
काठमाडौं । निजी क्षेत्रको मोबाइल प्रदायक कम्पनी एनसेलले करिब ९० प्रतिशत नेपाली जनताको पहुँचमा आफ्नो फोरजी सेवा विस्तार गरेको छ ।
एक वर्षको अवधिमा मात्रै एनसेलले करिब ३५० वटा फोरजीका टावरहरु थप गरेको छ ।
एनसेलको प्यारेन्ट कम्पनी आजियाटाले सार्वजनिक गरेको २०२२ को तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार एनसेलले ३ हजार ८ सय ८१ फोरजी बीटीएस जडान गरि सेवा दिँदै आएको छ ।
सन् २०२१ को तेस्रो त्रैमाससम्म एनसेलको फोरजी टावर ३ हजार ५ सय ३३ रहेको थियो ।
पछिल्लो प्रतिवेदनअनुसार एनसेलले करिब ३५० वटा फोरजीका टावरहरु थप गर्न सफल भएको जनाएको छ ।

एनसेलका अनुसार उसले झण्डै कुल जनसंख्याको करिब ९० प्रतिशतको पहुँचमा पुग्ने गरि फोरजीको विस्तार गरिसकेको छ र उपभोक्तामाझमा मोबाइल डेटा सेवाको माग पनि बढ्दो क्रममा रहेको छ ।
केही महिना अघि मात्र एनसेलले इन्टरनेटको गति मापन गर्ने विश्वप्रसिद्ध कम्पनी ओक्लाबाट नेपालकै फास्टेस्ट मोबाइल नेटवर्कको अवार्ड पाएको थियो ।
एनसेलले कसरी पाएको थियो अवार्ड ?
सबै अपरेटरहरू विश्वव्यापी रूपमा एन्ड्रोइड र आईओएसको मोबाइल प्लेटफर्महरूमा गरिएको स्पिड टेस्ट परीक्षणहरूमा आधारित हुन्छन् ।
एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा यो सम्मान पाएको थियो ।
यसलाई एनसेलले सफलताको रुपमा लिएको छ ।
नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो ।
यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निक्र्योल गरिएको थियो ।
ओक्लाले जनवरी देखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीड टेस्टलाई तुलना गरेको थियो ।
ओक्लाका अनुसार, परिक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनि पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परिक्षणहरू समावेश रहेका छन् ।
हरेक वर्ष एनसेलले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो पूर्वाधारमा निरन्तर लगानी गर्दै आएको छ ।
यसै वर्ष मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ अवार्डबाट सम्मानित भएको थियो ।
त्यसैगरी अप्रिल महिनामा काठमाडौंमा आयोजित १४ औं एचआर मिट सम्मेलनमा एनसेल ‘एक्सिलेन्स इन इम्प्लोयर ब्रान्ड अवार्ड २०२२’ बाट सम्मानित भएको थियो ।
सन् २०२४ सम्ममा नेक्स्ट जेनेरेसन डिजिटल च्याम्पियन बन्ने आजियाटा समूहको आकांक्षा र सोचअनुसार सबैभन्दा लोकप्रिय ब्रान्ड बन्न चाहेको एनसेलको भनाई रहेको छ ।
डिजिटलाइजेसन एनसेलको प्रमुख क्षेत्रमध्ये एक रहेको बताउँदै आफूहरुको लक्ष्य भनेको नै ग्राहकहरुलाई सबै दूरसञ्चार सेवाहरू मार्फत जोड्नु, ग्राहकहरूको लागि ब्रान्डको मूल्य सिर्जना गर्नु र सधैं नैतिक र गुणस्तरीय सेवाहरू प्रदान गर्नु रहेको एनसेलले जनाएको छ ।
सरकारले अवलम्बन गरेको खुला बजार नीतिको परिणामस्वरुप नेपालमा दूरसञ्चारलगायत धेरै क्षेत्रहरु फस्टाएका छन् । दूरसञ्चार सेवा अहिले देशमा एक मात्र यस्तो सेवा हो जो हरेक घरमा पुुगेको छ ।
जहाँ सेलुलर मोबाइल सेवाको पहुँच १४० प्रतिशत पुगिसकेको र डाटा सञ्जाल कुल जनसंख्याको झन्डै शतप्रतिशत पुगेको छ ।