काठमाडौं । घरको छतमा बसेर लाखौँलाख कोस टाढा रहेका चम्किला ताराहरूलाई तपाईंले कहिले नियाल्नुभएको छ ? साँझमा पन्छीहरू मस्तसँग आकाशमा उडिरहेको आँखै नथाक्ने गरी हेर्नुभएको छ ? समुद्र नभए पनि एक्वारियम पसलमा गएर रंगीबिरंगी माछाहरूको अद्भूत लीलामा सम्मोहित हुनुभएको छ ? एकपटक सोच्नुहोस् त पन्छीजस्तै उड्न पाए, माछाझैैँ समुद्रको गहिराइमा डुबुल्की लगाउन पाए, शिक्षक र अभिभावकको करकापविना थाक्ने गरी दिनभर जंगलमा साथीसंगीसँग रमाउन पाए जीवन कस्तो हुन्थ्यो होला ?
हलिउड निर्देशक जेम्स क्यामरुनको चलचित्र ‘अवतार : द वे अफ वाटर’ले तपाईंलाई प्रकृतिको यही स्वच्छन्द दुनियाँमा लैजान्छ । १३ वर्ष लगाएर बनाइएको यो चलचित्रमा मानव मूल्य र प्रकृतिको अद्भूत नजारा देखाइएको छ । यसले करिब तीन सातायता बक्सअफिसमा राम्रो आम्दानी गरिरहेको छ ।
निर्देशकले चलचित्रमार्फत प्रकृतिको स्तुति गाएका छन् । ‘अवतार : द वे अफ वाटर’ संस्कृत, हिन्दु धर्मशास्त्र र आदिवासीबाट प्रेरित भएर बनाइएको सन् २००९ को हिट चलचित्र ‘अवतार’को सिक्वेल हो ।
टम क्रुजको फिल्म ‘टप गन : माभेरिक’लाई उछिनेर विश्वव्यापी बक्सअफिसमा १.५ बिलियन अमेरिकी डलरका साथ यो चलचित्र सन् २०२२ को सबैभन्दा ठूलो रिलिज बन्न सफल भयो ।
अवतार : द वे अफ वाटरमा सुली परिवार (जेक, नेटिरी र उनीहरूका सन्तान) र स्काई पिपुल (पृथ्वीबाट आएका मानिस)को निरन्तर क्रूर आक्रमण, एकार्कालाई बचाउन गरिने प्रयास, बाँच्नका लागि लडाइँ र उनीहरूले भोगेका वियोगका कथा थ्रीडीमार्फत कुशलतापूर्वक देखाइएको छ ।
चलचित्रमा जेकको एउटा संवाद छ– पानीको बाटोको सुरुआत र अन्त्य हुँदैन ।
परिवारको ज्यान बचाउन थल छोडेर जलमा आएका जेकको कहानीबाट निर्देशक क्यामरुनले मानिसको अहंकार, आधुनिकताको कुरूपता, प्रकृतिको रहस्य, माया र न्यायलाई रोमाञ्चक ढंगले प्रस्तुत गरेका छन् ।
‘अवतार’सँगै क्यामरुनले दर्शकलाई थ्रीडी सिनेमाप्रति आकर्षित गरेका थिए । त्यसपछि ‘अ्याभेन्जर्स’, ‘डक्टर स्ट्रेन्ज’जस्ता सिनेमा थ्रीडीमा बनाइए पनि क्यामरुनले जस्तो यथार्थवादी ‘फिल’ गराउन सक्ने बनेको छैन भन्दा अतिशयोक्ति नहोला ।
निर्देशक क्यामरुमले एउटा भिडियोमा अवतारमा आफ्नो सबैभन्दा चुनौती पूरै चलचित्र पानीमुनि छायांकन गर्नु रहेको बताएका छन् । तर, जसरी दर्शाएका छन्, त्यसले उनलाई अब्बल साबित गरेको छ । पहिलो अवतारमा एक दृश्य जहाँ जेक (प्रोटागोनिस्ट)लाई थानेटरले लखेट्दा उनले माथिबाट झरनासँगै तल हामफालेको दृश्य छ, त्यो दृश्य खाली कोठामा खिचिएको थियो । दहमा पौडिरहेको दृश्य भए पनि सबै खाली कोठामा अभिनय गराइएको थियो ।
तर, योपटक उनले अवतारका पानीमुनिका सबै दृश्य पानीमै खिचेका थिए । उनले कलाकारलाई धनुष विद्या, पार्कर खेल र पौडीको तालिम लिन लगाएका थिए । प्रशिक्षक ल्याएर महिनौँ कलाकारलाई तालिम दिन लगाएका थिए । पानीमुनि श्वास रोकेर शान्तसँग बस्न सक्ने तालिम समेत दिइएको थियो । सिगोरी विभर ६ मिनेट पाँच सेकेन्ड र केट विनस्लेट सात मिनेट १५ सेकेन्ड श्वास रोकेर पानीमुनि बसेको उक्त भिडियोमा बताइएको छ ।
नेटिरीको भूमिकामा रहेकी जो सलडानाले श्वास रोक्ने विशेष तालिम लिएको र त्यसका लागि विश्वचर्चित पौडीबाजहरूबाट पानीमुनि ध्यान मुद्रामा बस्न सक्ने, मुटुको धड्कन कम गर्ने, बढी अक्सिजन लिने र कार्बनडाइअक्साइड कम गर्ने क्षमता विकास गरेको बताएकी छन् ।
अवतारमा ७१ वर्षीया सिगोरी विभरले १३ वर्षीया किशोरी किरीको चञ्चले भूमिका निभाएकी छन् । पानीमुनिको संसार डुल्दा मुख बन्द गर्न नसकिने बरु खुसी भएको नाटक गर्नुपर्दाको चुनौतीपूर्ण क्षण विभरले जिम्मी किमेलको शोमा सुनाएकी थिइन् ।
भिडियोमा बताइए अनुसार पानीमुनि नृत्य गरिरहेको दृश्य जिम्यास्टहरूले गरेका थिए । समुद्रमा तैरिरहेको दृश्य भने कलाकार आफैँले गरेका थिए । पानीमा ‘सिकारी’हरूबाट बच्न छिटो पौडिनुपर्थ्यो । त्यसका लागि कलाकारले हातहरूमा ‘जेट प्याक्स’ लगाएका थिए । पानीमुनि स्कुटर पनि चलाइएको थियो ।
नयाँ क्यामेराको आविष्कार
अवतार २ बन्नुमा प्रविधिको ठूलो भूमिका छ । क्यामरुने प्राकृतिक देखाउन स्टुडियोमा ठूलो पोखरी बनाएका थिए । जसमा ३.४ मिलियन लिटर पानी अट्थ्यो । त्यो करिब ओलम्पिक खेलिने पौडीपोखरीजत्तिकै ठूलो हो । यति ठूलो पोखरीमा कलाकारको गति छायांकन गर्न कठिन हुन्छ ।
अवतार २ का लागि नयाँ क्यामेरा आविष्कार गरिएको थियो । क्यामरुनको उत्पादन कम्पनी लाइटस्टर्म इन्टरटेनमेन्ट र सोनीले सोनी भेनिस नामक नयाँ क्यामेरा विकास गर्यो । यो सोनीको पहिलो पूर्ण–फ्रेम डिजिटल मोसन पिक्चर क्यामेरा हो । अधिकतम प्रयोगको लागि थ्रीडी स्टेरियोस्कोपिक रिगहरूसँग यसको प्रयोग गरिएको थियो ।
करिअर
क्यामरुनले सन् १९७३ मा कलेजको पढाइ बीचमै छोडेका थिए । उनले स्ट्यामफोर्ड कलेजिएट र ट्रोय हाइस्कुलमा पढेका थिए । १९७३ मा फुलरटन कलेजमा भौतिकशास्त्र पढ्न भर्ना भए पनि उनले पाठ्यक्रम पूरा गरेनन् ।
संघर्षका दिनमा उनले एउटा स्थानीय स्कुलका लागि ट्रक चालकका रूपमा काम समेत गरेका थिए । बाल्यकालदेखि नै विज्ञान कथाप्रतिको उनको लगाव थियो । फिल्म निर्देशक बन्ने चाहनाले उनलाई १९७७ मा ‘स्टार वार्स’ हेरेपछि चलचित्र बनाउन प्रेरित गर्यो । र, जागिर छोडे । चलचित्रसम्बन्धी विभिन्न प्रविधियुक्त सामग्री चलाउन सिके । १९८० मा कला निर्देशकका रूपमा कार्यरत हुनुअघि रोजरले कोर्मन स्टुडियोमा मिनिएचर मोडेल निर्माता भएर काम गरे ।
क्यामरुनले पछि आफ्ना साथीहरूसँग मिलेर ‘जेनोजेनेसिस’ नामक फिल्म बनाएका थिए । त्यसबाट उनले ख्याति कमाए ।
भिडियोमा बताएअनुसार ‘पिरान्हा २’ को छायांकन गर्दा उनी बिरामी परे र अदृश्य रोबोटको सपना देखे । त्यो फिल्म ‘टर्मिनेटर’को लागि प्रेरणा बन्यो । उक्त चलचित्रको अधिकांश पटकथा उनले आफ्नो कारमा बसेर लेखेका थिए । सन् १९८४ मा ‘टर्मिनेटर’ व्यावसायिक रूपमा सफल भयो ।
क्यामरुनले चलचित्रमा परिणत गरेको अर्को सपना ‘अवतार’ थियो । यो सपना उनको बाल्यकालको थियो, जसलाई २००९ मा पहिलो भाग बनाएर साकार पारेका थिए ।
सन् २००९ मा अवतारपछि ‘अवतार २ : द वे अफ वाटर’ रिलिज हुन १३ वर्ष लाग्नुको पछाडि कोरोना महामारी पनि एउटा कारण भएको उनले बताएका छन् । ‘अवतार २’ २५० बिलियन अमेरिकी डलरको बजेटमा बनाइएको हो । ‘अवतार’ २३७ मिलियन बजेटमा बनाइएको थियो । त्यसले विश्वव्यापी रूपमा २.९ बिलियन डलर कमाएको थियो ।
‘टाइटानिक’ फिल्मकी नायिका विन्सलेटले २५ वर्षपछि ‘अवतार’का लागि क्यामरुनसँग काम गरिन् । फिल्ममा उनी रोनलको मानवीय भूमिकामा छिन् । क्यामरुनले यसका अरू तीन शृंखला पनि रिलिज गर्ने योजना बनाएका छन् ।