site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
झरी जाने जिन्दगी...
Ghorahi CementGhorahi Cement

विगतका पाना पल्टाएर हेर्दा म आफैँलाई अचम्म लाग्छ । म एसएलसी पास हुनेबित्तिकै दिमागको कुरुसले मास्टर बन्ने सपना बुनेर काठमाडौं भित्रिएको थिएँ । उहिले कक्षा–६ मा ‘मास्टरकी आमा’ कथा पढेको थिएँ । एकाएक एक्ली आमालाई छोडेर गाउँका केटाहरूसँगै मुग्लानिएको छोरो धेरैपछि गाउँकै स्कुलमा मास्टर बनेर फर्किन्छ, कथाको गुदी यत्ति थियो ।

सायद, त्यही कथाले पनि मेरो मास्टर हुने चाहनामा जरा हालेको थियो कि ! काठमाडौं बसाइका सुरुआती दिनमा मास्टरले मेरो दालभात र नुनभुटुन नजोडेको होइन । तर, कालान्तरमा म त्यसमा रत्तिन सकिनँ । आफैँले छानेको लक्ष्यको गोरेटो विस्तारै यात्राका उकालाहरूमा छोपियो । त्यो उछिट्टिएर नदीको पल्लो किनारमा पुग्यो, म कहाँ पुगेँ, पुगेँ । यसैले अचेल लाग्न थालेको छ– झरिजाने जिन्दगीको सरी जाने छाया यस्तै यस्तै होला ।

म्याथम्याटिक्स (गणित)को मास्टर हुने रहर आज साहित्य–संगीतको कक्षामा जबर्जस्ती छिरेको छ । साहित्यको विद्यार्थी भइटोपल्ने धुनमा खुब घोटिएको छ । पिसिएको छ । दिमागका नसालाई झट्का दिएको छ । तर, यसले सिर्जनाको बिरुवामा पानी हाल्न समेत सक्छ/सक्दैन, त्यो नदीजस्तै बगिरहने समयले बताउला । यही साहित्यको कक्षाले एउटा यात्रा जुरायो, म यात्राको कल्पनामा हराएर भुतुक्क भइसकेको थिएँ ।

Agni Group

कति दशकदेखि पत्रे चट्टानजस्तै थिचिएर दबिएको साहित्यकार लीलबहादुर क्षेत्रीलाई भेट्ने चाहना एकाएक तरुनो भएर आइदियो । मैले अहिलेसम्म नतरेको मेची पुल र क्षेत्रीज्यूको असम, गौहाटीको दैलोको दर्शन गर्ने बेपत्ता कौतूहल जागेको छ । त्यो परको ठाउँ देख्ने, घुम्ने र मनको धोको पूरा गर्ने ‘चानस’मा पुष्पक विमान बन्नुभएको छ, गोविन्द गुरु ।

नयाँ दुनियाँ देखाउने, डुलाउने र आफ्नै निगरानीमा राखेर ‘केही सिकोस्’ भन्ने सदिच्छाले गोविन्द गुरुले केही दिनअगाडिदेखि मलाई अघिअघि घिच्याइरहनुभएको थियो । भावनाको सिम्किनो ताक्दै हिँडिरहन अह्राउनुभएको थियो । म जानी नजानी बांगाबांगा खुट्टा टेक्दै उहाँले देखाएको गोरेटोतिर सोझिने आँट गरिरहेँ । यही आँटको एउटा पोको काखी च्यापेर कात्तिक १७ गते बिहानै साइत गर्नु थियो ।

Global Ime bank

अघिल्लो दिन नै विराटनगर उड्ने ९ः३५ बजेको श्री एयरलाइन्सको टिकट काटेको थिएँ । आठ–दश दिनकै यात्रा भएको हुँदा अघिल्लो दिन साँझसम्म झिटीगुन्टा कसकास पारेको थिएँ । बिहान ७ बजे नै विमानघाट जान तल्लो तलामा बस्ने ट्याक्सीधनी थापा दाइलाई आग्रह गरेको थिएँ ।

भावनाले उडाएर कहाँकहाँ पुर्यायो । यस्तो बेला त सपना पनि जिउँदा भएर आउँदा रहेछन् । थोरै सपना, धेरै कल्पनामै रात बित्यो । सूर्यनारायण मुसुक्क हाँसेर कोठमै दर्शन दिन आइपुगे । म गरुंगो सुटकेस घिच्याउँदै कोठाबाट बाहिरिएँ ।

तल्लो तलामा झरेर थापा दाइलाई बोलाएँ । उनको चालचुलै सुनिएन । निकै कराएपछि उनले बिस्टागृहबाट ख्वाकख्वाक गरे । ७ बजिसकेको थियो, जहाजले मलाई नटिपी उड्छ कि भन्ने तुलबुलले मन एकखेप आत्तियो । झटपट थापा दाइ तयार भएर आए र हामी विमानघाटतिर हुइँकियौँ ।

सामान परीक्षणका घुम्ती पार गर्दै विमानघाटमा पूरा गर्नुपर्ने सबै कर्म मैले फटाफट सिध्याएँ । जाँच्नुपर्नेले जाँच्यो, हेर्नुपर्नेले हेर्यो, खोतल्नुपर्नेले खोतल्यो । अनि, विमानभित्र छिर्न चाहिने प्रवेशाज्ञाको चिर्कटो लिने लाइनमा उभिएँ । पालो आयो, मैले त्यो चिर्कटो अर्थात् बोर्डिङ पास लिएँ । काठको बारभित्र उभिएर भुतुक्कै पार्ने मुस्कान पस्किँदै एउटी युवती बोलिन्– प्लेन फोर्टी फाइभ मिनेट डिले छ ल ।

उनी बोली र मुस्कानको किस्ती त्यहीँ छोडेर विपरीत दिशातिर बत्तिइन् । म हेरेको हेर्यै भएँ ।

मनमा लाग्यो– एकाबिहान थापा दाइलाई बेकार कराएछु । यो श्री एयरलाइन्स नामको ठाँडोले कहिल्यै समयमा उडाउँदैन । जानेबुझेसम्म यसले बोलीअनुसार निमेक पूरा गरेको मलाई सम्झना छैन । बेसीँखेत जोत्न जानुपर्ने संकेत पाएपछि बरु बूढा हलगोरु बिहानै उठिसक्छन्, यो खप्पर पुट्ठामा घाम पर्दासम्म पसारिइरहन्छ कि क्या हो !

यात्रुहरूलाई ढाँटढुट गरेर व्यापारको आयतन बढाउनु यसको पहिलो कर्तव्य हुनुपर्छ । हुन त देशलाई ढाँटेर लुटपाटको धन्दा चलिरहेको बेला यो पिउसोले ढाँट्नुमा कुन अनौंठो भयो र ! म गन्गनाउँदै भित्री यात्रालयतिर सोझिएँ, जहाँ यात्रुहरू भरिभराउ थिए । ती कोही हाई काढिरहेका, कोही गफका पसल फिँजाइरहेका त कोही पट्यारलाग्दो कुराइका झिँगा मारिरहेका देखिन्थे, म पनि त्यहीँ मिसिएँ ।

‘फोर्टी पाइभ मिनेट डिले’ भने पनि यसले पूरै एक घण्टाको फन्को मार्यो । त्यसो भन्ने युवतीसमक्ष पुगेर मुखभरि जवाफ दिऊँ नलागेको होइन, तर हामी धमिलो पानीको जालमा परेका माछा न हौँ । आखिर उनीबाट पाउने पनि उही एक फाँक मुस्कान र आश्वासन न हो । उनी पनि त कसैबाट घस्याइएकी छिन्, कज्याइएकी छिन् । जे गर्नुपर्ने जिम्मेवारी हो, त्यही गरिरहेकी छिन् ।

कस्तो अचम्म ! ती युवतीले कर्तव्य सम्झिनुपर्ने, त्यहीअनुसार गर्नुपर्ने तर त्यो श्री एयरलाइन्स नामको हुद्दाले जिम्मेवारी सम्झिनु नपर्ने । उडाउने समय ९.३५ तोकेको यसले बल्लतल्ल ठसठसी कन्दै ११ बजेतिर विमानको ढोकातिर घुचेट्दै भर्याङ चढायो । ढोकैमा उभिएकी हवाई सुन्दरीले अर्को एक फाँक मुस्कान टक्र्याएपछि मेरा अघिका गन्थन प्रायः मत्थर भए ।

ओहो, कत्रो शक्ति, कत्रो जादु दश औँला जोडाइमा ! सेतो मुहारमा फुलेको एक थुँगा मुस्कानको गज्जब चमत्कार । त्यसैले हो कि हिमालको शिरमा टुसुक्क बस्ने हिमराशि हेरेर मान्छे कहिल्यै नअघाउने । उता, शालीनतामा कत्रो ताकत ! शालीनता नै शान्ति र सभ्यताको प्रतीक होला ।

लुम्बिनीमा युगौँदेखि बुद्ध पद्मासनमा शालीन मुद्रामा छन् । हामी ॐ मणिपद्मे हुँ जपिरहन्छौँ । र त मौनताभित्र लुकेका लुटपाट, हत्याहिंसा, बलात्कार र अपराधलाई पनि हामी शान्ति मानेर मौन छौँ । यस मानेमा आवेग आगो हो, शालीनता पानी । आगो सधैँ पानीसँग हार्छ । यहाँ म पनि हवाई सुन्दरीको शालीनता, मुस्कान र नमस्कारसँग हारेँ र प्रतिउत्तरमा ओठले फर्काएँ, एक चिम्टी मुसुक्क ।

चिर्कटोमा लेखिएको सिट खोज्दै मैले पाइला अघि बढाएँ । बाटैमा अर्की हवाई सुन्दरीले बाटो छेकिन् र झ्यालपट्टिको सिट देखाउँदै भनिन्– खाली छ, यी यहीँ बस्नुस् न ।

म मेरो तोकिएको सिटसम्म पुग्नै परेन । यसो हेरेँ, विमानभित्र आधाजसो सिट खाली । उपत्यका छोड्ने रात्रि वा डे बसहरू भएको भए ती नभरिएसम्म डेक चल्दैनथे । तिनले निःशुल्क बोक्छु जस्तो गरी यात्रुलाई घेरा हालेर माछीजालमा पारिहाल्थे । यात्रु पनि भाडा तौलिन खप्पिस, आखिर ती बसका सहचालक लिइआएको दरभन्दा निकै कम भाडामा यात्रु चढाउन तयार हुन्छन् ।

फेरि, दसैँ–तिहारजस्ता चाडबाड आयो कि ती बसका चालक, सहचालक, दलाल, चुल्ठे, मुन्द्रेको भाउ खपिनसक्नु उकालो चढ्छ । ती यात्रुलाई छेउ गन्दैनन्, आफूलाई स्वर्ग लैजाने देवदूत सम्झिन्छन् र यात्रुलाई बिचरा पातालका छिचिमिरा । यो चक्र आज होइन, उहिलेदेखि चलिआएको छ । घुमिरहेको छ, चर्खाको धागोझैँ ।

एयरलाइन्सले पनि यात्रु नपाएर बिहान छिप्पिँदासम्म पर्खेको हो कि ! मलाई यस्तै भान भयो ।

फर्माइस गरेको सिटमा बसोस् भनेर अघि सिट देखाउने हवाई सुन्दरीले मसामु आफ्ना सेता दन्त देखाइरहेकै थिइन्, मुस्कानको दैलो उघारेर भित्र छिर्न म पनि किन पछि पर्दो हुँ ! मेरो दाहिनेपट्टिका दुवै सिटले पनि कसैलाई पर्खिरहेकै थिए । तीमध्ये एकजना म हुन सक्थेँ । म खुरुक्क त्यहीँ गएर झ्यालपट्टि बसेँ । हातेझोला छेवैको सिटमा बिसाएँ । बेलैमा आफूलाई कसकास पार्नुपर्ने धन्दा सकेँ । हातमा शरद प्रधानको पुस्तक ‘स्मृति बिम्ब’ले थकाई मारिरहेको थियो, पाना पल्टाएर आँखा त्यतै दौडाएँ ।
०००
विमानले त्रिभुवन विमानस्थलको भुईँ छोड्यो । वायुमण्डलमा तैरिरहेको हावासँग मिसिँदै त्यो आकाशगंगातिर उकालो चढिरह्यो । मैले स्मृति बिम्बका पाना बन्द गरेँ र झ्यालबाट बाहिर चिहाएँ, वाह, प्रकृतिको सप्तरंगी बगैँचा ! बादलका भुवाहरू हिमालका थुम्काथुम्कामा खेल्दै रमाइरहेका । बतासले सेता बादललाई अँगालो मारेर दौडिरहेको अनुभूत गर्न सकिन्थ्यो । बादलका भुवाहरू घरी आरुका फूलजस्ता, घरी कुखुराका सेता चल्लाजस्ता त घरी हिमाली पठारमा बुुर्कुसी मारिरहेका भेडाका पाठापाठीजस्तै देखिन्थे ।

प्रकृतिको यस्तै मनमोहक आभूषण हेरेरै होला, पोखरेली गायक अमृत गुरुङले गाएको–
आकाशबाट के उडी आयो
भेडाको उनजस्तो हो हो भेडाको उनजस्तो...

नीलो आकाश, त्योभन्दा मुन्तिर बादलुको देश । हिमालमुन्तिर होचोअग्लोको भागदौड नगरी लहरै मिलेर उभिएका हरिया चुलीहरू । तिनका तलतल पहाडी पाखापखेरा, दूधका धारा बगेजस्ता हिमनदीहरू, अनि ती मैदानमा पुगेर सान्त भई बगेको बडो चित्ताकर्षक दृश्य, जसलाई स्वर्गलोक अन्दाज गर्न सकिन्थ्यो ।

महाभारत वा रामायणका हिन्दी सिरियलमा देवताहरू पुष्पक विमान चढेर यस्तै बादलभित्र छिर्दै र निस्किँदै गरेको देखिन्छ । कुनै पर्वतको छेउमा महादेव घाँटीमा नागको माला धारण गरेर नांगै ध्यान गरिरहेका हुन्छन्, नजिकै पार्वती । कताकता भुँडी हल्लाइरहेका गणेश तिनका सेवकहरूले घेरिएका हुन्छन् । अरू देवताहरू महादेवको दलानसम्म आउन बादलको ढोका खोलेर भित्र प्रवेश गर्दै बाहिरिने गर्छन् ।

जहाजमा उडिरहँदा मैले आफू त्यही बादलको देशमा उडिरहेको कल्पना गरेँ, आफूलाई स्वर्गका देवताहरूको छेउछाउ पुर्याएँ । ममा असीम आनन्द सञ्चार भयो । सायद आनन्दको चरमोत्कर्ष नै स्वर्ग होला ।

यहाँनिर, मलाई विमानले उडान ढिलो गरेकोमा कुनै अपसोस भएन । अझ हृदयदेखि धन्यवाद टक्क्र्याउन मन लाग्यो, ती हवाई सुन्दरी जसले मलाई झ्यालपिट्टको खाली सिटमा राखेर यो प्रकृतिको दरबारमा प्रवेश गराइन् र स्वर्गको सुखानुभूति दिलाइन् ।

यी हिउँदे दिनमा तोकेकै समयमा विमान उडेको भए पनि हुस्सु र कुहिरोको बाक्लो तन्नाले वातावरण ढपक्क ढाकेको हुन्थ्यो । चिसो वायुघर घामको धुनी जगाउँदै बादलको बर्को ओढेर सुतिरहन्थ्यो । यो छ्याङ्ङ खुलेको नीलो आकाश, मृगशावकझैँ हिमालका डिलडिलै दगुर्ने घामराशि, हरिया पहाडपर्वत, खोच र खोल्सीबाट झरेका हिमधारा, मैदानको सुललित बहाव र हरिया बालीले भरिएका फाँटहरू देख्न कहाँ पाइन्थ्यो र ! मैले ती हवाई सुन्दरीलाई फेरि मनमनै धन्यवाद दिएँ ।

म डेढ दशकदेखि बिजुलीकै विषयमा लेखी हिँड्ने ‘बिजुली पत्रकार’ । आक्कलझुक्कल यसरी साहित्यिक कार्यक्रममा हिँड्दा होस् वा साहित्यसम्बन्धी दुई–चार कुरा लेख्दा, मलाई धेरैले प्रश्न गर्छन्— तपाईंको पेसा पत्रकारिता त्यो पनि ऊर्जा क्षेत्र, उता साहित्य त कस्तो नमिल्दो हगि ?

मलाई प्रश्न गर्ने मेरा ती पथप्रदर्शकहरूलाई यो प्राकृतिक सौन्दर्यको झाँकी देखाउँदै जिज्ञासा सन्तुष्ट पार्न मन लागेको छ, कसले भन्छ बिजुली र साहित्य मिल्दैन भनेर ? ऊ हेर्नुस्, त्यो नदी, त्यो बादल, ती हिमालहरू बिजुलीका कच्चापदार्थ होइनन् ? यिनैको संयोजनले त तपाईं हामीले घरमा प्याट्ट स्वीच थिच्नासाथ झिलिक्क बत्ती बल्छ । अनि, यिनै नदीखोला, बादल र हिमाल हेरेर कतिले कति कविता, गीत, कथा, निबन्ध, उपन्यास र यात्रा–कथा लेखी छोडे, लेखिरहेछन् र लेखिरहनेछन् । यिनलाई एकार्काबाट छुट्ट्याइदिउँ त जीवन र प्रकृति कस्तो होला ?

मैले विमानको झ्यालबाट देखेँ, माथिबाट बग्दै आएर सुनकोसी र तामाकोसीले अँगालो हालेको दोभान । यहीँनिर हो, ६८३ मेगावाटको सुनकोसी–तीन जलाशय जलविद्युत् आयोजना निर्माणको परिकल्पना गरिएको । सुनकोसी किनारैकिनार जापान सरकारले निर्माण गरिदिएको बीपी राजमार्ग डुब्ने हुँदा यो बिजुली आयोजना बनाउन नहुने तर्क पनि छ । तर, पछिल्ला वर्षहरूमा यसको खुब चर्चा छ, जसमा बंगलादेशले लगानी खन्याउने बहसको धुनी बालिएको छ ।

साँच्चै सुनकोसी–तीन र यसको तल्लो जलाधारमा पहिल्याइएको १,११० मेगावाटको सुनकोसी–दुई जलाशय जलविद्युत् बनाउने सपना पूरा भयो भने काभ्रेको दोलालघाटसम्मै पानीजहाज चलाउन सकिने योजना बुनिएका छन् । यसो हुँदा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्रै पानीजहाज चलाउने सपना साकार हुन्थ्यो होला । अहिले त कागजे पानीजहाज योजनाको सन्दुकमा चुपचाप छ । त्यो सन्दुक पनि असामी मुसाहरूले अन्तै सारे कि कुन्नि !

सुनकोसीका वारि र पारि भित्ताहरू खाली छन् । जहाजबाट हेर्दा ती रुखो र बाँझो छाती देखाएर गिँजा तन्काइरहेका देखिन्छन् । ती पाखापखेराहरू सदियौँदेखि नांगो आङ देखाएर लम्मतन्न सुतेका छन् । हिउँद र बर्खाले कोतरेर नंग्याएका, आँखाले पनि खाम्न नसकिने खाली पखेराहरूमा उहिल्यै हो, सोलार पार्क विकास गर्ने योजना बुनिएको तर अहिलेसम्म त्यो जिनिस यतातिर ढिम्किएको छैन ।

सुनकोसीमा जलभन्डारक पोखरी, आधुनिक बिजुलीघर, डाँडापाखामा सौर्यपाताको बगैँचा, दिनमा घामको बिजुली, रातिमा पानीको, बिजुली उत्पादन र प्रवाहको सन्तुलित आधार कति भरपर्दो हुन्थ्यो । जलयातायातले रोजगारी र बन्द व्यापारका कति आयामको ढोका खोल्थ्यो । तब यही त हुन्थ्यो, आर्थिक समृद्धिको द्वार । तर, विकासे राग अलापेरै नथाक्ने सरकार हिन्दुस्तानबाट बिजुली ओसार्न निक्खर गाउँले हावापानीमा हुर्केका जवानीहरू खाडीमा बेचेर रुपियाँ कमाउँछ । अनि, जुँगामा ताउ लाउँदै सत्ताको फलैँचामा उपरखुट्टी लाएर उँघिरहन्छ ।
०००
एयरलाइन्सले सुनकोसी किनारैकिनार उडाइरहेको छ । हरिया पाखापर्वत र वन्य झाँकीमा भुलाइरहेको छ । निकै तल पुगेपछि सुनकोसीमा अरूण मिसिएको देखियो । त्यो अब कोसीमा रूपान्तरण हुन्छ । मलाई लाग्यो– यसको यात्रा कहाँसम्म होला ? साँच्चै यो त प्रकृतिको अविराम यात्राको पथिक होला, बादलसँग भेट्ने व्यग्र प्रतीक्षामा हतारहतार उन्मुक्त छाल उफ्रार्दै बगिरहेको ।

त्यो सिमाना काटेर गंगामा पुग्छ । त्यहाँबाट सागरमा समाहित हुन्छ । अनि, सगरमा उक्लिन्छ र फेरि धर्तीमा ओर्लिन्छ । छाउनीमा भर्ती हुन हिँडेको लाहुरे छुट्टीमा गाउँ फर्केजस्तै हाम्रो कोसी पनि त्यस्तै होला । सागरबाट बाफको भर्याङ समाएर सगरको धुरी चढ्छ, हिमालमा पिङ खेलेर फेरि यतै फर्किन्छ, कति रमाइलो यसको लीला ।

उता मैले देखिरहेको छु, माथि नीलो आकाशको पालीमुनि बादलको चँदुवा । डाँडामा, भीरमा, खोल्सीमा, पाखामा जता पनि सेता बादलका पल्टन यता र उता डुलिरहेका छन्, छाउनीमा परेड खेलिरहेका सैनिकहरू जस्तै । कति त खोल्सीमा निदाइरहेका, कोही घुरिरहेका त, कोही नौलानौला गाउँमा परिवर्तनको बिगुल बजाइरहेका लाग्थे । यति बेला ती गाउँलाई जनकविकेशरी धर्मराज थापाको गीतले ब्युँझिन थप प्रेरित गरिरहेझैँ लाग्यो—
आज मादल बजेको किन
गाउँघर दुनियाँ ब्युँझाउन...

तल अनन्त यात्रामा हिँडिरहेको कोसी र परपर क्षितिजसम्म फिँजारिएका असंख्य खेतीयोग्य फाँटहरू । यिनै फाँटहरू देखाएर भनिएको होला, तराईलाई अन्नको भन्डार । यिनैले त जेनतेन धानेका छन्, मुलुकको कृषि क्षेत्र र वार्षिक आयवृद्धिको त्यान्द्रो ।

आँकडाले देखाउँछ, देशका ६६ प्रतिशत मानिस अझै कृषि कर्ममै छन् । तर, यथार्थले यसो भन्दैन । चुलामा पाक्ने चामलदेखि नुनभुटुन र काउलीबन्दासम्म पारिबाट नओसारी छाक टर्दैन । कसरी कृषिकर्मको गीत गाउनु ? पहाड उल्टेर तराई झरेको छ, झरिरहेकै छ । तराई उठेर सहर पसेको छ । सहरहरू सिल्टीको ताप्केजस्तै कुच्चिँदै गएका छन् । पहाड रित्याएर हाडछाला पगाल्न खाडी हिँडेका लाहुरेहरूले थोरैतिनो निमेक (विप्रेषण) त पठाउँछन्, तर कति त बाकसमा चिर निद्रामा सुतेर फर्किन्छन् । कतिले अस्तु मात्र ल्याइपुर्याउँछन् ।

रसाउनै नसक्ने ढुंगाजस्तै बनाएर छोडिएका हिजोका मलिला पहाड र बेँसी अनि साँघुरिँदै गएको तराईको आयतन हेरेर अझै कहिलेसम्म ‘कृषिप्रधान देश’ अलापिरहनु !

अचेल सहरमा मात्र होइन, तराईका खेतीयोग्य फाँटभरि दले दाइहरूको बिगबिगी छ । ती चाक्ला न चाक्ला फाँटलाई चिर्छन्, फोर्छन्, नंग्याउँछन्, टुक्र्याउँछन् । मासु व्यापारीले जस्तै हड्डी र मासु अलग्याउँछन् । तुलोमा जोखेर बिलो लाउँछन् । सुन र हीरालाई फलाम र गिल्टीमा रूपान्तरण गर्दै भन्छन्– हामीले नमुना सहरको विकास गरिरहेका छौँ ।

हायऽऽऽ यही हेरेर हामीले कहिलेसम्म आफूलाई ‘कृषिको प्रधान’ बकाइरहने ?

विमानले घद्रङ्ङ आवाज निकाल्दै विराटनगर विमानघाटमा पाइला टेक्यो, यता मेरो तरंगका तार छुटे ।

विमानबाट बाहिर निस्केँ र गन्तव्य कल्पिँदै लम्किरहेँ । अघि विमानभित्र पल्लो सिटमा बसेर दिउँसै प्रेमरस पिइरहेका दुई हुर्कौला ठिटाठिटीले एकजोडा उत्तेजक हाँसो हाँसे । तिनको बाटो हेरेर बसेकी अर्की ठिटीले उनीहरूलाई बाटैमा ग्वाम्लाङ्ङ अँगालो मारी । मैले अलि संकोचले छिटछिटो पाइला चालेँ । ठिटो अलि पछाडि चाल मार्दै थियो, दुई ठिटी मैरै पाइलाको गतिमा पछिपछि आइरहेको देखेँ । अनि, परिचितजस्तै गरेर एउटा प्रश्नको जुइनो फ्याँकेँ– दिदीबहिनी हो ?

विमानभित्र प्रेमरस पिउनेमध्येकीले सेता दन्त लहर देखाउँदै उत्तर फर्काई– कजन हो ।

मलाई आजै दमक पुग्नु छ । आस्थाको मन्दिरमा एक छिन सन्ध्याको आरती गाउनु छ । यात्राका लागि आफूलाई आँटिलो र कसिलो पार्नु छ । अनि, भोलि बिहानै मैले मेची पुल तर्नु छ । आज यसरी यी बालाबैँसेसँग छिल्लिएर व्यर्थमा के समय बियाँल्नु ! अनि, तिनीहरूतिर कर्के आँखा तर्दै म लमक¬लमक लम्किरहेँ, आफ्नै छायालाई अघि लाएर ।
(रचनाकाल २०७९ साल कात्तिक १७)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC