साहित्य
श्रीराम सिरज
जीवन सजिलो सधैँ कहीँ हुँदैन
गगन सुकिलो अझै सही देखिँदैन
उकालो ओरालो छ जीर्ण गोरेटो
मुटु–कम्पन बहन्छ तीव्र सिरेटो
पवन बर्फिलो पथ पग अघि सर्दैन ।
विपत्ति कहिल्यै एक्लो नआउँदा
सम्पति आफन्त पहिरोले बगाउँदा
जलन भरिलो नेत्रमा आँसु सुक्दैन ।
निर्वल मन–मुटुमा ढुंगा ठोकिँदा
टुक्राटुक्रा हुन्छन् बल बुद्धि सर्वदा
गमन गतिलो गतिमा टुंगिदैन ।
प्रबल आत्मविश्वास हुन्छ कताकता
मरुभूमिमा गुलाफ फुल्छ जतातता
सुमन सुगन्धितले सुवास टर्दैन ।
फूलहरू मुस्कुराउँदै हर्ष–पराग छर्छन्
भ्रमर पुतलीहरू रमाउँदै रस–राग भर्छन्
चमन मुग्धिलो सौन्दर्य घट्दैन ।
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९ ०९:४६
प्रतिक्रिया दिनुहोस्