site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गिट्ठा–भ्याकुर भेरियन्ट !
Sarbottam CementSarbottam Cement

कोरोना महामारीले लकडाउन निम्त्याएपछि मेलम्ची आसपासका बासिन्दा अनौठो अवसादका बन्दी भए । स्कुल, कलेज खुल्न छोडे । बगुवा, नवलपुर, सिन्धु, धुसिनी, जरायोटारलगायत वरिपरिका गाउँ र उपत्यकाका ससाना बजार समेत सुनसान देखिए ।

हेलम्बु रोडमा गाडीको चहलपहल स्वाट्टै घट्यो । राजमार्ग आसपासका होटेल, लज खाली भए । छ्याङ र तीनपानेका भट्टी पनि उस्तै लत बसेकाहरूका लागि रातसाँझ केही बेर मात्र खुल्ने नत्र बन्दको बन्द ।

तिथिसरादमा जुवाइँ, भान्जासुद्ध आउन छोडे । न्वारानपास्नीमा पुरेत र मरौपरौमा सघाउपघाउ गर्ने साथी पाइन छोडे । न्वारान, व्रतबन्ध, बिहेबटुलो सब बन्दाबन्दीमा परे ।

Prabhu Bank
Agni Group
NIC Asia

नितान्त नौलो महामारीले कहिल्यै नबेहोरेको अनौठो सास्ती आइलाग्यो । मान्छेमान्छेबीचका सम्बन्ध र सम्पर्कका सेतुबन्ध नै चताचुण्ड भए ।

होटेल, भट्टी चल्न छाडेपछि बलरामको माछा बिक्न पनि कम भयो । गोजीमा मौज्दात रहेको धेरथोर कमाइ पनि अलि दिनमै राफसाफ भइसकेपछि पेट पाल्नै धौधौ परेर हैरान थियो ऊ । त्यसमा पनि महामारीले विपत्तिमा थप टेको लगायो ।

Global Ime bank

पुर्खौली पेसा माछा मार्नु रहिआएकाले त्यसैमा लम्पट बनेर लागिरह्यो । दायाँबायाँ वैकल्पिक काम खोज्नेतर्फ उसको कहिल्यै बुद्धि फिरेन । सुर पनि चलेन । दुई खोला दोभानमा भर्खरै फस्टाएको मेलम्ची बजारमा बले याने बलराम माझी कोरोना संक्रमित छ भन्ने अन्दाजी हल्ला फैलिन पनि बेर लागेन ।

उसको पेसा नै बजार, होटेल र भट्टी चहारेर दिनदिनै माछा बेच्नु भएकोले कोरोना सर्ने सम्भावना पनि अधिक थियो । त्यसैले गाउँदेखि बजारसम्म जति बिरामी बढ्दै गए, ती सबै बलेकै कारणले संक्रमित भएको भन्ने हुटहुटी चल्यो ।

काँचा आँप, हलुवाबेत, हिलेमाछा र फोहोर पानी खाँदा परेको आउँरगत, जुगा, जन्डिस र ज्वरोले थलिएकाहरू पनि कोरानाकै कारणले भन्ने अफवाह फैलिन बेर लागेन ।

गिट्ठा–भ्याकुर अनि जंगली च्याउ खानमा लत बसेकाहरू घाँटी सुन्निने, मुख पाक्ने र जिउ दुखेर थला पर्ने नयाँ भेरियन्टको सिकार भए । हुँदाहुँदै हप्ता–दशदिनभित्रै माथिका गाउँ र तलको बजार, यो त्यो भन्नु परेन, सबै क्षेत्र एकाएक जरो खोकीले थलिएर ढल्यो ।

पाको उमेरकाहरू कालगतिले गए पनि कोरोनाकै कारण भनेर मान्छेहरू अड्कलबाजीका अड्डी लिन थाले । खकार, थुक जचाउने याने पीसीआर गराउने सुविधा नभएकाले त झन् अन्योल थपिएर मानिसहरू सन्त्रस्त थिए । लास पोलेको धुवाँबाट पनि कोरोना सर्छ रे भनेर मलामीसुद्ध पाइन छाड्यो ।

अलि दिनपछि लकडाउन त खुल्यो, तर कोरोना रोकिएन । मानिसमा सन्त्रास हराएको थिएन । अलि–अलि पसल खुले पनि कारोबार शून्यजस्तै थियो । बेसिजन भएर पनि होला, खुरुन्धार गरेर लागिपर्दा बल्लतल्ल थोरै मात्र माछा मार्न सफल हुन्थ्यो, बलराम । तर, बजारका पसल, होटेल जताततै रगरग हिँडिरहने यो मान्छेले पक्कै कोरोना बोकी हिँडेको छ भन्दै माछा ग्राहक र होटेलवालाहरू नै ऊप्रति शंकालु बन्न थाले ।

त्यसैले थोरबहुत जम्मा पारेको माछा पनि नगिचपुँडो बिक्न छोड्यो । बिकिहाले पनि उधारो खोज्ने भए सबै । बिहान–बेलुकीको छाक टार्ने सामलले हायलकायल बनायो ।

पुरानो दुम्मो सिनित्तै रित्तिए पनि खाली बस्न उसको पेटै मान्नेवाला थिएन । त्यसैले पनि ऊ कहिले ढकालबेसी कहिले नवलपुर पुगेर माछा बेच्न थाल्यो । खोकीदमको प्रकोपले वर्ष दिनअघि नै बितेकी उसकी आमा पनि कोरोनाले नै गएकी भन्ने अन्दाजमा बजारियाहरू त्यो एक्लो बलेमाथि औँला ठड्याउँदै निन्दोचर्चो गर्न थाले ।

जेठको अन्तिम हप्ता लाग्दै चारपाँच दिनअघिदेखि मुसलधारे पानी वैरिएर मेलम्ची फेटभरि नै उत्पात मच्चायो । खोलाखहरे कतै निस्किएर जाल हाल्न दिएन । खहरेखोलाका छाँगा, कुलो, खेतका समाहामा थापेका खुँगा, घिमिरी समेत बाढीले कतै पुरेछ र कतै बगाएछ ।

आफ्नो रोजगारी नै बेमाख बनाएपछि पानीले चुटिँदै एक दिन ऊ घण्टौँ यताउता डुलेर रित्तो हात फर्किएको थियो । यतिबेर उसले मंगलीलाई सम्झियो । उसले माछा मार्ने झ्याउलो छोडेर आफ्ना दाइभाइसँग लागेर इन्द्रावतीबाट गिट्टीबालुवा निकाल्ने काम गरौँ भनेकी थिई । या त बाख्राखसी र बँगुर पालेर घरजम उकास्ने जोहो गरौँ भनेकी थिई ।

उसका माइतीगाउँले माझीठिटाहरू कतार, साउदी, मलेसिया गएर ककस्तो बन्दोबस्त गरिसके भनेर परी लाएकी पनि थिई । तर, बारम्बार कर लगाउँदा पनि बलेले स्वास्नीको कुरो टेरपुच्छर लगाएन । ङिच्च दाँत देखाएर सुन्या नसुन्यै गरेर टारी रह्यो ।

खाइखर्च समेत नभएर बेलाबखत निकै दुःख पाए तिनीहरूले, कहिल्यै बलेले भरपर्दो आम्दानीको जोहो गर्ने जोईको कुरो खाइदिएन । मंगलीका दाइभाइले बालुवा, गिट्टीकै पेसा गरेर दुईचार वर्षमै बाहुनीपाटीमा पक्की घर ठड्याइसकेका थिए । मंगली बारम्बार ब्लास्टिङ र बालुवाखानीको कारणले लोकल माछा हराइसकेको जनाउ दिँदै गर्दथी ।

आफ्ना दाइभाइसँग मिलेर काम गर्नु भन्ने कुरा सम्झाइरहन्थी । तर, उसले जति नै भन्दा पनि बले टसमस भएन । बिहान उठ्नेबित्तिकै जाल बोकेर हिँड्ने, बेलुकी रित्तो हात फर्किने उसको पाराले मंगलीका पनि पारा छुट्न थाले । जति बल गर्दा पनि केही नलागेपछि बलेको लुन्दी चाला देखेर मंगली रिसले फन्किँदै एक दिन आफ्नै माइती बाहुनीपाटी फर्किएकी थिई ।

ऊ यति बेला एकोहोरो मुसलधारे वर्षाको आतंक सहँदै मंगलीको सम्झनामा टोलाउँदै र भौँतारिँदै थियो । र, त्यस दिन पनि हात लागी शून्य भएर घर फर्किएथ्यो ।

वरपर मामाकाका कोही थिएनन् । मेलम्ची बजारछेउ उसको मात्र बसोबास थियो । कुन बाजेबराजुको पालादेखि त्यो एक्लो परिवार त्यहाँ बस्दै आएको थियो, उसले पत्ता पाउन सकेको थिएन ।

बेलुकी घैँटाको पिँधमा बाँकी रहेको एक मुट्ठी पिठो नुनपानीमा उमालेर पिएथ्यो । दिनभरको भोक मार्न त्यति पर्याप्त त थिएन, तर पनि तातो पेट गरेर भुक्लुक्क सुत्नेबित्तिकै झ्याप्प निदाएछ ।

असार एक गतेको दिन परेछ । दिनभर रहँदै पर्दै गरेको पानी रातको दोस्रो प्रहर लाग्दा गड्याङगुडुङ गर्दै चड्किँदै र चम्किँदै घनघोर रूप लिएर बर्सिएको आवाजले बले बिउँझियो । थाकलले छाएको उसको घरको छानो हुरीसँगै चलेको अन्धाधुन्ध मुसलधारे बर्सातको वेगले हुत्तहुत्त उचाल्दै थचार्दै रहेछ ।

कहाँ भागौँ के गराँै भएर एक छिन हड्बडायो अनि छानो उड्ने पक्कै भएपछि हत्तपत्त दुई हातले धुरीबलो समातेर झुन्डियो । हावा र वर्षाको वेग झन्झन् बढ्दै गयो । भएभरको शक्ति लगाएर ऊ छानामा झुन्डिएकै थियो ।

हुण्डरी अलि थामिँदा भने सिकुवाबाट मुन्टो निकालेर खोला–बजारतिर आँखा घुमाउँदै पनि थियो । बिजुली अनवरत चम्किरहँदा उसले देखेको दृश्यले आङ सिरिङ्ङ भयो । नाकमुख च्याप्पै सुक्यो ।

वरपर पाखापखेरा समेत थर्काउँदै, हुनहुनाउँदै मेलम्ची नदीमा अस्मेल बाढी आएछ । बिजुलीका तरंगहरू फिँजाएर चम्किँदै र सँगसँगै गर्जिँदै पनि थियो आकाश । बखतबखत छोप्ने निस्पट्ट अन्धकारलाई चिर्दै बिजुली चम्किँदाको उज्यालोमा ऊ भयानक बाढीको संहारकारी रूप हेर्दै रह्यो ।

पश्मिपट्टिको सिकुवाबाट बाहिर दृष्टि डुलायो । मेलम्ची नदीको विकराल बाढीबाट उसको दुईपाखे छाप्रो जोगाउनमा करेसाको अग्लो कालो ढुंगो आड बनेको रहेछ । मुसलधारे पानीसँगै आएको आँधीको वेगले भने छानो हुत्त उचाल्दै थ्याच्च बसाल्दै उसको एकाकीपन र निरीहताप्रति निर्मम प्रहार गर्दै थियो ।

एकाध घण्टा उसले निकै साहस र धैर्य झिकेर धुरीबलो समाउँदै डटिरह्यो । त्यतिले गर्दा नै छानो उड्न पाएन । आँधी वर्षा अलि बिदो भएपछि अगुल्टो हल्लाउँदै काठेभरेङ झरेर करेसाको अग्लो कालढुंगामाथि चढ्यो ।

मेलम्ची इन्द्रावती दुवै मिस्सिएको डरलाग्दो भेलले सुसाउँदै किनारका फाँटबस्ती र बजार एकछत्त छोपी सकेछ । पुरानो बजारका अधिकांश घर गर्ल्यामगुर्लुम ढलेर बाढीको भेलमा समाहित भइरहेका देखिन्थे । मानिसहरू कराउँदै चिच्याउँदै कोही कता, कोही कता दौडिरहेका थिए । कुकुरहरू रुँदै भुक्तै थिए । बालबच्चाहरू चिच्याइरहेका सुनिन्थे ।

नदी तट क्षेत्रका नवनिर्मित घरलाई बाढीका अल्का छालहरूले फँडा उठाएर फन्फनी बेर्दै आफ्नो कब्जामा लिएछ । वरपरका ससाना घर र पुराना बस्ती बाढीको थप्पड खाएर कुनै बग्दै र कुनै ठूलठूलो आवाज गरेर गर्ल्यामगुर्लुम ढल्दै थिए । कुनै पक्की घरलाई नदीका छालहरूले छेडेर बस्ती बजारबाट छिन्नभिन्न बनाइरहेका । कुनैलाई चरचरी चिरेर दुई फ्याक बनाएछ बाढीले ।

पक्की घरभित्र अड्किएका नरनारीजति छत र कौसीबाट चिच्याइरहेका थिए । राम राम, बचाऊ बचाऊ ! आदि अनेकथरी पुकारा गरेर मान्छेहरू रुँदै, कराउँदै र आर्तनाद गर्दै थिए । अत्यन्त भयावह रूपमा बौलाएको नदीको बाढी देख्तै बलेको होसहवास गुम्लाजस्तो भयो ।

बाढीको सन्त्रासले कराउँदै चिच्याउँदै गरेका आकुलव्याकुल नरनारीको आर्तनादले.मेलम्ची उपत्यका गुञ्जिएको थियो । प्रलयकारी बाढीको हुँकारजनित आवाजले एक्लो बलेका हातखुट्टा लगलग कामे । ऊ त्यही करेसाको कालढुंगामाथि अडिँदै उर्लिएर बगिरहेको बाढीमा आँखा केन्द्रित गर्दा रिँगटा लागेर झन्डै हामफालेको !

भएभरको ताकत झिकेर दह्रा खुट्टा टेक्तै आँखा चिम्लिएर बल्लतल आफ्नो दुईपाखे घरभित्र छिरेको थियो । मुटु कामिरहेको र होसहवास गुम होलाजस्तो अवस्थामा ऊ भुक्लुक्क ओछ्यानमा पल्टियो ।

तर, मन विचलित भएर छट्पटायो । बजार, फाँट, बगर ढाकेर बडेबडे छालसँग उफ्रिँदै गरेको नदीको सुस्केरा र वेगले सम्पूर्ण जमिनसँग उसको दुईपाखे कटेरो पनि थर्थरी कामिरहेको थियो । गुँडुल्किएको सर्पजस्तै एक डल्लो पारेर दाम्रो पेटमा हातको अडेस लगाउँदै पल्टियो । अनि, गाह्रोसँग मन स्थिर राख्ने प्रयास गर्दै थियो ।

केही मानिस ठूलठूलो आवाज गरेर नगिचै कुरा गरेजस्तो लागेपछि ओछ्यानबाट जुरुक्क उठ्यो । झ्यालको फग्लेँटो खोलेर बाहिर हेर्दा तल बजारदेखि मानिसहरू लर्को लागेर उसको घरनिर आइपुग्दै गरेका देखिए ।

चम्किँदै गरेको बिजुलीको प्रकाशमा झल्याकझुलुक देखिएका ती मानिसहरू कतिपय छाता ओढेर, कतिपय रुज्दैभिज्दै आइरहेका थिए । मानिसको हुल देख्दै बलेलाई अलि सहारा र आडभरोस जागेर आयो ।

“बले, ढोका खोल ! हामी तेरो घर सुरक्षित र साबुत देखेर ओत लाग्न आएका !”

बलेले झ्यालबाट हेर्न नपाउँदै उसको कटेरीको ढोका ह्वाङ्गै खुलिसकेको थियो । बच्चाबच्ची कोलाहल गर्दै त्यो सानो घर भनाउँदो गोठभित्र अटाइनअटाइ पसे । छिँडीमा नअटाएका मान्छेहरू एकखुट्टे भर्याङ चढ्दै चोटा, मटान र मझेरीमा समेत थपिँदै गए । थोत्रा खाँवा, निदाल र डाँडाभाटाले थेगेको त्यो दुईपाखे घर पानीघामबाट जोगाउन मात्र सक्ने निर्वाहमुखी थियो ।

छिँडीचोटा दुवै ठाउँमा मान्छेको भीडभाड बढेसँगै पूरै घर कटकट गरेर थर्किन थाल्यो । तर, आउने मानिसहरू घरको अवस्थाबारे केही कुरा सुन्न मानिरहेका थिएनन् । उल्टै उनीहरूबीचमा बलेलाई कोरोना लागेको छ भन्ने खासखुस चल्दै थियो ।

कतिपय नशा सेवनले झुल परेका ठिटाठेट्नाहरू विनाकाम तलमाथि गरिरहेका थिए । कोही बाढी आउनुअघि नै भलिभाँती पिएर हल्लिँदै आएका परेछन्, तिनीहरू विनाप्रसंगका कुरा झिकेर बलेसँगै झगडा गर्न खोज्दै थिए ।

तलमाथि मानिसहरू चलायमान भइरहँदा कटकट कटटट्ट गरेर चोटो चर्मराउँदै थियो । घर लड्ने आशंकामा छिँडीमा बसेका मान्छे आउनै नपाई बाहिर भाग्दै थिए । माथिका पनि बलियाजति भरेङ नाँघेर हामफाल्दै थिए । धमिरो धुल्याहा लागेर वर्षौँदेखि धुलिँदै आएका कुकाठका डाँडाभाँटाले अड्याएको त्यो घर मानिसको भारले हल्लिँदा साबुत रहने कुरै थिएन ।

उतिखेरै सिंगै घरको धुरी र माथिल्लो तला विस्तारविस्तार दायाँबायाँ ढल्किँदै गए । हुँदाहुँदै अलि बेरमै पूरै घर झ्याप्पै धराशायी भयो । मान्छेहरूमा अर्को हाहाकार थपियो । पानी दर्किरहेकै बेला उनीहरू ओत खोज्दै अलि माथिको टारतिर भागाभाग भए ।

बलराम पनि घाइते ज्यान खोच्याउँदै अरूकै पछि लाग्यो । मुसलधारे पानीले चुटिँदै तिनीहरू माथिल्लो भेगमा रहेको हाइस्कुलको बरन्डामा शरण लिन पुगे ।

“तैँले त्यस्तो धराप घर राखेर हामीलाई मार्ने सुर गरेको ?” विद्यालयमा ओत लागेपछि तिनै मान्छेले घेरा हालेर बलेलाई उल्टै र्याखर्याख्ती पारिरहेका थिए । कसैले पुर्पुरोमा घाउचोट लागेर रगतका पाप्रा बोकेका रहेछन् । कोही हात च्यापिएर हर्थुङ्गा फुटेका, कोही खुट्टो मर्किएका, कोही कम्मर सड्किएका ! थुप्रै घाइतेहरू उसलाई ज्यान मार्न खोजेको आरोप लगाएर दच्काउँदै थिए ।

माझघरे किराना साहुले हुल्याहा दललाई सम्झाउन खोज्दा उनैमाथि जाइलागेर बारुलाको गोलोमा आगो झोसेजस्तो भयो । बलरामले आफूउपर लागेका आरोपको प्रतिवाद गर्न खोज्दा उनीहरू झनै आक्रामक भएर एकै मुखले दबेट्न थाले । जवाफ दिन खोज्दा झन्डै पिटाइ पो खाएको ।

उसले आँसु झार्दै मान्छेपिच्छेका आरोप–प्रत्यारोप, अभियोग सबै सुनिरह्यो । गाली–प्रताडना सबै सहिरह्यो । तलतिर हेर्दा बाढी उर्लिएर बस्तीका परपरसम्मका भाग पनि कटान गर्दै लगेको देखियो ।

अल्गा पक्की घरहरूमा अड्किएका र भाग्दाभाग्दै बीचबाटोमा थुनिएका थुप्रै नरनारी बालबच्चाहरूको आर्तनाद औधी हृदयविदारक थियो ।

उज्यालो नहुँदै उद्धार टोली पनि सक्रिय भएर अग्ला घरमा फसेका र बाढीमा थुनिएका मान्छे उतार्न लागिपरेको थियो ।

स्कुलमा आश्रित भएर बसेका बाढीपीडितजतिलाई वडापालिकाले अस्थायी राहत शिविर संञ्चालन गरेर खाना र बसोबासको बन्दोबस्त गर्ने तयारी गरेछ । यसका लागि वडाबाट लगत लिने डोर आउँदा सबै बाढीपीडित हर्षित भए ।

तर, पीडितको लिस्ट तयार गर्ने क्रममा बलेको पालो आउँदा कसैले उसलाई टेढा आँखाले हेरे, कसैले बाढीपीडित हैन, यसको घर बाढीले हैन, आफैँ भत्किएको भनेर ठाडै विरोध जनाए ।

भोकले क्याउँक्याउँ गरिरहेको रित्तो पेट लिएर बलेले गर्नुसम्म अनुनय गर्यो । तर, कसैले उसको कुरा सुनेनन् । वडाका कर्मचारीले समेत बले बाढीपीडित नभएको स्वीकारे ।

उसले जति नै बल गर्दा पनि बसोबास र खानेकुरा पाउन सकेन । ऊ राहत शिविरबाट ठाडै घोक्रेठ्याक लगाइमाग्नेमा पर्यो ! अरू त परै जाओस्, सधैँ उधारो माछा किनेर थुप्रै पैसा तिर्न बाँकी राखेकी बरबोटे भट्टी पसल्नीले समेत ‘यसलाई कोरोना लागेको छ’ भन्दै शिविरबाहिर लखेट्न अघि सरिन् ।

सबै होमा हो मिलाउँदै उसलाई पर जा भनेर हप्काउन थाले । राहत शिविर नै बलेविरुद्ध चलेको कोरोनाको हावाले हल्लियो । खानेकुरा र बस्ने आश्रयसुद्ध नपाएको बले कोरोना संक्रमितमा समेत दरियो । उसको यथार्थ अवस्था बुझेर बोलिदिने कोही भएन ।

बिहान भयो । अरू खाना खान लागे । बले भने निन्याउरो अनुहार पारेर भोकभोकै आफ्नै थलोमा फर्कियो । बाढी अलि घट्दै गएको रहेछ । खोलाकिनारमा पाखा लागेका ठुटा, सीटा जोरजम्मा गरेर भत्केकै घरको एक कुनामा आगो बाल्यो । अन्नको नाउँमा एक दाना कतै नभएकोले ताप्के बसालेर अलिकति नुनपानी ततायो र त्यही पानी खाएर भताभुंग घरको सिकुवापट्टिको एक छेउमा पल्टियो ।

भोलिपल्ट राहत वितरण गर्ने टोलीले बाढीमा बगेका, पुरिएका, भत्किएका घरको सर्भे गर्न जाँदा बलेको घर भएको ठाउँमा कालढुंगा नाघेर बाढी पसेको देखिएन । बलेले बजारका थुप्रै मानिस ओइरो लागेर आफ्नो घर भत्काइदिएको कुरा राख्न छोडेन । तर, बाढीपीडित पहिचान गर्न आएको सर्भे टोलीले त्यो घटनालाई मानवीय दुर्घटना मात्र भन्यो । अरू एउटै कुरा सुनेन ।

बाढीपीडित क्षेत्र मात्र आफ्नो कार्यक्षेत्र रहेकाले बलेको घरलाई त्यो कित्तामा राख्न नमिल्ने बतायो । अर्थात्, दैवीप्रकोपको घटनामा उसको भत्किएको घर परेन ।

‘मानवीय प्रकोपका लागि यसपाला कुनै किसिमको सहायता छैन’ भन्दै बलेको अवस्थामाथि निर्ममता प्रदर्शित गरेर राहत पघार्ने सर्भे टोली आफ्नै बाटो फर्कियो ।

आखिर पेट त भोकै थियो । बले फेरि माछा मार्न भनेर इन्द्रावतीको किनारकिनार जाल हाल्दै तलतल झर्यो । अलिक बेरमा उसले खोलापारी डँडेको वनमा गिट्ठा–भ्याकुर उम्रिएका र जंगली च्याऊ फक्रिएको अन्दाज गर्यो । उसकी आमाले परारतिरका वर्षहरूमा अनिकालको बेला तिनै कन्दमूल ल्याएर भान्सा चलाउने गरेकी थिइन् ।

ऊ पनि सानो छँदा आमासँगै ती वनपाखाहरूमा गिठ्ठा–भ्याकुर खन्दै खोस्रिँदै हिँड्ने गरेको सम्झियो । यतिबेर पनि खोलापारि तर्ने प्रयासमा लाग्यो । तर, इन्द्रावतीका दुवै पुल हिजैको बाढीले बगाएकाले पौडिएरै खोला तर्नुपर्ने अठोटमा ऊ पुग्यो ।

भोक र अनिँदोले गर्दा शिर चक्राइरहेको थियो । हातखुट्टा लगलग काम्न थालेका थिए । तैपनि, अरू कुनै उपाय नदेखेपछि इन्द्रावतीको बाढीमा हामफालेर पारि तर्ने जमर्को गर्यो ।

अलि बेर त बाँकटे हान्दै बलिया छालहरूसँग लाप्पा खेल्दै थियो । तर, एक्कासि नपत्याउँदो ठाउँको भुमरीमा परेर गेगरबालुवा र लेदो भरिएको अस्मेल बाढीमा बले बेपत्ता भयो ।

बाढीले बगाइल्याएका काठ बटुल्न बाहुनीपाटीमुनि नदीकिनारमा जम्मा भएका मानिसहरूले ठुटा मुढासँगै मानिसजस्तै वस्तु पनि बग्दै आएको देखेर हल्लीखल्ली गरे । काठका मुढा समातेर आएको भए जिउँदै हुनसक्छ भन्ने अन्दाजमा सिपालु पौडीबाज ठिटाहरूले त्यो लास पनि ठूलो जालले तानेर किनारमा निकाले ।

अध्मरो अवस्थाको बेहोस लासमा सास चल्दै रहेको थाहा भयो । हत्तपत्त माथि गाउँबाट झाँक्री बूढालाई बोलाए । उनकै निर्देशनमा पेटमा जम्मा भएको पानी निकालेर धूपधुवाँरसहित सीमेभूमे पन्छाउँदै बलेको स्थानीय उपचार चल्दै गयो ।

केही समयको अन्तरालपछि टुलुक्क आँखा खुले । मंगलीलाई पंखा हम्किँदै र आफ्नो कान, गर्दन र कपालमा लागेको हिलो सफा गर्दै गरेको देखेर ऊ छक्क पर्याे ।

“अब तिमी यतै बालुवागिट्टीको काम गरेर बस है, मेलम्ची नजाऊ !,” मंगलीले मुख फोरी । ऊ बोल्न सकेन ।

अगिल्लो दिन भोगेको विकराल बाढीको ताण्डवलीला अनि आफैँले भोट दिएका प्रतिनिधि र माछाका ग्राहकले नै गरेको अवहेलना अनि प्रतिदिनको गाँसबासको आतंक सम्झिएर ऊ फेरि बेहोसजस्तो भयो र एकैछिनमा बौरियो पनि । तर, केही बोलेन ।

निकै बेरसम्म दुवैले एकार्कालाई हेरी मात्र रहे । उता, मेलम्ची बजारहुँदि भने अलि दिनपछि हल्ला चल्दै थियो, “यसपालि कोरोनाले बलेलाई लगेछ, नत्र कहाँ हरायो त बले ?”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC