
म कविताभन्दा सुन्दर
कस्तुरीभन्दा सुवासित
धौलागिरिभन्दा उच्च
आमाभन्दा दयालु
र
पिताभन्दा स्थिर हुँ
म महादेवझैँ आकर्षक
गायकझैँ मधुर
कविझैँ कोमल
रामझैँ रमणीय
अनि
श्यामसुन्दरझैँ मायालु हुँ
म सुभद्राको काखमा निदाउँदो अर्जुन
भारी भव्य पौरुषले विभूषित
म अनवरत अस्तित्वको अविचल तरु हुँ
मेरो छायामा सिद्धार्थ बुद्ध बने
मेरै काखमा वासुदेवलाई वाण लाग्यो
ममाथि चरा बस्थे
तल फेदमा वास बस्थे बटुवा
एउटा सार्वजनिक डबली
जहाँ
लोकप्रिय राजाले गाली खाएको सुनेको छु
प्रजा वत्सलको वात्सल्य चर्चरी च्यातिएको देखेको छु
सिकन्दर आमा आमा ! भन्दै धुरुधुरु रोएको देखेको छु
हिटलरको नश्लीय अभिमान छट्पटाएको देखेको छु
कहिले मेरै छातीमा चढेर
जघन्य पापाचार भए
बलात्कार भए
धोका दिने योजना बने
जालझेल छलकपट उत्पीडन भए
कहिले मिठा गीत गाइए
कविता लेखिए
चित्र कोरिए
प्रणय लीला रचिए
सन्तान जन्माएर बगाउन बाध्य भए विवश कुन्तीहरू
घोर निशामा घाँटी च्यापी प्राणच्छेद गर्नेहरू
पवित्रझैँ पुजिए एकाबिहानै
ढलेको छु
पछारिएको छु
सहेको छु
जलिरहेछ अस्तित्व
तथापि मौन छु

म बर्बरिकको काटिएको मस्तक हुँ
जाली युद्धको साक्षी
म अंगराज कर्णको मर्मस्थलको पीडा हुँ
जातीय अहंकारको सिकार
म बदनाम दुःशासनको छातीको लहु हुँ
अनन्य भ्रातृभक्तिको अनर्थ परिणति
म महात्मा विदुरको हृदयको स्पन्दन हुँ
आफैँमाथि अन्याय गर्ने संस्कृतिको प्रवक्ता
म एकलव्यको विद्रोह हुँ
वर्णाश्रमको छडीको मारले मर्माहत
म विकराल सत्य हुँ सभ्यताको
सीताका आँखाबाट बहने
अजस्र आँसु हुँ म
द्रौपदीको सौन्दर्यको प्रशंसक मात्र होइन
सौर्य र हिम्मतको जीवन्त दर्शक पनि हुँ
हो, म समय हुँ
अविरल साक्षी युगानुयुगको ।