site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आगोले जलेका कस्ता घाइतेलाई बचाउन सकिन्छ ? के छ उपचार विधि ? 
वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राई ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब ७० हजार मानिस जलनबाट घाइते हुने गरेको तथ्यांक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीमध्ये अधिकांश आगोले पोलेर घाइते हुने गरेका छन् । अरू तापयुक्त वस्तुले पोलेर पनि मानिस घाइते हुन्छन् ।

आगोले जलेका घाइतेको सबैभन्दा बढी कीर्तिपुर अस्पतलबाट उपचार हुने गरेको तथ्यांक छ । एसिड आक्रमणबाट जलन भएकाहरूको पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र कीर्तिपुर बर्न अस्पतालमा निःशुल्क उपचार गरिन्छ ।

कीर्तिपुर अस्पतालमा यो वर्षका २४ दिन (सन् २०२३ जनवरी २४ सम्म)मा १०० भन्दा बढी जलनका घाइतेको उपचार भएको अस्पतालले जनाएको छ । सन् २०२२ मा उक्त अस्पतालमा जलनका ६६० घाइते भर्ना भएका थिए । तीमध्ये ९२ जनाको मृत्यु भएको थियो । ३६ जनामा अपांगता भएको थियो ।

Agni Group

जलन हुनेमा वृद्धवृद्धा र बालबालिका बढी रहेको अस्पतालको तथ्यांक छ । एक वर्षमा उपचार गरिएका ६६० मध्ये २४६ जना १८ वर्षमुनिका बालबालिका थिए । पछिल्लो समय आफैँले आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गर्ने गरेको घटना पनि बढ्दै गएको छ ।

जलेर घाइते हुने बिरामीको उपचार र सावधानीका उपायबारे कीर्तिपुर अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. शंकरमान राईसँग बाह्रखरीका लागि अस्मिता रिजालले गरेको कुराकानीको सम्पादित अंश : 

Global Ime bank

आगोले जलेका बिरामीको प्राथमिक उपचार के हो ?
आगो होस् अथवा कुनै पनि तापयुक्त पदार्थले पोलेको भागबाट मानिसको शरीरलाई चाहिने तरल पदार्थ नाश हुँदै जान्छ । जसकारण छालाको बाहिरी तह हुँदै भित्रसम्मको भाग सुक्खा हुन पुग्छ र बिरामी जटिल अवस्थामा पुग्न सक्छ । त्यसैले पोलेपछि एक घण्टासम्म जलेको भागमा पानीले भिजाइरहनुपर्छ र प्राथमिक उपचार केन्द्रसम्म नपुर्‍याउन्जेल बढीभन्दा बढी जीवनजल पानी खुवाउनुपर्छ ।

जलेका बिरामीका लागि निःशुल्क टोल फ्री नम्बर १६६००१५१००० को व्यवस्था गरिएको छ । यो नम्बरमा सम्पर्क गरेर प्राथमिक उपचारका उपायहरू अपनाउन सकिन्छ । 

आगोले जलेका कस्ता घाइतेलाई उपचारमार्फत बचाउन सकिन्छ ? 
जलनका घाइतेलाई कतिसम्मको उपचार गर्न सकिन्छ भन्ने जलनमा भर पर्दछ । मानिसको शरीरको २० प्रतिशत भाग जल्नुलाई मेजर बर्न भनिन्छ । यो जलनले नै शरीरका अन्य अंगहरूलाई असर गर्न थाल्छ । रोगप्रतिरोधी क्षमता नाश हुँदै जान्छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य भागबाट छाला लिएर पुर्न कठिन हुन्छ । छाला निकाल्न मिल्ने अंगहरू जलेमा घाइते निको हुने सम्भावना कम हुँदै जान्छ ।

शरीरको आधा भाग जलेमा घाइतेलाई बचाउनै कठिन हुन्छ । जलेका अधिकांश बिरामीको मृत्यु छालामा हुने संक्रमणका कारण हुन्छ । किनकि, गहिरो पोलेका बिरामीको भित्रसम्मको छाला शल्यक्रिया गरेर दुई हप्ताभित्र नयाँ छाला राख्नुपर्ने हुन्छ । सामान्य ड्रेसिङ गरेका बिरामीको दुई हप्तासम्म नयाँ छाला राखिसक्नुपर्ने हुन्छ । अन्यथा, संक्रमण फैलिने सम्भावना धेरै हुन्छ । ३० प्रतिशतभन्दा बढी शरीर जलेका अधिकांश बिरामीको नयाँ छाला नपाएर नै संक्रमणका कारण मृत्यु हुने गरेको छ ।

नेपालमा जलेका बिरामीलाई उपचार गर्ने पद्धति के छ ?
नेपालमा छाला बैंक र छालादानको अवधारणा अघि सारिए पनि सात वर्षमा २८ जनाले मात्रै दान गरेका छन् । बाहिरी देशमा छालाको कल्चर, बनावटी छाला प्रत्यारोपण गर्ने अभ्यास छ । जुन नेपालजस्तो मुलुकका लागि आर्थिक रूपमा सम्भव छैन ।

सिल्भर ड्रेसिङ, जसले चार दिनसम्म जलेको भागलाई सुरक्षित राख्न सक्छ, यो पनि महँगो उपचार पद्धति हो । त्यसैले अहिलेसम्म घाइते स्वयं र परिवारका सदस्य या आफन्तबाट छाला प्रत्यारोपण गर्नु नै नेपालको प्रमुख उपचार पद्धति हो ।

मानिसको शरीरको कुन–कुन भागको छाला प्रत्यारोपण गर्न मिल्छ ?
वयस्क मानिसको तिघ्राको चार भागको तीन भाग छाला निकालेर बिरामीलाई दिन मिल्छ । नेपालमा जलेका बालबालिकामा यो विधि प्रभावकारी भएको पाइएको छ । बिरामी स्वयं तथा परिवार अथवा आफन्तले दान गरेको भागबाट पातलो छाला निकालेर जलेको ठाउँमा प्रत्यारोपण गर्न सकिन्छ ।

नयाँ निकालिएको छालामा प्वाल पारेर तन्काइन्छ र जलेको भागमा प्रत्यारोपण गरिन्छ । यसरी निकालिएको ठाउँमा दुई हप्तापछि नयाँ छाला बन्छ र त्यसलाई पनि फेरि घाउमा प्रत्यारोपण गर्न सकिन्छ । संक्रमण हुन नदिनका लागि दुई हप्तासम्म मृत व्यक्तिको छाला पनि प्रयोग गर्न सकिन्छ ।

परिवारका अरू सदस्यको छाला पनि जलेका व्यक्तिलाई दिन मिल्छ ?
बिरामीका परिवारका अन्य सदस्य वा आफन्तको छाला जाँच गरेर बिरामीलाई दिन सकिन्छ । छाला दाताको पनि शल्यक्रिया गरेर नै निकाल्नुपर्ने हुन्छ । यसरी शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव हुने, घाउमा संक्रमण हुन सक्ने, रगतका नसाहरू बन्द हुन सक्नेजस्ता समस्या दातामा देखिन सक्छ । यसका अलावा बिरामीको छालामा रोगप्रतिरोधी क्षमता बनिसकेपछि दोस्रो व्यक्तिको छालालाई बिरामीको शरीरले चिन्दछ र रिजेक्ट गर्न थाल्छ । त्यसैले पनि बिरामीकै अन्य भागबाट निकाल्नु सबैभन्दा उपयुक्त विधि हो ।

जलेका बिरामीको मृत्युदर कम गर्न के गर्नुपर्छ ?
जलेका अधिकांश बिरामीको मृत्यु प्राथमिक उपचार नपाएरै हुने गरेको लामो अनुभवले देखाएको छ । सुरुमा प्राथमिक उपचार पद्धति अपनाउनु जरुरी हुन्छ । जसमा बढीभन्दा बढी पानी दिनु नै मुख्य एवं महत्त्वपूर्ण उपचार हो । बिरामीको पिसाब सफा नहुन्जेलसम्म प्रशस्त पानी खुवाउन या नसाबाट दिन सकेमा धेरै बिरामीलाई बचाउन सकिन्छ ।

त्यस्तै, टाढाबाट बिरामी अस्पताल आइपुग्दासम्मको अवधिमा हुने संक्रमणले पनि धेरैको ज्यान गएको छ । त्यसैले पनि कमसेकम एक पालिकामा एउटा बर्न सेन्टर स्थापना गरिनु जरुरी छ, जहाँ जलेका बिरामीको प्राथमिक उपचार होस् । यो पाटोमा सरकारले ध्यान दिने हो भने अहिले मृत्यु भइरहेका आधाभन्दा बढी बिरामीलाई बचाउन सकिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC