site stats
साहित्य
खड्को

पाठक, कथा जति सहज घटित छ त्यति रोचक छ वा छैन त्यो मूल्यांकन हुन बाँकी छ । तर, केही ट्विस्ट पनि लिएको अवश्य छ । बिनाट्विस्ट के कथा !

यो त भनिरहनु परोइन, कथामा वर्णित घटनाहरू पूर्णतः काल्पनिक छन् र पात्रहरू ? पात्रहरू वास्तविक जीवनबाट उठाइएका । कथाकारको कथन पत्याउन सकिने छ वा छैन त्यो अर्थात् कथा पढेरै थाहा पाइनेछ ।

ऊ ओरालो लाग्दै थियो र अर्कोतर्पmबाट साइकिल डोर्याउँदै एक अपरिचित उकालो लाग्दै थियो । ओरोलो लाग्दै गरेको मोहन थियो र उकालो लाग्दै गरेको रामप्रसाद ।

S.A.U
Agani Group

साइकिल डोर्याउँदै मोहनलाई क्रस गर्ने बेलामा सुनिने गरी एउटा भद्दा गाली गरेको उकालो लाग्दै गरेको रामप्रसादको कानमा सुनिन आयो । त्यो उच्चारण गरिएको गाली अत्यन्त भद्दा त थिएन, तर गाली त गाली नै हो भन्ने खालको थियो ।

गाली कसप्रति लक्षित थियो ? त्यो साइकिलवालाले थाहा पाएन, तर गाली उसैलाई गरेको हो भने, केही गरिबिराउनु छैन भने गाली किन खानु ! नसुनेझैँ गरेर खुरुखुरु बाटो लाग्न पनि सकिन्थ्यो । तर, रोकिएर सोध्यो, ‘ए दाइ, तपाईंले मलाई गाली गरेको हो ?’

Global bank

प्रश्न सुनेर मोहन अलमलियो । उसले गाली उच्चारण गरेको थियो । तर, त्यो उसको आफ्नै दुष्ट साहुका लागि थियो, जसले उसको ज्यालाबाट नोक्सान गरिएको रकम भनेर रू. एक सय त्रिपन्न काटेको थियो । मोहन त्यो हर्जाना न्यायपूर्ण मान्दैनथ्यो ।

मोहनले प्रश्न बुझेर रामप्रसादलाई हेर्दै भन्यो, ‘होइन साथी, यो त मैले साहुमाथि रिस पोखेको हो ।’

साइकिलवालाले जवाफ सुनेपछि सन्तुष्ट भएर सोध्यो, ‘साहुले के गर्यो र ?’

यसरी मोहन र रामप्रसादका बीच परिचय स्थापित भएको हो । परिचय आदानप्रदानपछि मित्रता स्थापित भयो र उनीहरू कतिपय अवसरमा सँगसँगै हिँड्ने भए । अहिले पनि सँगै हिँडे ।

ओरालो लागेको मोहन पुनः उकालै लागेर रामप्रसादसँग हिँड्यो । केही परको परिचित चियापसलमा एक गिलास चिया मगाएर दुवैले आधाआधा बाँडेर खाए । एक गिलास चिया बाँडेर खाँदैमा यसो मात्र भनेनन्— आज हामीले मित लायौँ ।

चिया सकेपछि मोहनले भन्यो, ‘जाऊँ मेरो डेरातिर । म एक्लै छु ।’

डेरामा जाऊँ त भन्यो, तर डेरामा एउटा मैलोझुत्रो ओछ्यानबाहेक केही थिएन । डेंगीको संक्रमणको बिगबिगी थियो । तर, उसले झुल हालेको थिएन ।

रामप्रसादले आफ्नै डेरामा जान कर गर्यो । भन्यो, ‘घरमा स्वास्नी छे, दुई जिउकी ।’

केही बेर रोकिएर एउटा औपचारिकताका लागि माहेनले सोध्यो, ‘कति महिना भयो ?’ उसले परिपक्व गृहस्थीले झैँ सोध्यो । उसको बिहे भएको थिएन, तापनि प्रश्न प्रासंगिक थियो । मानौँ, ऊ दुईचारवटा छोराछोरीको बाबु भइसकेको छ ।

साइकिलवाला रामप्रसादको डेरामा पुगे । रामप्रसादकी साली आजै आएकी उनीहरूले थाहा पाए । रामप्रसाद साइकिल चलाएर के धन्दा गर्थ्यो भन्ने मोहनले सोधेको थिएन । ग्यास वा पानीका जार घरडेरातिर पुर्याउँदो हो भन्ने अनुमान गर्यो । साइकिलमा त्यस्ता सामान बोक्ने उपकरण पनि जडित थिए ।

साइकिल प्रयोगमा आएको धेरै वर्ष भएकाले थोत्रो थियो । डेराभित्र पसेपछि मोहनले रामप्रसादकी स्वास्नी राम्री रहिछ भन्ने देख्यो । पहिलो सम्बोधनमा नै उसले ‘भाउजू’ भन्यो । उसकी बहिनी भाउजूको छेउमा खुम्चिएर बसेकी रहिछ ।

उसले गडेर हेर्यो सालीलाई । हुर्किएकी र फस्टाएकी रहिछ । फक्रिसकेकी पनि । नाम.मधु । तरुनी सालीको नाम रामप्रसादले थाहा नपाउने कुरै भएन । ऊमार्पmत मोहनले पनि थाहा पायो । मनमा गडिराख्ने नाम रहेछ, मधु !

कुमार केटो मोहनले थाहा पाएपछि पनि नाम काढेर बोलाउन सकेन ‘मधु’ भनेर । परिचय अल्पअवधिकै थियो, सो खामोस बस्यो । मात्र यति औपचारिकताका लागि सोध्यो, ‘वाँ नै हो तपाईंकी साली ?’

रामप्रसाद अलि ठट्यौली मानिस रहेछ, भन्यो, ‘अरू कोही त कोठाँ देख्दिनँ भनेपछि यै त होली मेरी साली !’ मधुले गाला राता पारी र मुन्टो निहुराई । त्राण माग्नझै मात्र यति उच्चारण गरी ‘दिदी...!’

सालीमाथि हक लाग्छ भनेर कतै भिनाजुले झ्याप्प छोप्न आउँछन् कि भन्ने मधुको मनमा डर पनि थियो ।

मोहनले सोध्यो, ‘बाटोमा दुःख त भएन ?’

मधुले टाउको हल्लाएर जनाउ दिई— भएन । अहिले नै उसको सुख र दुःखको सोधखोज गर्ने हक मोहनले पाइसकेको थिएन । तर, मधुमा मोहनप्रति एकप्रकारको संलग्नता पलाइसकेको थियो । 

मोहन जिउडाल मिलेको युवक थियो । मात्र साहु ठिक थिएन उसको । यो मधुलाई थाहा थिएन । प्रेम टुसाउने भयो, साहुको आवश्यकता थिएन मधुलाई, मोहन भए पुग्थ्यो ।

तर, मोहनलाई साहुको चालचलनले उसै पनि खेदिरहन्थ्यो । मधुलाई एक किसिमले ऊ आफ्नो बनाउन इच्छुक त थियो, तर केही गरी घरजम गर्र्ने आर्थिक आधार पाइएन भने के होला भन्ने चिन्ताले सतायो । साहुको नोकरी गरेर पार लाग्ने छाँट थिएन ।

स्थायी जागिर पाएदेखि ऊ र मधुको घरजम सरल हुने थियो भन्ने सोचेर चिन्तित भयो । साहु कुरैपिच्छे मोहनलाई हप्काउने गर्थ्यो र निहुँ झिकेर तलब कम दिने खालको छुच्चो थियो ।

‘साहु किन यस्ता छुच्चा हुन्छन् ?’ रामप्रसादलाई उसले एक दिन चिया खाँदै गर्दा सोधेको थियो, ‘दयालु र उदार भएर त कसरी पैसा कमाइन्छ ?’ प्रतिप्रश्नजस्तो उत्तर सुनेर मोहन चुप लाग्यो ।

मोहन रामप्रसादको डेरामा आउने–जाने गर्न थाल्यो । झ्याम्मिएपछि मधुले पनि ऊसँग मनका कुरा खोल्न थाली । भाउजूको स्वास्थ्य पनि ठिकै थियो । तर, एक दिन हठात् उनलाई व्यथा लाग्यो । सन्जोगले मोहन त्यहाँ पुगेको समय थियो ।

रामप्रसाद निर्वाचनको जरुरी कामले गाउँतिर गएको थियो । ऊ एउटा पार्टीको कार्यकर्ता पनि थियो । बेलाबखत गाउँ जाने गरिरहन्थ्यो, आफ्नै कामले वा पार्टीले अह्राएको कामले ।

पार्टी भूमिगत थियो । यसपटकको चुनावमा भाग लिने निर्णय गरिसकेको थिएन । पार्टीमा अलमल थियो, फुट्ने काम पनि भयो । बाहिर देखाउन सिद्धान्त र विचारको विभाजन भएको भनियो । भित्र केही थिएन ।

रामप्रसादले भन्यो पनि— खोक्राहरू जति फुटे पनि हुनेवर्ने केही होइन । फुटेकाहरूले निर्वाचनमा भाग लिने भन्थे ।

ऊ निर्वाचनमा भाग लिने पक्षमा थियो । पार्टीको सांगठनिक कामले पनि र व्यक्तिगत कामले ऊ गाउँ गइरहन्थ्यो । पार्टी भूमिगत छँदा उसलाई कसो सुराकी भनेर प्रशासनले समातेन । ऊ सुराकी त थिएन र पार्टीमा पनि खासै गन्तीमा थिएन । गरिबका लागि संघर्ष गर्छौँ भनेकाले पार्टीमा लागिटोपलेको थियो ।

रामप्रसादले साली मधुलाई दिदीको हेरचाह गर्न र केही परे मोहनलाई खबर गर्न, सहयोग लिन अह्राएर गएको थियो । गाउँमा के काम थियो, त्यो उसले भनेन । गाउँमा साहुको रिन पनि तिर्नु थियो । केही नभए ब्याजै भए पनि बुझाउन साहु ताकेता गरिरहन्थ्यो । ऊ गाउँमा साँझपख पस्थ्यो र भालेको डाँकमा सहरतिर हिँड्थ्यो । एक किसिमले उसको जीवन पनि भूमिगत किसिमकै थियो ।

रामप्रसाद गएपछि त्यसै दिन भाउजूलाई व्यथा लाग्यो । मधु र मोहन मिलेर भाउजूलाई प्रसूति केन्द्रमा भर्ना गरेपछि साँझतिर कोठामा फर्की आए । मधुले खाना पकाई । त्यो उनीहरू दुवैजनाले मिलेर खाए र पछि राति एक्लै सुत्न डर लाग्छ भनेकाले बाध्य भएर मोहन मधुसँगै बस्यो ।

के खोज्छस् काना— आँखो भनेजस्तो भयो । भाउजूका लागि खाना पुर्याउने होसै रहेन । तर, मोहनको मनमा मधुप्रति पाप थिएन । उसले मधुलाई यसअगि नै अवसर परेको बेला भनिसकेको थियो, ‘म तिमीलाई सच्चा मनले प्रेम गर्छु ।’

मन सच्चा भए पुरुषको शरीर कच्चा हुने गर्छ । मोहनको प्रेम सच्चा थियो वा थिएन त्यो मधुले जाँचिन । तर, उसले शरीर कच्चा भएको पाई, उसकै शरीरले पनि कच्चापन देखायो 

उस बेला मधुले भनेकी थिई, ‘कसको मनमा को पसेको हुन्छ र मोहन प्यारा, तर तिम्रो कुरा म विश्वास गर्छु । तिमी मलाई बिहे गर्र्छौ ?’ 

उसले बिनाआलटाल भन्यो, ‘गर्छु । सयचोटि गर्छु ।’ मधुलाई यो पत्यारिलो भयो । तर, एउटा कुरा उसले बुझिन कि बिहे एकपटक गरेमा पुग्थ्यो, तर मोहनले किन सयचोटि गर्छु भन्यो ।

उसले सोची— केटाहरू एकैपटकको भेटमा भावावेशमा किन आउँछन् ? यसले मबाहेक अर्कीसँग लभ गरेको पनि छैन होला । यसरी अत्तालिएर जवाफ दिनुपर्ने केही थिएन । अर्की केटीसँग लभ गरेको भए पनि बित्यास पर्छ । तर, केटोसँग अर्र्की केटीलाई प्रेम गरेको पुरानो अनुभव रहेछ । मसँग टाढिने काम नगर्ला । किनभने, प्रेममा बिछोडको व्यथा कति कष्टदायी हुन्छ त्यो बुझेको हुनुपर्छ ।

तर, उसको मनमा एउटा गाँठो यो पर्न आयो— के उसले अगि कसैसित प्रेम गरिसकेको भए मलाई पनि थाङ्नामा सुताइदेला ?

राति उनीहरू सँगै सुते । बिहान मोहन आफ्नो डेरातिर लाग्यो र कारणवश फेरि त्यतातिर फर्केन ।

यता, रामप्रसाद तीनचार महिनासम्म गाउँ जाने–आउने गरिरह्यो । अन्तिमपटक रामप्रसाद साइकिल डोर्याउँदै लखतरान परेर गाउँबाट फर्कियो । भन्यो, ‘गाउँमा धेरै दिन लाग्यो । साइकिल नलगेको भए संगठनका लागि छिमेकी गाउँमा दौडधुप गर्न बसभाडा धेरै खर्च हुने थियो । पार्टीले एक पैसो दिने होइन । धन्न बुद्धि पुर्याइएछ ।’

रामप्रसादकी स्वास्नीले छोरो जन्माएकी थिई । ऊ खुसी भयो । अलि ढिलै सन्तान भएकोले भन्यो, ‘ढिलो हुनु छोरो हुनु ।’ मधु पनि त्यहीँ थिई । तर, उसको मुख उज्यालो थिएन ।

भिनाजु रामप्रसादले भन्यो, ‘मधु, तिमी ओइलाएको देख्छु नि !’ अलिअलि थामिएर सोध्यो, ‘खै त मोहन, ऊ यता आउन छाड्यो अचेल ? झन् म गाउँ गएका बेला मेरो जहान र सालीको राम्ररी हेरविचार गर्नू भनेको त बेपत्ता नै पो भएछ ।’

मधुले केही भन्न सकिन । तर, मनमनै भनी– मोहनले मलाई गर्भवती गराएको छ । म उसको चिल्ला कुरामा फसेँ । लोग्नेमान्छे सबै यस्ता हुन्छन् कि ? 

उसको यो कुरा थाहा पाइसकेकी उसकी दिदीले उति बेलै उग्र हुँदै भनिसकेकी थिई, ‘सबै लोग्नेमानिस चिप्लाचपुल्ला हुन्छन् भनेर जानेकी तँ जानीजानी लहसिस् त ?’ यसमा मधु मौन बसी । विवाद गर्नु उचित देखिन । दिदीले जगल्ट्याउने डर पनि थियो ।

पहिलेदेखि मधुकी दिदी उसका गतिविधिको चियो गर्दै थिई । त्यसैले शंका पैदा थियो उसमा । रामप्रसाद गाउँबाट फर्केर आउनुअगि दिदीले बहिनीलाई बेसरी केरकार गर्दा उसले घटनाको सत्यतथ्य बयान गरेकी थिई ।

दिदी एक छिन जंगिई, बहिनीको जगल्टा लुछूँ कि गाला फुटुन्जेल पड्काऊँ भन्ने भई । तर, अन्ततः असहाय थिई । लोग्ने आएको राति नै उसले त्यो कुरो ढिला नगरी भनी । रामप्रसाद रातभरि निदाउनै सकेन । मोहन यस्तो घटिया मानिस होला भन्ने उसले चिताएको थिएन । साथी भनेर भरोसा गरेको त दुष्ट पो निस्क्यो ।

उसले निद्रामै बर्बराउँदै भन्यो, ‘मोहन, तैँले मेरो पिठ्युँमा छुरा घोपिस् ।’

झसंग भएर जागेपछि सालीको अब के गर्ने भन्ने उसलाई चिन्ताले सताउन थाल्यो । सासूससुरालाई के भनेर जवाफ दिने भन्ने त्रास पनि मनमा आइराख्यो । बिहानीपख मात्र उसलाई निद्रा लाग्यो, यद्यपि ऊ गाउँको काम र फर्कंदाको बसको लामो यात्राले अत्यन्त थकित थियो ।

बिहान उसले रिसको आवेगमा स्वास्नीलाई भन्यो, ‘मोहनलाई म छप्काएरै छाड्छु । कहाँ छ खुकुरी, ले !’

घरमा एउटा आँसीबाहेक काट्ने कुरो अर्को थिएन र लोग्नेले खुकुरी माग्नु उसले उचित देखिन । एउटा खुकुरी र अचानो किनिराखौँ भन्दा नमानेको सम्झी । भन्थ्यो— हिंसा भड्काउने सामान घरमा राख्नु ठिक हुन्न ।

अहिले मान्छे छप्काउन खुकुरी खोजिरहेछ । रामप्रसादले स्वरमा रिस देखाउँदै स्वास्नीलाई भन्यो, ‘उसले मधुको जिन्दगी बिगारेको छ, तर साला उम्केर कता जाला !’ 

उसलाई यो शंका थियो, मोहन साहुको काम छाडेर अन्त कतै काममा लागेको हुनुपर्छ र डेरा बदलिसकेको हुनुपर्र्छ ।

स्वास्नी डराई र भनी, ‘त्यसो गर्नु ठिक हुन्न । मान्छे मारेका कारण प्रहरीले समातेर तिमीलाई जेलमा हाल्यो भने हाम्रो के हुने ? हाम्रो त बिचल्ली हुन्छ हुन्छ, तिम्रो जीवन पनि बर्बाद हुन्छ । मारकाटका कुरा छोड । बरु, सजिलो उपाय सोच ।’

रामप्रसादले हठात् सोध्यो, ‘अरू के उपाय छ ?’

स्वास्नीले गम्भीरतापूर्वक सोचेको भङ्गिमा देखाई । सोच्नलाई ऊसँग पनि केही थिएन, दिमाग खाली नै थियो । आफ्नै माल खराब निस्केपछि कति नै पो बलियो भइन्छ र बहस गर्न ! मात्र एउटा डर व्याप्त थियो, कतै लोग्नेले मोहनको हत्या नगरोस् ।

हत्या गर्न सक्ने खालको उसको पोइ थिएन, उसलाई यो पनि महसुस भइरह्यो । अलि ढुक्क भई । उसलाई ढाडस लागिरहेथ्यो, उसको लोग्नेले रिसको आवेगमा मार्छु काट्छु भनिहाले पनि यस्तो भयावह काम गर्न सक्दैन । मान्छे नरम स्वभावको छ ।

उसरी मधु उसकी बहिनी पनि त होइन, साली हो । तर, भित्रभित्रै लज्जाबोध पनि भइरहेको होला— दुई जिउकी दिदीलाई सघाउने कोही छैन भनेर गाउँबाट सासूससुरालाई भरोसा दिएर बोलाइहालेँ भनेर । यस्तो गम्भीर घटना होला भन्ने के थाहा ?

मधु हेर्दा सुशील नै देखिन्छे । तर, आगोको छेउमा राखेको मैन पग्लिन कति बेर, बेरै लाग्दैन । चढ्दो जवानी, होइन जवानी चढिसकेको रहेछ, नत्र यस्तो घटना किन बेहोर्नुपर्थ्यो !

घरमा मौनता थियो । कसैले उज्यालो अनुहार लगाएका थिएनन् । करिब नौ बजेतिर ढोकामा कसैले ढकढक गरेको सुनियो । त्यति बेलासम्म खाना पकाउने सुरसार थिएन । मधु पनि रोइरहेकी थिई । रामप्रसादले केही भन्न सकिरहेको थिएन । न मधुलाई हप्काउन सकिरहेको थियो न खुकुरीको तारतम्य मिलाउन तर्खरिइरहेको थियो ।

ढोका मधुले नै खोली । ढोकामा निलो बर्दीमा एकजना तन्नेरी उभिएको देखियो । पहिले चिनिएन । को हो ? तर, मान्छे चिनेपछि मधु एक्कासि नाटकीय पाराले चिच्च्याई र बेहोस भई । ऊ भुईंमा लम्पसार परी ।

गम्भीर पाराले हेर्दा मान्छ चिनियो, ढोकामा उही मोहन उभिएको थियो । निर्वाचनका लागि भर्ना गरिएको म्यादी प्रहरी जवानको नयाँ निलो पोसाकमा ऊ डटिडटाउ थियो । एउटा हातमा मलेसियाबाट महँगोमा किनिएको मान्छे भकुर्ने लामो लट्ठी थियो र अर्कोमा एक किलो मासुको प्लास्टिकको झोला ।

भित्र पस्दै उसले भन्यो, ‘यो के चाला हो, मान्छे भएको घर पनि यस्तो सुनसान ! ...हन, मलाई देखेर मधु किन बेहोस भई ? उसैका लागि म यत्रो धामा गरिरहेछु । यतिका दिन भर्नावर्ना हुँदा र ट्रेनिङतिर लाग्नुपरेकोले छुट्टी पाइएन ।’

मोहनले मासुको झोला एक छेउको एउटा खुट्टा छोटो टी–टेबिलमा राख्यो । सबैको अनुहार फ्युज चिम फेरेझैँ एकैचोटि उजेलियो । रामप्रसादको मनमा व्यर्थैमा यसलाई काट्न खुकुरी खोजेछु भन्ने भयो ।

उसले भावविभोर हुँदै ठट्टामै भन्यो, ‘ओहो, साढु भाइ ! यतिका दिन कुनै खबरखाबर नगरी कता हराएको नि ?’

तर, मधु भुईंमा सोत्तर थिई । मधुलाई सबै मिलेर पानी छम्कीवरी होसमा ल्याए । 

केही बेरसम्म मधु मोहनलाई हेर्दै हाँस्ने–रुने गरिरही । पछि स्वस्थ भएपछि लजाउँदे ‘म मिठो गरी पकाउँछु’ भनेर मासुको झोला लिएर भात पकाउनतिर लागी ।

मोहनले हाँस्दै पुरानो खाटमा बस्न खोज्दै भन्यो, ‘यो एउटा सरप्राइज थियो, जुन अलि असफल भयो । तर, केही छैन । म मधुलाई गाउँमै गएर माग्छु र बिहे सम्पन्न गर्छु ।’

रामप्रसादलाई लाग्यो, साढुभाइ म्यादी प्रहरीमा भर्ना भएपछि अलिअलि साहित्यिक भाषा प्रयोग गर्ने भएछ । यद्यपि, म्यादी प्रहरीमा साहित्य पढाइँदैनथ्यो । तापनि, रमाइलो मुडमा त्यस्तो सोच्यो ।

अलि थपमा यो पनि सोच्यो, ‘धन्न एउटा खड्कोबाट बाँचियो ।           
  
 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  ०६:१५
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय