1673945124.jpg)
माधवकुमार नेपाल नेकपा (एस)का अध्यक्ष हुन् । नेकपा एमालेबाट पार्टी विभाजन गरेर उनले आफ्नै नेतृत्त्वमा नेकपा एकीकृत समाजवादी बनाएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा उनको पार्टीले १० स्थानमा जित हासिल गरेको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको ‘धोका’ का कारण एमाले नेतृत्वमा अर्को गठबन्धन बनेको अध्यक्ष नेपालको बुझाई छ ।
तर प्रचण्डले पनि आफूलाई धोका दिएको नेपालको गुनासो छ । गठबन्धन भत्किँदाको पृष्ठभूमि, नयाँ बनेको गठबन्धन, त्यसको भविष्य र आगामी राजनीतिबारे नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाह्रखरीका प्रतीक प्रधान र बलराम पाण्डेसँग गरेको कुराकानीको सम्पादित अंश :
भोलि सभामुखको मनोनयन दर्ता छ यहाँहरुको पार्टीका तर्फबाट या पुरानो गठबन्धनबाट उमेदवारी रहन्छ कि रहँदैन ? कि सात दलीय गठबन्धनलाई नै समर्थन गर्ने हो ?
हामीले अहिलेसम्म आफूले उमेदवारी दिने सोचेका छैनौं । पुरानो गठबन्धनबाट दिने भन्ने पनि तयारी छैन । तर एमालेकै हातमा सबै पद जाने हो भने त्यसपछि नेपालको राजनीति घुमिफिरी २०७४ सालमा पुग्छ ।
फेरि राज्यसत्ताको चरम दुरुपयोगको सिलसिला सुरु हुन्छ । त्यसले धेरै संकट निम्त्याउनेछ । धेरै क्षेत्रमा असर पर्छ । निरंकुश प्रवृत्ति बढेर जान्छ । संविधानको अपव्याख्या सुरु हुन्छ । संविधान मिच्ने काम फेरि सुरु हुन्छ । सीमा नाघ्ने काम सुरु हुन्छ ।
राजनीतिलाई ठिक दिशामा लैजाने हो भने अझै व्यापक छलफलको जरुरी देख्छु ।
सभामुख र राष्ट्रपति कुन कुन पार्टीलाई दिँदा सहमतिको संस्कार बस्छ त्यसमा पनि ध्यान दिन जरुरी छ ।
सहमतिमा आयो भने सभामुख लिन तपाइँको पार्टी तयार हो ?
अहिलेसम्म सभामुखमा ध्यान दिएका छैनौं ।
अहिले तपाइँहरुको ध्यान के मा छ ? सरकार, राष्ट्रपति, प्रतिपक्ष या नयाँ गठबन्धन बनाउनमा ?
हाम्रो ध्यान अहिले पार्टी निर्माणमै छ । विगतको चुनावको समीक्षा जरुरी छ । नेता कार्यकर्ताको कामको मूल्याङ्कन गर्ने कामको अभियानमा जुटेका छौँ ।
अरु पार्टीहरुसँगको एकताको पनि तयारी हो ?
हो मिल्ने तयारी छ । तर हामीले चाहेरमात्रै हुँदैन । पहिले विचार मिल्नुपर्छ । त्यसपछि व्यवहार मिल्नुपर्छ, अनि मन मिल्नुपर्छ । तीनवटै कुरा मिल्यो भने एकता हुन्छ ।
उपेन्द्र यादवसँग पार्टी एकताको तयारी त गर्नुभएको हो नि !
पार्टी एकता होइन हामीले तीन चरणमा सोचेका छौँ ।
पहिलो हो– सहकार्य
सहकार्यको सम्भावना रहँदासम्म त्यतिमात्रै हुन्छ । त्योभन्दा अघि बढेर मोर्चा बनाउन सकिन्छ भने पनि मोर्चा बनाउने तयारी गरिन्छ । यो दोस्रो सम्भावना हो ।
तेस्रो सम्भावना भनेको एकता हो ।
उपेन्द्र यादव सहमत हुनुहुन्छ ?
उहाँसँग कुरा हुँदा सहमत हुनुहुन्छ । कुराकानी गरौँ र टुंगो लगाऔँ भन्नुभएको छ ।
तपाइँहरु चुनावअघि माओवादी केन्द्रसँगको एकताको कुरा गर्नुहुन्थ्यो तर चुनावपछि माओवादीलाई छाडेर जनता समाजवादी पार्टीलाई रोज्नुको पछि केही कारणहरु छन् ?
यसको एउटा कारण छ । उपेन्द्र यादवसँग अशोक राईलगायतका नेता हुनुहुन्छ । वाम इतिहास भएका नेता हुनुहुन्छ । उहाँहरुसँग पनि कुरा भएको छ ।
माओवादीसँग एउटै मोर्चामा हुँदा तीनवटै पार्टी मिलाउने कि भनेर कुरा भएको हो । तीन पार्टीको मोर्चा बनाउने प्रस्ताव पनि आएको थियो ।
त्यसलाई वाममोर्चा वा समाजवादी मोर्चा भने पनि हुन्छ । अहिले त्यो पार्टीले पनि वार्ता टोली बनाइसकेको छ ।
संवाद अघि बढेको छ । विचार, मोर्चा र एकतामा छलफल गरौँ भन्ने कुरा भएको छ । हामीले सुरु त्यहाँबाट गरे पनि धेरै वामपन्थी दलसँग वार्ता र संवाद गर्छौँ ।
तपाइँहरुको नजरमा एमाले अहिले वामपन्थी दल हो कि होइन ? वार्ता त्यहाँसम्म पुग्छ कि पुग्दैन ?
एमालेले मतलबै नराखेपछि र ढोका नै बन्द गरेपछि हामीले पनि ढोका खोल्नुपर्ने आवश्यकता पर्दैन । केपी ओलीको नीति हामीलाई आउट गर्नेछ ।
त्यो नीति रहँदासम्म एमालेसँग एकता हुँदैन । हामी एमालेसँग टाँसिनुपर्ने आवश्यकता छैन । त्यसको लागि मरिहत्ते गर्नुहुँदैन ।
तपाइँहरु पुरानै गठबन्धनको निरन्तरतामा हुनुहुन्छ भन्छन् नि हो ?
छैन, पुरानो गठबन्धन ब्युँतिने अवस्था छैन । अब घटनाक्रम कसरी अघि बढ्छ हेर्नुपर्छ ।
तपाइँहरुले सभामुखमा उमेदवारी नदिने भन्नुभएको छ अनि राष्ट्रपतिमा चाहिँ के हुन्छ ?
राजनीति कुन ढंगले अघि बढ्छ हेर्दैछौँ । हामीले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दियौँ । उहाँले कोसँग के वाचा गर्नुभएको छ अहिले हामीलाई जानकारी भएन । उहाँले वाचा पूरा गर्ने काम गर्नुहोला । कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गरेको छ । अनेक नाम पनि बाहिर आएको छ ।
तपाइँको नाम चर्चामा छ नि ! राष्ट्रपतिको उमेदवारी दिने तयारीमा हुनुहुन्छ ?
अहिले हामीले भर्खरै विद्रोह गरेर नयाँ पार्टी बनाएका छौँ । धेरै कार्यकर्ताहरु मप्रति आशावादी भएर पनि आउनुभएको छ । वैकल्पिक व्यवस्था के होला भन्ने चित्तबुझ्दो जवाफ दिनुपर्छ ।
म त्यो पदप्रति आशक्त छैन । हिरिक्क गरेको छैन । अहिले पार्टी बनाउने कुरामा मेरो जोड छ ।
तपाइँकै पार्टीमा रहेका सांसदहरु विभाजन गरेर एमालेसँग मिल्दैछन् भन्ने चर्चा पनि छ नि, तपाइँले सुन्नुभएको छ ?
हाम्रो पार्टी छाडेर जाने सम्भावना छैन । बरु आउनुभएको छ । घनश्याम भुसाल आउनुभयो । उहाँ हाम्रो पार्टीमा समाहित हुनुभएको छ । यो पार्टीप्रतिको आकर्षण हो । अरु पार्टीप्रति आकर्षण घटेको छ । त्यहाँ जुनसुकै बेला विस्फोट हुन सक्छ ।
पार्टीमा रहेका र निर्वाचित सांसदहरुलाई ह्विप लाग्छ । पार्टीको ह्विप उल्लंघन गरेर कोही गए कारवाही हुन्छ ।
पुस १० गते देउवाले प्रचण्डलाई धोका दिँदा सम्बन्ध टुट्यो । त्यसबीचमा प्रचण्डले तपाईँलाई धोका दिएको जस्तो लाग्छ कि लाग्दैन ?
अवश्य पनि । उहाँले धोका भन्नुस् बेवास्ता भन्नुस् अन्डरमाइन्ड भन्नुस् यो सबै भएको छ । तर मैले त्यसरी लिएको छैन ।
उहाँले मेरो कमजोरी भयो भनेर भनिसकेपछि मैले दोहोर्याइरहनुपर्दैन ।
उहाँको मनस्थिति हेर्दा पुरानो गठबन्धन कम्फर्टेबल थियो । अहिलेको गठबन्धनले उहाँलाई कम्फर्टेबल बनाएको छैन । उहाँले नै म धेरै सहज छु भन्ने लागेको छ भने त केही भएन ।
उहाँ जबर्जस्ती हास्नुभएको रहेछ भने पनि हामीले खुसी नै हुनुहुँदोरहेछ भन्नुपर्छ । उहाँ इच्छा नभए पनि हासेको जस्तो देखिन्छ ।
तपाइँले प्रचण्डलाई सहयोग नगरेको भए नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सहचालकबाट बाहिर निस्कन त सक्नुहुँदैनथ्यो नि है ? अहिले अब तपाइँसँग कुनै उपाय नभएर हो उहाँको समर्थन गरेको ?
राजनीतिमा धेरै कुरा पचाउन सक्नुपर्छ । पचाउनु पनि पर्छ । हामीले दिनदिनै कति पचायौँ (लामो हासो) । तर कहिलेकाहिँ विस्फोट पनि हुन्छ । सकेसम्म विस्फोट हुन दिनुहुँदैन ।
तर मलाई कहिले ‘इनफ इज इनफ’ भन्ने लाग्यो भने सीमा नाघ्ने अवस्थामा पनि पुग्छु । त्यसपछि कोही बाँकी रहँदैन ।
मेरो अर्को स्वभाव भनेको विद्रोही हो । कसैले सीमा नाघेर चल्यो भने मेरो विनम्रता तोडिन्छ ।