site stats
साहित्य
उद्धव देवकोटाका दुई कविता 

स्न्यापसट
सुन फूलाउने हातहरू 
नुनको खोजीमा हराएपछि 
जून रातभर रोएको छ ।
भिल्लका देशमा मिल्किएका पारसमणिहरू 
छरपष्ट छन् यत्रतत्र सर्वत्र
सोचका पाइलाले किचिएर 
माथि उठ्न नसकेको ब्रह्मजस्तो
कागजी खोस्टासँगै 
मपाइँत्वको बुर्कुसी मार्नेहरूको भीडमा
हरेक प्रहर साइनाइडमा अन्त्य हुन्छ एउटा जीवन । १ ।

तर पनि फेरि सरीसृपझैँ घस्रँदै
जूनसँगै रोएर सुकेका आँखाहरू
खोज्दछन् एक चिम्टी खुसी
एक अञ्जुली माया र
एक छाकको पेट भराइ
तातो बालुवाको लप्कासँगै
सट्टापट्टा गर्दछन् आफ्ना आकांक्षाहरू । २ ।

तर, तर मौनताको सिन्धुमा कुनै तुफान छैन
न छ विचार अनि विवेकमा नौलोपना
आशाको झिनो त्यान्द्रोमा
बहेली खेल्न उद्दत छन् तनहरू
विनासर्त होमिन्छन् बत्तीका पुतलीझैँ
जरुरी जहर बन्दा स्वाहा हुन्छन् रहरहरू
खाडी र साडीसँगै अनेकन् बहानामा । ३ ।

Himalayan Bank
Agni Group

चाहे मरुभूमिले चुसेको जवानी 
या होस् पिपासुले लुछेको कहानी
रेमिट्यान्सले धानेको अर्थतन्त्र
एयरपोर्टको आगमन–बाह्यगमनको स्टाटिस्टिक्स
ब्रेनड्रेनले बतासिएको स्न्यापसट
कसैको मन्तव्य, न्युजस्टोरी या टिकटक बन्न सक्छ
विडम्बना !
मनोरोगी बनेर टुलुटुलु नियालिरहेछु देश
केवल एउटा दुःस्वप्न 
र उत्सर्जी मनोविकार बोकेर । ५ ।

०००

Global bank

फन्को
सन्तापको आगोमा
कठ्यांग्रिएको तनसँगै
एकजोडा हातहरू
सपनाको सेकुवा पोल्दै छन्
र, गरेका छन्
बिक्री खुला 
सबैका लागि 
अनेकौँ अफरहरूसँगै

नुन र उनको जोहो गर्न
हरेक बिहान, हरेक साँझ
घट्टझैँ घोटिइरहेका छन्
दिनझैँ छोट्टिइरहेका छन्
अश्वमेघ यज्ञपछि छाडेका 
विनालगामका घोडाहरूझैँ 
मन, मस्तिष्क असन्तुलित बनाएर
लागिपरेका छन् निष्काम कर्मयोगको अध्यायमा 

चुक घोप्टिएको रातमा 
सकुनीको छलमा लट्ठिएका पाण्डवहरूझैँ
भवभावको राग अलाप्दै
हरेक प्रहर तमासे बन्छन् द्रौपदीको चिरहरणको
र,
भजिरहन्छन् कलियुगको नवगीता आधुनिक सञ्जयहरू

समय र परिवेश बदलिएको छ
रूप र यौवन फेरिएको छ
केशको सुन्दरता हराएको छ 
अनुहारमा चमक डराएको छ
ती कसिला हातहरू
हिजोआज,
सेकुवा पोल्ने झिरझैँ सुकेका छन् 
तर पनि
ओठको हिसी हराएको छैन
क्रेताको पर्खाइमा बसेका विक्रेताझैँ 
हरेक प्रहर दन्तविहीन मुस्कानसँगै 
उज्यालो कुरिरहछन्
एकजोडा आँखाहरू ।
(तिलोत्तमा, रुपन्देही)
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०६:५३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय