site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बाँइझ 
Ghorahi CementGhorahi Cement

सपनाहरू किन आँखामा नअट्ने गरी आउँछन् ? एउटा सपना पूरा नहुँदै अर्को सपना किन जन्मिन्छ ? सपना देख्नु र पूरा गर्ने प्रयास गर्नु नै जीवनको अहम् लक्ष्य हो, सायद ।

मैले स–साना खुसीमा रमाउँदै वास्तविक जीवन बाँच्न सिकेकी थिएँ ।

‘यतिका दिनसम्म छोरीकोे बिहे गर्ने बेला भएन ?’ भनेर बाआमालाई आफन्तहरूले प्रश्न गर्थे ।

Agni Group

तिनका कुरा सुनेर बा भन्थे, ‘अहिले सानै छे । दुई, चार वर्षपछि बिहे गरिदिन्छु ।’

बाले यति भनेका मात्रै के हुन्थे, आफन्तहरू कसैले ‘मेरो साढुभाइको छोरो छ’ त कसैले ‘मेरो फुपूको छोरो छ’ कसैले ‘मेरो मामाको छोरो छ, नक्लाहीसँग एक नम्बर जोडी मिल्छ’ भन्थे ।

Global Ime bank

मेरो बिहेको कुरा चल्दा म पाँच वर्षकी थिएँ । सबैले मेरो बालाई यही सुझाइरहेका थिए– छोरीको बिहे गरा । तर, मेरो बारेमा कसैले सोच्दैन थिए । मेलापात गरेर भए पनि छोरीलाई पढा, सक्षम बना भनेर कसैले सुझाएनन् । अन्ततः सात वर्षको उमेरमा मेरो बिहे भयो । मेरो बिहे भएको मलाई नै सम्झना छैन ।

बिहेपछि जब म तरुनी भएँ र मेरा हातखुट्टा र जिउ बलिया र आकर्षक देखिन थाल्यो, त्यसपछि फेरि टोलका मानिस सुरु भए ! टोलकी काकीले सोधिन्, ‘बच्चा कहिले पाउँछेस् ?’

भाउजू पर्नेले मेरो पेटतिर हेर्दै भनिन्, ‘छ कि के हो नानी ? कति महिना भयो ?’

टोलकै दिदी पर्नेले भनिन्, ‘छोरी मान्छेले उमेरमै बच्चा पाउनुपर्छ, नत्र पछि बच्चा जन्माउन गारो हुन्छ । बच्चा भएन भने लोग्नेले अर्को बिहे गर्न बेर लगाउँदैनन् ।’

म सबैका कुरा सुन्दै मुस्कुराउँथेँ, तर जवाफ फर्काउँदिनथेँ ।

वास्तवमा म आफैँ बच्चै थिएँ । एउटा बालिकाको बालविवाह गराइदिएर बच्चा पाऊ भन्दै तनाव दिनु कहाँको न्याय थियो ? बिहे गर्ने नगर्ने, बच्चा पाउने नपाउने मेरो इच्छा हुनुपर्थ्यो नि, तर, समाजले कहाँ आफ्नो इच्छामा हिँड्न दिएको थियो र मलाई !

आफूले सोच्दै नसोचेको कुरा सोचिदिन्थे । एक छाक खान पुगेन भने कुनै छिमेकी र समाजले मेरो पेट भोको भएको देख्दैनथे । तर, मेरो जीवनबारे चासो राख्ने जिम्मा तिनैले लिएका थिए । जिम्मा लिएपछि सबैथोकको जिम्मा लिनु नि, बिहे र बच्चा पाउनेजस्ता प्रश्नका ठेकेदार मात्रै किन बनेको होला समाज !

सायद समाजले भन्दो हो, तिम्रै भलोको लागि भनेको हुँ । तर, म भन्छु– यसमा मेरो कस्तो भलो ? कसरी भलो ? कुन भलो ? अँ साँच्चि, बाआमालाई मानसिक यातना दिँदै छोरीको बिहे कहिले गर्छस् ? बिहे भइसकेपछि बच्चा कहिले पाउँछेस् भनेर अकिञ्चित दुस्सहास गरेर सोध्नु मलाई ठिक लागेन ।

म यसकै सिकार भएकी थिएँ । मेरो नाम इमली थियो, तर मलाई सबैले नक्लाही भन्थे । बाआमाकी एक्ली छोरी म । मलाई ज्यादै नै पुलपुलाएर बाआमाले राखेका थिए ।

म स–साना कुरामा पनि धेरै प्रतिक्रिया देखाउँथेँ । आगोमा औँला छोइयो भने ‘ऐया ! मेरो पूरै हात जल्यो’ भन्थँे । खुट्टामा काँडा बिझ्यो भने ‘मरे बा, खुट्टामा भाला घोपियो’ भन्थेँ । कतै काटिएर रगत निस्कियो भने ‘एक बाल्टिन रगत मेरो जिउबाट बग्यो’ भन्थेँ ।

सानो छँदा बाआमालाई यसरी डराउँदै मैले धेरै दुःख दिन्थेँ । सानो कामलाई पनि नाटकीय पाराले भन्ने बानी भएकोले मलाई सबैले नक्लाही भन्न थाले ।

म ठूली भएपछि ती बानी कहिले, कसरी छुटे, चाल पाइनँ । भाग्यले मसँग नक्कल गरिरहेको थियो वा म भाग्यसँग नक्कल गरिरहेकी थिएँ, म आफैँ बुझिरहेकी थिइनँ ।

नक्लाहीबाट म एक पूर्ण वयस्क युवती बनिसकेकी थिएँ । यहाँ मलाई मेरो टोलको हावा नै दूषित लाग्थ्यो । यहाँका मान्छेको विचार मूर्खतापूर्ण लाग्थ्यो । यस्तो दयालाग्दो जीवनबाट समाज कहिले बाहिर निस्किने होला ?

लखना मेरो घरछेउको छिमेकी भाइ, राति अबेर दारु पिएर घर फर्किन्थ्यो । लखना नआउन्जेल म लखनाको प्रतीक्षामा रहन्थेँ । लखनाकी स्वास्नी बहिरी थिई । उसलाई टोलका सबैजनाले बहिरी भनेर बोलाउँथे ।

स्वास्नी बहिरी भएकीले ऊ दारु पिएको बेलामा झन् चर्को स्वरले स्वास्नीलाई कराउँथ्यो । गाली गर्थ्यो । कराउँदै भन्थ्यो, ‘छिटो ले भात !’

लखना बोलेको सुनेर उसकी स्वास्नीले भन्थी, ‘कसले हजुरलाई लात हान्यो ?’

‘तेरो बाउले ! भात ले भन्छु, कसले लात हान्यो भन्छे ।’

‘कहाँ घाउ लाग्यो ?’ बाउको सट्टा घाउ सुन्थी ऊ !

उसको जवाफ सुनेर लखना टाउकोमा हात राख्दै बरबराउँथ्यो, ‘म के बोल्छु, तँ के सुन्छेस् ! मेरो भाग्य फुटेको थियो, कर्म खोटो थियो, मेरै टाउकोमा थुप्रिन आइस् बहिरी !’

बहिरी भनेपछि उसले फेरि ठयाक्कै सुन्थी ! रिसाउँदै लखनालाई भन्थी, ‘काम गर्ने कालु मकै खाने भालु । दिनभरि मैले खेताला जानुपर्ने । अनि, बहिरी भनेर मैले नै गाली खानुपर्ने ।’ उसको कुरा सुनेर लखना खितिती हाँस्थ्यो ।

ती दुवैको कुरा सुनेर म पनि आफ्नो छाप्रोमा खितिती हाँस्थेँ । उनीहरूको कुरा सुनेर एक छिन भए पनि सौताबाट फुक्का भएको अनुभव गर्थेँ ।

प्रभु, मेरा दिनहरू कति दया लाग्दा ! म यसरी कति दिन बाँच्न सकूँला र ?

यतिखेर कुनै बोझले थिचिएको बन्धनबाट मुक्त भएजस्तो लाग्थ्यो । सायद लखनाको कचकच मैले प्रत्येक दिन नसुनेको भए बहुलाएर उहिले संसार छोडिसकेकी हुन्थेँ ।

यसको अर्थ मलाई छिमेकी भाइबुहारीको घर झगडा सुन्न रमाइलो लाग्छ भनेकी होइन । म उनीहरूको झगडा सुनेर रमाउँछु पनि भनेकी होइन । मलाई मेरो छाप्रोको वातावरण दूषित लाग्थ्यो । त्यो दूषित वातावरणबाट बच्न लखनाको चर्को स्वरले राहत मिल्थ्यो ।

अर्को छाप्रोमा बाँसको खाट थियो । जहाँ मेरो लोग्ने र सौता सुत्थेँ । उनीहरू राति चलेको, हाँसेको, बोलेको मलाई पटक्कै मन पर्दैन्थ्यो । मेरा बाआमाको घरमा उनीहरू मनपरी जिस्किन्थे । यो अधिकार उनीहरूलाई मेरा बाआमाले नै दिएका थिए ।

उनीहरूको हाँसो सुन्दा मेरो मुटु पोल्थ्यो । म बहुलाउँथेँ । मेरो टाउको दुख्न थाल्थ्यो । कहाँ जाऊँ ? के गरूँ ? आफ्नै टाउको कसरी फुटाऊँ ! म धेरै उदास हुन्थेँ । म ईष्र्याले जल्थेँ ।

यसरी नै लामो सास फेर्दै धेरै दिन निदाएकी थिएँ, म । आफ्नै भाकाको गीत सुसेल्दै दुवैको आवाजलाई छल्दै निदाउँथे ।

धनुषलाई सात वर्षको छँदादेखि चिन्थेँ । बिहेपछि उनलाई मेरा बाआमाले घरज्वाइँ राखेँ । बाल्यकालदेखि नै उनी र म सँगै खोल्थ्यौँ ।  मेरो धड्कनको गति उनले नाप्न सक्थे र उनी खुसी र उदास भएको म सहजै अनुमान लगाउन सक्थेँ ।

मेरो निर्दोष प्रेमको सुरुवात उनीबाटै भएको थियो । उनीबाहेक मैले कुनै पुरुषबारे सोचिनँ । मेरो एकलौटी अधिकार उनीमाथि वर्षौँदेखि थियो । उनी पनि मलाई कहाँ बिर्सन सक्थे र !

तर, मेरो मनमा बेलाबेला के सोच आउँछ भने एउटै घरमा बसेर पनि मसँग नबोली कसरी बस्न सकेको होला उनी ? मेरो मुटुमा कुल्चेर कसरी अरूलाई अपनाउन सकेको होला ? मेरा प्रेमिल स्पर्शहरूलाई कसरी बिर्सन सकेको होला ? मेरो निर्दोष अनुहार नहेरी कसरी दिन बिताउन सकेको होला ?

एक रात मेरी सौता उनीसँग भन्दै थिई, ‘खेतालाबाट हजुरले कमाउको धान बेचेर मलाई चाँदीको चुरा किनेर ल्याइदिनुस् है ।’

उसको कुरा सुनेर धनुषले भने, ‘ल ल । हुन्छ ।’

‘अनि रेशमी सारी र बिन्दिया पनि ल्याइदिनुस् ।’

‘हुन्छ । सबै थोक ल्याइदिन्छु ।’

उनीहरूले बोल्दा म झनै सचेत भई कान ठाडो पारेर तिनका कुरा सुनेँ । मेरो हातमा भएको चुरा नबोलून् भनेर हात नचलाईकन बसेँ । उनीहरूको कुरा सुनेर मेरो मनमा के बित्दो हो !

म मेरो मनोदशालाई कसरी वर्णन गरूँ । म अर्धचेत हुन्थेँ । दुःखी हुन्थेँ । मेरा आँखाबाट आँसुका धारा बग्थ्यो । मेरो निद्रा हराउँथ्यो । म बहुलाउँथे ।

मैले आफ्नो खुट्टामा बन्चरो आफैँले हानेकी थिएँ । बन्चरो हान्न मेरा आफ्नै बाआमा र समाजले मलाई सघाएका थिए । सघाएका मात्र थिएनन्, मलाई उचालेका पनि थिए । र, उनीहरूले उचाल्दा म सजिलै उचालिन तयार भएकी थिएँ । यो मेरो कमजोरी नभई के थियो त !

थारू गाउँको दुसध टोली (दुुसाध जातका मानिस बस्ने टोल)मा मेरो बाआमाका दुइटा स–साना झुपडी थिए । बाआमाले मेलापात गर्दै धेरै दुःख गरेर मलाई हुर्काएका थिए ।

सन्तानको नाममा म एक्ली छोरी थिएँ । मेरो बालविवाह भएदेखि बाआमाले मेरो पति धनुषलाई छोराजस्तै हेरचाह गर्थे । उनी मेरो दुलाहा हुन् भन्ने थाहा थियो । तर, दुलाहाको वास्तविक अर्थ मलाई थाहा थिएन । मलाई लाग्थ्यो, दुलाहा भनेको खेल्ने साथी हो । बाआमा मेलापात जाँदा म र उनी डगहरको माटोमा दिनभरि खेलिरहन्थ्यौँ ।

मैले लगाउने कमिज र घाँघर मालिककी छोरीको जडौरी थियो । आमाले कपाल दुवैतिर बाँधिदिएकी हुन्थिन् । कपालको दुवै जुरोमा रातो रिबन सिउरिएर फूलझैँ बनाइदिएकी हुन्थिन् ।

बालुवामा खेल्दा मेरा हातखुट्टा धुलाम्मे हुन्थ्यो ।

उनको नाम धनुष थियो । तर, उनी धनछवार गाउँको भएकाले उनलाई ससुराली गाउँमा सबैले धनछवारवाला भन्थे ।

उनी मभन्दा पाँच वर्ष जेठा थिए । खेल्ने बेलामा टोलका केटाकेटीहरूले मलाई कुटे भने उनी मेरो रक्षा गर्थे । मलाई कुट्नेलाई मुड्कीले हान्थे । मलाई कुट्न टोलका साथीहरू डराउँथेँ । उनी मेरो हेरचाह गर्थे । त्यसैले मलाई उनी राम्रो लाग्थे ।

मलाई आमाले सिकाएकी थिइन्, उनी मेरा दुलाहा हुन् भन्ने । आमाले मलाई सिकाउँदै भनिन्, ‘धनुष तेरो दुलाहा हो । दुलाहालाई नाम लिएर बोलाउनु हुँदैन ।’

आमाको कुरा सुनेर केही बोलिनँ । तर, मैले धनुष, धनुष भनेर धेरैपटक उनको नाम मनमनै उच्चारण गरेँ ।

आमाको कुरा मानेरै मैले बाआमाको अगाडि उनलाई नाम लिएर नबोलाई धनछवारवाला भन्थेँ । तर, बाआमा नभएको बेला र खेल्ने बेला उनको नाम लिएरै बोलाउँथेँ ।

बिहेको ६ वर्षपछि मेरो मासिक धर्म सुरु भयो । त्यसपछि मलाई उनीसँग पूर्वरिया छाप्रोमा आमाले सुत्न पठाइन् । राति आमाले रातो पोलिस्टरको सारी, कपालमा खाटी तेल, सिउँदोभरि सिन्दूर, हातमा रातो चुरा लगाइदिइन् । म नयाँ सारी र चुरा लगाएर मक्ख थिएँ ।

मेरो बाल मस्तिष्कमा यति मात्र चल्यो– जसरी आमासँग सुत्थेँ, त्यसरी नै उनीसँग सुत्ने त हो । उनी खेल्ने साथी हुन् । उनीसँग केको डर भनेर म खुसीखुसी सुत्न गएँ ।

पूर्वरिया झुपडी ठूलो र राम्रो थियो । जहाँ बाँसको खुट्टा भएको बाँसकै खाट थियो । पहिला बाआमा त्यो झुपडीमा सुत्थे । पछि उनलाई सुत्न दिएपछि बाआमा पछबरीया झुपडीमा सरे । जहाँ बाँसको खाट थिएन । भुईंमा सुत्थे ।

म उनको छेउमै सुतेँ । जब रात बढ्दै गयो, उनी मेरो जिउमा टाँस्सिन आए । आमाको जिउमा म टाँसिएर सुत्थेँ । तसर्थ, उनी मेरो जिउमा टाँसिँदा मैले आमा सम्झेर केही बोलिनँ ।

तर, जब उनले मेरो गालामा म्वाइँ खाँदै मेरा छातीमा हात राखे, मलाई ठिक लागेन । आक्रोशित हुँदै भनेँ, ‘किन छोएको मलाई ? भोलि म सबै कुरो आमालाई पोल लाइदिन्छु ।’

मेरो कुरा सुनेर उनले छेडछाड बन्द गरे ।

यसरी धनुषले मलाई स्पर्श गरेदेखि मैले उनीसँग खेल्न छाडेँ । उनीसँग छाप्रोमा सुत्न पनि छोडेँ । फेरि आमासँगै सुत्न थालेँ ।

हामीकहाँ दुईवटा बाख्रा र एउटा खसी थियो । उनी दिनभर बाख्रा चराउन जान थाले । भात पकाउने जिम्मा मेरो काँधमा आयो । म भात पकाउने भइसकेकी थिएँ । बेलाबेला आमा मलाई भात पकाउन सिकाउँथिन् । म पनि चासो लिँदै भात पकाउन सिकिरहेकी थिएँ ।

धनुष ठूलो भएकोले बाआमासँग मेलापातमा जान थाले । त्यसपछि बाख्रा चराउने र भात पकाउने जिम्मेवारी मेरो काँधमा थपियो । म भात पकाएर बाख्रा फुकाउँदै तिनलाई चराउन जान्थेँ ।

दुई वर्षपछि मलाई आफ्नै हातखुट्टा मोटा लाग्न थालेँ । आफ्नै जिउ भारी लाग्न थाल्यो । अनुहार भरिँदै आएको थियो । आफैँलाई हेरिरहूँजस्तो स्निग्ध लाग्थ्यो ।

एक दिन दिउँसो भात खाएर आमाको ओछ्यानमा निदाएँ । निद्रा खुल्दा मेरा जिउका नसाहरू आफैँ चलेजस्तो अनुभव भयो । आँखा बन्द गर्दा धनुषलाई देख्थेँ । आँखा खोले पनि धनुषको आकृति आँखामा झलझल्ती नाच्थ्यो ।

राति आमाको छेउबाट उठेर धनुष सुतेको छाप्रोमा गएँ । त्यो रातबाट धनुष र मेरो निर्दोष प्रेमको सुरुवात भयो । हामी दुवैबीचको निःस्वार्थ प्रेममा कहिल्यै कुनै नाफाघाटा र हिसाबकिताब गरेनौँ ।

उनी र म सँगै सुतेको एक वर्ष भइसकेको थियो । बाआमालाई टोलका छिमेकीहरूले सोध्न थाले, ‘तेरो छोरीको किन बच्चा हुँदैन ?’

यो कुरा सुनेर बाआमा आत्तिन्थे । मेरो पनि चित्त दुख्थ्यो । दिन बित्दै थियो । त्यसउप्रान्त सबै दोष टोलका मान्छेले ममाथि नै थुपार्न थाले ।

तिनले बाआमालाई भन्न थाले, ‘तेरी छोरी बाँझी छे । अरूको छोरोलाई घरज्वाइँ राखेर उसको भविष्य बर्बाद पारिस् ।’

तिनका कुरा सुनेर आमाको अनुहार सुक्खा हुन्थ्यो । उनको मनमा एकप्रकारको भय र चिन्ता उत्पन्न हुन्थ्यो । उनी हताश हुन्थिन् । गिरहतनीहरूले पनि भन्थे, ‘अस्पताल लैजा । जाँच गरा । कसकोमा कमी छ, डाक्टरले बताइदिन्छन् ।’

तर, मेलापात गरेर खाने मान्छे, त्यसमाथि पैसाको अभाव । दुई छाक हातमुख जोड्न मेलापात गर्नुपर्ने मान्छेले अस्पताल लग्न सम्भव नै थिएन ।

हुँदाहुँदा पाँच वर्ष बितिसकेको थियो । म झन्–झन् सुन्दर हुँदै आएकी थिएँ । यौवनले भरिपूर्ण मेरो सुन्दरताको वर्णन गरेर धनुष कहिले थाक्दैनथे । म र धनुषबीच अगाध प्रेमको हाँगा निरन्तर फैलिरहेको थियो । हामी एक पलका लागि पनि एकार्काबाट छुट्टिन तयार थिएनौँ ।

एक दिन दिउँसो बाआमाले धनुषको अर्को बिहे गराइदिने सल्लाह गर्दै थिए । यसमा टोलका मान्छेले पनि सहमति जनाए । म त्यस दिन धेरै रोएँ । मेरो सारीको आँचल भिज्यो ।

म भर्खर वयस्क हुँदै थिएँ । उनको प्रेम राम्ररी बुझेकी थिइनँ । यति सानो उमेरमा उनको अर्को बिहे गराइदिने सुनेर म रातभर रोएँ । म रोएको बाआमाले चाल पाए । धनुषले पनि चाल पाए । म रोएको देखेर सबैजना निराश थिए ।

एक रात बाले झाँक्री बोलाएर मेरो कोखिया गुहाइर (बच्चा जन्माउन फुकाउनु) गर्न लगाए ।

झाँक्रीले मेरो निधारमा हात राखेर केकेजाति मन्त्र भट्ट्याए । सम्पूर्ण देउताहरूको नाम जप्दै मलाई आशीर्वाद दिए । उनले फुकेको पाँचदाना चामल प्रत्येक दिन बिहान भोकै पेट निल्न आदेश दिए ।

झाँक्रीले फुकेर दिएको पाँचदाना चामल गनेर म बिहानबिहानै पानीसँग निल्थेँ ।

यसरी ६ महिना बितिसकेको थियो । तथापि, मबाट कुनै आशा देखिएन । आस नदेखेपछि आमाले एक दिन सम्झाउँदै भनिन्, ‘ज्वाइँको भविष्य तेरा कारणले बर्बाद हुन नदे । ज्वाइँलाई अर्को बिहे गर्न अनुमति दे ।’

धनुषले पनि अर्को बिहे गर्दिनँ भनिरहे । तर, मेरा बाआमा उल्टै हामीलाई सम्झाउन थाले । अन्ततः धनुषलाई अर्को बिहे गर्न मानसिक रूपमा राजी गराएरै छाडे ।

एकसरो लुगा र सिन्दूर–पोते बेहुलीलाई दिएर अर्को बिहे गरेर ल्याए उनले । उनले अर्को बिहे गरेको दिनबाटै म प्वाँख काटिएको चराझैँ भएँ । सायद मसँगै बाआमा पनि उदास भए । तर, अरूको छोरोमाथि उपकार गर्यौँ भनेर बाआमाले चित्त बुझाए ।

म मनमनै सोच्थेँ— आफ्नै छोरीमाथि सौता हालेर बाआमाले के उपकार गरे ? बाआमाका लागि मेरो वेदनाको कुनै अर्थ थिएन ! बाआमा कसरी कठोर बने ?

अर्को रात बाले माफी माग्दै भने, ‘मलाई माफ गर् छोरी । तेरै भलाइका लागि हामीले यो सब गरेका हौँ । निःसन्तान कसैले तँलाई नभनून् भन्ने आरोपबाट बचाउन ज्वाइँलाई अर्को बिहे गर्न लगाएका हौँ ।’

ममाथि आफ्नै बाआमाले सौता हालेर उपकार गर्यौँ भनिरहेका थिए । यो कस्तो उपकार हो ? मेरो जीवन उजाड भइसकेको थियो । उजाडिएको जीवनमाथि यो कस्तो उपकार ?

यद्यपि, बाआमाका अगाडि म लाचार भएँ । सौता सहन तयार भएँ । पूर्वरिया झुपडीमा सुत्न छोडेँ । उनलाई र नयाँ बेहुलीलाई त्यो झुपडीमा सुत्न दिएँ ।

धनुषले अर्को बिहे गरेदेखि नै मलाई उनीतिर हेर्न मन लागेन । त्यही दिनदेखि उनीसँग बोल्न छोडेँ ।

६ महिनापछि मेरा बाआमाले मेरी सौता अमरावतीलाई नै सोध्न थाले, ‘नातिको मुख कहिले देखाउँछेस् छोरी ?’

ऊ यो सुनेर उदास हुन्थी । केही बोल्दिनथी । पटक–पटक सोध्न थालेपछि उसले भनी, ‘मलाई लाग्छ– हजुरको ज्वाइँ नै बाँइझ (बाँझो) छन्, आमा । मेरो सबै ठिक छ । मासिक धर्म पनि महिनैपिच्छे हुन्छ ।’

उसको कुरा सुनेपछि बाआमा छाँगाबाट खसेझैँ भए । ऊभन्दा स्वस्थ त नक्लाही छे– बाआमाको मनमा यही सोच आइरह्यो । सोचे— कतै हामीले आफ्नै छारीमाथि सौता हालेर अन्याय त गरेनौँ ? समझदारीले काम नगर्दा छोरीको जीवन बर्बाद भयो ।

छिमेकीहरूले कुरो काट्न थालिसकेका थिए । नक्लाही बाँइझ थिइन, हेर्दा अहिले पनि हृष्टपुष्ट छे । बाँझो त ज्वाइँ नै छन् जस्तो छ ।

मलाई दोष दिइरहेका बाआमा धनुषमा नै खोट देखेपछि गहिरो चिन्तामा गए । बा रातभर सुत्दैनथे । राति बर्बराउँथे ।

एक बिहान गिरहतको खेतबालीमा कीटनाशक मलखाद छर्किन गएका थिए । छर्किंदा छर्किंदै त्यही कीटनाशक खाएर देहत्याग गरे ।

बाको लास घर ल्याइयो । विषका कारण मुखभरि फिँजैफिँज थियो । बाको निधन र ममाथि सौता हालेको पीडाले आमा पनि दुब्लाउँदै गइन् । भित्रभित्रै चिन्ताले सताइरहेको थियो, सायद । आमाले खाना खान छोडिन् । सुक्दै गइन् । र, बा बितेको ६ महिनापछि उनको पनि देहान्त भयो ।

बाआमापछि घरमा म, उनी र अमरावती मात्र भयौँ । अमरावती र उनी खेतालाका रूपमा गिरहतका खेतबारीमा मेलापात गर्न जान्थे । तर, तिनले कमाएर ल्याएको धानचामल मलाई खान दिँदैनथे ।

अमरावती धनुष र आफ्ना लागि मात्रै खाना पकाउन थाली । म दिनभरि बाख्रा चराउन जान थालेँ । ऊ ‘खानलाई काम गर्नुपर्छ’ भन्थी मलाई ।

उनीहरू पेटभरि खाना खान्थे । म खान जाँदा भाँडा रित्ता हुन्थे । मेरा लागि क्यै राखिदिएको हुँदैन थियो । ‘मैले र मेरो लोग्नेले कमाएको धानचामलमा तेरो कुनै अधिकार छैन’ भन्थी । उसको भनाइ थियो, ‘खाना खाने भए खेताला बन्न जा !’

मेरै घरमा बसेर उल्टै मलाई धम्की दिन थाली । धम्की दिएको देखेर मैले उसलाई भनेँ, ‘मेरो घरबाट निस्की । मेरो घरमा बसेर मलाई खान नदिने ।’ कसेर उसको कन्चटमा मुड्कीले हानेँ । ऊ त्यहीँ लडी । ऊ मभन्दा पनि लुरी थिई ।

मैले धनुषलाई पनि मेरो घरबाट अमरावतीलाई लिएर निस्कन दबाब दिन थालेँ । तर, उनले टोलका मान्छेलाई बोलाएर म यो घरबाट निस्किन्नँ भन्न थाले ।

उसको भनाइ थियो, ‘यसका बाआमाले नै मलाई जबरजस्ती बिहे गराउन लगाए । सबै यसको बाआमाको गल्ती हो । अहिले यसले मलाई घरबाट निस्की भन्दै छे, म निस्केर कहाँ जाऊँ ?’

अचम्म ! टोलका मान्छेले उसकै पक्ष लिए ।

त्यसै दिनदेखि मैले दुवैको वास्ता गर्न छोडेँ । मैले अलग्गै खाना बनाउन थालेँ । म सुत्ने छाप्रोमा अमरावतीले टेक्न छोडी । उसले टेक्न छोडेपछि धनुष पनि आउन छाड्यो ।

छोराछोरी अमरावतीबाट पनि जन्मेनन् । सबैले अनुमान लगाए– धनुष नै बाँइझ हुन् ।

धनुषले बाँइझ भएर पनि आफ्नो दोष देखेनन् । झन् ममाथि नै सौता थप्ने अदम्य साहस गरेकामा मलाई उनीदेखि अत्यधिक घृणा लाग्थ्यो । धनुषले मसित नबोलेकैमा मलाई आनन्द लाग्थ्यो । म नबोलेरै धेरै खुसी थिएँ ।

जसले आफ्नो चित्त दुखाउने मान्छेको वास्ता गर्न छोडेर आफ्नो जीवन जिउन थाल्छ, त्यो नै संसारको सबैभन्दा बढी सुखी र खुसी लाग्छ मलाई । त्यसैले स–साना खुसी पनि आफैँमा खोज्न थालेँ । आफ्नै हेरचाह गरेर रमाउन थालँे ।

उनले सुनकै जलप लगाएर कुरा गरे पनि मेरो मन कहिल्यै पग्लिने छैन । म यतिविधि कठोर बनिसकेकी थिएँ कि धनुष सर्वाङ नांगै मेरो अगाडि उभिए पनि मलाई उनीप्रति कुनै संवेग, प्रेम र दयाभाव उत्पन्न हुने छैन । मेरो मन उनीप्रति जति कमलो थियो, त्योभन्दा हजारौँ गुणा कठोर बनिसकेको थियो ।

एक समय थियो, धनुष प्राणभन्दा पनि प्यारो लाग्थ्यो । तर, उनले अमरावतीलाई ल्याएको दिनदेखि घुनले खाएर काठ छियाछिया भएझैँ मेरो मन पनि छियाछिया भएको थियो । घुन लागेको काठ कहिले नजोडिएझैँ मेरो मन पनि उनीप्रति जोडिन कहिले तयार थिएन ।

अब म नितान्त एक्लो थिएँ । मेरा साथी बाख्राहरू थिए । त्यसलाई म सन्तानजस्तै हेरचाह गर्थेँ । चराउन लगेको बेलामा म बाख्रासँग कुरा गरेर बस्थेँ । आनन्द लाग्थ्यो । बाख्रा पनि मेरो कुरा बुझेर कान हल्लाउँथे । मेरो वरिपरि डुल्थे ।
वास्तवमा मलाई ती आत्मीय लाग्थे । मेरो विचारमा सहमति जनाउँथे !  घाँस खाँदै मलाई नृत्य देखाउँथे । तिनको नृत्य देखेर म हाँस्थेँ । उनीहरू मेरो जीवनको एउटा अंग बनिसकेका थिए । बाख्राहरूमा मैले कहिल्यै धनुषजस्तो खोट देखिनँ ।

हेरचाह गरेर पालिएको खसीहरू बेच्न थालेँ । त्यही पैसाले मैले आफ्ना लागि लुगाफाटो र दालचामल किनेर जीवन बिताउन थालेँ ।

म गिरहतको खेतमा खेताला बन्न कहिल्यै गइनँ । जाने इच्छा पनि लागेन । बाले तिनै गिरहतको खेतमा गएर मृत्युवरण गरेका थिए । बालीमा विष छर्न पठाउने गिरहत र मेरो अर्को बिहे गराउन बाध्य बनाउने समाजप्रति मलाई घृणा लाग्छ । थुक्न मन लाग्छ । म टोलमा पनि कसैको घर जाँदिनँ । मलाई मान्छेले असामाजिक पनि भन्छन् । कसैसँग मिल्दिन भन्छन् ।

भने भनून्, मलाई केही फरक पर्दैन । मेरो जीवन उजाड बनाउने समाजलाई कसरी मैले माफी दिएर मिल्न जाऊँ ?

पछिपछि धेरै व्यस्त हुन थालेँ । विस्तारै बाख्रापालन गरेर आत्मनिर्भर हुन चाहन्थेँ । दिनभरि बाख्रा चराउनमै व्यस्त हुन्थेँ । राति घर फर्केर खाना पकाएर खान्थेँ । सुत्ने बेलामा भने धनुष र सौताको रासलीलाको आवाजले मलाई असामान्य बनाउँथ्यो ।

यद्यपि, लखना र उसको स्वास्नीको झगडाले मेरो मन शान्त हुन्थ्यो । म आनन्दले निदाउँथे ।

धनुष गिरहतको खेतमा काम गरेर ढिला फर्किन्थे । उनलाई राति ज्वरो आउँथ्यो भन्ने सुन्थेँ । राति उठेर अमरावतीले मरुवाको पिठो दलिदिन्थी जिउभरि ।

यस्तै–यस्तै सुनाउँथे, टोलका मान्छे । तर, मलाई एकपटक पनि उनले र अमरावतीले केही भनेनन् ।

धनुष दुब्लाउँदै गएका थिए । उनको जिउ सुक्दै र कालो हुँदै गएको थियो । म दिनभरि बाख्रा चराउने भएकीले घरमा के हुन्थ्यो मलाई थाहा हुँदैन्थ्यो ।

६ महिनापछि बेलुकी जब बाख्रा चराएर फर्केँ, घरमा टोलका मानिस जम्मा भएका थिए । अमरावती रोइरहेकी थिई । भीडबाट बाहिर निस्कँदै गरेको लखनाले मतिर हेर्दै भन्यो, ‘दिदी भिनाजु त माथि पुगिसक्नुभएछ ।’

उसको कुरा सुनेर भीडलाई छल्दै मैले हेरेँ । पूर्वरिया छाप्रोको ओसरामा धनुषको शव उत्तरतिर फर्काएर सुताइएको थियो । कालो, सुकेको उसको जिउमा छाला र हड्डी मात्रै बाँकी थियो ।

लखनालाई बोलाएर उनको काजक्रिया गर्नका लागि बाख्रा बेचेको पैसा दिएर बाँस, कफन (कात्रो) किन्न अह्राएँ । उनको अन्तिम बिदाइका लागि गंगाजल, घिउ, जौ, तिल, गुइँठा, दाउरा, ढकना, पतली सबै तयार गरेँ । उनको अन्तिम बिदाइपछि विधिवत् रूपमा श्राद्ध पनि गरेँ ।

धनुषको निधनपछि अमरावती माइती गई । ऊ फर्केर आइन । मैले पूर्वरिया छाप्रोमा पनि बाख्रापालन थालेँ । पाँचवटा बाख्रा र सातवटा खसी छन् । म दिनभर बाख्रा चराउनैमा व्यस्त हुन्छु । थकाइ लागेर लखतरान हुन्छु ।

राति सुत्ने बेला लखनाले स्वास्नीलाई दारु पिएर गाली गर्न थाल्छ । उसका छोराछोरी रुन थाल्छन् । उसको घरमा हल्ला मच्चिन्छ ।

हिजोआज भने मलाई लखनाको हल्ला सुनेर सारै दिक्क लाग्छ । म विरक्तिन्छु । पैसा भयो भने म अर्कै ठाउँमा थोरै जग्गा किनेर सर्ने विचार गर्दै छु । लखनाको हल्लाले मेरो मिठो निद्रालाई भंग गरेको अनुभव हुन्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC