
काठमाडौं । नेपाल चलचित्र नृत्य संघले नृत्य गर्ने कलाकरहरूको पारिश्रमिक बढाएको छ । संघले चलचित्रका गीत तथा म्युजिक भिडियोमा नृत्य गर्ने नृत्य कलाकारको पारिश्रमिक बढाएको हो ।
आउँदो वैशाख १ गतेबाट लागु गर्नेगरी पारिश्रमिक बढाइएको भन्दै संघले चलचित्र निर्माता संघलाई पत्र पठाएको छ । संघले नेपाली चलचित्र एवं सवै भाषाभाषीका चलचित्रका गीतका लागि एउटा गीतको प्रतिदिन तीन हजार, दुई दिन छायांकन भए पाँच हजार र तीन दिनको ६ हजार न्यूनतम पारिश्रमिक तोकेको छ । विदेशी चलचित्रका गीतको हकमा प्रतिदिन तीन हजार पारिश्रमिक तोकिएको छ ।
म्युजिक भिडियोको हकमा प्रतिव्यक्ति दिनको दुई हजार रुपैयाँ पारिश्रमिक तोकिएको संघले जनाएको छ ।

यता, चलचित्र निर्माता संघले पारिश्रमिक बढाउने निर्णय आफूहरूलाई स्वीकार्य नभएको बताएको छ । चलचित्रको बजार खस्किरहेको सन्दर्भमा मूल्यवृद्धिको कारण देखाउँदै संघले गरेको निर्णय आफूहरूलाई मान्य नहुने चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का बताउँछन् ।
“एउटै नायकले ५० लाखभन्दा माथि पारिश्रमिक लिने । निर्देशकले ४५ लाखसम्म लिने । हलले शो नदिने । पाएको शोमा पनि चर्को प्रतिस्पर्धाले सिनेमा नचल्ने अवस्थामा यसरी संस्थागत रुपमा मनमौजी पाश्रिमिक बढाउने हो भने चलचित्र उद्योग झन थला पर्ने अवस्थामा पुग्छ,” अध्यक्ष खड्का भन्छन्, “एउटा फाइटमा २५ देखि ५० जना फाइटर हुन्छन् । एउटा गीतमा कोरस न्यूनतम ६० जना हुन्छन् । यति धेरै व्यक्तिलाई ६ हजारका दरले पारिश्रमिक दिएर निर्माताले कसरी सिनेमा बनाउन सक्छ ?”
सहमतिको प्रयास गरिने समझदारी कायम नभए तेलगू फिल्म इन्डस्ट्रीमा जस्तै सम्पूर्ण छायांकन रोकेर निर्माताले आन्दोलन गर्ने उनको चेतावनी छ । निर्मातालाई मात्रै आर्थिक बोझ बोकाएर सिनेमा उद्योग नचल्ने उनको भनाइ छ ।
“केही समय अगाडि तीन करोडमा बनेको छलचित्र छड्केले ३० लाख कलेक्सन गर्यो । निर्माताको हातमा १० लाख पुग्यो,” उनी भन्छन्, “यस्तो अवस्थामा निर्मातालाई थप मार पार्ने काम कोही कतैबाट हुन्छ भने आन्दोलनको विकल्प हुँदैन ।”