site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वर्षा ऋतु
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

 राजेश अधिकारी


घटाको फेटा गुथेर अम्बर मस्किन्छ खुलेर
गर्जियो मेघ गड्ड गरी त्रिभुवन डुलेर
नाच्दछे बादल नर्तकी बनी नौ डाँडा चुमेर
उड्छ पवन सरर बगी भूमण्डल घुमेर  
कालो र मैलो गगनबीच चट्याङको रजाइँ  
बिजुली चम्किई झलल हुँदा हर्ष र बढाइँ
असिना दाना मदोन्मत्त बनी व्योममा जमेका
मेदिनी चुम्न लालायित बनी आफैँमा रमेका 
प्रचण्ड राप उखुम ताप घमाइलो घामको
वर्षाको ऋतु चरित्रै आद्र सुन्दर छ नामको 
ओसिला बूँद गगनमाथि जलढिक्का बन्दछन् 
शीतको घ्याम्पो फुटेर तल मोतीजल झर्दछन् 
पियुष दाना वर्षा भै झर्छन् भूजीव रमाउँछन् 
वर्षाकी देवी रथमा चढेर धरामा आउँछिन्  
इन्द्रेणी रानी मुस्काउँदै मधुर गान गाउँछिन् ।  
०००
हाँस्दछ तृषित भू–जल पिई अभ्रको प्रसाद
नाच्दछन् जीव खुसीले रमाई बनेर उन्माद 
बग्दछ भल आउँछ बाढी खहरे र नदीमा
भरिन्छ सलिल आहाल गरा डोबिल्काहरूमा 
घन्किन्छ मीठो असारे भाका रोपाइँको माहोल
धानको चाड बेठीको रौनक हिलाम्मे भूगोल
हली, रोपार अनि बाउसे सारा नाच्छन् झुमेर  
मानो रोपेर मुरी फलाउने सपना बुनेर
पत्झर वनले पीयुष पिई जन्मायो पालुवा 
स्वर्गको अमृत पिएर हरे ब्युँझियो बालुवा   
वर्षाको पानी तृप्तिको खानी पलाउँछ बहार 
धरित्री पहिरी रिमिक्क पर्छिन् जलको जुहार 
ऋतुमा श्रेष्ठ यो वर्षा ऋतु घ्युफलझैँ रसिलो 
बाढीपहिरो आएता पनि मौसम छ हँसिलो
छ ऋतुमध्ये सुन्दर यो छ विशेषतै ओसिलो 
वर्षा ऋतुले घुम्टो खोलिन् फुकी जलधि तरंग 
जलाशयहरू नाच्न थाले लिई उच्च उमंग 
ओसिली ऋतुले प्रश्वास गर्दा फैलिन्छ सौम्यता 
जलधारा पिई प्राणीहरू पाउँछन् जीवन्तता    
झरीकी देवीले तथास्तु गर्दा बौरिन्छ बन्जर 
चिम्टे ढुङ्यानी जर्जर भूतल बन्दछ उर्वर
पोल्टोमा वृष्टि बोकी जलपरी घुम्छिन् त्रिमन्डल 
सुन्दरी वर्षा कानमा लाउँछिन् मेघको कुन्डल 
पखाल्छ कुपित धुलो र मैलो वर्षाको पानीले 
वर्षा ऋतु मानिन्छ राम्रो यही असल बानीले 
आफ्नै लक्षण फरक स्वभाव छवटै ऋतुको  
रसिलो मौसम पोसिलो वृष्टि यो वर्षा ऋतुको    
समुद्रबाट बाफ उडेर नभयात्रा गर्दछ  
बादलुलाई चुम्बन गरी जलकण बन्दछ 
बादल हाँसेर हर्षाश्रु बहँदा वर्षा बन्दछ  
०००  
धनको नाश जनको क्षति यही बर्खे ऋतुमा 
बस्ती डुबेर सोत्तर भो यही मौसमी चक्रमा 
असिने झरी उर्लेर दर्कियो बाली भो सखाप 
अन्नका दाना सोत्तर भए सिद्द नै भो अफाप  
बाढीले सक्यो सहर र बस्ती डुबाई चुर्लुप्प 
बिध्वंंसै पार्यो पहिरोले निल्यो गाउँ नै खुर्लुप्प 
खोलाले काढ्यो उछित्तो हरे खेत जग्गा बगाई 
बिचल्ली भो यो दुःखीको दैव सुनिदेऊ दुहाई  
अँध्यारो नभै उज्यालो गौण दुःखबिनाको सुख 
घृणा नहुँदा प्रेम व्यर्थ इतिबिनाको आमुख
हिउँको ठिही आगोको ताप आफैँमा सुन्दर छ 
जसको प्रकृति जस्तो हुन्छ त्यो आफैँमा सही छ
जुन कृत्य प्रकृति विधानको हुने गर्छ मान्य
जो त्यो प्रकृति धर्म मान्दैन त्यो त्यसैले अमान्य 
धन्य ऋतुश्रेष्ठ वर्षा तिमी छौ सुन्दर सुरम्य । इति ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC