site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चियाङ् राइको अफिम बारी
Sarbottam CementSarbottam Cement

थुप्रैपटक टेकिसकेको पूर्वी एसियाली राष्ट्र थाइल्यान्डको भ्रमणको अवसर यसपटक बिम्स्टेक उपसमितिको बैठकले फेरि जुराइदिएको थियो । थाइल्यान्ड यात्राको संस्मरण लेख्नु भनेको निकै थोरै चाखलाग्दो विषय हुनसक्छ । किनकि, पछिल्लो समय त्यो राष्ट्र भ्रमण गर्नेको संख्या ह्वात्तै बढेको देखिन्छ ।

यस्तो लाग्दालाग्दै पनि थाई स्माइलको जहाजबाट फर्कंदा नेपालको लामो हिमशृंखला देख्नासाथ केही लेख्ने उत्साह भरियो । समय मिल्नासाथ किबोर्डमा औँलाहरू ठकठक गर्न थालिहालेँ ।

बाध्यात्मक रूपले सहभागिता जनाउनुपर्ने कार्यक्रमको जहाजयात्रा भने अझ धेरै बाध्यात्मक थियो । काठमाडांैबाट तीन घण्टामा पुगिने सिधा उडानको टिकट नपाएपछि भारतीय कम्पनीको विमानबाट नयाँ दिल्ली, कलकत्ता हुँदै बैंकक र चियाङ् राइ पुग्दा एक्काइस घण्टाको अवधि बितिसकेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसमाथि पनि भारतीय कम्पनीका विमान चढ्दा विमानबाहिर जोडिएका डब्बा र तिनमा गरिने सुरक्षा जाँचले नराम्रोसँग मुटु निमोठिएर यात्रा सुरु भएको थियो । त्यसमा नुनचुक छर्ने काम भने आफैँले दिल्लीमा बुझेर ड्रप गरेको ब्यागेज कलकत्तामा नभेटिँदा गर्यो ।

क्षतिपूर्ति दाबी गर्न खोज्दा सामान नै गुमाउनुपर्ने अवस्था सिर्जना होला भन्ने हाम्रो डरमाथि विमान कम्पनीको कर्मचारी खेलिरहेको थियो । ऊ अर्को जहाज छुट्ने डर देखाउँदै कम्प्लेन फाराम भराउँदै थियो । हामी भने प्रविधिमाथि अत्यधिक भर परेर नबोकिएको कागजात, एक्कासि ह्याङ हुन पुगेको ल्यापटप र वाइफाइ कनेक्ट नभएको मोबाइलका कारण गन्तव्य स्थानको पूरा ठेगाना लेख्न असफल भइरहेका थियौँ ।

Global Ime bank

जसोतसो भरेको फाराम बुझाएर थाई स्माइलको जहाजबाट बैंकक उत्रिँदा अर्को जहाज चढ्न सात घण्टा बाँकी नै थियो । सरकारी पासपोर्टमा जुनसुकै बेला अराइभल छाप लाग्न सक्ने थाई कानुनको उपयोग गर्दै बाहिर निक्लन सकिन्थ्यो ।

एआईटीमा पढ्दै गरेकी भान्जीका लागि भनेर बोकिएका केही सामान छोडेर आउन सकिन्थ्यो । तर, ब्यागेज नै नआइपुगेपछि बाहिर निक्लनुपर्ने काम पनि परेन । त्यसैले आन्तरिक जहाजतर्फ स्थानान्तरण भएर बोर्डिङ गेट नखुलेका कारण विमानस्थलका कुर्सीमा लम्पसार परेर सुतियो ।

विमानस्थलभित्र फ्री वाइफाइको सुविधा लिँदालिँदै आयोजक राष्ट्रकी एक कर्मचारी कनिथ्थाको ह्वाट्सएप मेसेज आयो । उनले आफ्ना कर्मचारी तेस्रो तलामा रहेकाले भेट्न भनिन् । हामी पनि हतारहतार तलतिर झर्ने दुई एलिभेटरको बीचमा भएको भर्याङबाटै माथितिर हानियौँ ।

त्यहीँ भेटिएकी एक सुरक्षा कर्मचारीले पासपोर्ट हेरेर (सायद त्यसमा अराइभलको छाप पनि लागिसकेकाले होला) बाहिर निक्लने अनुमति दिइन् । बाहिर निक्लने सबै प्रबन्धलाई सर्टकर्ट हानेर बोर्डिङ पास लिने ठाउँभन्दा पनि अगाडि निक्लिएका थियौँ, हामी ।

थाइल्यान्डको लागुऔषध हेर्ने निकाय ओएनसीबीको सूवर्णभूमि विमानस्थलस्थित कार्यालयमा पुगेर बस्न मात्र भ्याएका थियौँ, एकजना हँसिलो सुरक्षा कर्मचारी हामीलाई खोज्दै त्यहीँ आइपुग्यो ।

उसले हाँस्दै भन्यो, “आन्तरिक स्थानान्तरणतिर गइसकेका कारण तिमीहरूलाई बाहिर निक्लने छुट छैन । जाऊँ भित्र ।”

हामी अकमक्क पर्दै उसको पछि लाग्यौँ । बाटोमा मैले सोधेँ, “तिमीले कसरी हामी यहाँ आएको थाहा पायौ ?”

उसले आफ्नो मोबाइलमा हामी दुईको अध्यागमन गर्दा खिचिएको फोटो देखायो । सायद नउक्लिनुपर्ने भर्याङ्बाट उक्लिएका हामीलाई उसले सीसीटीभी फुटेजबाट फलो गर्यो होला ।

यति हुँदा पनि ऊ हामीसँग कुनै अभद्र व्यवहार देखाइरहेको थिएन । बाटोमा भेटिएका सम्बन्धित कर्मचारीलाई भने हाम्रो बारेमा बताइरहेको अनुमान लगाउन सकिन्थ्यो । बोर्डिङ गेटतिर लाग्ने अन्तिम पसलमा पुगेपछि भोक लागेको भए केही खान भन्दै ऊ हाँसेरै बिदा भयो ।

हामी भने तैतै यही सात घण्टाभित्र ‘तिमीहरूको लगेज आइपुग्यो’ भन्ने मेसेज आउँछ कि भन्ने आशमा रह्यौँ । लगेज नआए पनि हामी गन्तव्यस्थल पुग्यौँ । औपचारिक पोसाक छुटेका कारण कार्यक्रममा जिन्स पाइन्ट, स्पोर्ट सु र ज्याकेटमा नै बस्नुपर्यो ।

कार्यक्रमको विषयवस्तु लागुऔषध नियन्त्रणमाथि बिम्स्टेक राष्ट्रहरूको अवस्था र प्रतिबद्धता थियो । थाइल्यान्ड, लाओ र म्यानमारबीचको गोल्डेन ट्रयांगल र अफगानिस्तान, पाकिस्तान अनि इरानबीचको गोल्डेन क्रेस्केन्टको निकै चर्चा सुने पनि आयोजक राष्ट्रले चियाङ् राइजस्तो सानो सहरलाई किन छान्यो भन्ने विषय कार्यक्रममा बसेपछि मात्र ज्ञात भयो ।

रुएक र मेकोङ् नदीको बीचमा चिहाएको म्यानमार, मेकोङ्पारिको लाओले बनेको त्यही खास ठाउँ नै गोल्डेन ट्रयांगल रहेछ । यो क्षेत्र विगतमा अफिम उत्पादन, ओसारपसार र सेवनका कारण कुख्यात भएको रहेछ ।

प्रथम दिनको औपचारिक कार्यक्रमपछि उक्त खास स्थानतर्फ हामी लाग्यौँ । त्यस दिनको करिब डेढघण्टे यात्राको अन्तिम समयतिर देखियो, तिब्बतबाट सुरु भएको विशाल मेकोङ् नदी । धमिलो पानी बोकेर बगेको उक्त नदीको विगत र वर्तमान पनि केही धमिलै दृश्यतिर इंगित रहेछ ।

२ लाख ३६ हजार ८०० वर्गकिलोमिटरमा फैलिएको उक्त देशको राजधानी सहर थाइल्यान्डको सीमापारि मेकोङ् नदीमा नै टाँसिएको देख्दा अनौठो लाग्छ, जो कोहीलाई । तर, लाओ, भियतनाम, कम्बोडिया र थाइल्यान्डले मेकोङ् नदी उपयोगका लागि संयुक्त आयोग नै निर्माण गरी मेकोङ् नदी अर्थतन्त्रका रूपमा विकास गर्न खोजिएको कुरा जानिसकेपछि भने स्वाभाविक लाग्छ ।

यो जानकारी नभएकालाई गोल्डेन ट्रयांगलको मेकोङ् नदीपारिको लाओको सानो सहर भानपाक लेनमा देखिने विशेष आर्थिक क्षेत्र र भीमकाय भवन भएका क्यासिनोहरूले पनि अल्मल्याउने रहेछ ।

हाम्रो बिहानी खाना यही नदीको किनारमा तयार थियो । थाई खानाको विशेषता डिप फ्राई गरिएका तरकारी, स्टिकी राइस, नुन र चिनीको समानान्तर प्रयोग, खुर्सानीको अत्यधिक प्रयोग र चिसा परिकारहरू रहने नै भए ।

खाना कुर्दासम्म सहभागीहरूको चासो विशेष आर्थिक क्षेत्रको रंगीन महल र किङ रामोन्स क्यासिनोप्रति नै थियो । हाम्रो आशंकाको तीर भने लागुऔषधको कारोबार, जुवा, अवैध अर्थतन्त्र र मुद्रा निर्मलीकरणतर्फ तेर्सिएको थियो । यसमा गुगल गरेर खोज्न मन लागेन, बरु फोटो खिचेरै आनन्द लिइयो ।

थाई नेभीको एउटा सानो समूह (त्यो गोल्डेन ट्रयांगलमा भएको र हुन सक्ने लागुपदार्थको अवैध ओसारपसारकै नियन्त्रणका लागि स्थापना भएको थियो)ले मूलगेटदेखि नै स्वागत गरेर हलसम्म पुर्यायो । दोभासेसहितको प्रस्तुतिले उनीहरूले कसरी काम गरिरहेका छन् भन्ने बताइएको थियो ।

तीनवटै देशका सुरक्षा निकाय र स्थानीयसँगको सहकार्य, सूचकहरूको प्रयोग र संयुक्त अपरेसन कसरी गरिन्छ भन्ने विषय प्रस्तुत गरिएको थियो । मैले उनीहरूलाई एक्स्ट्रा टेरिटोरियल ज्युरिस्डिक्सन पनि छ कि भनेर सोधेँ ।

त्यतिन्जेलमा हाम्रा मित्र भइसकेका ओएनसीडीका डाइरेक्टर गल्फले त्यो थाई भाषामा उल्था गरिदिए । एक्स्ट्रा टेरिटोरियल ज्युरिस्डिक्सन नभएको र तीनवटा देशको सुरक्षा संयन्त्रले सूचना आदानप्रदान र संयुक्त अभ्यासबाट काम गर्ने गरेका रहेछन् । त्यही प्रस्तुतिकै क्रममा अर्को एउटा जिज्ञासा उत्पन्न भयो ।

मैले सोधेँ, “गाँजा तिमीहरूको वैधानिक परिभाषामा लागुऔषध हो कि होइन ?”

उनीहरूले स्पष्ट रूपमा खुलाए, त्यो वैधानिक परिभाषाले समेट्दैन अर्थात् होइन ।

“त्यसो भए यसको अवैध ओसारपसारलाई कसरी नियन्त्रण गर्छौ ?,” मैले पुनः सोधेँ । उनीहरूले भन्सार ऐनअन्तर्गत नियमन गर्ने गरेको बताए ।

थाइल्यान्ड गाँजा सेवनका लागि समेत खुला छ भन्ने सुन्दै आएको थिएँ । थुप्रैपटक बैंककका गल्लीहरूमा दिन र रातमा बरालिए पनि कुनै पसल, रेस्टुरेन्ट गाँजा खान नै भनेर खोलेको देखेको थिइनँ ।

पछि नेपाल फर्कँदा लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी विकास खनालले आफैँले खिचेको फोटो समेत देखाएपछि अवस्था के कस्तो रहेछ भन्ने थाहा पाएँ । यस्ता पसलहरूमा कसैको पहिचान खुल्ने कागजात वा सिफारिसबेगर नै बेचिने गरेको रहेछ भनेर उनले आफ्नो अनुभव सुनाएका थिए ।

चियाङ् राइको डेडिकेटेड सुरक्षा संयन्त्रले हामीलाई मेकोङ् नदीमाथि मोटरबोटको यात्रा सुरु गरायो । लगभग बीस मिनेटको यात्रामा नेपालका पूर्वप्रधानमन्त्रीले हाम्रै नदीनालामा पानीजहाज चलाउन गरेको प्रतिबद्धताको पनि याद आयो । नेपालको कुनै पनि नदीभन्दा ठूलो लाग्ने त्यस नदीमा लाओ र थाइल्यान्डका डुंगाहरूको ओहोरदोहोर बाक्लै भइरहेको देखिन्थ्यो ।

आखिरमा हामी गोल्डेन ट्रयांगलकै अन्तिम विन्दुमा पुग्यौँ, जहाँ एक हजार २०० केजीको विशाल बुद्धमूर्ति ठडिएको थियो । त्यसपछि मात्रै सुरु भयो, हाम्रो अफिम संग्रहालयको भ्रमण ।

तपाईंले थाइल्यान्डको कुनै पनि राम्रो कुरा भेट्नुभयो भने त्यसको सम्बन्ध त्यहाँको राजपरिवारसँग कसैगरी जोडिएकै हुन्छ । त्यो स्वाभाविक पनि हो । हाम्रै देशमा राजतन्त्र रहँदा पनि यस्तो देखिन्थ्यो ।

सो संग्रहालय पनि त्यहाँका राजा भूमिबोल अदुल्यादेजकी आमा स्रिनागारिन्द्राको प्रेरणाबाट स्थापित रहेछ । हल अफ ओपियम नाम दिइएको उक्त संग्रहालय १३७ मिटर लामो अँध्यारो गुफाबाट नक्कली अफिम बारी भएको हलमा प्रवेश गर्ने रहेछ । अँध्यारो युगबाट उज्यालोतर्फको यात्राका रूपमा लिइएको उक्त सुरुङभित्र अफिम प्रयोगका केही अँध्यारा पाटाहरू पनि कुँदिएका रहेछन् ।

अफिम बिरुवाको जात, प्रकार, उत्पादन प्रक्रियाजस्ता कुरालगायत संग्र्रहालयले अफिम युगमा भएका सम्मेलन, युद्ध, चियापसलहरूमा कसरी अफिम बेचिन्थ्यो, यसका प्रयोगकर्ताहरूको अवस्था, मर्फिन र हिरोइन बनाउने प्रविधि र उपकरणलगायत यसको औषधिजन्य प्रयोगसम्मका बारेमा जानकारी गरायो ।

टाँसिएकै अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण कलेजको प्रस्तुतिसँगै त्यस दिनको कार्यक्रम सकिएको थियो । रात बिताउनका लागि जंगलको एक किनारामा बनेको रिसोर्टमा हामीलाई पुर्याइएको थियो । त्यस अँध्यारो र चिसो रिसोर्टमा पुग्दा अफिम विभीषिकाको अँध्यारो पाटोबाट हामी मज्जैसँग प्रभावित भइसकेका थियौँ ।

हल अफ ओपियममा अफिमको औषधिजन्य प्रयोगका बारेमा पनि देखाइएको र थाइल्यान्डको कानुनले अफिम बिरुवालाई नभई यसबाट प्राप्त हुने अफिमजन्य रसायनलाई मात्र लागुऔषध मानेको (नेपालको कानुनले भने अफिम पपिबाट निक्लने चोपलाई लागुपदार्थ मानेको) थाहा पाए पनि हामी भने अफिम विगतको नकारात्मक दृश्यबाट बढी नै प्रभावित भएका थियौँ ।

त्यसैले उक्त जंगल र रिसोर्ट पनि यस्तै विभीषिकाबाट उत्पन्न परिणामले मृत्यु भएकाहरूको चिहानमा निर्मित होला भन्ने लागिरह्यो । यस्तै आत्माहरू भड्किरहेका होलान् भन्ने सम्झेर सुतेकाले हो कि, रातमा अचानक ब्यागेज टेबलबाट ल्यापटपसहितको ब्याग भुईँमा झर्दा एकपटक झसंग भइयो । उठेर के भएको हो भन्ने नहेरी सुतिरहेँ ।

यस्तै अर्को आवाजको प्रतीक्षा गरेँ र सानै हुँदा मनोहरा फाँटमा राँकेभूत खोज्न गएको समय सम्झेँ । दोस्रो कुनै आवाज आएन । अनि, केही बेरमा निदाइएछ पनि ।

अर्को दिन ब्रेकफास्टपछि वैकल्पिक विकासको मोडल देखाउन हामीलाई दोइतङ् गाउँमा लगिने भएको थियो । यो गाउँको लागि अपनाइएको वैकल्पिक विकासको ढाँचालाई संसारकै सफल ढाँचामध्येमा लिइँदो रहेछ । यहाँ अफिमको खेती गरिरहेका मानिसलाई सो व्यवसायबाट निकालेर लोभलाग्दो गरी जीवनस्तर विकास गरिएको रहेछ ।

सुरुमा विपन्न समुदायका मानिसलाई छरिएर रहेको बस्तीबाट निकालेर एकीकृत बस्ती बनाइएछ । कफी, मेकाडेमिया (कटुसभन्दा केही ठूलो आकारको नट्स), फलफूल, फूल र तरकारी उत्पादनमा संलग्न गराइएको रहेछ । रुखबिरुवा टन्नै लगाएर संरक्षित वन र आर्थिक वनका रूपमा छुट्ट्याइएको रहेछ ।

कफी र मेकाडेमिया प्रशोधन मात्र नभई विभिन्न बेकरी उत्पादनसँग पनि जोडिएको रहेछ । सडक, बिजुली, स्वास्थ्य र शिक्षा पूर्वाधारमा राम्रोसँग जोड दिइएको रहेछ । सायद यसैले होला, उनीहरू अफिम उत्पादन र कारोबारबाट सर्लक्कै बाहिर निक्लिएछन् ।

हाम्रो त्यस दिनको यात्रा दोइतङ्को फूलैफूलले भरिएको सुन्दर पार्कको भ्रमणपश्चात् चियाङ् राइको द हेरिटेज होटेलमा टुंगिएको थियो । भोलिपल्ट बैंकक प्रस्थान गरी नेपाल समेत साझेदार रहेको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी पुग्दै फ्युचर पार्कमा केही सपिङ गरेर सुवर्णभूमिनजिकको होटेलमा पुग्दा रातको १० बजिसकेको थियो ।

त्यसको भोलिपल्ट बिहानै नेपाल फर्किनका लागि एयरपोर्ट पुग्दा ओएनसीबीका निर्देशक गल्फ हँसिलो अनुहारमा हामीलाई बिदाइ गर्न उपस्थित भइसकेका थिए ।

यात्रा टुंगियोे  । तर, केही अनुत्तरित प्रश्न बाँकी नै रहे । गाँजा र अफिमको औषधिजन्य प्रयोगलाई त नेपालको कानुनले पनि स्वीकार गरेको छ, तर गाँजामाथिको प्रतिबन्ध खुला गर्ने नाममा उपभोगका लागि समेत दिनुपर्ने तर्क नेपालको सन्दर्भमा जायज होला कि नहोला ?

एकपटक अफिम साम्राज्यबाट बाहिर निक्लिएका थाइल्यान्डजस्ता राष्ट्रहरूमा अहिले पनि त्यही पुस्ता जीवितै छ । औषधिजन्य उपयोगका लागि फेरि अफिमको उत्पादन गर्नुपर्छ भन्दा उनीहरू कत्तिको सन्तुष्ट होलान् ? नेपालजस्तो राष्ट्रले नियन्त्रित रूपमा गाँजा र अफिमजस्ता बिरुवाको उत्पादन र गाँजा उपभोगको व्यवस्था मिलाउन सक्ला कि नसक्ला ? गाँजा अर्थतन्त्रको वासलात कस्तो होला ? यसको बाह्य व्यापार अन्तर्राष्ट्रिय कानुनले कत्तिको सहज बनाउल ? यसमा फरक नाममा कुनै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सुरु होला कि नहोला ?

यस भ्रमणको अन्तिम विन्दुसम्म आइपुग्दा नेपालमा गाँजालाई उपभोगका लागि तत्कालै कानुनी मान्यता दिने विषय हतारमै निर्णय लिइहाल्नुपर्ने हो भन्ने मत आफूमा बन्न सकेन । बाँकी कुरा समयले बताउँदै जाला र धारणा बदल्नुपर्ने अवस्था आएमा तथ्यहरूबाट परिवर्तन हुनुलाई सायद गलत पनि नमानिएला ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC