काठमाडौं । गएको हप्ता चलचित्र ‘गुलावी’को पोस्टर रिलिज गरियो । त्यसमा गाजल टिकी र नथियामा महिलाको भेषमा नाजिर हुसेन छन् । हेवी मेकअपमा महिलाको भेषमा सजिएको नाजिरको जब पोस्टर आयो, देख्नेजति सबैले भने– वाउ ! बिहीबार र शुक्रबार अधिकांश चलचित्रकर्मीको फेसबुक वालमा त्यो पोस्टर देखियो । प्रशंसा गर्दै अधिकांशले शुभकामना दिए ।
त्यसो त यो पोस्टर पहिलो होइन, जसले उच्च तारिफ पाएको होस् । गएको भदौ १० गते रिलिज भएको चलचित्र ‘प्रकाश’को पोस्टरको पनि कम चर्चा थिएन । यो चलचित्रका मुख्य दुई पात्र प्रदीप र दीया मास्केलाई सायदैले नाम नपडी चिने होला । यतिसम्मकी प्रदीप खड्काका बुवाले नै आफ्नो छोरालाई चिनेनन्, जबसम्म प्रदीपले यो चलचित्रको मुख्य पात्र म हुँ भनेनन् । दीयाको लुक्स पनि बिल्कुल फरक थियो । सहजै चिनिने थिएन ।
यति मात्र कहाँ हो र ? स्वस्तिमा खड्काले ‘चिसो मान्छे’को पोस्टरबाट क्यारेक्टर आर्टिस्टमा नसोचेको सफलता पाइन् । यो पोस्टरमा उनको लुक्सको यति धेरै चर्चा भयो, सिनेमाको हाइप नै अकासियो । पोस्टरले सिनेमाको हाइप यति धेरै उकासेको सम्भवतः यो चलचित्र नै पहिलो होला । ‘चिसो मान्छे’का निर्देशक दीपेन्द्र के खनाल आफैँ भन्छन्, “पशुपतिप्रसाद’को पनि यति धेरै हाइप थिएन, जति चिसो मान्छेको थियो ।”
‘चिसो मान्छे’ र ‘प्रकाश’को पोस्टर मात्र होइन, टिजर पनि त्यति लोभलाग्दो बनाइएको थियो । पोस्टरले बनाएको हाइप टिजरले ओरालो लाग्न दिएन । तर, यी दुवै चलचित्रको ट्रेलर पोस्टर र टिजरजति राम्रा आएनन् । यद्यपि, चलचित्रको उकालो लाग्दो हाइप बचाउनै नसक्ने भने थिएनन् ।
‘गुलावी’को फर्स्ट लुक भर्खर आएकाले यसको टिजर र ट्रेलर कस्तो आउँछ, त्यो प्रतीक्षाकै विषय छ । ‘चिसो मान्छे’ र ‘प्रकाश’ चलचित्र नै रिलिज भइसकेका छन् । समीक्षा आए । चलचित्र दर्शकले हेरिसके । त्यसैले राम्रो/नराम्रो कस्तो बनेका थिए भन्ने धेरैलाई थाहा भइसकेको छ ।
तर, सत्य यो हो पोस्टर, टिजर र ट्रेलरले सिर्जना गरेको प्रतीक्षा ‘मिट’ भएन । फलतः अपेक्षित संख्यामा दर्शक हलमा पुगेनन् । त्यसो भए के नेपाली मेकर पोस्टर र टिजरमा मात्र मिहिनेत गर्छन् ?
समीक्षक अनुप सुवेदी प्रतिप्रश्न गर्छन्– कतै त्यही पोस्टर कतैबाट चोरी भएको वा प्रभावित भएर बनाइएको पो हो कि ? कुनै चलचित्रबाट प्रभावित भएर पोस्टर बनाइएको हुन सक्ने उनी आशंका व्यक्त गर्छन् । “कुनै विदेशी सिनेमा हेरेर त्यसको पोस्टरबाट प्रभावित भएर त्यसमै खेलेर पोस्टर बनिरहेको पनि त हुनसक्छ,” उनी भन्छन्, “कसैबाट प्रभावित भएर तीन/चार दिन मिहिनेत गर्दा राम्रो देखिन्छ भने किन मिहिनेत नगर्ने भन्ने पनि हुन्छ । यो पक्षलाई पनि ख्याल गर्नुपर्छ ।”
पोस्टर राम्रो बने पनि सिनेमा बनाउन लामो समय मिहिनेत गर्नुपर्ने भन्दै त्यस्तो कौशल र स्किल चलचित्रमा नदेखिने गरेको अनुप बताउँछन् । धेरै कुरामा लामो मिहिनेत गरेपछि सिनेमा बन्ने र त्यो स्किल र विलपावर नदेखिने गरेको उनको टिप्पणी छ ।
“एउटा पोस्टर राम्रो बनाउन सामान्यतः तीन/चार दिन लाग्छ भने दुई घण्टाको सिनेमामा कति फ्रेम र कति सट हुन्छ ?,” अनुप भन्छन्, “यति धेरै फ्रेम र सट मिलेर सिनेमा बन्छ । ती प्रत्येक फ्रेममा मिहिनेत गर्नुपर्छ । हरेक फ्रेम राम्रो बनाउन मिहिनेत गर्नुपर्छ ।”
पोस्टरमा एक वा केही डिजाइनरले केही दिन मिहिनेत गरे पुग्ने तर सिनेमा कथा, पटकथा, सिनेमेटोग्राफी, कलर, लाइट, साउन्ड, अभिनय, ड्रेस, डिजाइन, भाषा, लवजलगायत थुप्रै कुरामा उत्तिकै मिहिनेतले मात्र राम्रो सिनेमा बन्ने अनुप बताउँछन् । “पोस्टरमा एउटा व्यक्ति स्किलफुल बने पुग्छ । तर, राम्रो चलचित्र बनाउन हरेक व्यक्ति अनुभवी र दक्ष हुनैपर्छ । दक्ष र अनुभवी भएर मात्रै पनि हुँदैन । त्यति नै मिहिनेती पनि हुनुपर्छ, जुन हाम्रो छैन ।” दक्ष र मिहिनेती निर्देशकको अभावमा नेपालमा राम्रा सिनेमा नबनेको उनको तर्क छ ।
निर्देशक नवीन सुब्बा पनि पोस्टर पनि कहीँ कतैबाट प्रभावित भएको हुन सक्ने बताउँछन् । धेरैको आँखा नपरेका सिनेमा उद्योगबाट प्रभावित भएर पोस्टर बनाएको हुन सक्ने कुरालाई नजरअन्दाज गर्न नसकिने उनको संकेत छ ।
यद्यपि, नेपालमा धेरैले राम्रा भनेर तारिफ गरिएका कतिपय चलचित्रका पोस्टर पनि त्यति धेरै राम्रा नरहेको उनको भनाइ छ । “हामीले जुन पोस्टरलाई राम्रो भनिरहेका छौँ, त्यो पनि सतही र सामान्य रहेको मैले पाएको छु,” नवीन भन्छन्, “वास्तवमा पोस्टरले धेरै कुरा भन्न सक्छ, यसमा पनि ख्याल गरिनुपर्छ ।”
पोस्टरले सम्बन्धित भूगोलको समय र संस्कृति पनि देखाउने गरेको भन्दै उनी यसतर्फ नेपाली मेकरले कमै मात्र ध्यान दिने गरेको उनी सुनाउँछन् । “पोस्टरले कहाँको र कहिलेको कथाको सिनेमा बनेको हो, त्यसको समय, भूगोल र संस्कृति पनि भन्नुपर्छ । हामी आफैँले सिनेमा बनाउँदा पनि यसमा काम गर्न सकेका छैनौँ,” नवीन भन्छन्, “वास्तवमा विदेशमा सिनेमाको पोस्टर बनाउँदा यसमा लामो अनुुन्धान गरेको पाइन्छ । हाम्रोमा अक्षरको सामान्य ग्राफिक्स पनि ख्याल गर्ने गरेको पाइँदैन ।”
पोस्टर पनि कलात्मक पक्ष भएकाले यसमा मिहिनेत गरेर सिनेमा राम्रो छ कि भन्ने कौतूहल सिर्जना गर्ने तर चलचित्रमा भने मिहिनेत नगर्ने गरेको नवीन बताउँछन् ।