काठमाडौं । मंगलरबार अपराह्न थापागाउँस्थित कुञ्ज नाटकघरमा पुग्दा ऐमाले नेतृ अष्टलक्ष्मी शाक्य र एमाले नेता अमृत बोहोरा जाडो छल्न आगो तापिरहेका थिए । सँगै थिए कुरुकुलका संस्थापक रंगकर्मी सुनील पोखरेल र निशा शर्मा । नाटकघरको भेट, कुरा नाटककै चल्दै थिए ।
कुन नाटक रे ! अष्टलक्ष्मीको प्रश्नमा सुनील भन्दै थिए, थोप्लो थोप्लो थोप्लो गच्छामि ।
‘ए बुद्ध सम्बन्धि ?’
‘होइन बुद्धभन्दा पनि दर्शनसँग जोडिएको नाटक हो । जीवनमा सबैलाई काम लाग्ने कुरा छ,’ निशाले स्पष्ट पारिन् ।
केहीबेरको गफगाफमा उनीहरू नोस्टाल्जिक भए । सुनील र निशाका नाटक आफूले पहिला पनि धेरै पटक हेरेको अष्टलक्ष्मी र अमृतले सम्झाए । अमृतले भने, ‘तर, यहाँ होइन डिल्लीबजारमा ।’
फेरि निशाले सच्याइन्, ‘डिल्लीबजार भन्दा पनि पुरानो बानेश्वरमा हो, गुरुकुलमा ।’
गफगाफमै घण्टी बज्यो ।
अष्टलक्ष्मी : के को घण्टी हो ?
निशा : हाम्रो होइन, कलाकारको हो । कलाकार मञ्चमा जाने घण्टी ।
‘ए ।’
सुनीलले पास ल्याएर बाँडे । र, एकजनालाई बोलाएर भने– उहाँहरूलाई लिएर जाऊ र अगाडि राख त ।
नाटकबारे मञ्चमा सहनिर्देशक वीरेन्द्र हमालले जानकारी दिए । र, सुरु भयो नाटक । सुनील पोखरेलले निर्देशन गरेको नाटकले शाक्यमुनि बुद्धका बारेमा जानकारी दिन्छ । सूत्रधारका रुपमा रहेका दुई दाजुबहिनी कलेका विद्यार्थी हुन्छन् । उनीहरूलाई कलेजले सिद्धार्थ गौतम अथवा गौतम बुद्ध को हुन् भन्ने प्रोजेक्टवर्क दिएको हुन्छ । उनीहरू आफ्नो प्रोजेक्टवर्क पूरा गर्न रिसर्च गर्न थाल्छन् । रिसर्च गर्दा भेटिएका सत्य र तथ्य नै नाटकको एक मात्रै मुख्य विषय हो ।
कुनै एक व्यक्तिले लेखेको नाटक होइन यो । त्यसैले सुनील भन्छन्, “यो स्क्रिप्टेड होइन । हामीले पढ्दा थाहा पाएका र विभिन्न बुक अध्ययन गर्दा थाहा पाएका कुरालाई समेटेर नाटकको रुप दिएका हौँ । स्क्रिप्टेड नाटक होइन यो ।”
यद्यपि, पुण्यप्रसाद प्रसाईंको पुस्तक गौतमबुद्ध नाटकको मूल आधार हो । नाटकमा यशोधराको एकालाप सिकेलालले लेखिदिएका हुन् । नाटकमा यशोधराको संवाद छ,– अनि म ? युवराज्ञी यशोधरा, नारी शक्ति, म ऊर्जा हुँँ युवराज, पाँचौँ तत्व एवं राप र तापको स्रोत । मलाई छाडेर सत्यको खोजी ? पाइहाले पनि अपुरो हुनेछ त्यो सत्य युवराज । पूर्णता पाउन तिमीले फर्केर कपिलवस्तु नै आउनुपर्नेछ ।
यसअघि, रोहिणी नदीको पानीलाई लिएर दुई गणराज्य (कपिलवस्तु र कोलिया) बीचमा द्वन्द्व चर्किन्छ । युद्धकै परिस्थिति निम्तिन्छ । सिद्धार्थ गौतम युद्धको पक्षमा छैनन् । युद्ध हुने भएपछि मेलमिलाप र शान्तिको पक्षमा रहेका सिद्धार्थले घर छोडेर निस्किन्छिन् । परिवारको आग्रहलाई वेवास्था गरेर उनी राजर्शी पहिरन छोडेर दरबार छोड्छन् ।
बुद्धत्व प्राप्त भएपछि उनी कपिलबस्तु फर्किन्छन् । यही कुरा नाटकले बोलेको छ । समयसँगै नाटक हिँडेको छ । आकाशवाणीबाट आउने आवाजले भन्छ– राजनीति जनताका लागि हुनुपर्छ । जनताको सेवा गर्नु नै राजनीतिको धर्म हो । राजनीतिज्ञ जनताका सेवक हुन् मालिक होइन । राजनीति पेसा होइन समाजसेवा हो । कथा बुद्धको समयको भए पनि अहिलेको नेपाली राजनीतिसँग जोडिएको छ । जनताका समस्यालाई नजरअन्दाज गर्ने राजनीति र राजनीतिज्ञ समाजमा अस्तित्वमा रहिरहन नसक्ने नाटकसले सन्देश पनि दिएको छ ।
नाटक ‘...गच्छामि’ पुस २३ गतेसम्म मञ्चन हुनेछ ।