काठमाडौं । घरेलु टोली गण्डकी प्रदेशले पोखरामा जारी टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण क्लब भलिबल च्याम्पियनसिपमा दोस्रो जित निकालेको छ । पोखरा रंगशालाको कभर्ड हलमा बुधबार सम्पन्न पुरुषतर्फको खेलमा गण्डकीले साविकको विजेता त्रिभुवन आर्मी क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो ।
पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले दोस्रो सेट २५–२३ ले जितेको थियो । तेस्रो सेट २३–२५ ले गुमाएको गण्डकीले चौथो सेट २५–२२ ले आफ्नो पारेको थियो । यस्तै, पाँचौँ तथा अन्तिम सेटमा गण्डकीले आर्मीलाई १५–१३ को स्कोरमा पराजित गर्दै खेल आफ्नो पक्षमा पार्यो ।
यस जितसँगै गण्डकीले तीन खेलबाट पाँच अंक जोड्दा पराजित आर्मीको समान खेलबाट चार अंक छ ।
टाइगर कपमा महिलातर्फ चार टोलीले प्रतिस्पर्धामा छन् । महिलातर्फको सेमिफाइनल समीकरण पूरा भइसकेको छ ।
यस्तै, प्रतियोगिताको पुरुषतर्फ पाँच टिम प्रतिस्पर्धामा छन् । पुरुषतर्फ आर्मी, नेपाल पुलिस क्लब, गण्डकी, एपीएफ र श्रीलंकाको सेन्ट जोसेफ वाच स्पोर्ट्स क्लब सहभागी छन् । प्रतियोगिताको दुवैतर्फको विजेताले समान चार लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।