site stats
साहित्य
राज्य, सरकार, नेतालाई चलचित्रको महत्व बुझाउन सकिएन कि !

काठमाडौं । छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अहिले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा सञ्चालन भइरहेको छ । चैत्र २ गतेदेखि सुरु भएको मेलामा ५५ देशबाट आएका ५०० बढी चलचित्रमध्येबाट छनोट गरी ३५ देशका ९५ चलचित्र प्रदर्शन भइहरेका छन् । यी चलचित्रको प्रदर्शन काठमाडौंका चारवटा अत्याधुनिक सिनेमा हलहरु सिभिल मल, छाया सेन्टर, पुलचोकको लबिङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन भइरहेको छ । 

ओपनिङ फिल्मको रुपमा कोरिन शर्मा निर्देशित चलचित्र चरी (बिहीबार) प्रदर्शन भइसकेको छ । सिनेमा हलहरुमा खल्ती एपबाट टिकट बुकिङ गर्न सकिने आयोजकले बताएको छ । विगतका तुलनामा यसपटक उल्लेख्य मात्रामा फिल्म मेकर र दर्शकहरु आएका छन् । मेला अझै तीन दिन अर्थात् ६ गतेसम्म सञ्चालन हुनेछ । 

यही सेरोफेरोमा रहेर न्युज एजेन्सी नेपालले निफका अध्यक्ष केपी पाठकसँग कुराकानी गरेको छ । कुराकानीमा अध्यक्ष पाठकले सरकारले चलचित्र क्षेत्रलाई महत्व नदिएको गुनासो गरे । उनले सरकारले यस्ता महोत्सवहरुलाई वार्षिक कार्यक्रममा नसमेटेसम्म यी मेलाहरुको महत्व बढ्न नसक्ने बताए । 

Himalayan Bank
Agni Group

सरकारले प्राथमिकता दिएर यस्ता चलचित्र महोत्सवहरुलाई वार्षिक रुपमा बजेट छुट्याइदिए अर्को वर्षको निफ सातै प्रदेशमा फिल्म फेस्टिबल गर्न सक्षम हुने विश्वास उनले व्यक्त गरे । उनले सातै प्रदेशमा फिल्म फेस्टिबल गर्दा अन्तर्राष्ट्रिय स्तरका फिल्महरु सबै नागरिकहरुले हेर्न पाउने र फिल्म फेस्टिबलको दायरालाई बिस्तार गर्न सहज हुने बताए । अध्यक्ष पाठकले ८०/९० देशहरुमा निफको सम्बन्ध बिस्तार भएको र यसलाई आगामी दिनमा झनै बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । 

प्रस्तुत छ अध्यक्ष पाठकसँगको कुराकानीको सम्पादित अंशः

Global bank

निफ के हो र किन ?

निफ नेपाली इन्टरनेसनल फिल्म फेस्टिबल हो । जुन विश्वव्यापी मान्यताअनुसार विश्वव्यापी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संरचनाअनुसार निफ सञ्चालन भएको थियो । त्यसलाई अघि बढाउने क्रममा आजको दिनसम्म आइपुगेका छौँ । यो विश्वव्यापी रुपमा हरेक फिल्म फेस्टिबलमा देखाइने सिनेमाहरु पब्लिक थिएटरमा देखाइने चलन हुन्छ । हाम्रो त्यो किसिमको संस्कृतिभन्दा अलि फरक किसिमको संस्कृति बनेको थियो । थिएटरविहीन ठाउँहरुमा सिनेमा देखाउने र त्यहीँ बहस छलफल आदि गर्ने, संस्कृति बनेको थियो, त्यसलाई नै इन्टरनेसनल फिल्म फेस्टिबल संस्कृति भन्ने हामीले बुझेका छौँ । 

सामान्यतया हामीले देखेको पनि त्यत्ति नै हो । अलि फरक छ भन्ने देखाउनका लागि हामीले यस वर्ष सिनेमा देखाउने नै हलमा फिल्म देखाउने वातावरण तयार गरेका छौँ । पोखराबाट हामीले पहिलो संस्करण सुरु गरेका थियौँ । एउटा ठाउँबाट फिल्म फेस्टिबल गरिरहेको बेला अहिले पाँचवटा ठाउँमा फिल्म देखाउने अवस्थामा आइसकेका छौँ । त्यतिबेला १०/१५ जना मात्रै फिल्म मेकरहरुको सहभागिता रहेको थियो भने अहिले ५० जनाभन्दा धेरै फिल्म मेकरहरुको सहभागिता रहेको छ । 

त्यतिबेला एउटा मात्रै जुरी कमिटी बन्थ्यो भने अहिले तीनवटा जुरी कमिटी बन्ने अवस्थामा हामी पुगेका छौँ । त्यो पनि अन्तर्राष्ट्रिय जुरी कमिटी । त्यसैले आजको दिनसम्म आइपुग्दा निफले आफ्नो लक्ष्य हासिल गरेर अघि बढेको भन्ने लाग्छ । यो बीचमा हामी बेल्ट टाइम रोड फिल्म फेस्टिबल अलायन्सको सदस्य बन्यौँ । विभिन्न फिल्म सोसाइटीको सदस्य बन्यौँ । हामी करिब जिरोबाट अहिले ८०/९० देशहरुमा निफको सम्बन्ध बिस्तार भएको छ । हामीलाई अहिले ५०० भन्दा धेरै फिल्महरु सामान्य रुपमा समिट आउँछन् । ५०/६० भन्दा धेरै देशहरुबाट संगठित हुन्छन् । अहिले भएका फिल्महरु देखाउन नसकेर ९९० वटा फिल्म छान्नुपर्ने अवस्थामा हामी पुगेका छौँ । यो भनेको विश्वव्यापी फिल्म मेकरहरुले हामीलाई विश्वास गर्ने वातावरण बनेर हामी यहाँसम्म आइपुगेका छौँ ।

निफ कसका लागि हो ?

इन्टरनेसनल फिल्म महोत्सव दर्शकका लागि हो र फिल्म मेकरका लागि हो । दर्शकमा फिल्म हेर्ने संस्कृतिको विकास गर्ने हो, सिनेमा हेर्ने बानी बनिसकेपछि अर्को देशको सिनेमा पनि प्रचार हुन्छ । दर्शकको लागि बजारमा नपाइने, युट्युबमा नपाइने वा कुनै पनि ठाउँमा नपाइने फ्रेस सिनेमाहरु हुन्छन् र फिल्म मेकरलाई अन्य देशका फिल्म मेकरहरुको भेट र चलचित्रका बारेमा छलफल हुने ठाउँ हो ।

निफ अहिले यस्तो क्षेत्र बनेको छ, जहाँ ५०/६० जना फिल्म मेकर विदेशी हुनुहुन्छ । नेपालका फिल्म मेकरहरु पनि आउनुभएको छ । आइडिया सेयर, मार्केटिङ र कोलाब्रेसनको बिस्तार गर्ने माध्यम बनेको छ । हामीले कतिपय फिल्महरु अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पठाइरहेका छौँ । यसअर्थमा दर्शक र फिल्म मेकरका लागि हो । फिल्म मेकरका लागि यो उत्सव हो, दर्शकका लागि पनि विभिन्न देशका सिनेमाहरु चिन्ने प्ल्याटफर्म हो ।

निफले राजनीतिकर्मी र सरकारलाई बढी महत्व दिन खोजेको जस्तो देखिन्छ । तर त्यहाँबाट जहिले पनि धोका पाएको जस्तो देखिन्छ नि, किन यस्तो भइरहेको छ ?

चलचित्रको अहिलेसम्म बनेको नीति पनि कार्यान्वयनमा आएको छैन । त्यो नीतिलाई कार्यान्वयनमा ल्याउनु छ । आवश्यक्ताअनुसारको नीति बनाउन र यस्ता फेस्टिभलहरु राज्यलाई देखाइएन वा राज्यलाई सुनाइएन वा भनिएन भने भोलिका दिनमा अझै गाह्रो हुन्छ । अहिलेको भन्दा झनै गाह्रो हुने देखिन्छ । त्यसैले फिल्म फेस्टिभल नर्मल्ली राज्यको फन्डिङमा प्रायोजित हुने हो । अधिकांश देशहरुमा फन्डिङ एजेन्सीहरु हुन्छ । राज्यले प्रत्यक्ष पनि सपोर्ट गर्छ । तर हाम्रोमा त्यस्तो स्थिति बनिसकेको छैन । किनभने, हामीले कतै न कतै राज्य, सरकार, नेताहरुलाई बुझाउन नसकिएको हुनसक्छ । 

फिल्म फेस्टिभलमा ठूला मान्छेहरु आइरहेको बेलामा राज्यका ठूला निकायका मानिसहरु, ओहोदामा बसेका व्यक्तिहरुले आएर सम्बोधन गर्नुभयो भने हाम्रो सम्मान भएको अनुभूति हुन्छ । अन्य देशका मानिसले नेपालमा त सिनेमालाई प्राथमिकतामा राखेको रहेछ भनेर अरु देशलाई म्यासेज दिनसके उनीहरुको नेपालप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ भन्ने हिसाबले राजनीतिक नेताहरु, सरकारलाई ल्याउने र उहाँहरुको प्रतिवद्धता लिनको लागि हो । राजनीतिक मान्छेहरुको प्राथमिकता राजनीति नै होला । हाम्रो लागि प्राथमिकता सिनेमा हो । उहाँहरुको कर्मलाई प्राथमिकता दिनुपरेको होला, त्यसैले हाम्रो कर्मतिर उहाँहरुले प्राथमिकता दिनुभएन ।

निफलाई अघि बढाउन कस्ता योजनाहरु छन् ?

हामीले निफमा राम्रो फिल्म र फिल्म मेकरहरु ल्याएका छौँ । दर्शकहरुलाई विभिन्न देशका स्वाद पस्किएका छौँ । तर, महत्वपूर्ण गर्नैपर्ने काम हामीले गर्नसकेका छैनौँ । किनभने हामीसँग स्रोतको अभाव छ । कर्पोरेट हाउसले हामीलाई सपोर्ट गर्दैनन् । सरकारको फन्डिङ एजेन्सीहरु छैन । सरकारले वार्षिक कार्यक्रममा राखिदिए हुन्थ्यो भन्ने हो, यस्ता फेस्टिभललाई वर्षको तीन करोडसम्म छुट्याउने अवस्था बन्यो भने त्यो काम गर्न सकिन्छ । कुनै पनि फिल्म फेस्टिभलको क्रिएटिबिलिटी बढ्नको लागि त्यो फेस्टिभलमा मार्केट, फिल्मको बजार किनबेच हुनुपर्छ । 

निफ अहिलेसम्म किनबेच हुने प्ल्याटफर्मको रुपमा विकास भइसकेको छैन । त्यसको लागि बजार, फिल्म प्रोडक्सनको कम्पनीहरु ल्याउन सक्नुपर्छ । यसपटक पनि गर्ने पहल गरेको हो, स्रोतले साथ दिएन । यसपटक काठमाडौं, ललितपुर र भक्तपुरमा किन बिस्तार गरेका हौँ भन्दा हाम्रो आगामी लक्ष्य देशव्यापी रुपमा दिने हो । सातै प्रदेशमा एउटै कन्टेन दिएर फेस्टिभल गर्न सकिन्छ कि भनेर काठमाडौं बाहिरका मानिसले पनि संसारका फिल्म हेर्न पाउनेगरी विकास गर्न गइरहेका छौँ । त्यसका लागि सरकारले वार्षिक कार्यक्रमअन्तर्गत यो फेस्टिभल राखिदिए कम्तिमा दुई, तीन करोड बजेट छुट्याइदियो भने अर्को वर्षदेखि काम गर्न सकिन्छ । नत्र भने यही सानो क्षेत्रबाट बाहिर उठ्न सक्दैनौँ ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय