सिद्धार्थ सिलवाल
एउटा अस्तित्व
बाँचेको छु,
पवित्र नामको
जप्दै, पुकार्दै पवित्र नाम ।
०००
पीडाको पहाड
चढिरहेको बेला
दुःखका पोका आफैँ बोकेर
हामीलाई मुक्ति दिने
पवित्र नाता सधैँ जपिरहेको छु
आमा !
०००
दुःखको पहाड ओर्लंदै उक्लँदै
हामीलाई दुःखबाट मुक्ति दिने
घरलाई मन्दिर बनाउने
रामवाण औषधिजस्तै
मधुरवाणी भएकी
एउटा पवित्र नाम म जपिरहन्छु
आमा ! आमा !!
०००
दुःखमा दुख्छिन्,
सुखमा रमाउँछिन्
घरलाई मन्दिर बनाएर
सन्तानलाई दूधको धारा बगाउँछिन्,
कुलदेवीझैँ ममता फिजाउँछिन्
मलाई लाग्छ,
स्वर्ग भन्नु नै आमाको काख हो
ममता, मातृवात्सल्यकी खानी
सबैको प्रिय नाम
हरपल जपिरहेछु आमा !
०००
सृष्टिको सुन्दर रूप
सौन्दर्यकी खानी
उनको काख
स्वर्गभन्दा पनि प्यारो लाग्छ
उनी हुँदा पो संसार छ
उनी हाँस्दा संसार हाँस्छ
प्रकृति खुसीले नाच्न थाल्छ
सृष्टिको सुन्दर रचना
आमाको न्यानो काख
संसारकै सबैभन्दा
प्रिय र पवित्र नाम
दिनरात जपिरहन्छु
आमा ! आमा !!