site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाल्यकालको पेलेलाई वयस्क पेलेको चिठी 
Ghorahi CementGhorahi Cement

प्रिय एडसन, म जे भन्दै छु, त्यसलाई एकदम ध्यान दिएर सुन है ।

तिम्रो परिवार ट्रेस कोराकोसबाट बसाइँ सर्दा आमाका पुराना मोजाहरू लौजान नबिर्सनु । तिमी सानै छौ । अहिले मात्र पाँच वर्षको भयौ । तर, आमाका मोजाहरूचाहिँ बिर्सनु हुँदैन है । यदि, ती पुराना मोजाहरू बोक्न बिर्सियौ भने तिम्रो आगामी जीवन धेरै फरक हुनेछ ।

तिमी र तिम्रो परिवार एकदम सानो सहर बौरुमा बसाइँ सर्दै छ । तिम्रो बुवाका कारण परिवार त्यस ठाउँमा बसाइँ सर्न लागेको हो । चाँडै तिमीले बुवालाई फुटबल क्लब बौरु एट्लेटिकोबाट खेलेको देख्नेछौ । बौरुमा तिम्रो परिवारलाई बस्नका लागि एकदमै साधारण घर हुनेछ । तिमी र भाइ सँगै सानो ओछ्यानमा सुत्नुपर्नेछ, त्यो सहज हुने छैन । तर, यसको फाइदा पनि छ । एकै ठाउँमा कोचिएर सुत्दा दाजुभाइ धेरै राम्रो मिल्ने साथी बन्नेछौ ।

Agni Group

तिम्रो घरअगाडि घाँसको मैदान हुने छैन । आँगनमा माटो र बालुवा मात्र हुनेछ । त्यो तिम्रो लागि पहिलो फुटबल मैदान हो । पछि धेरै ठूला मैदानहरूमा खेल्न पाउनेछौ । म यसबारे थप कुरा पछि बताउनेछु । अहिलेका लागि तिम्रो घरअगाडि भएको त्यही बालुवा–माटोको आँगन तिम्रो लागि रंगशाला हो । साथीहरूसँग मिलेर बाँस काटेर गोलपोस्ट बनाउनु ।

फुटबल किन्नका लागि तिमीसँग पैसा छैन । त्यसकारण पुराना मोजाहरू कहिल्यै बिर्सनु हुँदैन । परिवारसँग पैसा निकै कम छ । त्यसकारण तिमीले त्यही पुराना मोजाभित्र पुराना अखबारहरू कोचेर बल बनाउनुपर्छ ।

Global Ime bank

त्यसरी बनाएको बल सधैँ गोलो नहुन सक्छ । तर, ठिकै छ । साथीहरूसँग घण्टौँसम्म आँगनमा खेल्नका लागि त्यो काम लाग्नेछ । साथीहरूले तिमीलाई जुत्ता नभएको केटा भन्न सक्छन् । किनभने, तिम्रो परिवारसँग फुटबल जुत्ता किन्न सक्ने पैसा छैन । पानीका खाल्डा तिमीहरूका लागि खतरा हुनसक्छ, बलका कारण । बललाई त्यहाँ पर्नबाट जोगाउनुपर्छ ।

यो चिठी लुकाएर आमासँग क्षमा माग्नु । किनकि, तिमीले अबका केही वर्षहरूमा आमाका थुप्रै मोजाहरू सक्नेवाला छौ ।

ओह, तिम्री आमा ! निकै कडा स्वभावकी महिला । मैले यो लेख्दै गर्दा उनी झन्डै ९० वर्षकी भइन् । आज पनि तिमीलाई जिस्काइरहन्छिन् । जब उनीलाई भेट्छौ, तिमी के कुरा गर्न चाहन्छौ भनेर नभन्नु । उनी भन्छिन्– तिमी मेरो घरमा छौ । त्यसैले मेरो कुरामा छलफल गर । मेरो कुरा मान ।

उनी सधैँ घरमालिक हुन् । क्लब फुटबल खेल्नुपर्ने भएका कारण तिम्रो बुवा प्रायः घरबाट टाढा हुन्छन् । आमा मात्र एक हुन्, जसले पैसा बचत गर्छिन् । तिमीसँगै तिम्रो भाइ र बहिनीका लागि किताब र जुत्ताको जोहो गर्छिन् । तिमीलाई धेरै महत्त्वपूर्ण पाठहरू सिकाउनेछिन् । यहाँ एउटा पाठ छ, यो तिमीले लामो समयसम्म सम्झनुपर्नेछ । त्यो तिम्रो छिमेकी र आँपको रुखका बारेमा छ ।

एक दिन तिमीले त्यो रुखबाट आँप टिपेर ल्याउनेछौ ।

आमाले सोध्नेछिन्, “एडसन, तिमीले यो आँप कहाँबाट ल्यायौ ?”

तिमी भन्छौ, “मैले यो सडकपारिको डोना मारियाको बाट ल्याएँ ।”

“तर, तिमीले यसका लागि उनलाई सोध्यौ ?”

“हो...हो... अवश्य ।”

“यो झुट हो,” उनी भन्छिन्, “ठिक छ एडसन, यदि यो सत्य हो भने डोना मारियालाई सोधौँ ?” 

कहिलेकाहीँ तिमी एक खराब केटा हुन्छौ । जब तिमी बूढो हुन्छौ, यो याद आउँछ । र, धेरै लाज लाग्छ । यो तिम्रो आमाले सिकाउने सबैभन्दा महत्त्वपूर्ण पाठ हो । यो आमाका बारेमा होइन एडसन, अरूलाई कसरी सम्मान गर्नुपर्छ भन्नेबारे हो ।

अब तिम्रो बुवाको कुरा गरौँ । उनले धेरैपटक तिमीलाई सडकमा खेलेको देखेका छन् । तिमीले एक–दुई गोल गरेका छौ । कहिलेकाहीँ चार गोलसम्म पनि गरेका छौ । तिम्रो बुवा त्यसबाट खुसी हुँदैनन् । उनले तिमीलाई अझ राम्रो गर्नुपर्छ भनेर भन्नेछन् ।

के ? तिमी अहिले बुझ्दैनौँ ।

उनी भन्छन्, “होइन, होइन, होइन । मेरो मतलब यो हो कि तिमीले गोल गर्नुका साथै अन्य थुप्रै कुराहरू सिक्नु आवश्यक छ । मैदानमा तिमीले गोल गर्नुबाहेक अन्य धेरै कला सिक्नुपर्छ । गोल गरेर मात्र हुँदैन ।”

त्यो धेरै महत्त्वपूर्ण सुझाव हो । यसलाई सधैँ ख्याल राख्नु । पछि तिम्रो जीवन परिवर्तन हुनेछ । तिमीले सान्तोस फुटबल क्लबमा खेल्दा बुवाले ठ्याक्कै यही कुरा भन्नेछन् । (यो सत्य हो, एडसन ! तिमीे एक व्यावसायिक खेलाडी बन्नेछौ । धैर्य गर । त्यो कसरी हुन्छ, म तिमीलाई पछि बताउनेछु ।)

खेल सकिएपछि तिम्रो बुवाले भन्नेछन्, “तिमीले दुई–तीनवटा खराब पास खेल्यौ । किन ?”

तिमी भन्नेछौ, “तर बुवा, हामीले ४–१ ले खेल जित्यौँ ।”

बुवाले फेरि भन्नेछन्, “तिमी सटिक हुनुपर्छ । तिमी अझ राम्रो हुनसक्छौँ ।”

हेर तिम्रो बुवालाई, एक प्रतिभावान् व्यक्ति हुन् । उनले एकपटक खेलमा हेडमार्फत पाँच गोल गरेका थिए । त्यो ब्राजिलको कीर्तिमान हो । जब तिमीले माराकाना रंगशालमा १०००औँ गोल गर्नेछौ, त्यो पेनाल्टी किक हुनेछ । र, सम्पूर्ण संसार त्यो एक क्षण हेर्नका लागि टक्क रोकिनेछ (तिमीलाई यो भगवान्को उपहार हो) । समर्थकहरूले जुनसुकै टोलीलाई समर्थन गरे पनि रंगशालमा ठूलो उत्साहको वातावरण बन्नेछ । तिमीले ट्रफी जित्नेछौ । त्यहाँ धेरै फोटोग्राफरहरूको भीड हुनेछ । त्यो इतिहासको पुस्तकमा लेखिनेछ ।

उत्सवको समयमा तिमीसँग बुवाले कानेखुसी गर्नेछन् । र भन्नेछन्, “मैले एकै खेलमा हेडमार्फत पाँच गोल गरेको छु, तर तिमीले ?’’

तिमीहरू दुवै हाँस्नेछौ । तिम्रो बुवा एक विशेष व्यक्तित्व हुन् । र, तिमीले फुटबल खेल रोज्नुको कारण तिम्रो बुवा नै हो । उनले चोटका कारण चाँडै करियर अन्त्य गर्नुपरे पनि तिमी बुवालाई सधैँ उत्कृष्ट खेलाडी मान्नेछौ । तिमी सधैँ आफ्नो बुवाजस्तै बन्न चाहन्छौ ।

तिमीले कहिल्यै एकै खेलमा हेडमार्फत पाँच गोल गर्न सक्ने छैनौ । तर, तिमीले धेरै गोल गर्नेछौ । (ठ्याक्कै भन्नुपर्दा १,२८३) । त्यसपछि विश्वभर पेलेको नामले परिचित हुनेछौ ।

पेले ? को हुन् पेले ? तिम्रो नाम एडसन हो । तिम्रो आमाबाबुले अमेरिकी आविष्कारक थोमस एडसनको नामबाट तिम्रो नाम एडसन राख्नुभएको हो ।

मलाई थाहा छ, तिमीलाई आफ्नो नाममा धेरै गर्व छ, एडसन अरान्टेस डो नासिमेन्टो ।

तर, अब यसलाई कदर गर, किनकि तिम्रो यो नाम अब धेरै लामो समय हुने छैन ।

तिमी देख्न सक्छौ, बौरुका एक गोलकिपर छन् । उनको नाम बिले हो । एक दिन तिमी स्कुलमा आफ्ना साथीहरूलाई सोध्नेछौ, “के तिमीहरूले पेलेले बचाउ गरेको बारे सुनेका छौ ?’’

तिम्रा साथीहरू हाँस्नेछन् र भन्नेछन्, “उसको नाम बिले हो, पेले होइन ।’’

उनीहरूले जिस्काउनेछन् । तिमीलाई पेले भनेर बोलाउन थाल्छन् । यसले तिमीलाई धेरै रिस उठ्छ । त्यस कुराले एक दिन तिमीलाई यति रिस उठ्छ कि साथीहरूसँग झगडा गर्नेछौ । विद्यालयले तिमीलाई दुई दिनका लागि निलम्बन गर्नेछ । यो कुरा तिम्री आमाले कहिले सुन्नुहुन्छ ? ओह, होइन तिमी गरिब केटो !

त्यस दिनदेखि तिमी सधैँका लागि पेलेको नामबाट परिचित हुनेछौ । तर, एडसन नाम गरेको केटोलाई कहिल्यै नबिर्सनु । त्यो केटोलाई आफ्नो मन र दिमागमा सधैँ सम्झनु ।

जब १३ वर्षको हुन्छौ, तिमी अझै गम्भीर रूपमा फुटबल खेल्न थाल्नेछौ । यो तिम्रा लागि केही अविश्वसनीय यात्राको सुरुआत हो । आफ्नो बुवाको क्लब बौरुको युवा टिमसँग प्रशिक्षण सुरु गर्नेछौ । त्यहाँ तिमीले जीवनमा पहिलोपटक काम पाउनेछौ । त्यो काम हो, सिनियर टिमका खेलाडीको जुत्ता सफा गर्ने । सिनियर खेलाडीले तिमीलाई प्रत्येक जोडी जुत्ता सफा गरेको एक वा दुई सिक्का दिन्छन् । धेरै पैसा होइन । तर, तिमीलाई फुटबल किन्नका लागि पर्याप्त हुन्छ । थप मोजा  आवश्यक पर्ने छैन ।

एक युवा फुटबल खेलाडीका रूपमा तिमीले धेरै राम्रो गर्नेछौ । वाल्डेमार डे ब्रिटो नाम गरेका एकजना सज्जन तिम्रो जीवनमा आउनेछन् । तिमीले सान्तोस फुटबल क्लबबाट आफ्नो क्यारियर सुरु गर्नका लागि उनी धेरै महत्त्वपूर्ण व्यक्ति हुनेछन् । प्रतिभालाई देखेपछि उनले तिमीलाई भन्नेछन्–

“पेले, मलाई विश्वास छ कि तिमी धेरैधेरै राम्रो व्यावसायिक फुटबलर बन्न सक्छौ । तर, कहिल्यै आफूलाई सर्वोत्कृष्ट छु भनेर नसोच्नु । कहिल्यै पनि आफूलाई भगवान् भनेर नठान्नु । यदि, पैसा कमाउँछौ भने भविष्यका लागि केही बचत गर्नु । सिगार र क्यान्डी किन्न सुरु नगर्नु । तिमी बौरुको केटोजस्तै रहनु ल ।’’

उनका ती शब्दहरू कहिल्यै नभुल्नु । किनकि, तिमी १५ वर्षको उमेरमै व्यावसायिक खेलाडी बन्नेछौ । निःसन्देह, तिमी त्यति बेला किशोर नै हुनेछौ । जब पहिलोपटक सान्तोसमा लकर रुममा जान्छौ, तिमीले आफ्ना टिमका साथीहरूले जुत्ता लगाएको हेर्नेछौ । विस्मयमा पर्नेछौ । तिनीहरू परिपक्व खेलाडी हुन्छन् । आफ्नो जर्सीको नम्बर हेर्नेछौ, त्यो १० हुनेछ ।

तिमी सोच्छौ– हे भगवान्, म यहाँ के गर्दै छु ? (यो सम्झना सधैँ तिम्रो साथमा रहनेछ ।)

क्लबका निर्देशकले भन्नेछन्, “पेले, यहाँ आऊ । फोटो खिच्नका लागि सान्तोसको जर्सी लगाऊ ।’’

त्यहाँ धेरै फ्ल्यासका लाइट बल्नेछन् । तिमी सान्तोसको जर्सीमा पातलो ख्याउटे देखिनेछौ । तिमी हास्यास्पद देखिनेछौ ।

फोटो खिचाइसकेपछि निर्देशकले भन्नेछन्, ‘‘यो तस्बिर भोलि पत्रिकामा छापिनेछ ।’’

तिमीले बुवालाई भन्नेछौ, “मैले सान्तोसमा १० नम्बरको जर्सीमा फोटो खिचेँ । मेरो विचारमा उनीहरूले मलाई मन पराए ।’’

हो, तिम्रो अझै पनि बौरुको त्यो किशोर केटो हौ ।

म तिम्रोलाई अर्को रमाइलो कथा सुनाउँछु ।

सान्तोसका लागि तिमीले घरबाट धेरै लामो यात्रा गर्नुपर्छ । बौरुबाट साओ पाओलोको राजधानीसम्म पाँच घण्टाको रेल चढ्नुपर्छ । त्यसपछि सान्तोस पुग्नका लागि थप दुई घण्टा रेल चढ्नुपर्छ । (एडसन त्यस यात्रमा सुत्ने मात्र नगर्नु, पढ्नका लागि किताबहरू बोक्नु ।)

एक दिन सान्तोसको बस स्टपमा तिमीले आफ्नो बुवालाई भेट्नुपर्नेछ । पर्खाइ लामो बन्नेछ । त्यहाँको गर्मीमा एकदम तिर्खा लाग्नेछ । त्यसैले तिमी समुद्र तटतिर जानेछौ । पानी एकदम सफा देखिन्छ । आफ्नो हात डुबाउनेछौ । र, समुन्द्र पनि पिउनेछौ ।

अहो ! यो त नुनिलो छ भन्दै थुक्छौ ।

तिमीले सोच्नेछौ– त्यस पानीमा केही खराबी छ ? के यो विष हो ?

पक्का, कुनै दिन त्यो सम्झेर हाँस्नेछौ । बौरुमा तिमीले कहिल्यै समुद्र देखेका थिएनौ । सान्तोसमा सुन्दर निलो महासागर छ । पहिलोपटक त्यो महासागर देख्नेछौ । 

तिमीले समुद्रको पानी पिउनु पर्दैन, एडसन !

सान्तोसको फुटबल मैदानमा तिमीलाई धेरै सहज हुनेछ । लगभग दुई दशकसम्म सान्तोस फुटबल क्लबबाट खेल्नेछौ । त्यस अवधिमा एसी मिलान, रियाल मड्रिडलगायत विश्वभरका क्लबहरूबाट अनुबन्धका लागि धेरै प्रस्तावहरू आउनेछन् । त्यो तिमीलाई अविश्वसनीय लाग्न सक्छ । तर, मेरो कुरालाई ख्याल गर्नु– प्रस्तावहरू नस्वीकार्नु ।

म फेरि भन्छु– प्रस्तावहरू कहिल्यै नस्वीकार्नु । तिमीलाई जीवनमा विदेश जाने अरू धेरै अवसरहरू हुनेछन् । म वचन दिन्छु ।

के कारणले तिमी सान्तोस छाड्छौ ? पेइक्जी गाउँ तिम्रो हृदयको नजिक र प्रिय छ । तिमी र तिम्रो टिमका साथीहरूले सान्तोसलाई ब्राजिल र दक्षिण अमेरिकामा मात्र होइन, विश्वकै उत्कृष्ट क्लबहरूमध्ये एक बनाउनेछौ । त्यस टिमले १९६२ मा तीन महाद्वीपको उपाधि उचाल्नेछ । धेरैपटक ब्राजिलको च्याम्पियन बन्नेछ । धेरै ठाउँहरूको यात्रा गर्नेछौ । विश्वभर मैत्रीपूर्ण खेलहरू खेल्न जानेछौ । तिम्रो खेल हेर्नकै लागि कंगोमा दुई पक्षले युद्धविराम गर्नेछन् ।

सान्तोससँग तिम्रो अविश्वसनीय यात्रा हुनेछ । आफ्नो परिवारको नजिक रहनेछौ । म फेरि भन्छु– तिमी किन सान्तोस छोड्छौ ?

आफ्नो देशका लागि पनि खेल्न थाल्नेछौ । यो तिम्रो लागि अविश्वसनीय सम्मान हो । त्यति बेला तिमी केवल १७ वर्षको हुनेछौ । स्वीडेनमा हुने १९५८ को विश्वकपका लागि पहिलोपटक हवाईजहाजमा यात्रा गर्नेछौ । स्वीडेनमा धेरै कुरा फरक छन् । त्यस बेला ब्याट्रीबाट चल्ने रेडियो एकदमै नयाँ हुनेछ । यो ब्राजिलमा छैन ।

एक दिन तिमीहरूको टिम सहरको एउटा पसलमा जानेछ । तिम्रो टिमको साथी गारिन्चाले रेडियोबाट आएको अनौठो आवाज सुन्नेछन् । अचम्म मान्दै रेडियो समात्छौ । रेडियोको मान्छेले स्वीडिस भाषा बोल्दै हुन्छ ।

गारिन्चा सोध्छन्, “पेले, तिमी किन यो बकवास सुन्छौ ?’’

तिमी भन्छौ, “यो अविश्वसनीय छ । म यो किन्न चाहन्छु ।’’

उनी भन्छन्, “होइन, होइन, यो नकिन । तिमी यसले बोल्ने भाषा बुझ्दैनौ !’’

गारिन्चालाई थाहा छैन कि ब्राजिल फर्किएपछि तिम्रो घरमा रेडियोमा पोर्तुगाली भाषा आउनेछ भनेर । 

ओह ! गारिन्चाले त्यो बुझेपछि तिमी मस्त हाँस्नेछौ ।

तर, जब तिमी ब्राजिल टिमसँग विश्व भ्रमण गर्नेछौ, त्यहाँ अर्को आश्चर्य हुनेछ । त्यसले दुःखी बनाउँछ ।

तिमीलाई लाग्छ कि सबैलाई तिम्रो देशबारे थाहा छ । तर, यो सही होइन । त्यति बेलासम्म पनि धेरै मानिसलाई थाहा हुँदैन कि ब्राजिल नक्सामा कहाँ पर्छ । तिनीहरूले भन्नेछन्, “ओह, ब्राजिल ! यो अर्जेन्टिनामा छ, होइन ?’’ तिमी मुस्कुराउनेछौ । तर, ती मानिसले तिम्रो देश र घर नचिन्दा तिमी भित्रभित्रै दुःखी हुनेछौ ।

यद्यपि, धेरै चिन्ता नगर्नु । १९५८ को विश्वकपको फाइनलपछि सबैले थाहा पाउनेछन् । किनभने, तिमीले विश्वकपको ट्रफी उठाउनेछौ ।

यो सत्य हो । त्यो तिम्रो लागि तीन विश्वकप उपाधिमध्ये पहिलो ट्रफी बन्नेछ ।

१९५८ फाइनलको अन्तिम मिनेटमा गोल गर्छौ । हेडमार्फत गोल गरेपछि मैदानमा लड्छौ । आज पनि त्यो एक क्षण हो, अझै व्याख्या गर्न गाह्रो हुन्छ । एकदम धेरै भावनात्मक क्षण हो । शरीरमा काँडा उम्रन्छ ।

जब तिम्रा साथीहरूले तिमीलाई उठाउनेछन् । तिमी रोइरहेको हुनेछौ । तिमी सधैँ रुन्छौ, एडसन । जीवनको पछिसम्म पनि रुनेछौ । एक भावनात्मक व्यक्ति हौ । सजिलै तिम्रो आँखामा आँसु आउँछ ।

विश्वकपको उपाधि जित्नु तिम्रो मात्र होइन, देशको पनि सपना हो । त्यो पनि केवल १७ वर्षको उमेरमा जित्नु । धेरै सानो छौ । तिमी इतिहासमै सबैभन्दा कान्छो उमेरमा विश्वकप च्याम्पियन बन्नेछौ । यस विजयका लागि भगवान्लाई धन्यवाद । किनकि, तिमी सधैँ सानो हुँदैनौ ।

१९७० मा फेरि रुनेछौ । किनभने, त्यो तिम्रो अन्तिम विश्वकप हुनेछ । अरू बेलाको भन्दा फरक आँसु हुनेछ । तिमीलाई भावानात्मक रूपमा अझ कठिन हुनेछ । सहयोगका लागि प्रार्थना गर । तिमी आफ्नो अन्तिम मौकामा आफ्नो देशबाट हार्न चाहन्नौ ।

के हुनेछ ? बताउँदिनँ । कतिपय कुरा भविष्यबाट पनि व्याख्या गर्न सकिँदैन ।

जब सान्तोस र ब्राजिलियन राष्ट्रिय टोलीबाट करियर समाप्त हुन्छ, तिमीसँग अमेरिकामा खेल्ने सुनौलो अवसर हुनेछ । अमेरिकाको जुन पायो त्यो ठाउँमा होइन, न्युयोर्कमा र टिमको नाम हो– कसमस । त्यो राम्रो अवसर हो । सदुपयोग गर्नुपर्छ । अमेरिकामा फुटबलको विकास गर्न त्यो धेरै महत्त्वपूर्ण हुनेछ ।

तिमीलाई छोड्नुअघि म सुन्दर क्षणका बारेमा बताउन चाहन्छु । आफ्नो करियरमा धेरै सुन्दर चिजहरू देख्नेछौ । गोल गरेपछि भीडमा दौडिँदा मानिस खुसीले रोएको देख्नेछौ । यो क्षणले देखाउँछ कि तिमी कति महत्त्वपूर्ण छौ ।

सबैभन्दा रोचक एक क्षण छ, सधैँभरि सम्झिरहनेछौ । १९६८ मा तिमीले कोलम्बियाविरुद्ध खेल्नेछौ । खेलको समयमा टिमका साथी कौटिन्हो र कोलम्बियाका खेलाडी झगडा गर्न थाल्छन् । धेरै खेलाडीले झगडा रोक्ने प्रयास गर्नेछन् । जब झगडा शान्त हुन्छ, रेफ्रीले तिमीलाई रातो कार्ड देखाउनेछन् ।

तिमीले उसलाई भन्नेछौ, “होइन, होइन, मैले झगडा गरेको होइन । मैले झगडा मिलाउने प्रयास गरेको हुँ ।” तर पनि रेफ्रीले तिमीलाई मैदानबाट बाहिर निकाल्छन् । रेफ्रीलाई लाग्छ कि त्यो झगडा तिमीले गरेका हौ । किनभने, तिमी कौटिन्होजस्तै देखिन्छौ ।

रिसाएर मैदान छोडेर लकर रुममा जान्छौ । जब तिमीले आफ्नो जुत्ता खोल्छौ, केही आवाज सुन्छौ । भीड कुनै विषयमा चिच्याइरहेको छ ।

तिम्रो प्रशिक्षक लकर कोठामा दौडँदै आएर भन्छन्, “पेले, फर्क ! फर्केर आऊ !”

तिमी भन्छौ,  “के ? म बेन्चमा बस्न पाउँदिनँ । मैले रातो कार्डको सामना गरेको हुँ ।”

प्रशिक्षक भन्छन्, “होइन । तिमीले बुझेनौ । जुत्ता लगाऊ । समर्थकले कोलाहल मच्चाए । प्रदर्शन गरे ।”

त्यो तिम्रो जीवनको पहिलो र एक मात्र घटना हुनेछ, कोलम्बियाली समर्थकले रेफ्रीको गल्ती देख्छन् । उनीहरूले पेलेलाई फर्काउन नारा लगाउँछन् ।

गल्ती गर्नेको स्थानमा नयाँ रेफ्री आउँछन् । फुटबलमा कहिल्यै रेफ्रीलाई बाहिर निकालेर खेलाडीलाई मैदानमा फर्काउने काम हुँदैन । तिमीले देख्नेछौ, समर्थकमा सुन्दर खेल हेर्नका लागि कति लगाव छ । उनीहरूले वास्ता गर्दैनन्, तिमी विपक्षी टिमको हौ ।

तिमी मैदानमा फर्कनेछौ । रंगशाला गुञ्जायमान बन्नेछ । त्यो क्षणले देखाउँछ, तिमी कति महत्त्वपूर्ण छौ ।

देख्यौ ? भगवान्ले तिमीलाई उज्ज्वल जीवन दिनुभएको छ । भगवान्सँग प्रार्थना गर– मेरो परिवारको ख्याल गर्नुहोस् ।

तिमीले अर्को एउटा कुरा ख्याल राख्नुपर्छ, म तिमीलाई बाचा गर्छु ।

म चाहन्छु, हरेक रात प्रार्थना गर । ब्राजिलमा मानिस सुन्दर हुन्छन् । हामीसँग अद्भूत खाना छन्, संगीत छ, संस्कृति छ । तर, हामीकहाँ धेरै समस्या छन् । अपराध र गरिबी छ । हो, आजसम्म पनि । जति बेला म तिमीलाई लेख्दै छु, एडसन हाम्रो देश अझै संघर्ष गरिरहेको छ ।

तिमीले भगवान्सँग प्रार्थना गर्नुपर्छ– कृपया, ब्राजिलमा ती सबै कुरा राम्रो बनाउनुहोस् ।

ब्राजिलमा अझै बालबालिकाले सडकमा खाली खुट्टा फुटबल खेलिरहेका छन् । बल किन्न सक्षम बालबालिका छैनन् । ब्राजिलमा अझै बालबालिकाले आँप चोरिरहेका छन् । यो धेरै दुःखको कुरा हो । फुटबलले तिमीलाई जे दियो, सबैलाई दिन सक्दैन ।

तिम्रो लागि जादुमयी क्षण के हो ? जन्मिँदाको क्षण हो । किनभने, तिमीसँग उत्कृष्ट परिवार छ, जसले तिमीलाई राम्रोसँग सिकाएको छ । राम्रो व्यवहार गरेको छ । जब संसारभरि यात्रा गर्छौ, तिमीलाई स्वागत गर्न सबै आतुर हुन्छन् । संसारका मानिसले अपार माया दिए । तिमीले यसलाई फिर्ता गर्न सक्दो प्रयास गर्नुपर्छ ।

तिमीले ब्राजिलको आफ्नो धरातल बिर्सनु हुँदैन । सधैँ एडसन नै रहनु । यी तीन शब्दहरू नबिर्सिनु– इमानदारी, धैर्य र सम्मान ।

र, फुटबल खेलिरहनु । 

एडसन अरान्टेस डो नासिमेन्टो

२०१६

पेले

(द प्लेयर्स ट्रिबुनमा प्रकाशित लेखको भावानुवाद) 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  ०७:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC