site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भद्रभलाद्मी
Sarbottam CementSarbottam Cement

सुन्तली मरी भन्ने खबर जंगलमा डढेलो लागेझेँ गाउँभरि फैलियो । गाउँका सबैजना त्यहाँ जम्मा भए, पुरुषहरू घटनास्थलनजिक र महिलाहरू अलि पर । लास खोलाको ढुंगेबगरमा लडिरहेको थियो, आधी पानी आधी बगरमा । ठ्याक्कै भन्ने हो भने टाउको बगरमा र खुट्टा पानीमा थिए ।

लासको अनुहार सुन्निएको, शरीरमा डामैडाम देखिन्थ्यो । एउटा हात बांगो भएर पिठ्युँले थिचेको । लास नांगोजस्तै थियो, च्यातिएको चोलीबाहिर एउटा स्तन चिहाइरहेको थियो भने कम्मरसम्म नांगो खुट्टा मान्छेको भीडलाई एकोहोरो हेरिरहेको थियो ।

सिकारीले पहिले लासलाई छोप्न खोजेको र पछि ‘छोपेर के फाइदा, ऊ मरी त सकी’ भनेर छोडिदिएजस्तो बुझिन्थ्यो । दृश्य बलिउड फिल्मको कुनै मर्डर सिनको सेटअपजस्तै थियो । फरक यति मात्र थियो, फिल्ममा लाससँगै ब्याकग्राउन्ड संगीत बजिरहेको हुन्छ, यहाँ भने त्यस्तो केही थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

भीड पुलिसको पर्खाइमा थियो । भीडदेखि अलि पर महिला मुखहरू चुपचाप थिएनन् । टीभीमा डिबेटजस्तै ती घटनामाथि आ–आफ्ना कमेन्ट दिँदै थिए ।

“यस्ता आइमाईको अन्त्य यस्तै हुन्छ  । ऊ जसरी आफ्नो जीवन चलाउँदै थिई, त्यसमा यस्तो हुनु त थियो नै । समाजको कलंक थिई ऊ । त्यसैले उसको अन्त्य पनि नराम्रो भयो,” एउटीको टिप्पणी थियो ।

Global Ime bank

“कुरो ठिक हो,” अर्कीले थप्दै भनिन् “विधवा भएर पनि विधवाको कुनै लक्षण थिए र त्यसमा ! लोग्नेको मृत्युको दुःख–पीडाको त एउटा चिनो समेत थिएन, त्यसको अनुहारमा । त्यसमाथि त्यसको चालचलन । छिः !”

“दुःख रे ! ग्राहकहरूसँग कसरी मस्की–मस्की कुरा गर्थी, देखेनौ उसको हाँसो र कर्के हेराइ ? विधवा त ऊ छँदै थिइन । न मनले न तनले । यो उसको आफ्नै कर्मको फल त हो नि,” अर्कीले आफ्नो राय पोखिन् ।

“म त के भन्छु भने भगवान्ले जे गर्छ राम्रै गर्छ । यस गाउँका सबै पुरुषलाई बिगारिसकेकी थिई । २० वर्षका उरन्ठ्याउलाहरूदेखि ६० वर्षका बूढाहरू समेत बिहान–बेलुकी उसको पसलमा बिनाकाम सधैँ धाउँथे । पसल भएन मन्दिर भैगो !,” अर्कीले फरक दृष्टिकोण राखिन् ।

“तपार्इं ढुक्क हुनुस् दिदी,” अर्कीले भनिन्, “अब भिनाजु घरमै बस्नुहुन्छ । अनि, मनभरि कुरा गर्नुहोला । जे–जे गर्नु मन लाग्छ, सबै गर्नुहोला ।” सबै गललल हाँसे ।

“अँ, त्यही आस गरौँ !,” एउटी पाकी महिलाले भनिन्, “पुरुषहरू वास्तवमा त्यति नराम्रा त होइनन्, अब आइमाईले नै निम्तायो भने कसको के लाग्छ र ।”

“त्यसले पैसा पनि निकै कमाई होला है ?,” कसैले जिज्ञासा राखे ।

“कमायो होला । तर, हामीले एउटा कुरा त स्वीकार्नैपर्छ, त्यो आइमाई आँटी रहिछ । एक्लै–एक्लै पसल थाप्नु र चलाउनु, हामी तपार्इं त्यस्तो गर्न सक्दैनौँ ।”

“पसल चलाउनु जाबो त्यस्तो कुन ठूलो कुरो हो र ? अलिकति मस्किनुपर्छ, अलिकति नखरा गर्नुपर्छ, मर्दहरू मिठाईमा माखाजस्तै झुम्मिन्छन् ।”

“किन चलाउँदिनस् त ? भन्नुजस्तो सजिलो कहाँ छ र बाबै ! खोल न त तेरो पसल ।” यो आवाजसँगै भीडमा हाँसोको फोहोरा छुट्यो । 

“तँ बढी न हो है ! किन खोल्नु मैले पसल ? तैँ खोल न !”

“कसले मार्यो होला उसलाई ?,” एउटीले विषयान्तर गरिन् । 

“थुप्रै मान्छे थिए उसको । मौका नपाएकाले गरे होलान् नि ! मलाई त दया लागेर आउँछ । यो सिंगैै गाउँमा र सायद सिंगैै संसारमा उसको आफ्नो भन्ने कोही पनि रहेनछ । मर्द मानिसले चलाएको यस क्रूर समाजमा ऊ एक्लै बाँच्ने प्रयास गर्दै थिई । बिचरी !” कसैले सहानुभूतिका केही शब्दहरू सुन्तलीका लागि पोखेको यो पहिलोपल्ट थियो ।

“त्यो पनि हो । तर, ऊ आफैँ पनि चोखोचाहिँ थिइन है । उसको चरित्र र बानी–बेहोराले गर्दा नै त उसको यस्तो अन्त हुन गएको हो,” एउटीले उसको चरित्रको व्याख्या गर्दै भनिन् ।

“जे भए पनि अब ऊ यस दुनियाँमा छैन । अनि, किन उसको बारे नराम्रो कुरा गर्ने ? छाडिदिउँ यी सब कुरा । बरु, कहाँ गए ती सब असल मानिसहरू जो दिनरात उसको होटेलमा धाइरहन्थे ? लासलाई छोपिदिने सज्जनतासम्म छैन ती सज्जनवृन्दमा ? एकजना मान्छे छैन उसको मृत्युमाथि एक थोपा आँसु बगाउने । बिचरी !” यस भनाइले सबैलाई मौन र उदास बनायो ।

उता, पुरुषहरूको टिप्पणी महिलाभन्दा भिन्न खालका थिए ।

“कसले यस्तो गर्यो होला ? कुनै गाउँलेको काम त यो होइन, हत्यारा वा हत्याराहरू पक्कै बाहिरिया हुनुपर्छ,” एकजनाको टिप्पणी थियो । 

“जसले गरेको भए पनि कसरी गर्नुपर्छ राम्ररी थाहा रहेछ उसलाई । यो कामचाहिँ पक्कै पनि आधी राततिर गरिएको हुनुपर्छ,” अर्कोले बोल्यो ।

“अब उसको पसलको के हुन्छ ?,” कसैले सवाल उठायो ।

“त्यै मधुसूदनको त हुन्छ होला नि ! खोल्न पनि उसैले मद्दत गरेको थियो क्यारे । अब सुन्तली छैन । हुँदा उसैकी थिई । मरेपछि उसको पसल पनि मधुसूदनकै हुन्छ, अरू कसको हुन्छ र !” यो कुरामा सबै गललल हाँसे ।

“होइन, मद्दत त मधुसूदनले मात्र गरेको कहाँ हो र ? बिर्खलाल र हवलदार शेरबहादुरले पनि कम सहयोग गरेको होइन । सबैको बराबर अंश हुन्छ होला ।” यसपालि झन् सारो हाँसोको फोहोरा छुट््यो ।

“मद्दत त तैँले पनि गर्न खोजेको होइन ? तर, उसले मानिन क्यारे ! त्यसैले तँ रिसाएको होइन ?,” एउटाले अर्कोलाई घोच्यो ।

“अनि तँ नि ? स्वास्नीको चाँदीको बाला दिँदा तेरैअगाडि हुत्याइदिएकी होइन त्यसले !,” दुवैले एकार्कालाई डढाइदिउँलाजस्तै गरी हेरे ।

“सुन्तली राम्री त राम्री हो गाँठे, कति हिसी परेकी । फेरि कति आँटी र दृढ चरित्रकी !”

“राम्री र आँटी त ठिकै हो, तर दृढ चरित्रकी कसरी ?” विरोधको स्वर पनि सुनियो ।

“मैले भन्न खोजेको के भने... उसलाई खराब आइमाई भनिन्छ । तर, के ऊ साँच्चै खराब थिई त ? मैले उसलाई दृढ चरित्रको भनेँ, किनभने ऊ बाँच्न एक्लै संघर्ष गरिरहेकी थिई, होइन र ?” सबै चुप लागे ।

एक छिनपछि एउटा तन्नेरीले लामो सास लिँदै भन्यो, “यो गाउँमा एउटा त ठाउँ थियो जहाँ गएर केही रमाइलो हुन्थ्यो । अब त्यो पनि रहेन ।”

“हो, जाऊँ यार । पुलिस आउँदै होला, यहाँ बसियो भने चाहिने नचाहिने प्रश्न सोधेर हैरान पार्छ । अब हेर्ने लायक केही छैन ।”

यहाँ म सुन्तलीका बारेमा केही जानकारी गराइदिनु जरुरी ठान्छु । गाउँको पुछारबाट गएको सडक र त्यससँगसँगै बगेको खोलाको छेउमा उसको सानो पसल छ । रोड बनाउँदा ठेकेदारले फालेका अलकत्राका पुराना ड्रमहरूलाई काटेर पसलको छाना बनाइएको छ । पुराना टिन र काठका टुक्राटाक्रीहरूले पसलको पर्खाल तयार भएको छ ।

१४ बाई १० को यस महललाई एउटा पुरानो मैलो तन्नाले पार्टेसन गरेर दुई कोठाको बनाइएको छ । बाहिर रोडतर्फ उघ्रिने कोठामा सुन्तली गाहकहरूको सेवा गर्थिन्, जहाँ दुईवटा बेन्च–टेबुल, एउटा ग्यासचुलोमाथि बसेको कित्ली र छेउमै रहेका केही ग्लास, प्लेटहरूले अहिले पनि ग्राहक पर्खेर बसेका छन् ।

भित्र खोलातर्फ खुल्ने कोठामा एउटा तीनखुट्टे खाट छ, जसको चौथो खुट्टो पाँचवटा इँटालाई तलमाथि राखेर बनाइएको छ । एउटा टिनको सानो बाकस खाटसँग अडेस लाएर बसेको छ । एकजोडी कुर्ता–सलवार कुनाको डोरीमा झुन्डिएको छ । एउटा किलामा ऐना पनि झुन्डिएको छ, जसले अब सुन्तलीको अनुहार कहिले हेर्न पाउने छैन ।

एक कुनामा शक्तिकी देवी दुर्गा र धनकी देवी लक्ष्मीका फोटाहरू छन् । जसका अगाडि केही फूलहरू र अगरबत्तीका ठुटाहरू पनि देख्न सकिन्छ । कोठादेखि सानो बाटो खोलातर्फ जान्छ । यही बाटो हिँडेर सुन्तली खोलामा नुहाइधुवाइ गर्न जान्थिन् ।

हो, त्यही ठाउँमा आज उसको निर्जीव, निश्चेष्ट शरीर लडिरहेको छ ।

यो पसललाई एउटा बहुउद्देश्यीय पसल भन्न सकिन्छ । किनभने, यहाँ चियाका साथै सेलरोटी, चना, बिस्कुट, चाउचाउ, च्युरा, चुरोट जे पनि पाइन्थ्यो । विशेष ग्राहकका लागि अमलेट र ट्रक–बसका गुरुजीहरूका लागि मासुभात पनि । तर, सर्त के थियो भने कुखुराको व्यवस्था ग्राहकले आफंँ गर्नुपर्थ्यो ।

एउटा गोप्य कुरो पनि भनिदिन्छु, यहाँ जाँडरक्सी पनि पाइन्थ्यो । तर, सुन्तली जसतसलाई जाँडरक्सी दिन्न थिइन् । किनभने, ग्राहक–ग्राहकबीच झगडा र पसलको नराम्रो प्रचार उनी चाहँदिन थिइन् ।

सुन्तली विधवा थिइन् । तीस वर्ष उमेरकी सुन्तलीलाई पुरुषहरू अझै पनि आकर्षक र राम्री देख्थे । झन्डै एक वर्षअगाडि उनले पसल थापिन् । छिट्टै नै पसल पनि राम्रै चल्न थाल्यो ।

गाउँका धेरै भद्रभलाद्मीले सुन्तलीलाई पसल थाप्न मद्दत गरे । गाउँको सबैभन्दा धनी र प्रभावशाली व्यक्ति मधुसूदनले स्कुलका दुईवटा बेन्च र डेस्क सुन्तलीको पसललाई उपहार मात्रै दिएनन्, अपितु आफ्नो अमूल्य समय खर्चेर, रात दिन त्यहीँ रहेर पसल थाप्न–चलाउन मद्दत गरे ।

यस्ता सज्जन मान्छे कहाँ पाइन्छ र आजकाल !  यो कलियुगमा कसले यसरी मद्दत गर्छ, कुनै नातागोता नपर्ने एक अन्जान आइमाईलाई ? हुन त पसलमा कहिलेकाहीँ मध्यरातमा मधुसूदन र सुन्तली बाझाबाझ भएको सुनिन्थ्यो भनेर छिमेकीहरू भन्छन् । तर, यस्ता खालका अफवाहमा हामी तपार्इंजस्ता सभ्य मानिसले ध्यान दिनु हुँदैन । सुन्तली त मरिसकी, तर यसमा कुनै शंका छैन कि ऊ हुँदा उसको सफल व्यापारका पछाडि मधुसूदन नै थिए ।

अर्को सज्जन, जसले सुन्तलीलाई मद्दत गरे–तिनको नाम हो, बिर्खलाल । जनता बसका गुरुजी । उनको उदारता झन् उदाहरणीय छ ।

उनले सुन्तलीले मद्दत माग्लिन् भनेर पर्खिएनन् । बरु, आफैँले मद्दतको प्रस्ताव गरे, “सुन्तली बैनी, तपाईंलाई पसलका सामान किन्न जहिल्यै बजार जानु परे म तपाईंलाई लान्छु, मेरो बसमा । तपार्इंले भाडा तिर्नु पर्दैन ।”

उनले विशेष रूपले कसैलाई पनि होइन, तर सबै बस प्यासेन्जरहरूलाई आफ्नो भनाइको तात्पर्य बुझाए, “उहाँ एक महिला हो । त्यसमा पनि विधवा । उहाँको आफ्नो भन्ने कोही छैनन् । मान्छे नै मान्छेको काम आउँछ । म त्यही गर्दै छु, जो मानवताको नाताले एक व्यक्तिले गर्नुपर्छ ।”

आफ्नो वचनको पक्का बिर्खलालले सुन्तलीलाई एकपल्ट होइन, धेरैपल्ट पसलदेखि बजार र बजारदेखि पसल आफ्नो बसमा लगे । यो कुरो अर्कै हो कि पसलमा उनी चियासिया फ्री पाउँथे । कहिलेकाहीँ पसलभित्रको कोठामा पल्टिराखेको पनि देखिन्थे ।

पछि–पछि सुन्तली बिर्खलालको बसमा जान छोडिन् । यो बिर्खलाललाई पटक्कै मन परेको थिएन । सुन्तलीले नाइँ भने पनि उनी सक्दो मद्दत गर्न चाहन्थे । यस्ता भलाद्मी कहाँ पाउनु !

शेरबहादुर, गाउँको पुलिस पोस्टको हवल्दारले पनि सुन्तलीलाई गाउँका हुल्याहा केटासँग जोगाएर सघाएकै हो । कस्ता सज्जन मान्छे ती ! तिनी नभए सुन्तलीलाई शान्तिपूर्वक आफ्नो व्यापार चलाउन निकै गाह्रो थियो ।

दयालु स्वभावको हवल्दार मद्दतका लागि सधैँ तयार रहन्थे । उनी प्रायजसो पसल आउँथे र सोध्दथे, “सबै ठिक छ हैन त सुन्तली ? कसैले दुःख दिएका त छैनन् ?” यसो भन्दै उनी आफ्नो हत्केलालाई पुलिसको डन्डाले विस्तारै ठोक्थे, जुन पसलमा बसेकालाई प्रस्ट धम्की हुन्थ्यो ।

केही भने उनको सज्जनतामाथि शंका गर्थे, “ऊ राति–राति किन पसलमा आउँछ ?”

यस्ता शंकालु मान्छेलाई थाहा हुनुपर्छ, हवल्दार पुलिस हो र पुलिसको कर्तव्य नै हो, जनताको सुरक्षा । हामीले के पनि बिर्सिनु हुँदैन भने प्रहरी जहाँ पनि र जुन बेला पनि जान सक्छ । त्यसैले सुन्तलीको पसलमा हवल्दार रातमा जानु हुन्थ्यो कि दिनमा, १२ बजे रातमा जानुहुन्थ्यो कि ३ बजे बिहान, त्यसमा हामीले शंका गर्ने कुनै ठाउँ नै छैन ।

यो कुरा बेग्लै हो कि पछि सुन्तली हवल्दार शेरबहादुर पसलमा नआओस् भन्ने चाहन्थिन् । तर, उनले चाहनु नचाहनुले के नै हुन्थ्यो र ! आफ्नो पेसाप्रतिको इमानदारी र सज्जनपनाले एक्ली सुन्तलीको सुरक्षा र मद्दतका लागि रातबिरात पसल आइरहनुलाई अर्को अर्थमा हेर्न सकिन्थेन ।

यी तीन भद्रभलाद्मीबाहेक गाउँमा अरू पनि धेरै थिए, जो सुन्तलीलाई मद्दत गर्न चाहन्थे । कतिले सुनचाँदीका गहना दिएर मद्दत गर्न खोजे । कसैले रातमा पसलको पहेरदारी गरिदिन्छुसम्म भने ।

सुन्तलीलाई मद्दत गर्न चाहने मान्छेको लामो सूची थियो । तर, उनले सबलाई विनम्रतापूर्वक नाइँ भनिदिइन् । उनी कोहीसँग पनि बढी हिमचिम नगरी आफ्नो कामसँग मतलब राख्थिन् । उनलाई थाहा थियो, मान्छेहरू पिठ्युँपछाडि उनलाई के–के भन्थे । तर, उनी न त कहिल्यै रिसाइन् न त विरोध नै गरिन् ।

सुन्तलीलाई यो पनि थाहा थियो कि पिठ्युँपछाडि यिनै मद्दत गर्न चाहने सज्जन व्यक्तिहरूले उनलाई चरित्रहीन र खराब आइमाई भन्थे । तर, उनी चुपचाप बसिन् । किनभने, उनी यिनै भद्रभलाद्मीबीच एक्ली थिइन् । नितान्त एक्ली । जेजस्तो होस्, उनलाई आफ्नो पेट पाल्न पसल चलाउनु नै थियो । 

०००

अन्ततः प्रहरी घटनास्थलमा पुग्यो । लासका फोटाहरू खिचियो । उपस्थित मानिससँग प्रश्न सोधियो । पसलको तलासी लिइयो । तलासीमा टिनको बाकसमा एउटा फोटो र फोटोसँगै केही रसिदहरू भेटिए । फोटोमा एउटी सानी केटी स्कुलको ड्रेसमा थिई र ती रसिदहरू स्कुलको शुल्क तिरेका रसिदहरू रहेछन् । त्यो सानी बालिका सायद सुन्तलीकी छोरी हुनुपर्छ, जो कुनै दुर्गम स्कुलमा आफ्नी आमा सुन्तलीको सपना देख्दै थिई ।

प्रहरीले सुन्तलीले लेखेको एउटा पत्र पनि फेला पार्यो । पत्रमा आफ्नो हत्या हुने आशंका व्यक्त गरिएको थियो । पत्रमा के पनि लेखिएको थियो भने ‘यदि, उनको मृत्यु कुनै दुर्घटना वा शंकास्पद परिस्थितिमा भयो भने त्यो दुर्घटना होइन, हत्या हुनेछ र त्यसका लागि मधुसूदन, बिर्खलाल र हवल्दार शेरबहादुर जिम्मेवार हुनेछन् ।’

पत्र पढियो । तर, त्यसमा लेखेको कुरामा कसैले विश्वास गरेनन् । प्रहरीले त झनै गरेन । मधुसूदन, बिर्खलाल र हवल्दारजस्ता समाजका गण्यमान्य भद्रभलाद्मीहरू जसले सुन्तलीलाई त्यतिका मद्दत गरेका थिए, तिनले कसरी यस्तो जघन्य अपराध गर्न सक्छन् ? कस्तो कृतघ्न आइमाई रहिछ !

अन्ततः जो भद्रभलाद्मीहरूमाथि आरोप लगाइएको थियो, तिनैले बडो उदारतापूर्वक लासको क्रियाकर्म गर्ने व्यवस्था मिलाइदिए ।

यसरी सुन्तली हत्याकाण्डको कुनै सुनुवाइ भएन । कसैले अघि सरेर यसलाई अदालतमा पनि लगेन । रसिदअनुसारको स्कुल पुगेर बालिकाको खोजी गरिँदा पनि कुनै पत्तो लागने । फलतः यतातिर कसैको चासो रहेन । र, केस डिसमिस भई फाइल बन्द भयो ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC