site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कुशे औँसी
Sarbottam CementSarbottam Cement

आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । फेसबुक वालभरि आफ्ना जीवित तथा मृतक पिताका फोटो संलग्न पोस्टहरू भरिएका थिए । मोबाइल हेर्दै गर्दा एउटा पोस्टमा उर्मिलाका आँखा रोकिए ।

‘प्रातः स्मरणीय स्व. पितामा नमन । यहाँको आशीर्वाद सधैँ पाइराखौँ’ लेखिएको र पृष्ठभूमिमा ‘मेरो बाबा सुपरम्यान...’ बोलको गीत राखिएको पोस्ट उसकै छोराको थियो ।

पशुपतिको वृद्धाश्रममा आफ्ना कालका दिन पर्खिरहेकी उर्मिलालाई पोस्ट देख्दा मन भतभती पोल्न थाल्यो । अँध्यारो अतीतको पुनर्ताजगी हुँदा उनी असह्य वेदनाले चिच्याइन् । आफ्ना आमा–बाबुको सम्झनामा फलफूल बाँड्न वृद्धाश्रम पुगेकाहरू उक्त चिच्याहटसँगै उसको नजिक आए ।

Prabhu Bank
Agni Group
NIC Asia

निकै बेरसम्म भक्कानो छोडेर रोइरहेकी उर्मिलालाई भीडका बीच एक दयालु महिलाले केही पर लगिन् । पानी पिउन दिइन् । केही बेरको मौनता साध्दै ती महिलाले ‘किन रुनुभएको ?’ भनेर सोधिन् ।

लामो समय अनुत्तरित उर्मिलाले विस्तारै आफ्नो अतीतको गाथा सुनाउन थालिन्, “मेरो घर पश्चिम पहाडतिर हो । म काठमाडौंमा मेरा श्रीमान् रमेशसँग आएकी हुँ । मसँग बिहे हुनुपहिले नै मेरा श्रीमान् पहाडबाट पढ्न काठमाडांै आएका थिए ।”

Global Ime bank

त्यसपछिका पूरै कथा उनले चलचित्रका रिल घुमेसरि वर्णन गरिन् ।

“मेरा श्रीमान् रमेश एकजना थापा थरका सहसचिवको घरमा काम गरेर पढ्न बस्नुभएको रहेछ । ती सहसचिव पश्चिमतिर सीडीओ हुँदा चिनजान भएको रहेछ । रमेशका बुवा, मेरा ससुरा सीडीओ कार्यालयमा पियन पदमा कार्यरत रहँदा उहाँको सेवाबाट खुसी भएर सरुवा भई काठमाडौं फर्कंदा भनेछन्– तिम्रो छोरोलाई काठमाडांै पठाइदेऊ, म पढाइ दिउँला ।

निम्न माध्यमिक तहपछि हाइस्कुल पढ्न तिनै सहृदयी हाकिमकहाँ पढ्न भनेर काठमाडौं आएका थिए, रमेश । दिनभर स्कुल । बिहान–बेलुकी घरको काममा सघाएर रमेशले आईएसम्म पढ्न भ्याएका थिए रे ।

पछि लोकसेवा दिएर खरिदार पदमा जागिर खाए । उनले दुःख गरेर पनि काठमाडौंमै छोराछोरी पढाउनुपर्छ भन्ने सोचेका थिए । त्यसैले यतै पोस्टिङ लिएका थिए ।

रमेशले बडो दुःख गरी सरकारी जागिर पाएपछि उतै गाउँबाट मसँग लगनगाँठो बाँधेका थिए । सामान्य लेखपढ गर्न जान्ने मसँग रमेशको बिहेको कुरो चल्दा कम्ता खुसी भएकी थिइनँ, म । सरकारी जागिरे, हेर्नमा सलक्क, गोरो रमेशको अर्धाङ्गिनी हुन पाउँदा आफूलाई भाग्यमानी ठानेकी थिएँ ।

बिहेपछि म पनि श्रीमान्सँगै जन्मथलो छाडी यतै हान्निएकी थिएँ । कीर्तिपुरको नेवार गाउँको डेरामा पुग्दा म पनि कम्ता रोमाञ्चित भएकी थिइनँ । अग्ला–अग्ला घर, कालोपत्र सडक, चिल्ला कार देख्दा अनेक सुन्दर सपना बुनेकी थिएँ मैले पनि ।

समय बित्दै गयो । बिहे गरेको दुई वर्षपछि दोजिया भएकी म, पहिलो सन्तान नै छोरो पाएँ । पहिलो सन्तानै छोरो हुँदा रमेश र मेरो खुसीको सीमा थिएन । छेउमै रहेको पासाको पसलबाट मिठाई किनेर रमेशले आफ्नो अफिस र छरछिमेकमा बाँडेका थिए, त्यतिखेर ।

छोरा नपाई मुक्ति पाइँदैन भन्ने समाजमा हुर्किएकी मैले छोरोको आसमा दशौँ छोरी जन्माएकी आमा पनि देखेकी थिएँ, पहाडमा । तर, आफ्नो पहिलो सन्तान नै छोरो हुँदा मेरो जीवन जे माग्यो, त्यही पुगेको जस्तो भएको थियो ।

समयक्रमसँगै जीवनको रथ तान्दै गरेका हामी युगलजोडीको जीवनमा तेस्रो प्रिय मान्छेको प्रवेशले झन् खुसियाली थपेको थियो । खुसियालीले गर्दा समय बितेको थाहा हुँदैन । तर, दुःखको एक निमेष पनि भारी हुन्छ । यस्तै भएको थियो मलाई पनि ।

समयसँगै छोरालाई स्कुलमा भर्ना गर्ने समय भयो । रमेशले कपडा पसलबाट राम्रो ब्याग र स्टेसनरीबाट ‘अल इन वान’ किताब किनेर ल्याइदिए । बुवाको हात समातेर स्कुल जाँदा छोरो पनि कम्ताको खुसी थिएन !

जब शिशुकक्षामा छोरालाई छोडेर रमेश फर्कंदै थिए, छोरो रुन थालेछ । छोरोको रुवाइ रमेशले सहन सकेनन् । र, शिशुकक्षाकै एउटा कुनामा दिनभर बसिरहे रे ।

कक्षाकोठामा बस्दै गर्दा रमेशले आफ्नो अतीत सम्झिए रे ! गाउँको विद्यालय । फुसले छाएको छानो । बस्ने मेच थिएन । भुईँमा असरल्ल बसेका विद्यार्थी । चार ठाउँ टालेका कछाड ।

आमाले बटुवा धागोले सिलाइदिएको किताब राख्ने झोला बोकेर हस्याङफस्याङ पहाडको उकालो चढेर स्कुल पुगेका दिनहरू त्यही कक्षाकोठामा सम्झिएका थिए रे उनले ।”

उर्मिला आफ्नो कथा सुनाउँदै अगाडि बढिन््, “त्यतिखेर विद्यालयमा सबै वर्ग र जातका विद्यार्थी एकै कक्षाकोठामा बस्दा पनि विभेदको गन्ध भने थिएन रे । अहिलेजस्तो धनी पढ्ने विद्यालय बेग्लै, गरिब पढ्ने विद्यालय बेग्लै थिएनन् रे । यसैकारण मेरा श्रीमान्ले आफ्नो छोरो भाग्यमानी भएको सम्झिए रे ।

कमसेकम पैसै तिरेर भए पनि इच्छा गरेअनुसारको शिक्षा पाउने त भएको छ । अब दुःख–सुख गरेर भए पनि छोरालाई पढाउँछु, ठूलो मान्छे बनाउँछु भन्ने प्रण गरेका थिए ।

कक्षाकोठामा महिला शिक्षिकाले ‘ए’ ‘बी’ ‘सी’ ‘डी’को चार्ट देखाउँदै म्युजिक प्लेयरमा ‘ए बी सी डी ई एफ जी... नाउ आई नो माई ए बी सी नेक्स्ट टाइम यु विल से विथ मी’ गीत बजाउँदै ए बी सी सिकाइरहेको दृश्यले रोमाञ्चित बनाएको थियो रे रमेशलाई ।

समय बित्दै गयो । छोरोले हाइस्कुल पास गर्यो । अब उसलाई इन्जिनियर पढाउनुपर्ने भयो । छोरोले आईटी पढ्ने जिद्दी गर्न थाल्यो । रमेश पनि छोराको इच्छा पूरा गर्न कुनै कसर बाँकी राख्ने पक्षमा थिएनन् । त्यसैले कमाइले जोडेको एक टुक्रा घडेरी थियो, त्यही पनि बेच्ने निधो गरे ।

रिटायर्ड भएपछि त्यही जग्गामा एउटा सानो घर बनाउने उनले सपना देखेका थिए । तर, त्यही घडेरी बेच्नुपर्दाको पीरभन्दा पनि छोरो इन्जिनियर बन्ने कुराबाट खुसी थिए उनी ।

छोराले इन्जिनियरको पढाइ राम्रो नम्बर ल्याएर पास गर्यो । रमेशको खुसीको सिमाना रहेन । भाडाको कोठामा बसेका तीन प्राणीको सपना पूरा भएको थियो । त्यति बेलै हामीले हाम्रा पैतालाले सर्वोच्च शिखर चुमेको महसुस गरेका थियौँ ।

भगवान्ले दिन थालेपछि सबै कुरा खन्याइदिन्छन रे ! यस्तै भनाइ चरितार्थ भयो, हाम्रो जीवनमा पनि । छोराले गुगल कम्पनीमा जागिर पाउने भयो । यो खबरले हाम्रो खुसी झन् अकासियो ।

रमेशले छोरोलाई अँगालोमा बेरेर हर्षका आँसु झारे । मेरा पनि भुईँमा खुट्टा थिएनन् । यतिका दुःख गरेर पढाएको छोरो सफल भएकोमा म खुसीले नाच्न थालेकी थिएँ ।

सुदूरको सीमान्त गाउँको रमेशले आफ्ना तमाम सपनालाई तिलाञ्जली दिएको भए पनि छोराको सफलताले मक्ख परेका थिए । अझै आफ्नो जीवन पनि सफल भएको ठानेका थिए ।

छोरा अमेरिका जाने दिन बिहानै विश्वविद्यालयछेउमा रहेको शिव मन्दिरमा गएर टीका लिएर आएका थिए, रमेश । छोरालाई टीका लगाएर बिदा गर्न अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थियौँ हामी ।

एयरपोर्टमा हामीले धीत मरुन्जेल अँगालोमा बेरेका थियौँ छोरालाई । छोरो उड्नलाई हामीसँग छुट्टिँदा बिदाइमा हल्लिएका हात थामिन मानिरहेका थिएनन् । मनमा अथाह सन्तोष थियो । आखाँमा अनन्त सपना ।

‘बा, मेरो तलब कति छ थाहा छ ?,’ अमेरिका पुगेपछि छोराले एक दिन भिडियो कलमा सोधेको थियो ।

‘अहँ । भन त कति छ ?,’ रमेशले जिज्ञासु मुद्रामा सोधे ।

‘बाह्र लाख नेपाली रुपैयाँ !,’ उसको जवाफसँगै रमेश रोमाञ्चित भए ।

‘मैले त्यत्रो पैसा एकसाथ कहिल्यै देखेको छैन ।’ रमेश फुरुङ्ङ भए ।

छोराको सफलतामा अनेक कुरा खेलिरहँदा रमेशलाई रातभर निद्रै लागेको थिएन । मलाई पनि त्यस्तै भयो । निद्रा गुमाएका हामी दुईका आँखामा हजार सपना तैरिरहेका थिए । खुसीले पागल भएका थियौँ हामी ।

मध्यरातमा रमेशले मसँग जिस्किने पारामा भने, ‘देख्यौ, आखिर छोरो कसको हो !’

‘अँ, मरी–मरी पाउने म, दुःखले हुर्काउने म, अहिले छोरोतपाईंको मात्रै !,’ मैले पनि ठुस्किँदै जवाफ फर्काएकी थिएँ ।”

यति खेर भने उर्मिलाको ओठमा हल्का मुस्कान देखियो ।

एक छिनमै मलिन अनुहार लिएर फेरि उर्मिला कथा सुनाउन थालिन्, “रमेशले भनेका थिए, ‘ल ल, तिम्रै हो । म पनि त तिम्रै हुँ । मेरो सबै थोक तिम्रै त हो नि, मेरी रानी ।’ कपाल सुम्सुमाउँदै उनले मलाई फुर्काएका थिए ।

खुसीका दिन बित्दै गए । डेराको बास भए पनि मेरो र रमेशका आँखामा सुन्दर सपना छँदै थियो । छोरो अमेरिकामा गुगल कम्पनीमा इन्जिनियर भएको कुरा रमेश सबैलाई गौरवका साथ सुनाउँदै हिड्थे । अरू पनि हामीलाई भाग्यमानी ठान्दथे । भन्थे पनि ‘छोरो हुनु त रमेश र उर्मिलाको जस्तो ।’

एक दिन बिहान म र रमेश छोरोको बिहेको विषयमा गफ गर्दै थियौँ । त्यत्तिकैमा म्यासेन्जरको घण्टी बज्यो । छोराको कल थियो ।

‘तिम्रो आयु धेरै लामो छ बाबु । तिम्री आमा र म तिम्रै बारेमा कुरा गर्दै थियौँ । ठ्याक्कै तिम्रो कल आयो !’

‘के कुरा थियो र बा ?,’ छोरोले जिज्ञासु नजरसहित प्रश्न गर्यो ।

‘के हुनु नि, तिम्रो बिहे गर्नुपर्छ भनेर तिम्री आमाले भन्दै थिइन्,’ रमेशले जवाफ फर्काए ।

‘ए ! बा, मैले त हजुरहरूसँग भन्नै बिर्सेको । मैले त बिहे पक्का गरिसके नि,’ उसले एकै सासमा भन्यो ।

‘कोसँग बिहे फिक्स गर्यौ र ? एक शब्द सोधेनौ पनि !,’ रमेशले द्रवित भएर प्रश्न गरेका थिए ।

‘हैन बा, म यता बिजी पनि थिएँ । हजुरसँग कुरा गर्न सकिनँ । केटी यतै बस्छे । गएको हप्ता उनलाई भेट्न म गएको थिएँ । उसका आमाबा पनि आएका रहेछन् । भेटघाटपछि केटीले मेरा आमाबुवा भोलि घर फर्किंदै छन्, त्यसैले बिहेको कुरा आजै टुंग्याउनुपर्छ भन्न थालिन् । त्यही भएर मैले त कुरा छिनेर आएँ । अर्को महिना यतै बिहे गर्ने सल्लाह भएको छ बा,’ छोराले बेलीविस्तार लगायो ।

‘यो तिमीले राम्रो गरेनौ छोरा । यस्तो महत्त्वपूर्ण निर्णय गर्दा हामीलाई एक वचन सोध्ने आवश्यकता पनि ठानेनौ हैन ?,’ छेउमै रहेकी मैले भनेकी थिएँ ।

‘हैन आमा, समय नै त्यस्तो पर्यो । अर्को महिना बिहे गर्छु । आउँदो दसैँमा बुहारीसहित भेट्न आउँछु नि,’ उसले भनेको थियो ।

‘हामीलाई बिहेमा बोलाउँदैनौ ?,’ रिसाएको भावमा मैले सोधेकी थिएँ ।

‘हैन आमा, बिहेमा धेरै खर्च गर्न मसँग पैसा पनि छैन । अस्ति गाडी किनेँ । बिहेमा पनि खर्च भइहाल्छ ।तपाईंहरूलाई यता बोलाउँदा पाँच लाखजति थप खर्च लाग्छ । बित्थामा किन खर्च गर्नु । म अर्को साल बुहारी लिएर आउँछु नि । अहिले मेरो अफिस जाने टाइम भइसक्यो, पछि कुरा गरूँला है’ भन्दै छोराले फोन काटेको थियो ।

मलाई भाउन्न छुटेर आयो । बसेको धर्ती पर सरेको अनुभूति भयो । छेउमा बसेका रमेश द्रवीभूत भए । हामी दुवै निःशब्द भयौँ ।

लामो मौनतापछि रमेशले मलाई सम्झाउने पारामा भने, ‘भइहाल्यो नि, बिहे उसको रोजाइले गर्ने हो क्यार । समय छोटो छ । अफिसबाट बिदा पनि नमिल्न सक्छ । छाडिदेउ । उसको जीवन आफ्नै मर्जीले बाँचोस् ।’

उनले थपेका थिए, ‘तिमीलाई कसैले नहेरे पनि म छँदै छु नि । मेरो पेन्सनले हामीलाई पालिहाल्छ नि । गाउँमा घर छँदै छ, उतै जाउँला ।’

उतिखेर मेरा आखाँबाट आँसुको भेल बगिसकेको रहेछ । पछि त डाँकै छोडेर रुन थालिछु । ‘कुन जन्मको पापले यस्तो भइरहेको छ ? एक्लो सन्तानको बिहेमा पनि जान नपाउनु ?’ भन्दै म झन्झन् बेस्मारी रुन थालिछु ।

रमेश असमञ्जस अवस्थामा थिए । सायद सोच्दै थिए– कसरी सम्झाउने मलाई । तर, कुनै उपाय भेटेका थिएनन् । यद्यपि, परिस्थिति नियन्त्रण उनकै जिम्मामा थियो ।

त्यही भएर होला, रमेशले फेरि भन्न थाले, ‘आखिर बुहारीसँग जीवन बिताउने उसले हो । तिम्रो र मेरो त के छ र ? म रिटायर्ड हुन केही वर्ष मात्रै बाँकी छ ।  दुवै बूढाबूढी घुमाँैला, खाउँला । केको चिन्ता तिमीलाई ?’

रमेशले पुराना कुरा गर्दै भनेका थिए, ‘हेर उर्मिला, संसार यस्तै हो । अब मैलाई हेर न, मेरो बुवाआमालाई के नै गर्न सकेँ । मैले पनि त केही गर्न सकिनँ नि । बुवाको निधन हुँदा म थिइनँ । आमा बिरामी हुँदा यहाँ ल्याउन पनि सकिनँ । त्यसैले उसको पनि बाध्यता हामीले बुझ्नुपर्छ ।’

तर, म स्थिर भएकी थिइनँ । भनेको थिएँ, ‘आफ्नै बिहेमा नबोलाउने छोरोबाट तपाईं के आस गर्नुहुन्छ ? तपाईंले उसलाई हुर्काउन र पढाउन केही कसर बाँकी राख्नु भएन । उसका इच्छा पूरा गर्न हामीले कुन सपना बन्धकी राखेनौँ र ? उसको आखाँमा निद्रा ल्याउन हामीले कति रात अनिदो काट्यौँ, गन्न सक्नुहुन्छ ? के उसको जिम्मेवारी हामीप्रति केही हुँदैन र ?’

सायद मेरो आवाज आक्रोशमिश्रित थियो । किनकि, म रमेशलाई प्रश्नमाथि प्रश्न गर्दै थिएँ । ‘तपाईंले बिर्सनुभयो, उसलाई राम्रो शिक्षा दिन तपाईं अफिसबाट खाजा नखाइनखाइ आउनुहुन्थ्यो । साथीले खाजा खुवाए भनेर मलाई ढाट्नुहुन्थ्यो । अनि, भान्सामा गएर केही भेटिन्छ कि भनेर खोज्नुहुन्थ्यो । म सबै थाहा पाउँथे । तर, लाचार हुन्थेँ । किनकि, एक्लो कमाइले जेनतेन जीवन धकेलिरहेको थियो ।

उसको मासिक फी नियमित नहुँदातपाईंमा देखिने छटपटाहट मैले महसुस गरेकी छु । उसलाई नयाँ लुगा किन्न नसक्दाको लाचारीतपाईंले जति लुकाउन खोजे पनि मबाट लुक्न सकेको थिएन । याद छ ? तपाईंलाई एकचोटि मैले तिजमा गहना माग्दा अर्को वर्ष छोरो इन्जिनियरिङमा भर्ना गर्नु छ भनी टार्नुभयो । तर, कोठाभित्र गएर श्रीमतीको इच्छा पूरा गर्न नसकेकोमा रुनुभएको थियो । पछि मैले के भयो भनी सोध्दा ‘टाउको साह्रै दुखिरा’छ’ भन्नुभएको थियो । छोरो पढाउँदैमा रित्तिने तपाईंको गोजीमा कहिले हजारको नोट परेन । तर, आज लाख कमाउने छोरो बिहेमा बोलाउन खर्च छैन भन्छ !’

सुकसुकाउँदो स्वरमा मैले फेरि पीडा पोखेकी थिएँ । ‘याद गर्नुस्, तपाईंले एकचोटि मलाई माकुराको कथा सुनाउनुभएको थियो । माकुराले आफ्ना सन्तानलाई शत्रुबाट बचाउन जालोमा लुकाउँछ । तर, बच्चा वयस्क भएपछि त्यही माउ माकुरालाई टोकी–टोकी खान्छ भन्ने त्यो कथाको रहस्य म आज बुझ्दै छु ।’

म दर्शनशास्त्रको विद्यार्थीझँै रमेशलाई अनेक भनिरहेकी थिएँ । ‘थाहा छ, एकचोटि छोरोले साइकलको रहर गर्दा तपाईंले मेरो तिलहरी बेचेको ? र, तिजमा मलाई रोल्डगोल्डको तिलहरी ल्याइदिनुभएको थियो ।’

मेरो आक्रोश रोकिने छाँट नदेखिएकोले होला, रमेशले कुरा मोड्न खोजेका थिए । भने, ‘जाऊँ हिँड घुम्न । म पनि अफिसबाट बिदा लिन्छु ।’

तर, मैले आफूलाई रोक्न सकिरहेकी थिइनँ । म भन्दै गएँ, ‘तपाईंले छोरो विदेश पठाउँदा बेचेको घडेरी किन्दा भन्नुभएको थियो– उर्मिला, अहिले सञ्चय कोष सापटीको पैसाले घडेरी किनौँ । पछि केही जोरजाम गरी घर बनाउँला । बुहारी पनि त्यही घरमा भित्र्याउनु । अनि, बुढेसकाल त्यहीँ रमाएर काटुँला । तर, उसकै लागि त्यो घडेरी पनि बेच्नुभयो !’

मेरो रौद्ररूप देखेर होला, रमेश भान्सातिर निस्किए । अनि, दुई कप चिया बनाईवरी ल्याए । भने, ‘ल चिया खाऊ ।’ मैले झर्किंदै ‘खान्न’ भनेकी थिएँ ।

‘तिमी अहिल्यै किन यति सोच्दै छौ ? पर्ख न, तिमी जाने नै भए म पैसाको बन्दोबस्त गरूँला,’ रमेशले विषयान्तर गर्न खोजेका थिए । अनि, म केही शान्त भएकी थिएँ ।

छोरोले अन्त्यमा हाम्रो उपस्थितिबिना नै बिहे गर्यो । म खिन्न भएँ । छोराको बिहे भएको एक वर्ष पूरा भइसकेको थियो । शरद ऋतुले आँगनमा पाइला टेकिसकेको थियो । दसैँ आउन लागेको थियो । त्याङ्लाफाँट, भूतखेल र चोभारडाँडाका फाटमा चंगा उडाउनेहरू दसैँ आगमनको सूचना दिइरहेका थिए ।

‘छोराले दसैँमा घर आउँछु भन्थ्यो,’ एक दिन मैले रमेशलाई सोधेकी थिएँ, ‘खै, आएन त ?’

रमेशले पनि छोटो जवाफ फर्काएका थिए, ‘आउन मिलेन कि । साँझमा कुरा गरौँला नि ।’

साँझपख रमेशले म्यासेन्जरमा भिडियो कल गरे । ढिलो गरी छोराले उताबाट हेलो भन्यो । सामान्य भलाकुसारीपछि रमेशले ‘दसैँमा घर आउँदैनौ ?’ भनेर सोधे । प्रतिउत्तरमा उसले ‘बुहारी दोजिया भएकोले आउन नसक्ने, बरु आमालाई बुहारी स्याहार्न पठाइदिनु’ भन्यो ।

रमेश हजुरबा बन्ने खुसीले गदगद भए । सँगै खिन्न पनि भए, उसले अहिलेसम्म थाहा नदिएकोमा । तर, बाआमालाई सन्तान यति प्रिय हुँदा रहेछन् कि रमेशले अरू सबै कुरा बिर्सिए । तुरुन्तै खुसीको खबर मलाई सुनाए ।

‘उर्मिला बधाई छ, तिमी हजुरआमा हुने भएकोमा !’

म पनि भिडियो कलमा छोरासँग कुरा गर्न थालेँ । सन्चो बिसन्चो सोध्न थालँे । छोरालाई ‘बुहारीसँग कुरा गरा’ भनेँ । उसले ‘बुहारी अहिले बाहिर गएकी छे, आएपछि कुरा गराउँछु’ भन्यो । साथै, उसले ‘एक महिनापछि अमेरिका आइदेउ’ भनेर आग्रह गर्यो ।

‘म एक्लै त आउँदिनँ,’ मैले भनेँ, ‘तेरा बा सारै कमजोर भएका छन्, दुवैलाई आउने बन्दोबस्त मिला । उहाँ पनि अमेरिका घुम्न हौसिनुभएको छ ।’ मैले आदेशकै शैलीमा अह्राएकी थिएँ ।

तत्कालै उसले भन्यो, ‘हैन आमा, यसपटक घर किन्ने योजनामा छु । त्यसकारण पैसाको टन्टै छ । अहिले तपाईं एक्लै आउनुस् । बालाई पछि बोलाउँला ।’

छोराको जवाफले म साह्रै दुःखी भएँ । केही नभनी फोन काटेँ । यी सन्तान जात पनि कस्ता है ! बाआमाको पीर कहिल्यै नबुझ्ने भनेर म फत्फताउन थालिछुु ।

त्यसै बेला रमेशले सोधे । मैले उसले भनेको कुरा दोहोर्याइदिएँ । अनि, उनले भने, ‘मन किन मैला गर्छ्यौ ? होला नि त, घर किन्छु भन्दै छ भने अहिले तिमी जाऊ । म पछि आउँला ।’ रमेशले सम्झाउने पारामा भनेका थिए ।

दसैँको रौनक सबैको घरमा छाएको थियो । सबै रमाइलोमा थिए । टोलटोलमा खसी ढालिँदै थियो । हरेक घरमा पाक्ने मिठो पकवानको बास्ना सडकसम्मै आइरहेको थियो । दसैँमा काठमाडौंमा रहेका अधिकांश पुर्ख्यौली घर गएकोले पनि होला, बाहिरी सडकमा पातलो सवारी थियो ।

सधैँ भीडभाड हुने नयाँबजार सुनसानजस्तै थियो । सहरमा सप्तमीदेखि सुनसान अवस्था छाएको थियो । तर, हामीलाई भने दसैँको रमाइलो अनुभव हुनै सकिरहेको थिएन । दुई बूढाबूढी मात्रै । भाडाको कोठा । दसैँ सामान्य थियो ।

‘केटाकेटी उमेरमै हुने रहेछ है, रमाइलो पनि । अहिले त दसैँ पनि दसैँजस्तो नलाग्ने,’ रमेशले सुनाएका थिए । मैले कुनै जवाफ फर्काइनँ ।

‘तेल भिसा’ लिएर अमेरिका उड्ने दिन आयो । भारी मन लिएर विमानस्थल पुगेँ । त्यहाँबाट अमेरिका ।

छोरो उताको विमानस्थलमा लिन आएको थियो । रातो बीएमडब्ल्यू कारमा मलाई राखी हुइँकियो, गगनचुम्बी महलहरू छिचोल्दै बासतिर ।

‘अमेरिका त अमेरिकै रहेछ नि ! तेरा बा कम्ता रमाउँदैन थे, यहाँ आएको भए,’ मैले सहर हेर्दै भनेकी थिएँ ।

उसले सहजै जवाफ फर्कायोे, ‘पछि बोलाइहाल्छु नि ।’

दिन बित्दै गए । आखिर मेरो खुसीको दिन आइ नै हाल्यो । बुहारीले नाति पाइन् । म हजुरआमा भएँ । मेरो हर्षको सीमा रहेन । तुरुन्तै बूढालाई भिडियो कल गरेर नाति देखाएँ ।

‘चिरञ्जीवी हुनु,’ रमेशले उताबाटै आशीर्वाद दिए ।

बुहारी र नातिको स्याहारसुसारमा छ महिना बितेको पत्तै पाइनँ । उता बूढा एक्लै के गर्दै छन् कुन्नि ! चिन्ता पनि लाग्यो । र, छोरोलाई ‘नेपाल फर्किन्छु’ भनेँ ।

उसले ‘हुन्छ, सस्तोमा टिकट खोज्छु’ भन्यो । र, दुई महिनापछि मात्रै फर्कने टिकट पाइयो । यसबीचमा उसलाई ‘अमेरिका घुमाइदे’ भनेँ । तर, उसले ‘भोलि–भोलि’ भनेर टार्दै गयो ।

एक दिन भने समुद्रको तटसम्म लिएर गयो । टाढा–टाढासम्म कुनै बस्ती नदेखिने समुद्री तटमा लम्सार सुतेका गोरा–गोरी देख्दा म लजाएकी थिएँ । अनि, हाम्रो यहाँ यस्तो गर्दा कति कुरा काट्दा हुन भन्दै जिब्रो टोकेकी थिएँ ।

म फर्कने दिन आयो । छोरा–बुहारीसँग बिदाबारी भएर फर्किएँ आफ्नै संघर्षको थलोमा । काठमाडौं विमानस्थलमा रमेश आएका थिए ।

‘नाति कस्तो छ ?,’ भेट हुनेबित्तिकै सोधे  ।

‘ठ्याक्कै छोरोजस्तै,’ मैले उनीतिर नहेरी जवाफ दिएकी थिएँ ।

‘अरू सब सुबिस्तै छन् नि ?,’ रमेशले फेरि सोधे । ‘ठिकै छन्’ भन्दै मैले छोटो जवाफ फर्काएकी थिएँ ।

रमेशले के महसुस गरे, भने, ‘तिमी किन निराश भएर फर्कियौ ? के छोरा–बुहारीले राम्रो गरेनन् ?’

रमेशको यस प्रश्नमा मेरा आँखा रसाएका थिए । तर, उनलाई पनि किन दुःखी बनाउनु भनेर मैले त्यस्तो केही नभएको जवाफ दिएकी थिएँ ।

घर फर्किएपछि महसुस गरेँ, रमेश बिरामी भएका छन् भन्ने । किनकि, उनी हिँड्दा पनि स्याँ...स्याँ गर्न थालेका थिए । खाना पनि निकै कम खान थालेका थिए ।

एक दिन रमेशलाई बिमारले साह्रै च्याप्यो । अर्को दिन हामी जाँच गर्न शिक्षण अस्पताल पुग्यौँ । केही आवश्यक चेकजाँचपछि डाक्टरले रमेशलाई क्यान्सर अस्पतालमा रिफर गर्यो ।

क्यान्सर अस्पतालमा आवश्यक जाँचपछि फोक्सोको क्यान्सर भएको भनियो । तर, मैले रमेशसँग कुरा लुकाएँ ।

डेरा पुगेपछि भर्याङ उक्लिने आँटै आएन । चारैतर्फ अन्धकार छायो । मेरा प्रिय मान्छेको यो अवस्थामा मनलाग्दी रुन मन लाग्यो । तर, सकिनँ । किनकि, परिस्थिति आफैँले सम्हाल्नु थियो ।

बेलुकीपख रमेशलाई थाहा नहुने गरी छोरालाई सबै कुरा बेलीविस्तार लगाएँ । उसलाई बालाई उपचार गर्न अमेरिका बोलाउन भनेँ ।

जवाफमा छोरोले ‘क्यान्सर निको नहुने भएकोले उपचारको कुनै अर्थ नहुने’ भन्दै ‘अमेरिकामा उपचार धेरै महँगो भएकोले उतै उपचार गर्नु’ भन्न थाल्यो । ‘बाको सञ्चय कोष झिक्नु, त्यतै उपचार गर्नु’ भन्दै उसले फोन राख्यो ।

छोराका यी शब्दहरू सुन्दा म थचक्क भुईँमा बसेँ । मलाई भाउन्न छुट्यो । घर पूरै घुम्न थाल्यो ।

‘थुइक्क तेरो बुद्धि ! जसले तेरा लागि सबै कुरा त्यागे, आज तिनै देवतातुल्य बाउका लागि यस्तो भन्दै छस् !’ सोच्दै मलाई छोराप्रति घृणा जागेर आयो ।

उपचारका लागि उसले एक लाख पठाइदिएको रहेछ । रमेशलाई पहिलो किमो दिइयो । तर, उनी निकै कमजोर भइसकेका थिए । लगत्तै उनले संसार छाडे । मेरो भाग्य पनि फुट्यो ! मेरो संसारै रित्तियो ।

रमेश बितेको तीन दिनपछि छोरो काठमाडौं आयो । ती तीन दिन मेरा लागि तीन वर्षजस्ता भए । रमेशको लास राखिएको शवगृहअगाडि म कैयाँैपल्ट मूच्र्छित भएँ । चारैतिर महिलाले घेरिएकी म छिन–छिनमा होसमा आउँदा रमेशसँग बिताएका पल र गरेका संघर्ष सम्झिन्थेँ र फेरि मुर्छा पर्थेँ ।

छोरोले तीन दिनमै किरिया सिध्याउने भन्दै जिद्दी गर्न थाल्यो । घर–परिवारले तेह्र दिन गर्नुपर्ने बताए पनि उसले ‘यो सबै ढोङ हो’ भन्दै तीन दिनमा सबै कुरा सिध्यायो ।

यसबीचमा भावनाशून्य भइसकेकी थिएँ । आफूलाई अवला महसुस गर्दै संसारसँग जुझ्ने सबै सामर्थ्य गुमाइसकेकी थिएँ । बस्, मैले चुपचाप हेरी मात्रै रहेँ ।

काजकिरिया सकिनासाथ ‘जरुरी छ’ भन्दै उसले अमेरिका फर्कने कुरा गर्यो । र, भन्यो, ‘म भिसाको प्रोसेस मिलाउँदै गर्छु । त्यतिन्जेल यहीँको कुनै वृद्धाश्रममा बस्दै गर्नु । म पछि लिन आउँछु ।’

मैले कुनै प्रतिवाद गरिनँ । आज्ञापालकझँै कुरा सुनिरहेँ । त्यसपछि ऊ केही लुगाफाटा, यो मोबाइल र मलाई यसै ठाउँमा छोडेर अमेरिका उड्यो । त्यस बेलादेखि न उसले मसँग कुरो गरेको छ न त मैले नै ।

तर, वर्षको दुईपटक मातातीर्थ औँसी र कुशे आँैसीमा हामी दुइका फोटा हालेर निरन्तर लेखिरहन्छ, ‘ह्यापी मदर्स डे’, ‘ह्यापी फादर्स डे’ ।”

यति भन्दै उर्मिला फेरि भक्कानिन थालिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १०:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC