हिक्मत ऐर
फर्कूं त फर्कूं कसोरी ?
मेरो फर्कने आधार देखिँदैन ।
आफन्त छोडी विदेशिनु,
अर्काको देशमा दोस्रो नागरिक
भइरहन कसलाई पो रहर हुन्छ र ?
मलाई देश फर्कने
जीविका चलाउने आधार खै ?
विदेशमा पढेँ विश्व कर्पोरेट शिक्षा
त्यहाँ लिनुहुन्छ पुरानै कथाको परीक्षा ।
साथी त्यही लयमा पढी हुन्छन् पास,
सँगै गाउँले नेताको पनि चाहिन्छ हात
मैले कलेजमा झन्डा नै नबोकी कसको पाउँछु साथ !
मेरो पढाइ विश्वभरि कर्पोरेटजगत् चिन्दछ
त्यसैले त पढिसक्दा उतै जागिर दिन्छ ।
आज शिक्षामा हाम्रो अर्बौँ डलर विदेशिँदै छ
केही मजस्तै विदेशिएर पढ्नमा,
केही विदेशी कलेजको सम्बन्धन शुल्क तिर्नमा ।
आखिर हाम्रो शिक्षाको गुणस्तर खै ?
सधैँ त्रिविमा तालाबन्दीको खबर है ।
शिक्षाको समय हुन्छ
स्वदेश हो वा विदेश भन्न मिल्दैन
सकिनसकी ऋण काढी पढाउनु नै छ ।
आफ्नालाई घर फर्काउने आधार
केही निजी क्षेत्रको जागिरले देखाउँछ
सरकारी सेवामा पुग्न असम्भव नै देखिन्छ ।
सरकारको नीति नै बल, बुद्धि विदेश पठाई
बढीभन्दा बढी रेमिट्यान्स भित्र्याउने ।
आमा–बा हुँदा पो आउने जाने क्रम रहन्छ
पछिको पुस्ता त उतै नै रमाउनेछ ।