site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जीवन पार्टी प्यालेस
Sarbottam CementSarbottam Cement

विमर्शको घरअगाडि जीवन पार्टी प्यालेस खुलेको धेरै समय भएको छैन । पार्टी प्यालेस खुल्नुभन्दाअघि त्यस ठाँउमा कबाडी सामानहरूको भन्डारण हुन्थ्यो । बिहान–बिहान घरको कौसीबाट हेर्दा सर्वप्रथमतः कबाडको दर्शन हुने ! घरबाहिर निस्कँदा थोत्रा समानहरूको दर्शन हुने ।

बाटोमा जताततै फोहर पनि उत्तिकै ! छरछिमेकमा समेत दुई–चार घरबाहेक क्यै थिएन । रातको समयमा त झन् कुकुर र स्यालहरूको रजाइँ नै हुन्थ्यो ।

पार्टी प्यालेस आएपछि भने उसको घरको रवाफ मात्र होइन, सिंगो टोलको कायाकल्प भएको छ । पार्टी प्यालेसका साहुले सार्वजनिक बाटोमा समेत आफ्नै खर्चमा झिलिमिली बत्ती लगाइदिएका जो थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अबका दिनमा ठेलागाडा, पिकअप अथवा ट्रकका ठाउँमा चिल्ला कारहरू आउन थालेका थिए । सो पार्टी प्यालेसको सौन्दर्य दिनको उज्यालोमा खासै मुखर नभए पनि रातको झिलिमिलीमा जानदार, सानदार र झक्कास पाराको हुन्थ्यो । एकदम षोडशी सुन्दरीजस्तै !

पार्टी प्यालेसभित्र मोटामोटी पाँच सय मान्छे खाम्ने खालको टिनको छाना भएको एउटा ठूलो हल थियो । र, अतिथिहरूको विश्रामका लागि सर्वसुविधासम्पन्न सालाखाला बीस–पच्चीसवटा कोठा थिए । अनि, खुला प्रांगण पनि त्यतिकै ठूलो ।

Global Ime bank

सुरुसुरुमा उसलाई त्यो पार्टी प्यालेस कुनै तिलस्मी संसारभन्दा कम लाग्दैनथ्यो । सेवानिवृत भएदेखि उसको खास काम केही थिएन । मौका मिल्यो कि ऊ चिया सुर्क्याउँदै कौसीमा पुग्थ्यो । र, नियालिरहन्थ्यो, पार्टी प्यालेस र त्यहाँ आवतजावत गर्ने महिला–पुरुषलाई ।

सबैजना औपचारिक पहिरन र थरीथरीका परफ्युमको बास्नाले घनीभूत । कोही ठूलो कारमा, कोही सानो कारमा त कोही ट्याक्सीमा । अनि, कोही मोटरसाइकलमा ।

राति ओछ्यानमा ढलेपछि पनि उसका कान अबेलासम्म पार्टी प्यालेसभित्र बज्ने बाजागाजा र गीत–संगीततिरै तेर्सिएका हुन्थे । बिस्तारै त्यो पार्टी प्यालेससित समेत उसको मोहभंग हुँदै गयो ।

शान्ति भंग भयो भनेर केही महिनासम्म टोलका मान्छेले कचकच गरे । बिस्तारै तिनीहरूमा समेत हल्लाखल्लाको बीचमै निदाउने सामर्थ्य पैदा हुँदै गयो । सँगसँगै कचकच पनि मत्थर भयो ।

विमर्श ओछ्यानमा गुट्मुटिएर रातभरि गाना सुनेर नै बिताउँथ्यो । पार्टी प्यालेसमा फरक–फरक समयमा बज्ने फरक–फरक गाना सबै उसलाई कण्ठस्त भइसकेको थियो ।

जन्ती टोलमा पसिरहँदा जन्तको उल्लास झल्काउने गाना सुरु हुन्थ्यो, ‘आज मेरे यार की सादी है...।’

ढोकाभित्र छिरिसक्दा बेहुलीको तर्फबाट प्रणय प्रस्ताव झल्काउने गाना सुरु हुन्थ्यो, ‘बहाराें फूल बरसाओ मेरा महबुब आया है...।’ वरमालाको कार्यक्रम सुरु हुँदा भगवान् श्रीराम र सीताको स्वयंवर सम्झाउने खालको गीत सुरु हुन्थ्यो, ‘रघुपति राघव राजा राम...।’

राति एघार बजेपछि बल्ल सुरु हुन्थ्यो, सुराप्रेमीहरूका गीत ‘पिउँदिनँ भन्दाभन्दै पिलायो साथीले...’ अथवा ‘सारा जमाना हँसिनो का दिवाना...।’ खैर, राति दुई बजेपछि गीतहरू मत्थर हुँदै जान्थ्यो ।

बिहान सूर्यदेवको पुनरागमन हुँदासम्म पार्टी प्यालेसभित्र गीत सुन्ने र सुनाउनेमध्ये कोही बाँकी हुँदैन थिए ।

जति ढिलो सुते पनि विमर्श बिहानीको घुमघाम कहिल्यै छुटाउँदैनथ्यो । एक रातअगाडि दुलहीझँै सिँगारिएको पार्टी प्यालेस बिहानको उज्यालोमा कस्तो देखिन्छ भनेर उसलाई सदैव कुतकुती लागिरहन्थ्यो ।

ऊ बिहानीको डुलडालका नाममा पार्टी प्यालेस वरिपरि नै घुमिरहन्थ्यो । जीवन पार्टी प्यालेसको चार किल्ला पर्खालको नाममा लोहाको ग्रिलबाहेक केही थिएन । गेटभित्र पस्दा पनि विमर्शलाई कसैले रोक्दैनथ्यो । ऊ कहिलेकाहीँ भित्री भागको अनुगमन गर्न पनि भ्याउथ्यो ।

अन्तमा ऊ आप्mनो प्रातःकालीन डुलडालको विसर्जन पार्टी प्यालेसको ठ्याक्कै छेउमा रहेकोे पसलमा पुगी चिया सुर्क्याएर गर्थ्यो । त्यो पनि टोलछिमेकका साथीहरूका साथ ।

एकाबिहानै चिया पसलमा पुग्दा पसल साहु दर्शन बाजे एक्लै यताउता गरिरहेका थिए । अरू कोही नभेटेर ऊ दर्शन बाजेसितै गफिन खोज्यो, “दर्शन दाइ, यो पार्टी प्यालेस पनि अनौठो छ हगि ! रातको झिलिमिलीमा गज्जब देखिन्छ । बिहानको उज्यालोमा भने नितान्त उराठलाग्दो ।”

दर्शन बाजेले मुसुक्क मुस्काएर मात्रै काम चलाए । कुनै जवाफ फर्काएनन् । चिया सुर्क्याउँदै विमर्शले बह पोख्ने कामलाई निरन्तरता दियो, “सर्वप्रथम त आतिथ्यले मुख्यद्वारदेखि भित्री भागसम्म शृंगारपटारमा लाखौँ खर्च गर्छन् । देशीविदेशी फूल, बिजुलीबत्ती र आकर्षक पण्डालहरू लगाउँछन् । भोजभतेरमा समेत एकसेएक भेराइटीका परिकार राख्छन् । तीमध्ये आधीजति जुठोमै फालिन्छ । अर्को दिन क्यै न क्यै । उही घोडा उही मैदान !”

“हो नि, के गर्नु ! म त दिनका दिन यही हेरिराखेको हुन्छु । फ्रीको रक्सी पचाउन नसकेर मेरै पसलअगाडि कतिजनाले बान्ता गरेका हुन्छन्,” दर्शन बाजेले हाँस्दै जवाफ फर्काए ।

“त्यही त ! हिजो बिहान म डुल्दै भित्रसम्म पसेको थिएँ, जताततै प्लास्टिकका गिलास र प्लेट फालिएका थिए । भुईँका कार्पेट जथाभावी गुटमुटिएका थिए । कुर्सी, टेबलहरू जथाभावी ढल्किएका थिए । अनि, मलाई अचम्म लाग्यो, हिजो राति त्यति सम्मान पाएका सामग्रीहरूको अवस्था किन एकै दिनमा परित्यक्तजस्तो भएको होला ! भाँडाकुँडा सफा गर्ने ठाउँमा थुपारिएका जुठा भोजनहरू देखेर मेरो मन कमिलाले चिलेभन्दा बढी पोलेको थियो ।”

दर्शन बाजेले हाँस्दै भने, “ठिक भन्नुभयो । हरेक कार्यक्रमपश्चात् यो पार्टी प्यालेसबाट विदेशी रक्सीका खाली बोतलहरू मात्र पाँच बोरासम्म बाहिरिन्छन् । सबै बोतल मैले नै किन्ने गरेको छु । रक्सी भरिएसम्म हजारौँको, खाली भएपछि दश–पाँच रुपैयाँको ! मेरा हजुरबा ठिकै भन्थे– कुरो मान्छेको होस् अथवा रक्सीको, असल मूल्य त भित्री तत्त्वकै हुन्छ ।”

ख्यालख्यालमै दर्शन बाजेले गहिरो दार्शनिक कुरो झिकिदिएका थिए । विमर्शले पनि आफ्नो कन्थो दार्शनिक क्षेत्रतिर मोड्न खोज्यो, “बाजे, मलाई लाग्छ, यस्ता पार्टी प्यालेसहरूले हाम्लाई एक किसिमको सन्देश दिइराखेका हुन्छन् ।”

“कस्तो सन्देश ?,” बाजेले कौतूहल प्रकट गरे ।

“हे मनुवा ! तिमीहरू लाख गर, स्वाङ अथवा आडम्बर । यो चराचरजगत् तिमीहरूका लागि पार्टी प्यालेसजस्तै हो । र, तिमीहरू स–सम्मान आमन्त्रित अतिथि । कार्यक्रम सकिएपछि तिमीहरूलाई आफ्नो घरमा फर्किनु नै पर्छ । उम्किने कुनै चान्स नै छैन ।”

बाजे हाँस्न थाले, “शतप्रतिशत सत्य कुरो झिक्नुभयो तपाईंले । बिहेबारीको काम सकिएपछि बेहुला र बेहुली, दुवै पक्षका मान्छे आ–आफ्नो झिटीगुन्टासहित फर्कन लाग्दा उनीहरूको अवस्था हेर्न लायकको हुन्छ । हिजो रातिसम्म राजा–महाराजाको स्वाङमा रहेकाहरू ऊर्जाहीन र बिचरा भएका हुन्छन् । रौनक र उत्साहको कुरो त परै जाओस्, अनिदोले आँखा लट्ठ परेका हुन्छन् । पहिरन पनि जताततैबाट गुजमुजिएका । मानौँ, कुनै जुवामा राम्ररी पराजित भएका हुन् ! अनि, मलाई पनि अचम्म लाग्छ, अघिल्लो रात उफ्रीउफ्री नाँच्ने, भाँच्ने गरी कम्मर मर्काउने, घाँटी सुक्ने गरी चिच्याउने, सिटी बजाउने, न आफू सुत्ने न हामीलाई सुत्न दिनेहरू के यिनीहरू नै हुन् ? मैले त कतिसम्म सुन्या छु भने कतिपयले लाखौँ रुपैयाँ कर्जामा लिएर भए पनि यस्ता नक्कली सान देखाउने गर्छन् ।”

विमर्श झनै हौसियो, “बाजे, पार्टी प्यालेससित जोडेर मान्छेको अवस्थालाई तीन भागमा बाँड्दा कसो होला ? भोजभतेर अथवा बिहेबारीको तैयारी गर्दैगर्दाको अवस्था अर्थात् मान्छेको बाल्यावस्था । भोजभतेर अथवा बिहेबारीको रमझम चल्दै गर्दाको अवस्था अर्थात् मान्छेको यौवनकाल । भोजभतेर अथवा बिहेबारी सकिएपछि घर फर्कंदै गर्दाको अवस्था अथवा वृद्धावस्था ।”

“एकदम मेरो मनको कुरो झिक्नुभयो तपाईंले । मान्छेले आफ्नो यौवनकालमा जति रमझम, तामझाम अथवा हल्लाखल्ला गरे पनि वृद्धावस्था पुग्दासम्म थकित, पराजित र ऊर्जाहीन मानसिकतामा पुगिसकेको हुन्छ । किन हुनुपर्यो यस्तो ? फर्कने बेलामा समेत रमाइला गीत सुसाउँदै छमछम नाच्दै गए हुँदैन ?”

बाजेले यस्तो प्रश्न ठोक्लान् भन्ने विमर्शले सोचेकै थिएन । ऊ जुरूक्क उठ्यो र भन्यो, “बाँकी कुरा भोलि गरौँला दर्शन दाइ ! अहिलेलाई यति नै ।”

यति भन्दै ऊ त्यहाँबाट हिँड्यो ।
(वीरगन्ज)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC