site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अभ्यन्तरमा झमेला
Sarbottam CementSarbottam Cement

त्यस्तै २०५६ सालतिर महोत्तरीको जिल्लाको सीडीओ छँदाको कुरा । प्रशासन कार्यालय बसेको घर झन्डै सय वर्ष पुरानो रहेछ । प्रजिअ निवास रहेको जलेश्वर दरबार पनि सँगसँगैजस्तो बनेको रहेछ ।

त्यही दरबारबाट भारतीय सीमा नाकापारि सुरसन्ड जिल्लाका राजाकी छोरीसँग रामशमशेर जबराको विवाह भएको थियो । पछि तिनै रामशमशेर महोत्तरीको बडाहाकिम नियुक्त भएका थिए ।

उनकै विवाहपूर्व बनेको रहेछ, जिल्ला प्रशासन बसेको अफिसघर पनि । अरू भाग कामचलाउ भए पनि शौचालय ज्यादै जीर्ण भइसकेकोले पुरानो संरचना भत्काएर नयाँ रूपमा पुनर्निर्माण गर्नैपर्ने थियो । त्यसैका लागि जिल्ला प्राविधिक कार्यालयले पुनर्निर्माण गराउने ठेक्का लगाएको रहेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

अक्सर आमनिर्वाचन सम्पन्न भएपछि सीडीओहरूको पनि आमसरुवा हुने चलन पुरानै हो । ०५७ वैशाखको संसदीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि यो पंक्तिकार पनि सरुवाको प्रतीक्षामा दिन गन्दै थियो । सरुवा पुर्जी भने हात परेको थिएन ।

प्रतीक्षाका दिनरात बितिरहेका थिए । सदाझैँ त्यस दिन पनि १० बजे कार्यालयमा उपस्थित भएर कामकाज गर्दै थिएँ । पल्लो कवलमा स्थानीय प्राविधिक कार्यालयका इन्जिनियर, ठेकदार र मिस्त्रीहरूले शौचालय पुनर्निर्माणको काम सुरु गर्दै रहेछन् ।

Global Ime bank

इन्जिनियरकै निर्देशन मुताबिक पहिलो चरणमा १०÷८ फिट क्षेत्रफलको पुरानो शौचालय खण्डखण्ड गरेर भत्काउन लागेका थिए, मिस्त्रीहरू । त्यता यसो एक दृष्टि दिएर आप्mनै कार्यकक्षतिर फर्कंदै मात्र थिएँ, एकाएक डरलाग्दोसँग गड्याम् ड्याम्म आवाज गर्दै पूरै घर लगलग कामेर थर्कियो ।

केके न दुर्घटना भयो भन्ठान्दै हत्तपत्त त्यता गएको त न सोचेको भयावह दृश्य पो देख्नुपर्यो । के डोठ्याङ पर्न गएछ कुन्नि, बाथरुम–शौचालय दुवै जोडिएको सिंगै कोठाको पूरै ढलान एकसाथ आफ्नो ठाउँ छोडेर तल झरेछ । अनि, दुईतर्फी गाराको बीचमा होडे परेर जर्जर बनेको स्ल्याब अड्किएछ ।

खस्दै गरेको स्ल्याबले कोल्टे परेर वारपार भित्तोमा अड्किँदा काम गर्न लाागेका तीनैजना मिस्त्रीलाई तीन छेउतिर हुत्याएर सबैका आधा हर च्यापिदिएछ । कम्मरसम्मको आधा शरीर विशाल स्ल्याबले थिचिएका बबुरा मिस्त्रीहरू ‘मरेँ मरेँ, बचाऊ बचाऊ’ भनेर रुँदै चिच्याउँदै आर्तनाद गर्न थाले ।

स्ल्याबले थिचिएका मिस्त्रीहरू तीनतिर गारामा च्यापिएको दृश्य हेरी नसक्नु दर्दनाक थियो । अफिसका कर्मचारी तुरुन्तै जम्मा भए । फसेका मिस्त्रीलाई हात समातेर माथितिर तान्ने कुरा चल्यो ।

घटनाको खबर पाउनेबित्तिकै गुल्मपति मदनबहादुर थापा र एसपीहरू गंगा पाण्डे, वसन्त राई दलबलसहित तुरुन्तै आए । सबैले आ–आप्mनै तरिकाले गौर गरेर हेर्नुका साथै उद्धारका अनेक उपायबारे चर्चा, विश्लेषण गर्न थाले । तर, छिरिक्क केही वस्तु चलाउनेबित्तिकै पूरै स्ल्याब गर्लम्मै तल भुईँमा झर्ने सम्भावना देखियो । त्यसो भएको खण्डमा च्यापिनेहरू पूरै तल झरेर किचिने र छियाछिया बन्दै स्ल्याबमुनि दबिने थिए ।

स्ल्याब नचलाई उनीहरूलाई सरक्क निकाल्ने बारे चाहिँदो माथापच्चिसी गर्यौँ । फलामका पोल या बाँसका घनामा स्ल्याब अड्याएर निकाल्न सकिन्छ कि भन्ने दोस्रो उपाय पनि सोचियो । तर, स्ल्याबमुनि उद्धारक केटाहरू पठाउने ठाउँ नै भएन ।

आर्मी, पुलिस पर्याप्त तैनाथ थिए । तर, सोझो बल प्रयोगले केही गर्न सकिने छाँट देखिएन । सीडीओ अफिसमा स्ल्याब भत्किएर मान्छे मारिए रे भनेर बेपत्तै हल्ला भएछ । कार्यालय आएका सेवाग्राहीको भीडमाथि बजारिया र गाउँलेहरू थपिएर क्षणभरमै कम्पाउन्ड, पर्खाल र वरपर नरनारी खचाखच भरिए ।

जिल्लाका नेता–कार्यकर्ता, विद्यार्थी, मास्टर अनि हाटबजार गर्न देहातबाट आउने नरनारीहरू अगाडि सडक र चोकभरि कुएर लागे । लफंगा र उत्ताउला कार्यकर्ताजति निहुँ झिकेर प्रशासनविरुद्ध हल्ला मच्चाउन थाले ।

धमिलो पानीमा माछा मार्ने असामाजिक तत्त्वले अफिसमा तोडफोड र आगजनी गर्ने आशंका थपियो । आर्मी, प्रहरी केटाहरू लगाएर उत्ताउला नारा लगााउने जमातलाई बल्लबल्ल कम्पाउन्डबाहिर पठायौँ ।

तर, बाहिर निकालेपछि तिनीहरू झनै उत्तेजित हुन थाले । प्रशासनविरुद्धका नारा–जुलुसले उतिबेरै बजार घन्की पो हाल्यो !

जनकपुरबाट दूरसञ्चारको क्रेन झिकाएर स्ल्याब तान्ने सोचाइ पनि आएको थियो । तर, ज्यादै पुरानो अनि मक्किएको आरबीसी स्ल्याब सरक्क उठाएर अन्त पन्छाउने हालतमा थिएन । उल्टै कडा वस्तुले छोयो कि त बाङबुङ भत्किने र चताचुन्ड खलबलिने डर थियो ।

यसो हुँदा च्यापिएका मिस्त्रीहरूलाई स्ल्याबले पूरै दबाइदिन पनि बेर थिएन । यो झन् डरलाग्दो परिणाम हुन सक्ने दुष्प्रयास मात्र ठहर भयो । किचिनेहरू ‘ऐया ऐया’ आर्तनाद गरिरहेका थिए ।

विवश, थकित र गलित त्यो आवाज झन्झन् हृदयविदारक बन्दै गयो । हामी त्यो आर्तनाद केवल सुन्न मात्र समर्थ थियौँ र विवश पनि । सेना, प्रहरी, हातहतियार केहीले पनि किचिनेहरूको तत्काल उद्धार गर्न न सकेर पूरै राज्यशक्ति निकम्मा सावित भइरहेको थियो ।

सत्ता, शक्ति र हातहतियार भन्ने चिज पनि बेलाबखत कति चुत्थो र बेकम्मा सावित हुँदो रहेछ ! अस्ति मात्रै त्यत्रो आमनिर्वाचन दर्बिलो र सशक्त सुरक्षा शक्तिकै कारण शान्तिपूर्ण रूपमा सम्पन्न गरेर मक्ख परेका थियौँ । आजै फेरि यत्रो दुर्घटना आफ्नै अफिसघरभित्र हुन गयो । देख्तादेख्तै आफ्नै कार्यालयभित्र ती तीनजनाको एकैसाथ लास पर्ने डरको कालो छाया आँखाअगाडि तेर्सिन आइपुग्यो ।

यस्तै प्रसंग निकालेर केके सोच्तै गन्थन गर्दै थियौँ, हामी सुरक्षा प्रमुखजति । थिचिएका घाइतेहरू भरपुर जिजीविषा र इच्छाशक्ति लिएर बाँच्ने प्रयासमा थिए ।

घाउ लागेका अंगहरू निदाएपछि दुखाइ कम भएर होला, अलि बौरिएछन् । अरू उपाय नदेखेपछि आ–आफ्नो छेउछाउमा अडिएको स्ल्याबलाई गैँती र छिनाले विस्तारै टुक्राटुक्रामा काटेर धुलो पार्दै उद्धार गर्न कामदाहरूलाई सिकाउँदै गए ।

डोरीमा झुन्डिएका कामदारहरू होसियारीपूर्वक त्यसै गर्न खटिए । त्यो विशालकाय स्ल्याब चलाउँदा अडिएको भित्ताबाट तलतल घर्किएर सबै मिस्त्रीलाई च्याप्न र दबाउन बेर थिएन । विचराहरूको जीवनका प्रत्येक क्षण असाध्य कष्टकर बनिरहेको थियो ।

आफ्नै आँखाअगाडि कार्यालय भत्कँदा र मान्छे किचिएर मर्न लागेको दृश्य हाम्रा लागि पनि असह्य पीडादायी र अत्यन्त त्रासद बनिरहेको थियो । अलिअलि गरेर बजार हुँदो फेरि हल्ला फैलँदै गयो । वरपर जम्मा भएका जनसमुदायको आक्रोश पनि बढ्दै गयो ।

बेलाबेला अलि परको बजारतिर प्रशासनका विरुद्ध मुर्दावादका नारा घन्किएको सुनिन थाल्यो । पीडितहरूको सकुशल उद्धार गरिछाड्ने आश्वासन दिँदै सेना, प्रहरी, प्रशासनकाहरू एकैमुख भएर सम्झाइबुझाइ अभियानमा लागिपरेका थियौँ ।

जनकपुरबाट दूरसञ्चारको क्रेन मगाउने काम पनि चल्दै थियो । केही जानी स्ल्याब तल झरेको खण्डमा किनारमा फसेका ती मान्छेलाई उखेल्नुपर्ने पनि हुनसक्छ भन्नेमा थियौँ । त्यसो गर्नुपरे अत्यन्त कष्टकर र घातक परिणाम आउने सम्भावना प्रबल थियो ।

अफिसबाहिर जम्मा भएका तमासेहरूको भीड बेलाबेला उत्तेजनापूर्ण नारा लगाउँदै पनि थियो । साधारण मजदुरलाई ज्यानै जाने खतरनाक काम लगाएर प्रशासनले नकाम गरेको भन्ने उनीहरूको आक्रोश थियो । समयमै होस पुर्याएर उद्धार नगरेको आरोप लगाउँदै थिए, कोही ।

वास्तवमा कामको इस्टिमेट, टेन्डर गर्ने, ठेक्का लगाउने, ठेक्का दिने लिने, यावत् कामहरू जिल्ला प्राविधिक कार्यालयबाट भएका थिए । भवन जीर्णोद्धारका लागि मिस्त्री कामदारको खोजी, खटनपटन गर्ने र कार्यादेश दिनेमा पनि जिल्ला प्रशासनको कतै कुनै हात थिएन ।

इन्जिनियर, ठेकदार जलेश्वरकै पुराना रैथाने बासिन्दा थिए । उनीहरू सबै आफ्नै परिवार र कुटुम्बभित्रैका पनि रहेछन् । स्ल्याबले किचिनेहरू पनि ठेकदारकै भाइ–नातेदार र पूर्णकालीन मिस्त्री कामदार रहेछन् ।

देखावटी र क्षणिक आवेशका रूपमा बाहिर उत्तेजना फैलिए पनि त्यहाँका बासिन्दालाई यथार्थ कुरा थाहा रहेछ । यसले गर्दा केही भइहाले पनि हामीलाई नचाहिँदो अवगालबाट बच्नमा अलि सजिलो पर्ने अनुभव भइरहेको थियो ।

आखिर च्यापिने मिस्त्रीहरूकै निर्देशन मुताबिक माथिपट्टि डोरीमा दुईजना झुन्डिएर स–साना टुक्रा पार्दै विस्तारै स्ल्याब काट्ने काम चल्दै गयो । रौँ प्रमाणले मात्र यताउति छोइएर घरक्क घर्किए पूरै स्ल्याब नै गर्ल्यामगुर्लुम झर्ने खतरा थियो । च्यापिनेहरू नै स्ल्याब काट्नेहरूलाई यसो गर, उसो गर भनेर सिकाउँदै र निर्देशन पनि दिँदै थिए ।

अत्यन्त अशक्त अवस्थामा पनि जिजीविषाले उनीहरूलाई ताजा बनाइरहेको थियो । उनीहरूकै निर्देशनानुसार कामदारहरू सतर्कतापूर्वक स–साना गैँतीछिना चलाएर स्ल्याब टुक्रा पार्दै गए ।

करिब घण्टाभर लगाएर स–साना टुक्रामा त्यो विशाल स्ल्याब तीन छेउमा टुक्र्याएपछि घाइतेहरू भग्नावशेषबाट बल्लतल्ल उत्रिए । पहिले त उनीहरू बाँचेको खुसीमा हाँसेजस्तो गर्दै थिए, तर पानी पिउनेबित्तिकै खुट्टा नचलेको दर्दमा मरणासन्न अवस्थामा झन्झन् व्यथित बन्दै गए । सबैका कम्मर, तिघ्रा र नली खुट्टाहरू क्षतविक्षत भएछन् ।

जख्मी तिघ्रा, घुँडाहरूबाट भलभल्ती बगेको रगत भर्खर मात्र थामिएको रहेछ । सुकेको रगतका काला फाल्सा टाँसिएका देखिन्थे गोडा र कम्मरमुनि, जताततै । नसानाडी थिलथिलो भएर संवेदना हराउँदा आफ्ना अरूका अंग नचिनिने भएछन् ।

रक्ताल्पताले नीलाकाला र नाजुक बनेका उनीहरूको हालत देखेर हामी कसैले पनि आँसु थाम्न सकेनौँ । वरिपरि जम्मा हुने पीडितका आफन्त र परिवारजनमा झनै रुवाबासी चल्यो । त्यति लामो समयसम्म स्ल्याबले च्यापिएर थिचिँदा कसो प्राणपखेरु उडेन ! तै भगवान्ले जीवितै राखेथे । हामीले पनि यत्तिमै चित्त बुझाएका थियौँ ।

एम्बुलेन्स झिकाउने काम भइसकेको थियो । रगत दिने उनीहरूकै परिवारका मान्छे पनि पहिल्यै तयार भइसकेका थिए । स्ल्याबबाट मुक्त हुनेबित्तिकै घाइतेहरूलाई स्लाइन चढाउँदै तुरुन्तै अस्पताल पुर्याएर राखियो । केही बेर अस्पतालको शय्यामा थप स्लाइन, रगत दिने र घाउ ब्यान्डेज गर्ने काम भयो ।

विशेष जाँचबुझ र सघन उपचारको व्यवस्था त्यहाँ न बराबर थियो, प्लेनको समय पनि मिलेन । त्यसैले एम्बुलेन्समै राखेर स्लाइन दिँदै बेलुकी नै हतारहतार काठमाडौं पठाएका थियौँ ।

फोनबाटै गृह मन्त्रालय गुहारेर महाराजगन्जको शिक्षण अस्पतालमा सघन उपचारको व्यवस्था मिलाइएको थियो । उनीहरूलाई काठमाडौं पठाएपछि हामीले पनि बल्ल शान्तिको लामो सास फेरेका थियौँ ।

दिनभरको दुश्चिन्ताले होला, मलाई भने रातमा राम्ररी निद्रा पनि लागेन । सपनामा पनि श्रीमद्भागवत पुराणमा वर्णन गरिएको प्रह्लाद कशिप्पुको कथाले झझल्को दिइरह्यो । काल नआई यो संसारमा कुनै मनुष्य पनि मर्दैन भन्ने उक्तिले चिमोटिरह्यो ।

अझै मेरो सरुवा भइसकेको थिएन । बारम्बार तिनीहरूको खबर लिँदै गरेको थिएँ र खतरामुक्त भएको खबर पाएपछि अलि मन हलुंगो हुँदै थियो । दुई महिनापछि नली खुट्टा, तिघ्रा, ढाडलगायत शरीरका विभिन्न भागमा स्टीलका रड राखेर स्वास्थ्यलाभसहित सबै मिस्त्रीहरू डिस्चार्ज भएर जलेश्वर फर्किएका थिए ।

भोलिपल्टै मेरो अफिसमा भेट गर्न आए । देख्तै खुसीले गदगद भएँ म । बेलैमा उपचार गराइदिएकामा उनीहरू पनि मप्रति औधी आभार र कृतकृत्य रहेछन् । यता आफूलाई भने उनीहरू उपचार गरेर सद्दे हालतमा फर्किएको देख्तै देउता आएजस्तो लागिरहेको थियो ।

अपांगता नै सही, तै कोही ज्यान गुमाउनेमा त परेन भन्दा पनि खुसी पो लाग्दो रहेछ । तर पनि आधासरो अपांगता थिए सबै । काम गरेर पेट पाल्ने लक्काजवान मान्छे एकाएक त्यत्रो भयावह दुर्घटनामा परेर जीवनभरको लागि अपांग बनेको देख्ता भने बेपत्तै नरमाइलो पनि लागिरहेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ११:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC