site stats
खेल
यसरी गरिन्छ ‘स्पट फिक्सिङ’ 

काठमाडौं । नेपाल ट्वान्टी–२० लिगमा ‘स्पट फिक्सिङ’मा संलग्न रहेको आरोपमा दुई खेलाडी पक्राउ परेपछि खेल क्षेत्र तरंगित छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गएको सोमबार पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर मोहम्मद आदील आलमलाई पक्राउ गरेको हो । त्यसपछि यसबारे चासो र चर्चा बढेको छ ।

नेपाली क्रिकेटका लागि स्पट फिक्सिङको यो पहिलो घटना हो । नेपालमा यसअघि भएका कुनै पनि आधिकारिक प्रतियोगिताको यस्तो घटना सार्वजनिक भएको थिएन । नेपाल क्रिकेट संघ (क्यान)ले गएको पुसमा उक्त लिग आयोजना गरेको थियो ।

सामान्यतया फिक्सिङ भन्नाले कुनै पनि खेलको नतिजामा प्रभाव पार्ने कार्यलाई बुझिन्छ । स्पट फिक्सिङले केही फरक अर्थ दिन्छ । ‘म्याच फिक्सिङ’ले खेलको नतिजा नै प्रभावित हुन्छ । स्पट फिक्सिङले निश्चित ओभर वा समयमा मात्र प्रभाव पार्छ ।

NMB Bank
Dabur nepal
Agani Group

अनलाइन ‘बेटिङ’ साइटहरूमा कुनै पनि खेलका निम्ति खुलाइएको बेटिङबाट पैसा कमाउन प्रायजसो खेलाडीहरूलाई स्पट फिक्सिङका लागि उक्साइन्छ । नेपालमा प्रतिबन्ध रहे पनि हाल विश्वका अधिकांश मुलुकमा वानएक्सबेट, डाफाबेट, फक्सवेट, बेटवे, लोट्टाबेट, फन८८ जस्ता धेरै बेटिङ साइटहरू सञ्चालनमा छन् ।

अनलाइन बेटिङबाट कमाउनका लागि फिक्सिङ
बेटिङ साइटहरूमा पहिले खेलको नतिजाका लागि बेटिङ खुलाइन्छ । त्यसमा कमजोर टिमले जित्छ भनेर बेटिङ गर्नेहरूका लागि कमजोर टिमले नै जितेको खण्डमा बलियो टिमको तुलनामा धेरै पैसा आउने देखाइएको हुन्छ । उदाहरणका लागि नेपाल र भारतबीच खेल हुँदा नेपाल तुलनात्मक रूपमा कमजोर टिम हो । त्यसमा नेपालको पक्षबाट बेटिङ गर्नेहरूका लागि बढी र भारतको पक्षबाट बेटिङ गर्नेहरूका लागि कम रकममा बेटिङ खुलाइन्छ ।

Global bank

त्यसपछि स्वाभाविक रूपमा भारतले नेपाललाई हराउँछ भन्नेमा धेरै समर्थकले आफ्नो तर्फबाट ‘बेट’ राख्न सक्छन् । भारतले जित्छ भनेर अत्यधिक बेट आउँदा फिक्सरहरू भने नेपालले जित्छ भन्दै बेट राख्छन् । नेपाललाई जिताउनका लागि भारतका खेलाडीहरूसँग फिक्सिङको प्रस्ताव गर्छन् । यदि, भारतका खेलाडीले त्यो प्रस्ताव स्वीकार गरेर टिमलाई हराउँछन् भने त्यसलाई म्याच फिक्सिङ भनिन्छ ।

यसबाहेक, बेटिङ कम्पनी स्वयं नै खेलको फिक्सिङका लागि जोडिन सक्छ । माथि भनिएजस्तै नेपाल र भारतबीचको खेल हुँदा स्वाभाविक रूपमा भारतको पक्षबाट बेट राख्नेहरूको संख्या धेरै हुन्छ । यस्तो अवस्थामा नेपालले जित्दा कम्पनीलाई धेरै आम्दानी हुने हुँदा नेपालविरुद्ध हारका लागि बेटिङ कम्पनी नै फिक्सिङको प्रस्ताव लिएर खेलाडीहरूमाझ पुग्न सक्छ ।

स्पट फिक्सिङको अर्थ 
स्पट फिक्सिङले खेल भइरहेका बेला निश्चित समयमा अर्को पक्ष (फिक्सिङ प्रस्तावक)ले भनेअनुसारको कार्य गर्नुलाई बुझाउँछ । यसले खेलको नजितामा प्रभाव नपार्न पनि सक्छ । उदाहरणका रूपमा खेलको दोस्रो ओभरमा बलिङका लागि आएका बलरलाई स्पट फिक्सिङको प्रस्तावकले त्यति बेला दुई नो बल र एक वाइड बल फ्याँक्न निर्देशन दिन्छन् । र, बलरले पनि प्रस्तावककै निर्देशनानुसार उक्त ओभरमा दुई नो बल र एक वाइड बल फ्याँक्छन् । यसलाई नै स्पट फिक्सिङ भनिन्छ ।

क्रिकेटमा जस्तै फुटबलमा पनि खेल चलिरहँदा स्पट फिक्सिङ हुने गरेको पाइन्छ । उदाहरणका लागि प्रस्तावकले खेलको ३५औँ मिनेटमा एक खेलाडीलाई जसरी भए पनि रेफ्रीबाट पँहेलो कार्ड पाउन निर्देशन दिन्छन् । खेलाडीले पनि ३५औँ मिनेटमा विपक्षी खेलाडीमाथि फाउल गरेर वा अरू कुनै खेल भावनाविपरीतको कार्य गरेर रेफ्रीबाट पहेँलो कार्ड पाउँछन् । यसलाई स्पट फिक्सिङ भनिन्छ । उक्त खेलाडीले पाएको पहेँलो कार्डले खेलको नतिजामा फरक नपारे पनि स्पट फिक्सिङका प्रस्तावकलाई ठूलो आर्थिक फाइदा हुनसक्छ ।

यसरी गरिन्छ स्पट फिक्सिङ
म्याच फिक्सिङको तुलनामा स्पट फिक्सिङ केही सहज हुन्छ । यसका लागि टिमका एक खेलाडीलाई प्रभावमा पारे पुग्छ । अनलाइन बेटिङ साइटबाट पैसा कमाउनका लागि स्पट फिक्सिङ गरिन्छ । वानएक्सबेट, डाफावेट वा अरू बेटिङ साइटहरूमा क्रिकेट खेलका प्रत्येक ओभरअघि अबको ओभरमा के हुन्छ भन्दै बेटिङ खुलाइएको हुन्छ । त्यसमा फिक्सिङका प्रस्तावकले अबको ओभरमा विकेट जान्छ, नो बल हुन्छ, वाइड हुन्छ वा चौका, छक्कामध्ये केही एकलाई लिएर पैसा हाल्छन् ।

fixing1674645034.JPG

उदाहरणका रूपमा माथिको तस्बिरमा भारत र न्युजिल्यान्डबीचको ट्वान्टी–२० खेलका लागि बेटिङ खुलाइएको छ । त्यहाँ कुन ओभरमा विकेट जान्छ भनेर सोधिएको छ । पहिलो, दोस्रो गरी २० ओभरसम्मकै विकल्प राखिएको छ । त्यसमा स्पट फिक्सिङका लागि खेलाडीसँग कुरा गरेका व्यक्तिले कुनै निश्चित ओभरमा विकेट जान्छ भन्दै बेट राखेका हुन्छन् । र, उक्त ओभरमा आउट हुनका लागि ब्याटरलाई सहमत गराउँछन् । यसलाई नै स्पट फिक्सिङ भनिन्छ ।

यसरी बेटिङ साइटमा प्रत्येक ओभरमा विकेट जानेदेखि वाइड बल, नो बल र अरू धेरै विकल्पमा बेट राख्न सकिने हुन्छ । नेपालका महबुब आलमले आदील अन्सारीलाई सोहीअनुरूप निश्चित ओभरमा वाइड र नो बल फ्याँक्न निर्देशन दिएको आरोप छ । आदीलले पनि महबुबको निर्देशनानुसार कार्य गरी स्पट फिक्सिङ गरेको आरोप सीआईबीको छ ।

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय