पनि बैंकमा राखेर ऋण लिएकी छ । प्रहरीले हाम्रो कुरा सुन्दैन । उसलाई सोफामा राखेर उसैको कुरा सुन्छ ।
लक्ष्मी परियार
मैले पनि ऋण लिएकी थिए तिरिसकेकी छु । मिटरब्याजीले मेरो जमिनमा मुद्दा हालेर त्यो मुद्दा पनि मैले जितिसकेको छु ।
मेरो ममीले पैसा लिएको छैन । गणेश जैसवालसँग एक लाख रुपैयाँको कागज गरिएको छ । तर, पैसा दिएको छैन । ममीको जग्गामा मुद्दा हालिएको छ । मेरो ममीको नाम दुर्गा परिवार हो ।
महमद मुस्तकिङ मिया, सप्तरी
विनोदकुमार यादवसँग मेरो आमाले सात लाख रुपैयाँ ऋण लिनु भएको थियो । त्यो ऋण हामीले ट्याक्टरमा परेर मृत्यु भएकालाई दिन लिएका थियौं ।
मैले विदेशबाट कमाएर २१ लाख रुपैयाँ दिइसकेको छु । तर, मेरो जग्गा फिर्ता गर भन्दा फिर्ता नै गर्दैन । जग्गा फिर्ता माग्दा यो जग्गा र घर मेरो हो । तिम्रो बुवाले मेरो नाममा गरिदिएको छ ।
तपाईं अब भाडामा बस्नुहोस् यो घर खाली गरिदिनुहोस् भनेको थियो । मेरो आमाको नाममा रहेको घर हो । मैले तपाईंलाई २१ लाख रुपैयाँ दिएको हो भने ।
मैले सीडीओ कार्यालयमा निवेदन पनि दिए । तर, २/४ दिनमा म बोलाउँछु भन्छ । तर, राजनीतिक आडमा कानुनमा छैन भन्दै हामीलाई हप्काएर पठाइन्छ ।
आठ वर्ष मैले कतारमा बसेर कमाएको २१ लाख रुपैयाँ तिरेको छु । मेरो साढे ११ धुर जग्गा उसैले लिएको छ । हाम्रा कुरा स्थानीय सरकार, प्रदेश सरकार कसैले सुनेन हामी हाम्रा दुखेसो लिएर केन्द्रमा आएका हौं ।