रुकु कार्कीको ‘जीवनका विविध आयाम’ शीर्षकको निबन्धसंग्रह प्रकाशित भएर भर्खरै बजारमा आएको छ । साहित्यका विभिन्न विधामा कलम चलाउने कार्कीका बालसाहित्यका कृतिबाहेक पनि एक दर्जन कृति प्रकाशित छन् ।
कविता, कथा, उपन्यास, आत्मकथा आदि विधामा रुचि राख्ने उनी पछिल्लो समय निबन्ध विधामा क्रियाशील देखिन्छिन् । संस्मरणात्मक आत्मपरक निबन्धका रूपमा रहेको यस कृतिमा उनले आफ्ना वैयक्तिक जीवनका निजी भावना र अनुभूतिहरूलाई कलात्मक रूपमा प्रस्तुत गरेकी छन् ।
साथै, यस कृतिमा विभेदकारी नेपाली समाजको चित्र छ र लैंगिक विभेद र जातीय विभेदले कुरूप बनाएको नेपाली समाजप्रति निबन्धकारको तीव्र असन्तुष्टि छ ।
प्रस्तुत निबन्धसंग्रहमा समेटिएका १८ वटा निबन्धहरूलाई विषयवस्तुका दृष्टिले हेर्दा मूलतः चारवटा विषय वा भावमा केन्द्रित भएर लेखिएका देखिन्छन् । ती चार विषयमध्ये पहिलोमा आफ्नो जन्मस्थान र मातृभूमिप्रतिको प्रेम र त्यससँग जोडिएर आएका याद र स्मृतिहरूलाई संस्मरणात्मक रूपमा लेखिएका निबन्धहरू पर्दछन् ।
यसप्रकार निबन्धहरूमा आफूले हिँडेर आएका बाटो, आफू उभिएको माटो र आफूलाई छोएर गएको समयलाई विषयका रूपमा अभिव्यक्त गरिएको छ भने दोस्रोमा नेपाली नारीहरूले यो पितृसत्तात्मक विभेदयुक्त समाजमा भोग्नुपरेको अन्याय र तीतो अनुभूति अभिव्यक्त गरिएको छ ।
खास गरी नारी जीवनका जटिल पक्षहरूको उद्घाटन गर्नुका साथै नारी अस्तित्व र चेतनातर्फ अभिमुख भएका निबन्धहरू यसमा समेटिएका छन् । साथै, नेपाली समाजमा विद्यमान लैंगिक विभेदप्रति आफ्नो तीव्र असन्तुष्टि व्यक्त गरिएका छन् ।
यसैगरी, तेस्रो विषयवस्तुका रूपमा सामाजिक यथार्थ र समसामयिक घटनाहरूप्रति आफ्ना विचार र दृष्टिकोण व्यक्त गरिएका निबन्धहरू समेटिएका छन् । समाजका विषमता र विसंगतिलाई उजागर गरेर यस्ता पक्षहरूमा नेपालीहरू सचेत हुनुपर्ने दृष्टिकोण समेत प्रस्तुत गरिएका यसप्रकारका निबन्धहरूमा वर्तमान राजनीतिप्रति वितृष्णा व्यक्त गरिएका छन् ।
त्यस्तै, चौथो विषयवस्तुका रूपमा प्रकृतिप्रतिको निश्छल प्रेम र सूक्ष्म रूपमा पर्यावरणीय चेतना प्रस्तुत भएका निबन्धहरू रहेका छन् । यस्ता विषयवस्तु आएका निबन्धमा मुख्य रूपमा जीवजन्तु, प्राणी र वनस्पतिप्रति संवेदनशील हुँदै तिनीहरूप्रतिको चासो र सदाशय व्यक्त गरिएको छ ।
प्रस्तुत निबन्धसंग्रहका केही निबन्धमा नेपालको युद्धकालीन दिनमा आम नेपाली नागरिकले खेप्नुपरेका सन्त्रास र सकसको स्थितिलाई पनि संस्मरणात्मक रूपमा प्रस्तुत गरिएको छ । यस्ता निबन्धमा युद्धका कुराभन्दा पनि युद्धले सर्वसाधारणमा पारेको मनोवैज्ञानिक प्रभावलाई व्यक्त गरिएको छ ।
साथै, यस संग्रहका निबन्धहरूमा जीवन र मृत्युसम्बन्धी धारणा, आफ्नो साहित्य यात्रा र साहित्यिक लेखनले आफ्नो व्यक्तित्वमा पारेको प्रभाव आदि स्वतस्फूर्त रूपमा निबन्धमा प्रकटीकरण भएका छन् ।
‘वास्तवमा सारा भूगोल आफ्नै घर रहेछ । एउटा स्थायी ठेगाना जोडिएको छ । घर आफ्नो प्यारो संसार चाहे महलमा बसोस् चाहे दरबारमा, चाहे छाप्रोमा बसोस् घर शब्द नै सबैलाई प्रिय लाग्छ । घर आफ्नोपनको चिनो हो । घर आफू सुरक्षित रहने ठाउँ पनि हो । जुनसुकै मानिस आफ्नो घरलाई स्वर्ग ठान्छन् । (पृ. १६४) यसरी हरेक विषयमा संवेदित भएर पोखिनु निबन्धकार कार्कीको विशेषता हो ।
प्रस्तुत निबन्धमा सबैभन्दा बढी र सबैभन्दा प्रभावकारी रूपमा व्यक्त भएको विषय नै नारी जीवनका जटिलता र भोगाइहरू हुन् । नारीले सहँदै आएका अन्याय, दुःख, पीडालाई उजागर गरिएका उनका कतिपय निबन्धहरू समाजले गरेका यावत् असमान व्यवहार र विभेदप्रतिको असन्तुष्टि र विरोधहरूमा केन्द्रित छन् ।
नारीको जीवन जटिल बन्नुमा यौन र यससँग जोडिएका पुरुषनिर्मित मूल्य र मान्यताहरू नै भएको ठम्याइ निबन्धकारको रहेको छ । यस सन्दर्भमा निबन्धमा भनिएको छ, ‘धर्म–संस्कृतिको सहारामा महिलाको सारा अस्तित्व यौनकर्ममा सीमित गरिदिएको छ । स्वस्थानी कथाकी वृन्दाको बलात्कार होस् वा महाभारतकी द्रौपदीको चीरहरणपछि भएको महाभारतको लडाइँ होस् या रामायणकी सीताको अग्निपरीक्षा होस् यी सबै कथाले महिलाको अस्तित्व र जीवनलाई कमजोर बनाएको छ । (पृ.१४२)
वास्तवमा निबन्ध भनेकै कत्ति पनि नलुकाई आफैँलाई प्रस्तुत गरिने विधा हो । त्यसैले यस कृतिका कतिपय निबन्धमा निबन्धकारका वैयक्तिक भोगाइ र अनुभूति मार्मिक रूपमा पोखिएका छन् । यसरी पोख्ने क्रममा आफूलाई प्रेरणा र साथ दिने व्यक्तिहरूलाई पनि आदरसहित सम्झना गरिएको छ ।
वैदेशिक रोजगारीमा जाने क्रम दिन प्रतिदिन बढ्दै गएको र यसले देश र नेपाली समाजमा मात्र होइन, व्यक्तिको जीवनमा पनि डरलाग्दो किसिमले नकारात्मक प्रभाव पारेको यथार्थलाई तार्किक रूपमा प्रस्तुत गरिएको छ ।
केही निबन्धमा आफूमा प्रभाव जमाउन सफल ऐतिहासिक व्यक्तित्वहरूलाई पनि निबन्धको विषय बनाइएको छ । यस्ता व्यक्तिहरूमा योगमाया र रूपचन्द्र विष्ट रहेका छन् । नारी चेतनाको संवाहक राष्ट्रिय विभूति योगमायाको अभियान र यससँग जोडिएर आएको नारीबोधी चेतना र नारी अस्तित्वप्रतिको सचेतता निबन्धमा प्रभावकारी रूपमा प्रस्तुत भएका छन् ।
यसैगरी, संस्मरणत्मक शैलीमा लेखिएको रूपचन्द्र विष्ट र उनको थाहा अभियानसँग सम्बद्ध निबन्ध रोचक र प्रेरक लाग्छ । पहिले परपराउने, टर्रो र रुखो स्वभावका रूपचन्द्र विष्ट पछि किन प्रिय र प्रेरक लागे भन्ने अनुभव प्रस्तुत गरिएको यस निबन्धमा विष्टले प्रयोग गर्ने गालीको भाषा र उनको दर्शनका बारेमा बुझाउने प्रयास समेत गरिएको छ ।
यस कृतिका निबन्धमा मानवीय जीवन मात्र होइन, पशुपन्छीको जीवन र तिनका संघर्ष र भोगाइलाई पनि सूक्ष्म रूपमा अवलोकन गरी निबन्धमा प्रस्तुत गरिएको छ । यहाँ बिरालोको परिवारको कथा, वृद्धावस्थामा पुगिसकेको वरपीपलको कथा, चराहरूको कथा निबन्धका विषय बनेका छन् ।
यसका साथै देशको समसामयिक घटनाहरू जस्तै, भूकम्पले गरेको विनाश र त्यसबाट उत्पन्न सन्त्रासकालीन दिनहरू, कोरोनाले ल्याएको विपत्कालीन दिनहरूको चित्रण पनि यस कृतिका कतिपय निबन्धमा विषयवस्तुका रूपमा आएका छन् ।
कतिपय निबन्ध निबन्धकारमा रहेको आध्यात्मिक प्रभावले निथु्रक्क भिजेर लेखिएका छन् । मातृदेवो भवः पितृदेवो भव यस्तै प्रकारको निबन्ध हो । भौतिकतावादी जीवनशैलीमा लट्ठ परेका मान्छेप्रति निबन्धमा अनेकौँ प्रश्न गरिएका छन् ।